देश बनाउन हैन लोभीहरु तान्ने प्रतिस्पर्धा
मन बदलियो । बुझाई अलग भो । विश्वास ढल्यो । नैतिकता र आस्था रहेन । आत्मविश्वास गुम्यो । ब्यक्तिगत लोभ, पद र पैसोको आकांक्षा चुलियो । एकाएक माथिल्लो पदमा आसिन हुने चाहना झ्यांगियो । आफुले वर्षौं सिंचिएको पसिना काम लागेन भन्ने भो । देश भन्दा निजि स्वार्थनै ठूलो भन्ने विश्वाश पलायो । देश बनाउन सकिन्न, जनतालाई केहि गर्न सकिन्न । त्यसैले सकेसम्म यो धरती लुट्ने हो भन्ने द्रिढ संकल्प बन्यो । अनि यस्ता मान्छे जुन पार्टीमा जता लागेपनि हुन्छ के ?
तर यस्तै गतिहिन, नितिहिन, लोभी र पापी, विश्वास अनि आस्था र नैतिकता गुमेकाहरुलाई फकाउँदै फेरी लोभ र आश्वाशन बाँडेर आफ्नो पार्टीमा भित्र्याउन हाम्रा नेता गाउँ गाउँ डुल्दै छन् । लात हानेर हिँडेका यिनै नैतिकहिनहरुलाई फेरी फकाएर ल्याउन भन्दै नेकपा एमालेले त कार्यदलनै गठन गरेको छ । प्रचण्ड कांग्रेस, नेकपा-माओवादी र एमालेका नेता तथा कार्यकर्ता आफुतिर तान्न गोप्य वार्ता र भेटघाट गर्छन् । एक मुठी रातो अबिर बोकेर गाउँ गाउँ चहारिरहेका छन् । एमाले झन अगाडि बढेर कार्यदलनै गठन गर्छ ।
देश अहिले एकदम गम्भिर अवस्थामा आइपुगेको छ । देखिन्छ र नेताहरु आफैंपनि यसै भन्छन् । जनताका समस्या धान्नै नसक्ने भएका छन् । सामान्य दैनिक जिवन धान्न नसकेर आत्महत्यानै गरेका घटना बढ्दो छ । तर देशका शासक र नेताहरु जनमुखि काम गर्न खोज्दैनन् । प्रयाससम्म गर्दैनन् । बरु कार्यकर्ता तान्न र नेता फकाउनमै तल्लिन छन् । चुनावको मुखमा यतिखेर एकिक्रित नेकपा माओवादीका अध्यक्ष प्रचण्ड गाउँ गाउँ गएर अन्य पार्टीका नेता तथा कार्यकर्ता फकाउन र आफ्नो पार्टीमा हुल्न थालेपछि अरु दललाईपनि त्रास भो । अनि अफ्ना नेता कसरि जोगाउने भन्ने भयले गाँज्यो । त्यसैले एमालेले आत्तिएर अहिले आफ्नै भगौडा नेता, कार्यकर्तालाई फकाउन कार्य दलनै गठन गरेको छ ।
आफ्नो पार्टीबाट अलग भएका नेता र कार्यकर्ता फकाएर फेरी चोख्याउन भन्दै एमालेले पार्टीका महासचिव ईश्वर पोख्रेलको संयोजकत्वमा सचिवद्वय युवराज ज्ञवाली र शंकर पोख्रेल सदस्यरहेको कार्यदल गठन गरेको छ । तिनको काम अब पार्टीलाई तथानाम गाली गर्दै छोडेर भागेका रामचन्द्र झासित वार्ता गर्ने । अनि उनलाई फकाएर फेरी एमालेमा फर्काउने । अब यो कार्यदलले कुन कुन दलमा भनेको पद नपाएर, लेनदेन नमिलेर, रिसाएर, पार्टीको निर्देशन नटेरेर, मोलतोल गरेर, अनेक घोटाला र अनियमित काममा फसेर कारवाही भोगेका, काम भन्दा पदलाई महत्व दिएर ठुस्सिँदै बसेकाहरुलाई फकाएर ल्याउने हो । यो कार्यदलको काम नै यहि हो । पद राम्रो पाइन भन्दै अरु पार्टीमा गुनासो गर्दै बसेकालाई उसले पाएको जिम्मेवारी भन्दा ठूलो भाग दिएर फकाउँदै चुनावका लागि आफ्नो पार्टीमा हुल्नु हो ।
देशमा बिजुली भएन । युवाहरुलाई रोजगारी भएन । शिक्षा निति गतिलो हुनु पर्यो । अनियमितता भो । भ्रस्टाचार रोक्नुपर्यो । राष्ट्रियता बलियो बनाउनु पर्यो । जनता साह्रै पिल्सिए दैनिक समस्याले । तिनलाई के कसरि निराकरण गर्न सकिन्छ भनेर एमालेले कहिल्यै कार्यदल गठन गरेन । देश र जनतालाई राहद दिने काममा एमालेले यस्तो कार्य दल गठनको चिन्ता गरेन । पुराना नेता र कार्यकर्ता किन पलान भैरहेका छन् भन्ने चिन्तन गर्नपनि जरुरि देखेन । तर चुनावकै अगाडि भगौडाहरुलाई फकाएर, लोभ देखाएर पार्टीमा फर्काउन कार्यदलनै गठन गर्नु उसको नितिहिनता हो । चुनावमा जसरिपनि फेरी अनेक आश्वासन बाँडेर जनता झुक्याउने चाला हो । आदर्श र नैतिकता त्यागेका अनैतिकहरुलाई हुलेर पार्टीलाई झन कुबाटोमा लैजानु हो । र यहि बाटो एकिक्रित नेकपा माओवादीलेपनि समातेको हो ।
एमालेमा लामो समय देखि निति, आदर्श र ईमान्दारिताको खाँचो देखिँदै आएको हो । एमालेका धेरै नेताले पार्टी छोडे । अशोकलगायत धेरै नेताले पार्टीमा बैचारिक लडाई लड्दै आएका थिए । तर एमालेले पार्टीमा रहेका कमजोरी सुधार गरेन । पार्टीको आदर्शलाई त्याग्दै, कुल्चँदै र बिर्सँदै गयो । तर कतिपय पदका लोभीले यहि मेसोमा पार्टी त्यागे । तर अशोक राई लगायतका कतिपयले पार्टीले बाटो बिराएकाले, पार्टीले सहि राजनितिक कार्यदिशा लिन नसक्दा पार्टी छोडे । त्यो बेलासम्म एमालेले तिनका सहि माग र बिचारहरुलाई सम्मान गरेन । तर अहिले निर्वाचनको मुखमा खाली नेता र कार्यकर्ता तान्न मात्रै कार्य दल गठन गरेर अर्को नितिहिन काम गरेको छ । यो सोच, यस्तो मानसिकताले देशको राजनितिक समस्या हल हुँदैन । जनताका तमाम समस्याहरु हल हुँदैनन् । देशले सहि राजनितिक दिशा लिन सक्दैन । पार्टी पार्टीबिचको अविश्वास झन गहिरो पार्छ । एक अर्कामा बैमन्स्यता बढाउँछ । अनैतिक राजनितिक गर्नेको मनोबल बढाउँछ । असल, नितिवान, भरपर्दा, विश्वाशिला कार्यकर्ताको अपमान बढ्छ । कुनै राजनितिक सहमती भन्दा पार्टी र नेताबिच अनावश्यक शंका बढाउँछ ।
चाहे त्यो नेपाली कांग्रेस होस् वा एकिक्रित माओवादी, नेकपा-माओवादी होस् वा एमाले जनमुखि राजनिति त्यागेर लोभी पापी नेता र कार्यकर्ता तान्ने मानसिकताले देशमा झन यस्तै बिचलित, नितिहिन, राजनितिक आदर्श मूल्य मान्यता नभएकालाई बढुवा दिन्छ । लोभ, नैतिकता र आदर्शहिन नेता कार्यकर्ताको मनोबल बढाउँछ । तर देशको समस्या हल गर्ने बाटो खोल्दैन ।




