ब्यंग्य : पदाधिकारी-विशेष व्यवस्था
● आनन्दराम पौडेल
“केहो हेडसर, जिल्लास्तरीय परीक्षाका प्रश्नपत्रहरु त अघिल्लै दिन निकालिने गरेको रहेछ ?” याम थापाले सोधे ।
“चारवटा बिषयको निकालियो होला ?” मदन अर्यालले जवाफ दिए ।
“चारवटा हैन पाँचवटा बिषयको प्रश्नपत्र निकालिएको देखिन्छ त।” याम थापाले प्रतिप्रश्न गरे ।
“त्यसोभए पाँचौं प्रश्नपत्र शिक्षक शिवजी मण्डलले निकाले होलान् ।” मदन अर्यालले प्रष्ट्याए ।
मोरङ्ग, याङ्सिला-९ स्थित सावित्री माध्यमिक विद्यालयका प्रधानाध्यापक मदन अर्यालले हरेक बिषयको प्रश्नपत्र परीक्षाको अघिल्लै दिन शील तोडी निकाल्नेगरेको भनि उजुरी परेकोले केराबारी स्रोतकेन्द्रका केन्द्राध्यक्ष टेकबहादुर थपलिया र स्रोतव्यक्ति याम थापा चैत १२ गते त्यहाँ पुगेका थिए ।
टोलीले स्थितिको मुचुल्का बनायो, प्रष्टिकरण दिनका लागि निरीक्षण पुस्तिकामा बिवरणसहित प्रश्नहरु लेख्यो । जिशिअ योगेन्द्र बरालको अनुमति लिएर मदन अर्याललाइ परीक्षा सञ्चालनको जिम्मेवारीबाट मुक्त गरी पूर्व शिक्षक जितबहादुर राईलाइ जिम्मेवारी सुम्प्यो । यति कार्य सम्पन्न गरेपछि टोलीले हेडसरसँग एकछिन सम्बाद गर्यो ।
“यो गम्भीर अपराध भएन हेडसर ?” स्रोतव्यक्तिले सोधे ।
“हाम्रो सबैभन्दा ठूलो कमजोरी के छ भने हामी हरेक घटना र बिषयबस्तुलाइ एकपक्षीय भएर एउटा पाटोबाट मात्र हेर्छौं । यो अधुरो दृष्टिकोण हो । यस्लेगर्दा हाम्रो वुझाई एकाङ्गी र व्यवहार असन्तुलित हुन्छ।” मदन अर्यालजीले दर्शन छाँटे ।
“त्यसोभए यो घटनाको अर्को पाटो कुन हो ?” स्रोतव्यक्तिले जिज्ञासा राखे ।
“तपाईंहरुले मदन अर्यालको पक्षबाट पनि हेर्नुपर्छ ।” हेडसरले सङ्केत गरे ।
“के-के हेर्नुपर्थ्यो ? खुलस्त भनिदिनुहोस् न त ।” जिज्ञासा झन् गहिरियो ।
“यो मदन अर्यालको काँधमा सावित्री माविको प्रधानाध्यापकको जिम्मेवारी त छँदैछ । सँगसँगै, सार्वजनिक उच्च मावि, केराबारी-७, डागीको शिक्षकको जिम्मेवारीपनि छ । साथै, क्षेत्रीय परीक्षा समितिको सचिवको जिम्मेवारीपनि यहीं काँधले बोक्नुपरेको छ । र, अहिले यहाँको परीक्षा सञ्चालनको जिम्मेवारीपनि मैले नै सम्हालेको छु । राष्ट्रका लागि यतिका जिम्मेवारी बोक्दाबोक्दै मैले पिता हुनुको कर्तव्य पूरा गर्न पाइरहेको थिइन । आखिर सन्तानप्रतिको कर्तव्य र जिम्मेवारी पनि त छनि ? यो पाटोबाट तपाईंहरुले हेर्नुपर्थ्यो भन्ने जिकीर हो मेरो ।” मदन अर्यालले मनको बह पोखे ।
“सन्तानप्रतिको के कर्तव्य पूरा गर्न पाउनुभएन ?” याम थापाले प्रतिप्रश्न गरे ।
“मेरो छोरो सार्वजनिक उच्च मावि, केराबारीमा कक्षा ८ मा पढ्छ । यसअघिका कक्षाहरुमा सेकेण्डटप हुँदै आयो । सेकेण्डटपसम्म उस्को आफ्नै प्रयासले भयो । यस्मा मेरो कुनै भूमिका थिएन । राष्ट्रको लागि खट्दाखट्दै आफ्नै सन्तानलाइ समय दिन भ्याएको थिइन । बाउ हुनुको नाताले अर्थोक केही गर्न नसकेपनि, आफ्नै प्रतिभा र प्रयासले सेकेण्ड भएको छोरालाइ प्रथम गराउनु मेरो दायित्व, जिम्मेवारी र कर्तव्य हो भन्ने सम्झें । सम्पूर्ण समय राष्ट्रको लागि समर्पण गरेको म जत्तिको मान्छेले छोराको लागि यति सानो छुट लिनु न्यायोचित नै हुने ठानें ।” विशिष्ट पदाधिकारीलाइ बाबुरामजीले राज्यकोषबाट पचाशौं करोड सुविधा पाउने व्यवस्था मिलाएको उदाहरणपनि दिए । यसरी मदनजीले हृदयको गहीराईदेखिका भावलाइ सर्लक्कै पोखे ।
“१०९ वटा प्रश्नपत्र हुनुपर्नेमा १०६ वटा मात्र छ । एउटा त तपाईंले आफ्नो छोराको लागि लैजानुभएछ, वाँकि २ वटा कता गए ?” याम थापाजीको खसखस अझै मेटिएन ।
“हामीकहाँ पानीशिक्षक छन् नि शिवजी मण्डल, वाँकि दुइटा प्रश्नपत्र तिनैले लगेको हुनुपर्छ । साँझ ट्यूशन पढाउँछु भनेकाले विद्यालयको चाबी दिनेगरेको थिएँ ।” मदनजीले कोरकार निकाल्न थाले ।
“पानीशिक्षक भनेकोचाहीं वुझिएन ?”
“शिवजी मण्डल भएभरका सबै बिषय पढाउँछु भन्नुहुन्छ, र सबैलाइ पास गराउने ग्याराण्टीपनि लिनुहुन्छ । जसरी पानी सबै रङ्गमा मिल्छ, त्यसरी नै उहाँ सबैतिर फीट हुने भएकोले पानीशिक्षक भनेका होलान् ।” मदनजीले भित्री कुरा खोले ।
“राष्ट्रका लागि यत्रो योगदान गरेको मान्छेले त्यति छुट लिनु स्वाभाविक हो भन्नुभयो । तर, तपाईंविरुद्धपनि उजुरी पर्यो त ?” याम थापाले फेरि कोट्याए ।
“शिक्षकहरुले त गरेनन् होला, सबैलाइ मिलाएर राखेको छु । पेण्डरी सुवेदी भन्ने अभिभावक अलि बढी नै चियोचर्चो गरिराख्छन् । तिनैले उजुरी गरेहोलान् ।” मदन अर्यालले यो आशङ्कापनि मेटाए ।
छानबिनको काम शुरुमै सकिएको थियो । सोधपुछपनि सकियो । बस्न आबश्यक नभएकोले केराबारी स्रोतकेन्द्रका केन्द्राध्यक्ष टेकबहादुर थपलिया र स्रोव्यक्ति याम थापाको टोली बिदाबारी भएर हिंड्दाभए ।




