नेपाली भाषा नजान्नेले चाहिँ नागरिकतापनि नपाउने ?
● सोमना थारु / बेल्जियम
कति सालतिर हो त्यो थाहा भएन । जे होस म अलि अलि जान्ने बुझ्ने भै सकेको थिएँ । मेरो उमेर यस्तै १२, १३ हुँदो हो । गाउँमा नागरिकता वितरण टोली आउने हल्ला भो । टोली आउने कुरा एक दुई महिना अगाडि नै गाउँ गाउँमा जानकारी गराइएको थियो । हाम्रो गाउँमा कटुवालले प्रत्येक घर घरमा गएर टोली आउनेभनेको थियो । वडा सद्स्यको आदेश बमोजिम । नागरिकता नलिएकाहरु हाम्रो गाउँमा थुप्रै थिए । आफ्नो जीवनको उतरार्धमा पुगेका लौरो टेकेर हिडने बुढा बुढीहरुले पनि नागरिकताको प्रमाण पत्र लिएका थिएनन ।
टोली आउने भएपछी नागरिकता लिन गाउँका सदस्यले सबैलाई उर्दी गरे । त्यही मौकामा फोटो खिच्ने युवाहरुले चौका हाने । नागरिकता बनाउन लोग्ने मान्छेले टोपी लगाएर फोटो खिचाउनु पर्ने भो । ढाका टोपी लाएर । अनी नागरिकता प्राप्त गर्नेले नेपाली भाषा जान्नुपर्ने थियो । हामी अहिलेसम्म त नेपाली राम्ररी बोल्न जान्दैनौ ।
ऊ बेलाका थारु, बोटे ,मुसहर अथवा समग्रमा भन्नु पर्दा जनजातिका बुढाबुढीले जान्ने कुरै भएन । अनि नागरिकता लिनपर्ने बुढा बुढीहरुलाई गाउँका खस भाषा जान्ने युवाहरुले तालिम गराउँथे । नागरिकता तालिम पनि भन्थे थारु गाउँ तिर । अर्थात हाकिमले यस्तो यस्तो सोध्न सक्छ । यस्तो सोध्यो भने यसरी उत्तर दिनु है भनेर तालिम दिन्थे युवाहरुले । जस्तो : तिम्रो नाम के हो ? भनेर सुब्बाले सोध्यो भने । बुधनी हो हजुर । शनिचरा हो हजुर । बुटिया हो हजुर । हाकिमले सोध्ने प्रश्नको उत्तर दिने तरिका उनिहरुलाई यसरी प्रशिक्षित गरिन्थ्यो । लोक सेवा आयोगको परिक्षाको तयारी जस्तो लगभग लगभग ।
नागरिकता वितरण गर्ने टोली गाउँ पचायतको कार्यालयमा आइपुग्यो । हिडडुल गर्न नसक्नेलाई कसैले पिठ्युमा बोकेर लगे । कसै कसैले बयल गाडामा चढाएर । नागरिकता लिनेहरुको तत्कालिन गाउँ पञ्चायत कार्यालयमा घुइचों लाग्यो । अहिले त नेपालका सरकारी कार्यालयमा सेवाग्रहीहरु अलपत्र हुन्छन भने उती बेलाको स्थिती कस्तो थियो होला । गाउँ पञ्चायत कार्यालयमा ठेलमठेल, धकेलाधकेल भिड लाग्यो । यही बिचमा नागरिकताको लागि मेरी बज्यैको नाम आयो । बुधनी थरुनी भनेर खरिदारले नाम बोलायो ।
उनलाई भित्र हाकिमको कोठामा हाजिर गराइयो । नाम के हो तिम्रो ? सुब्बा साहबले सोधे । बज्यैको मुखबाट उत्तर निस्क्यो । अरे नतियावा कथी कहैइक बडीय रे ? अर्थात उनलाई जुन सिकाइएको थियो, उनले त्यो विर्सीसकेकी थिइन । उनले आफ्नो नातिलाई गुहारी रहेकी थिइन । लौ न नाती एले के भन्यो भनेर । लौ अब फर्साद । हाकिमले सोधेको कुरा बुढी बज्यैले बुझ्दै बुझिनन ।
खस भाषा (नेपाली) नबुझ्ने र नबोल्नेलाई कसरी नागरिकता दिने ? नेपालको कानुनमै छैन । दिन सकिदैन भनेर सुब्बाले जिकिर गरे ।
गाउँका गन्ने मान्नेले हाकिमलाई विन्ती भाउ गरे । खुब अनुरोध गरे । यो बुढी आमा यहिकै बासिन्दा हो हजुर । यही जन्मेको हो । छोरा छोरी यही छन । नातिनतिना यही छन हजुर । सुब्बा साहबले कुनै हालतमा नमान्ने भए । ति सुब्बा साहबले पनि विचारा के गरुन । उनी पनि त नेपालको कानुन भित्र त बस्नै परो । सुब्बाको पनि आफ्नै वाध्यता पक्कै थियो होला ।
सुब्बाले उनको नाम सोध्दा मेरी बज्यैले नबुझ्दा उनको नागरिकता बनेन । बज्यैले नेपाली बोल्न जान्दिनथीन । नेपाली भाषा बुझ्दिनथीन । बोल्थीन त आफ्नै मातृभाषा थारु । बुझ्थीन त आफ्नै मातृ भाषा थारु । थारु भाषामा उनले गीत गाउन सक्थीन । उखान टुक्का भन्न् सक्थीन । तर पनि उनले नेपाल राष्ट्रको नागरिकता पाउन बाट बन्चित भइन । नेपाल राष्ट्रको नागरिक नबनी उनी यो धर्ती छोडिन । के थारु भाषा नेपालको भाषा होइन ? समग्रमा के जनजातिले बोल्ने भाषा नेपालको भाषा होइन र ? के उनी कुनै बाहिर देशबाट आएर बसेकी थिइन त ? अथवा नागरिकता नपाउने खालको कुनै जघन्य अपराध नै गरेकी थिइन त ?
ईतिहासमा पढे अनुसार पहिला नेपाल भनेर काठमान्डु खाल्टोलाई भनिन्थ्यो । त्यस भन्दा बाहेक बाइसे चौबिसे राज्यहरु थिए । पृथ्वी नारायण शाहले राज्य एकिकरण गरे पछी देशको नाम नेपाल रहन गयो । त्यस पश्चात नेपाल देशलाई बहुभाषिक, बहुधार्मिक, बहु सास्कृतिक देश घोषणा गरियो । राज्य एकिकरण सँगै पृथ्वी नारायण शाहले नेपालमा एक भाषा निती लागु गरे । एक धर्म निती लागु गरे । जसले गर्दा सरकारी कामकाज लगायत अन्य व्यवहारिक् काममा जनजातिका मानिसहरुलाइ तागाराहरु लाग्दै गए । राज्यमा मुठ्ठी भरका उच्च हिन्दू अहमकारीहरुको हैकम चलि रह्यो । ति शासकहरुले अन्य धर्मावलम्वी, अन्य भाषीहरुलाई भेदभाव गरे । उपेक्षा गरे । ति शासकहरुले जनजातिहरुलाई भेदभाव त गरे नै । आफ्नै जात भित्र पनि ठुलो र सानो अझ पानी नचल्ने समेतको व्यवस्था गरी आफु सधैं सत्तामा टिकी रहने प्रपञ्च गरे ।
जनजातिका भाषाहरु खस भाषा (नेपाली भाषा) जतिको विकसित छैनन । तत्कालिन शासकहरुले जनजातिका भाषालाई फल्न फूल्न दिएनन । तर पनि बोलिचालिको रुपमा अझै जिवित छन । शहर बजार देखी टाढाका दुर दराजका जनजातिहरुका त कुरै छाडौं । राजधानी काठमान्डु मै जनजातिहरु अझै खस (नेपाली ) भाषा बोल्न जान्दैनन् । यस्तो परिस्थितीमा जनजातिहरुले सरकारी प्रायोजनको लागि आफ्नो भाषामा किन बोल्न नपाउने ?
यो एकाइशौ शताब्दीको युग हो । यो प्रजातान्त्रिक युग पनि हो । संसारका सबै देशले स्वतन्त्रताको अनुभुती गरिरहेको युग हो । अहिले संसारका लोकतान्त्रिक मुलुकहरुमा जुनसुकै भाषामा पनि सम्बाद गर्न पाईन्छ । कसैले कसैको भाषा नबुझे भाषा अनुवादकको सहयोग लिन सकिन्छ । तर नेपालमा त्यहिकै आदिवासीले आफ्नो भाषामा कुरा गर्न नपाउनु भनेको चरम अन्यायको पराकास्टा हो । यसको प्रमुख कारक पृथ्वी नारायण शाहको पाला देखी अहिले सम्मका केही उच्च अहंकार बोकेका सामन्तवादीहरु नै हुन । जो विगत देखी अहिलेसम्म पनि नेपाली शासनसत्ता उनिहरुकै हातमा रहेको छ् ।




