सल्लाह गरेरै राष्ट्रपतिलाई सन्काइएको रहस्योद्घाटन

president-rambaran-yadav-nepal ‘अब यसरी काम गरौं कि राष्ट्रपतिले ‘कु’ गरुन् । काम गर्न नदिने, सरकार छाड्न पनि नदिने गरेर माओवादीलाई न गरिखान दिने, न मरिजान दिने अवस्थामा पुर्‍याई घिटिघिटी बनाउन खोजे’–आइतबार बिहान थानकोटमा विद्यार्थीहरूलाई आन्तरिक प्रशिक्षण दिँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो दिन उपाध्यक्ष बाबुराम भट्टराईले पत्रकार सम्मेलन गरेर राष्ट्रपतिले चारपटक ‘कू’ गर्न खोजेको कुरालाई खण्डन गर्न हुनेगरी मसला दिए ।

सानेपास्थित निवासमा पत्रकारहरुलाई बोलाएर बाबुरामले भनेका थिए–मेरो सरकारविरुद्ध राष्ट्रपतिले चारपटक ‘कू’ को प्रयास गरे । बाबुरामको बोलीले बजार तताउन नभ्याउँदै अघिल्लो दिन मात्रै चीन भ्रमणबाट फर्किएका दाहालले बाबुराम र नारायणकाजीलाई दायाँ बायाँ राखेर थानकोट प्रहरी चौकीमाथि गुल्मीका रामचन्द्र दासले खोलेको अरविन्द आश्रममा आयोजित विद्यार्थीहरुको केन्द्रीय बैठकमा भने–कु गर्लान् कि भनेर कुर्दाकुर्दै राष्ट्रपतिले आँटै गरेनन् । उनको भनाइ थियो, ‘सरकारमा बसेर बजेट ल्याउन सकिएन । काम पनि खासै केही गर्न सकिएन । जतिदिन बढी सरकारमा बस्यो उति पार्टी बद्नाम हुँदै जान थाल्यो । माओवादीलाई घिटिघिटि अवस्थामा राखेर कांगे्रस–एमालेहरु ‘देख्यौ, केही गर्न सकेन’ भन्दै होहल्ला गर्न थाले । अब त भएन भनेर म, बाबुरामजी, नारायणकाजी र पोष्टबहादुरजी बसेर सल्लाह गर्‍यौं– अब यसरी काम गरौं कि राष्ट्रपतिले ‘कू’ गरुन् । उनले ‘कू’ गरे भने हामीले माओवादीलाई काम गर्न दिएनन्, ‘कू’ गरे भनेर जनताकोमा जान पाउँछौं ।’ 

जनआस्थालाई प्राप्त संबोधनको पूर्ण अडियोमा प्रचण्डले भनेका छन्– ‘राष्ट्रपतिले कू गर्लान् भनेर कुर्दाकुर्दा आँटै गर्न सकेनन् । उनले बुझेछन् क्यारे ‘कू’ गर्‍यो भने त्यसको फाइदा माओवादीलाई पुग्छ भनेर । हामी हेर्दाहेर्दै थाक्यौं । अनि केही नलागेपछि लौ त नि भनेर प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउने एजेण्डा अगाडि सार्‍यौं। केही गर्दा पनि सरकार छाड्न नसक्ने र सरकारमा बसेर पनि बद्नाम मात्रै हुने अवस्था आएपछि त्यसो गर्नुपरेको हो ।’

गुल्मीको दुर्गम गाउँमा जन्मिएका चन्द्रमणि भूषालले केही वर्ष भारतीय सेनामा काम गरे । उक्त जागिर छाडेर पण्डिचेरीमा मुख्यालय बनाई योग साधना र वैदिक प्रवचन दिने अरविन्दो आश्रमको चेला बने र नाम राखे– रामचन्द्र दास । पण्डिचेरीबाट नेपालमा आश्रम खोल्न भनेर २२ वर्षअघि काठमाडौं आए । थानकोटमा चार आना जग्गा किनेर त्यसैमा अरविन्द विद्या आश्रम खोली असहाय बच्चाहरुलाई वैदिक शिक्षा दिन थालेका रामचन्द्र अहिले उदाहरणीय सामूहिक जीवन व्यवस्थापन र शिक्षा वितरणको अगुवा बनेका छन् । थानकोट र नवलपरासीको कोहुल्वामा गरी झन्डै दुई सय गाई, अर्गानिक खेती, पस्मिना, गान्धी चर्खा चलाइरहेका तर आफूलाई सन्यासी बनाएका तिनै रामचन्द्रको आश्रममा पुगेर प्रचण्डले कार्यकर्तासँग भने– ‘हामी त सबै ठगैठग हौं कि जस्तो लाग्दैछ । दुःख गर्ने, मिहिनेत गर्ने, उत्पादन गर्ने त हिजोआज बुद्धि नभएको भनेर हेपिँदै गएका छन् । ट्याक्कटुक्क पार्ने, नेताहरुको फेरो समातेर हाट्टहुट्ट गरी गोजी भर्नेहरु टाठाबाठा र बुद्धिजीवी भनेर चिनिँदै छन् । माओवादी कार्यकर्ता, कम्युनिस्ट पार्टीका सदस्यहरु त हिजोआज ठगैठग, भ्रष्टैभ्रष्टको जमात बन्दैछ । यस्तै हो भने हामीलाई जनताले डोरी लाएर झुन्ड्याउँछन् ।’

स्ववियु चुनावको तयारीलाई केन्द्रमा राखेर अखिल क्रान्तिकारीले आयोजना गरेको केन्द्रीय समिति बैठकमा प्रचण्डले विद्यार्थीहरुलाई हौस्याउँदै आवश्यक पैसा, सहयोग र संयोजन पार्टीले गरिदिने आश्वासनसहित स्ववियु चुनाव जसरी पनि जित्नुपर्ने बताएका छन् । ‘यो चुनावलाई जनमतसंग्रहको रूपमा पनि हेरिराखेका छन् । हामीले जित्न सकेनौं भने जनतामा निराशाको सन्देश जान्छ र संविधानसभाको चुनावमा धक्का पुग्छ ।’ सार्वजनिक भाषणमा बिपी कोइरालाको निकै तारिफ गर्ने प्रचण्डले आन्तरिक प्रशिक्षणमा भने छाला काढेका छन् । राजतन्त्र ढल्यो भने कांग्रेस मासिन्छ भन्ने बुझेरै बिपीले राजासँग मेरो घाँटी जोडिएको छ भनी संवैधनिक राजतन्त्रको वकालत गरेका हुन् । सोमबार बर्दिया पुगेर एमालेको अस्तित्व सकिएको र अब माओवादीको प्रतिस्पर्धा कांग्रेससँग हुने बताए पनि आइतबारको प्रशिक्षणमा चाहिँ प्रचण्डले राजतन्त्र मासिएपछि कांग्रेस कागजी अस्तित्वमा मात्रै बाँकि रहेको बताएका छन् ।

हेटौंडा महाधिवेशनले लिएको कार्यदिशा सही भएको भनेर भारत, युरोप र अमेरिकाले आफूलाई बधाई दिएको भन्दै दाहालले कार्यकर्तालाई उकासे– तर्क गरेर कसरी अरूलाई प्रभावमा पार्ने भन्ने सिक्नुपर्छ । पार्टीमा गुटबन्दी बढ्दै गएको कुरालाई इंगित गर्दै उनले भने– ‘यत्रा मान्छे छौं तर छौं जस्तो लाग्दैन । एक्लै भएजस्तो, एक्लै छु जस्तो लाग्न थालेको छ ।’

यसरी एकदिनको अन्तरालमा माओवादी नेताहरु एकअर्काको कुरा काट्ने गरी भाषण गर्ने अवस्थामा कसरी पुगे भन्नेमा अहिले माओवादीभित्रै बहस सुरु भएको छ । प्रचण्ड चीन गएको मौका पारी बाबुरामले ‘कु’ को कुरा गरे पनि बाबुरामलाई नै राखेर राष्ट्रपतिले ‘कु’ को प्रयास गरेको होइन बरु आफूहरूले उक्साएर ‘कु’ गराउन खोज्दा पनि राष्ट्रपतिले ‘कु’ नगरिदिँदा आफूहरू हेरेको हेर्‍यै भएको बताएर बाबुरामको कुरा झुटो भएको खुलासा गरिदिए । केही माओवादी नेताले चाहिँ बाबुराम प्रधानमन्त्री हुँदा दाहालले प्रधानमन्त्रीको उम्मेदवार हुन सक्छु भन्दा बाबुरामले अध्यक्षले ठट्टा गर्नुभएको भनेर प्रचण्डलाई उडाएको बदला लिएको रूपमा बुझ्नुपर्ने टिप्पणी गरेका छन् ।

(आजको जनआस्था साप्ताहिकबाट लिईएको हो यो लेख)

तपाइँको प्रतिक्रिया