खस जातिलाई शोषक जाति भन्न मिल्ने कि नमिल्ने ?

सोमना थारु / बेल्जियम

som-narayan-thanet-somana-tharu-1212‘बाहुन क्षेत्रीले पनि देश र विदेशका गल्ली गल्लिमा भारी बोक्ने काम गरेका छन । बाहुन क्षेत्रीले पनि ज्याला मजदुरी गर्न बाध्य छन । खस जातिहरु पनि शोषित र पीडित छन । अर्थात सबै बाहुन क्षेत्री  सम्पन्न छैनन । बरु जनजातिहरु का  घरमा बाहुन क्षेत्रीले कुटो कोदालो गर्छन् । ज्याला मजदुरी गर्छन् । यति हुँदा हुँदैपनि खस जातिलाई शोषक जाती भन्ने ? ‘ भनेर एक जना बाहुन मित्र म सँग विवादमा उत्रिए । हुन त ब्राहमणवाद भन्दापनि ब्राहमण समुदायबाट आउने मित्रहरुलाई पिडा भएको देखियो ।

तर ब्राहमणवादले ब्राहमणलाई पनि त शोषण गरेको धोरैले मात्र देख्छन  । अर्थात नेपाली समाज खास गरी नेपाली राजनीतिमा ब्राहमणवाद ( बाहुनवद ) सामन्तवाद ,विस्तारवाद ,समाजवाद शोषक, शोषित जनवाद आदी शब्द्को खुबै प्रयोग हुन्छ । यहाँनिर केही शब्दहरु कुनै जाती विशेष सँग जोडीएका छन । ति शब्दहरु प्रयोग गर्दा कतिपय सम्बन्धित जातीका मित्रहरुलाई पिडा हुदो रहेछ । अर्थात चोरको खुट्टा काट भन्दा चोरले खुट्टा तानेको उखान जस्तो ।

वास्तवमा ब्राहमणवाद कुनै जाती विशेषसँग जोडीएको शब्द होइन । ब्राहमणवाद भनेको त कुनै पनि मान्छे भित्रको स्वार्थिपन हो । आफु मात्रै मिठो खाऊँ । आँफै मात्र राम्रो लाऊँ । आँफै मात्र जान्ने बुझ्ने अरु सबै मुर्ख । यस्तो सोच विचार वोकेको मानिस भित्र ब्राहमणवाद हुन्छ । यस्तो विचार ब्राहमण जाती भित्र सिमित हुँदैन । यो जुनसुकै जातजाती भित्र पनि हुन सक्छ ।

कति पो भा छ र ? जम्मा लगभग अढाइ सय वर्ष अघिको कुरो त हो । पृथ्वी नारायण शाहले राज्य एकिकरणको नाममा अन्य जनजातिको पहिचान र सस्कृतिमा धावा बोलेको । चाहे चार जात छतिस वर्ण को कुरा होस् । चाहे कचहरी पिच्छे एक पन्डित राखी शास्त्र बमोजिम अदालत चलाऊनु । चाहे विर्ता, गुठी र जागिरको कुरा होस् । यि तपसिलका  उपदेश वा योजनाहरु जनजातिहरुको भाषा, संस्क्रिति  माथि आक्रमण गर्न र विनाशको लागि ल्याइएका थिए तत्कालिन अवस्थामा । पृथ्वी नारायण शाहको पालामा लागु गरिएका योजनाहरु अझै कृयाशिल नै छन ।

पृथ्वी नारायण शाहको काल खन्ड देखी आजसम्मको नेपालको राज्य सत्ताको अवस्था हेरौं । हामीले के देख्छौ भने राज्यको हरेक निकायमा खस जातिको पहुंच र वर्चश्व रहेको । नेपाली राज्यसत्ता सामन्तवादी प्रकारको रहीआएको छ । यस्तो किसिमको राज्यसत्ता केही मुठी भरका मानिसहरुको हितमा हुन्छ भने बहुसंख्यक जनताको अहितमा । अर्थात अहिलेसम्मको राज्यका हर्ताकर्ता खस जाती हुँदै आएका छन । तिनले राज्यको ढुकुटीको प्रयोग गर्दै खस जातिका भाषा, संस्कृति ,परम्परालाई सँरक्षण र बिकास गरेका छन ।

हामीले जनजातिहरुका अवस्था हेरौ । एकातिर नेपाललाई बहुभाषिक देश भनेर भनिन्छ । तर राज्य सत्ताले नेपाली भाषालाई मात्र मान्यता दिएको छ । सरकारी कामकाजको हरेक निकायमा जनजातिहरुलाई जवरजस्ती पर्वते भाषा बोल्न लगाइन्छ । नेपाललाई बहु धार्मिक देश भनेर संसारका मानिसलाइ परिचय गराइन्छ । तर त्यही देशलाई संसारको एक मात्र हिन्दू राष्ट्र भनेर घोषणा गरिन्छ । अनी राजतन्त्रको अन्त्य पश्चात धर्म निरपेक्ष घोषणा गरिएको नेपालमा अझै पनि गाई काटनेलाई पक्राउ गरी जेल चलान गरिन्छ । यसलाई जनजातिहरु माथिको भेदभाव भन्न मिल्ने कि नमिल्ने ?

जनजातिका भाषा, संस्कृतिको संरक्षणको  लागि राज्यले कहिल्यै पहल गरेको देखिँदैन । राज्यको शासन सत्ताको बागडोर जनजातिको हातमा कहिल्यै आएन । न त राज्य सन्चालनको अन्य निकायमा नै पहुँच पाए जनजातिहरुले । त्यो अवस्था आजको गणतान्त्रिक र लोकतान्त्रिक व्यवस्थामा पनि उस्तै छ  ।

आज यो पंतिकारले सकी नसकी जानी नजानी  पर्वते भाषामा लेख्नु परेको छ । उसले आफ्नो मातृभाषा बोल्न सक्छ । तर लेख्न सक्दैन । अझ कतिपय जनजातिका भाषा त लोप हुने स्थितिमा पुगी सके ।  किनभने राज्यले उसको मातृभाषा संरक्षण र  बिकास गर्न  कहिल्यै  कुनै योजना लागु गरेन । बरु भाषा संरक्षणमा लागेका जनजाती अगुवाहरुलाई राज्यसत्ताका प्रशासकहरु द्वारा देश द्रोहिको आरोप समेत लगाइयो । हिन्दु एकात्मवादी राज्यसत्ताले जनजातिका भाषा संस्क्रिती लोप बनाउन क्ठोर प्रयास गरेकै हो । यसको वावजुद पनि थुप्रै जनजातिले आफ्ना भाषा जोगाएर राखेका छन  ।

माथि उल्लेखित कुराहरुलाई गहिरिएर अध्ययन र विष्लेषण गरौं । यहाँनिर के देखिन्छ भने  खस जाति शोषक (उत्पीडक) जातिको रुपमा रहेको छ भने अन्य जातिहरु सबै शोषित (उत्पीडित) जातिको रुपमा छन । हुनत शोषक जाति खसमा पनि गरिब, शोषित र सर्वहाराहरु छन । तर यसमा विचारणीय कुरा के छ भने खस जातिका शोषितहरु आर्थिक दृष्टिकोणबाट मात्र शोषित हुन । तर भाषिक, सामाजिक, साँस्कृतिक, धार्मिक आदि दृष्टिकोणबाट शोषित हैनन र छैनन । यस जाति अन्तर्गतका दलितहरु चाहिँ सामाजिक दृष्टिकोणबाट पनि शोषित हुन । अतः खस जातिलाइ शोषक मान्दा बाहुन र क्षेत्री जातलाइ नै जनाउँछ । यी जातिभित्र शोषितहरुको संख्या वस्तुत एकदमै कम छ भन्दा फरक नपर्ला ।

अर्कोतर्फ गैर खस वा जनजाति भित्रपनि सामन्त, पूँजीपती र शोषकहरु नभएका होइनन । तर ति आर्थिक दृष्टिकोणमा मात्र शोषक हुन । भाषिक, सामाजिक, साँस्कृतिक, धार्मिक आदि दृष्टिकोणबाट तिनिहरु शोषितै हुन । यस्ता किसिमका जनजाति शोषकहरु अत्यन्तै कम छन । यसरी नेपालमा जनसंख्याको हिसाबमा पनि खस जातिभन्दा जनजातिहरु धेरै भएको तर शदियौं देखि खस जातिबाट जनजातिहरु हेपिँदै, चेपिँदै र शोषण दमनमा पर्दै आएका छन । अतः जनजातिहरुलाइ शोषित र खस जातिलाइ शोसक मान्न सकिन्छ ।

यहाँ निर अर्को कुरा पनि के प्रस्ट देखिन्छ भने जनजातिहरु शोषित वर्गमा पर्दछन । उतातिर शोषित वर्गका खस जातिहरु पनि देखिन्छन । अर्थात वर्गिय हिसाबमा शोषितहरु समान । शोषित वर्गको प्रमुख दुश्मन सामन्तवादी राज्यसत्ता हो । यसकारण आफ्नो वर्गिय दुश्मनको विरुद्ध चाहे खस जाती होस् वा जनजाती या दलित सबै एकजुट भएर अगाडि बढ्नु आजको आवश्यकता हो ।

 

 

तपाइँको प्रतिक्रिया