‘पहिले कम्युनिष्ट थिएँ अहिले होइन’
असाध्यै ब्यस्तताका बिच संघिय समाजवादी पार्टीका अध्यक्ष अशोक राई पेरिस आए । अन्तर्राष्ट्रिय नारी दिवसका दिन संयुक्त कार्यक्रम गरियो । कार्यक्रमपूर्व केहिलाई शंका थियो, कतै अशोक राई आएर नारी दिवसमा आफ्नो र आफ्नै पार्टीको बखान छाँटेर हिड्ने हुन् की ! कार्यक्रमको उद्देश्य अन्तै मोडिने पो हो कि ? कार्यक्रम आफ्नै पारामा भयो । राजनितिक कार्यक्रम शुरु हुँदा सहभागिहरु पनि थपिए । राजनितिक विषयमा अनेक पोका पन्तुरा बोकेर मित्रहरु आइपुगे ।
अशोक राईसित राजनितिक अन्तर्क्रिया शुरु भो । केहि सहभागिका प्रश्न सुन्दा ति ठूलै नेता झैं लाग्थे । कसैका जिज्ञासा सामान्य र जायज थिए । केहिका प्रश्न ‘किन एमाले छोडेर हिँडिस’ भन्ने खालका थिए । स्पष्ठै बुझिन्थ्यो, केहि एमालेको समर्थन गर्ने थिए जो अशोक राईले एमाले छोडेकामा आक्रोशित थिए । र यहि मेसोमा राईको झ्याँको झार्न सकिन्छ कि !
‘त्यत्रो गरिमामय पार्टीको महत्वपूर्ण पदमा लामो समय सम्म बसेर अहिले तपाईले पार्टी र देशलाई चुनावको मुखमा किन के उद्देश्यका लागि धोका दिन छोड्नु भो ? राष्ट्रिय पार्टी छोडेर किन जातिय पार्टी खोलेर देशलाई जातिय खाडलमा, बिखण्डनतिर लैजान थाल्नु भो?’ यो एक महत्वपूर्ण प्रश्न राखेका थिए । धेरैलाई लागेको रहेछ, यो संघिय समाजवादी पार्टी जातिय बिखण्डनकालागि रोपिएको हो ।’
अशोक राईले आफ्नो पार्टी कुनै जातिय नभएर राष्ट्रिय पार्टी भएको जवाफ दिए । बरु जातिय बिखण्डनलाई रोक्न आफुहरुले बिकल्प सहित नयाँ पार्टी गठन गरेको जवाफ दिए । एमालेमा रहँदा आफुले देशको राष्ट्रिय समस्या हल गर्न पटक पटक सुझाव दिएको, पार्टीमा फरक मत राख्दै र लड्दै आएपनि पार्टीले अहिले राष्ट्रिय समस्या हल गर्ने अग्रगामी निति लिन नसकेकाले आफुहरुले अब यो पार्टीमा बसेर औचित्य छैन, सुधार्न सकिन्न भन्ने बुझेपछि छोडेर नयाँ पार्टी गठन गरेको उनले हाकै बताए ।
लामो समयदेखि कम्युनिष्ट रहेर अहिले संघिय पार्टी गठन गरेपछि कम्युनिष्ठ आदर्शबाट बिचलित भएको आरोप लगाए । केहिले हाकै सोधे ‘तपाई कम्युनिष्ट हो कि होइन ?’ उनले हाकै जवाफ दिए ‘म कम्युनिष्ठ थिएँ । तर अहिले होइन ।’ उनले पुरानो कम्युनिष्ठ आदर्श, तरिका, निति मूल्य र मान्यतालाई त्यागेका रहेछन् । उनको तर्क थियो ‘शतब्दियौं लामो कम्युनिष्ट ब्यवस्था, मूल्य र मान्यता अहिले हुबहु लागू हुनै सक्दैन । बदलिँदो विश्व परिस्थिति, जनताका नयाँ आकांक्षा, बुझाई, नयाँ अप्रिवेश र नयाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा ति हुबहु लागू हुनै सक्दैनन् । चिनमा सांस्क्रितिक क्रान्ति र सोभियत रुसमा भएको क्रान्तिको बेला र अहिलेको राजनितिक परिस्थिति, माग र घटना समान छैनन् ।’ त्यसैले समय सुहाउँदो आफ्नै देश अनुकूलको ब्यवस्था लागू हुनु पर्छ । तर कम्युनिष्ट ब्यवस्थाका सकारात्मक पक्षहरुलाई समेटेर लागू गर्न, तिनलाई आफ्नो देश र परिस्थिति अनुकूल अपनाउन भने सकिन्छ । ‘मार्क्स, माओ र लेलिन अहिले जिवित भएको भएपनि त्यो बेलाका कतिपय कुरा अहिले समय सापेक्ष छैनन् भनेर बदल्ने थिए । त्यसैले हामीले त्यो बेलाकै हुबहु अहिले लागू गर्छु भनेर त हुँदै हुन्न नी’ उनले सुनाए ।
कुनैपनि देशले गरेका राज्य क्रान्तिहरुलाई हुबहु जस्ताको तस्तै अपनाउन खोजियो भने त्यो असफल हुने तर्क गरेका थिए उनले । अहिलेको नेपालमा सबै जात जाति, भाषा भाषी, संस्क्रिति, उत्पिडित वर्ग, महिला र मजदूरका समस्या हल गर्ने, जातिय पहिचान सहितको संघिय नेपाल हुनु पर्ने उनले तर्क गरे । त्यसकालागि नेपालको आफ्नै माटो, हावापानी र राष्ट्रिय आवश्यकता अनुसारको संघिय शासनको मोडेल बनाउनुपर्ने उनको भनाई थियो ।
एक जना साथीले सोध्दै थिए ‘नेपालमा सबै राजनितिक दलहरु असफल भए । तपाई त्यत्रा वर्ष एमालेमा लागेर त केहि गर्न सक्नु भएन । अनि किन फेरी असफल हुन अर्को पार्टी गठन गर्नु भएको ? बरु देशमा सुधारात्मक काम गर्न त स्वच्छ मानिसहरुको एउटा राम्रो टोली बनाएर काम गरे हुने नी !’ उनले देशमा राजनितिक दलहरु जतिसुकै असफल भएपनि राजनितिक समस्या राजनितिक तरिकालेनै हल गर्नु पर्ने भएकोले राजनितिक दलहरुकै खाँचो हुने औंल्याए ।
‘वारी पट्टी मगर गाउँ । पारी पट्टी गुरुङ वस्ती । बिचमा जन्मिएँ । हुर्किएँ । रोदी गाएँ । चौतारी सुनें, नाचें, गएँ, खाएँ र डुलें । मलाई कहिल्यै समस्या भएन जनजातिका बिचमा बस्दा । बरु प्रिय भएर बसियो । अब यो जातिय पार्टी खोलेर, जातिय रुपमा बिखण्डन गरेपछि पो समस्या हुने भो त । हामी मिलेर बसेका मगर, तामाङ, गुरुङ र बाहुनका बिचमा त अब पो समस्या हुने भो त ।’ यस्ता प्रश्न धेरैले राखेका थिए । अशोक राईले त्यस्ता प्रश्न जायज भएको बताए । तर सबैको भाषा, लिपी, संस्क्रिति, सभ्यता र रितिथितीलाई संरक्षण र पहिचान हुन नदिन, बरु संरक्षण गरेर राख्न आफुहरुले पहल गरेको बताए । सयौं थुँगा फूलका माला हामी नेपाली’ भनेपछि सबै थुँगाहरुलाई समान अधिकार, समान पहिचान र अवशर दिँदा कसरि जातिय बिखण्डन हुन्छ ? बरु ति मालाहरुलाई समान अवशर र पहिचान दिएर राख्न नसके छिन्छन् र माला छिन्न भिन्न हुन्छ ।
जातिय बिखण्डन रोप्न खोजेको ठानेर आक्रोसित प्रश्न धेरैले राखेका थिए । तर अशोक राई बडो शान्त र मिठासले भरिएका नेता रहेछन् । सबैलाई ‘तपाईहरुका प्रश्न जायज हुन् । गम्भिर प्रश्न राख्नु भो’ भन्थे । ‘तपाईहरु असफल भैसकेका नेताहरुले फेरी किन पार्टी खोलेर राजनिति गर्ने ?’ यो प्रश्नमा उनले आफु चोखो छु, अरु सबै खत्तम भन्न चाहेनन् । ‘यो देशमा हामी राजनितिक दल र नेताले गतिलो बिकल्प दिन सकेनौं । त्यो म स्विकार गर्छु । तर यो बेतिथि र राजनितिक दलहरुको असफलताको कति प्रतिशत, कति भाग मलाई पर्छ त्यो स्विकार्न म तयार छु । हामी असफल भएकै हो’ उनले हाकाहाकी भने ।
कार्यक्रम सोचिएको भन्दा राम्रो भो । तर ढिला भएकाले धेरै साथीहरुले आफ्ना जिज्ञासा राख्न पाएनन् । अशोक राई, संघिय समाजवादी पार्टीका युरोप संयोजक पिजी शेर्पा आइफल टावर चढ्न गए । म खान बनाउँछु भन्दै घर फर्किएँ । बाटैमा केहि फोन बजे । ‘दाई अशोक राई खुब मजा रहेछन् नी नेता त ।’ सुनाए एक जना साथीले । ‘अर्को पटक उनी आएभने बरु म पनि सय पचास युरो हालुला, ठूलो हल लिएर छलफल राख्नु पर्छ ।’ राजनितिक कार्यक्रम राखेर नेताका ट्याउँ ट्याउँ के सुन्ने भन्ने गुनासो गर्दै आएका उनले अशोक राईको प्रस्तुति पछि यसो भन्दा अचम्म लाग्यो ।
‘अशोक राई एकदम, सरल, ईमान्दार र स्पष्ठ बक्ता रहेछन्, कमजोरी स्विकार्ने ईमान्दर नेता पो रहेछन्’ केहिले यसो भन्दै थिए । धेरैको गुनासो राम्रोसित अन्तर्क्रिया गर्नै पाइएन भन्ने थियो । केहिले चाहिँ ‘अशोक राईले कम्युनिष्ट आदर्श त्यागेका रहेछन् है ? हाकै भने त म अब कम्युनिष्ट होइन भनेर’ भन्दै थिए ।
आइफल टावर घुमेर साँझ ११ बजे फर्किए । नेपालको समसामयिक विषयमा केहि बेर गफ गरियो । अर्को दिन बिहान उठेर ‘पेरिस घुम्न निस्किएका हामी पानी झमझम परेर दखल पुर्यायो । पेरिसका पुराना घर, चट्ट मिलेका चोक, संरक्षण गरेर राखिएका पुरातात्विक महत्वका सम्पदा देख्दा उनी घरि घरि लोभिन्थे । ‘पेरिसबाट सिक्नुपर्ने कुरा धेरै रहेछन्’ भनिरहन्थे । ‘त्यति धेरै वर्ष अघि यत्रा वर्ष पछाडी सम्मलाई कसरि सोचेर बनाएका होलान् है ? जिज्ञासा राख्थे । गाडी हाँकेका थिए उनै पिजी शेर्पाले । मुटु हल्लाउने जाडो थियो । करिब दुई घण्टा गाडीमै पेरिसको फन्को मारेपछि राईले भने ‘युरोपका अन्य शहर घुम्नु र पेरिस हेर्नु अन्तर निकै पो रहेछ । यो शहर अरुभन्दा भिन्नै पो रहेछ त । पेरिस नघुमेको भए त युरोप यात्रा अपुरोनै पो हुने रहेछ त ।’




