सफल होला जनजाति पार्टी ?

राजेन्द्र राई

nepal-adibasi-janajati-mahasangh-12123एकल जातीय पहिचानसहितको संघीयता निर्माण गर्नेलगायतका जनजातिका मुद्दाहरूलाई देशका पुराना र ठूला पार्टीहरूले सम्बोधन गर्न नचाहेको, नसकेको र भविष्यमा पनि सम्बोधन गर्ने कुनै सम्भावना नभएकाले नयाँ शक्ति निर्माण गर्नुपर्ने आवश्यकता देखिएको भन्ने निष्कर्षसहित विभिन्न क्षेत्रमा क्रियाशील जनजातिका अगुवाहरू नयाँ पार्टी खोल्ने अभियानमा जोडतोडले लागिरहेका छन् ।

स्थिति कतिसम्म अघि बढिसकेको छ भने अब विरल कोटीमा पर्ने चमत्कार दोहोरिएन भने निकट भविष्यमा नै यो देशमा विभिन्न क्षेत्रका जनजाति व्यक्तित्वहरूको अगुवाइमा एउटा नयाँ राजनीतिक दलको जन्म हुने निश्चित छ । अझ अगाडि बढेर भन्ने हो भने त्यस खालको दललाई गत साउन २५ गते नै विश्व आदिवासी दिवसको सन्दर्भ पारेर जन्माउने तयारी र कसरत गरिएको हो र केही खास कारणहरूले गर्दा मात्र सो कामले पूर्णता पाउन नसकेको हो । साउन २५ गते दल जन्माउने कामले पूर्णता नपाएको भए पनि दलको प्रस्तावित नाम, घोषणापत्र र दल जन्माउने कामलाई अगाडि बढाउने जिम्मा पाएको एक समितिको घोषणा गर्ने काम भने सम्पन्न भएको छ ।

धेरैलाई लाग्न सक्छ, देशको संविधान, नियम, कानुनको परिधिभित्र दल खोल्ने र सञ्चालन गर्ने कुरा अरूहरूको जस्तै जनजातिका मानिसहरूको पनि अधिकार र इच्छाको कुरा भएको हुनाले यसमा कसैले केही भन्न हुँदैन । तर, राजनीतिक दल र दल खोल्ने कुरा आमजनताको सरोकारको विषय भएको हुनाले यसबारे अनेक खालका टीकाटिप्पणी आउनु, प्रशस्त वादविवाद, छलफल हुनु स्वाभाविक छ ।

त्यस्ता कुराहरूलाई कसैले अन्यथा मान्नु हुँदैन बरु स्वागतयोग्य मान्नुपर्छ । साँच्चै भन्ने हो भने त्यस्ता विषयमा आफ्नो विचार, धारणा राखेर सही बाटो देखाउनु सचेत नागरिकको कर्तव्यसमेत हो । छलफलको आरम्भ नयाँ दल खोल्ने अभियानमा जुटेका जनजातिका मानिसहरूले अघि सारेका एकल जातीय पहिचानसहितका संघहरू निर्माण गर्नेलगायतका मुद्दाहरू ठीक कि बेठीक भन्ने ठाउँबाट गरिनुपर्ने हो । तर, यस विषयमा निकै धेरै छलफल भइसकेको र आउनुपर्ने जति तर्कहरू मोटामोटी रूपमा आई पनि सकेको हुनाले यहाँ यस विषयलाई थाती राखेर नयाँ दलको भविष्य कस्तो होला अथवा नयाँ दल सफल बन्ला कि नबन्ला अथवा जे उद्देश्यका लागि नयाँ दल खोलिन लागिएको हो, त्यो कुराको प्राप्ति होला कि नहोला भन्ने विषयमा छलफललाई केन्द्रित गर्न खोजिएको छ ।

नयाँ दल खोल्ने अभियानमा लागेका जनजातिका मानिसहरूको भनाइअनुसार नयाँ दल खोल्नुको मुख्य उद्देश्य एकल जातीय पहिचानसहितका संघहरू निर्माण गर्नेलगायतका जनजातिका मुद्दाहरूलाई सम्बोधन गर्ने÷गराउने भन्ने हो । नयाँ दल खोल्दैमा के यो कुरा सम्भव होला त ? अझ भन्ने हो भने नयाँ दल खोल्ने अभियानमा लागिरहेका मानिसहरूले आरोप लगाए जस्तै गरी यदि देशका ठूला राजनीतिक दलहरू नकारात्मक रूपमा प्रस्तुत भए भने उनीहरूले खोल्ने नयाँ दलले मात्र जनजातिका मुद्दाहरूलाई सम्बोधन गर्न÷गराउन सक्ने अवस्था निर्माण गर्न सक्ला ? भावना, उत्तेजना, आक्रोशमा आएर त्यस्तो अवस्था निर्माण गर्न सक्छ भन्नु बेग्लै कुरा, तर यथार्थमा त्यस्तो अवस्था निर्माण हुने कुनै सम्भावना छैन । यस सच्चाइलाई स्पष्ट पार्न केही तर्कहरू राख्न उचित हुनेछ ।

सबैले बुझ्न सक्ने कुरा हो, जनजातिका मुद्दाहरूलाई सम्बोधन गर्न वा गराउनका लागि जनजातिका मानिसहरूले खोल्न लागेको नयाँ पार्टीको हैसियत सशक्त अथवा ठूलो हुनु जरुरी छ, कम्तीमा पनि अरूले नजरअन्दाज गर्न नसक्ने, राष्ट्रिय राजनीतिमा निर्णायक÷महŒवपूर्ण भूमिका खेल्न सक्ने खालको हुन जरुरी छ, चाहे मुद्दाहरूको सम्बोधन संविधानसभाबाट गर्न परोस्, चाहे संसद्बाट, चाहे सडकबाट, चाहे वार्ता र सहमतिको माध्यमबाट गर्न परोस् । तर, त्यस पार्टीको हैसियत सशक्त हुने कुनै सम्भावना छैन । स्वाभाविक रूपमा त्यस पार्टीमा आम जनसंख्याको बहुप्रतिशतमा रहेका गैरजनजातिका मानिसहरूको सहभागिता, समर्थन र सहयोग रहनेछैन, केही अपवादबाहेक ।

यस कारणले कि, त्यस पार्टीलाई आमरूपमा मानिसहरूले जनजातिहरूको पार्टीको रूपमा अथवा जनजातिका हितमा मात्र समर्पित पार्टीको रूपमा बुझ्नेछन् । हो, अहिले जति नै चर्को कुरा गरिए पनि पछि त्यसलाई जनजातिका हितका लागि र जातीय मुद्दाहरूमा मात्र समर्पित र सीमित पार्टी होइन भनेर राम्रैसँग प्रचार गरिनेछ, त्यस्तो विश्वास दिलाउन कोसिस गरिनेछ, तर पनि आममानिसले त्यस्ता कुुराहरूलाई पत्याउने छैनन् । त्यति मात्र होइन, त्यस पार्टीमा जनजातिकै मानिसहरूको सहभागिता, समर्थन र सहयोग पनि धेरै त्यो पार्टी खोल्नेहरूले सोचे जस्तो हुनेछैन, निकै न्यून नै हुनेछ । एक त, जनजातिका बहुसंख्यक मानिसहरूले एकल जातीय पहिचानसहितको संघ निर्माण गर्नुपर्नेलगायतका कतिपय मुद्दाहरूलाई रुचाएका छैनन्, हल्ला जस्तोसुकै चलाइएको भए पनि ।

दोस्रो, त्यस्ता मुद्दाहरूमा सहमति नै भए पनि विभिन्न पार्टीमा आबद्ध भएका जनजातिका मानिसहरू केही थोरैबाहेक आफ्नो पुरानो पार्टी छाडेर त्यस पार्टीमा गई हाल्दैनन्, बरु उनीहरू पार्टीभित्रै वैचारिक संघर्ष गरेर बस्नेछन्, पार्टी परिवर्तन नगरेपछि उनीहरूले त्यस पार्टीलाई सहयोग र समर्थन गर्ने कुरा पनि आउँदैन । तेस्रो, मुद्दाहरूमा सहमत तर कुनै पार्टीमा आबद्ध नभएका जनजातिका मानिसहरू पनि सबैले त्यस पार्टीलाई समर्थन र सहयोग गर्छन् भन्ने केही छैन, किनकि पार्टी छनोट गर्ने भन्ने कुराको टुंगो कुनै एक विषयमा हुने सहमति वा असहमतिको आधारमा मात्र गरिँदैन । विगतमा मधेसवादी पार्टीलाई मधेसी जनताले सहयोग, समर्थन गरेजस्तो (अब त्यस खालको सहयोग, समर्थन हुनेछैन) जनजातिका मानिसहरूले त्यस पार्टीलाई सहयोग र समर्थन गर्छन् भन्ने कसैले ठानेका छन् भने त्यो भयंकर ठूलो भ्रम र भूल हुनेछ ।

किनकि, त्यसै पनि जनजातिका मानिसहरूमा मधेसी जनतामा जत्तिको साम्प्रदायिक भावना बलियो छैन, कारण जेसुकै होऊन् । अझ अब त मधेसी दलहरूको भूमिका र हालतलाई देखेर पनि अथवा मधेसी नेताहरूले मधेस र मधेसी जनताको स्वार्थलाई एकातिर पन्छाएर निजी स्वार्थका लागि दौडिएको, पटक–पटक पार्टी फुटाएको जस्ता कुराहरूलाई देखेर पनि मधेसी जनता सँगसँगै जनजातिका मानिसहरूले पनि गम्भीर शिक्षा लिएका छन् अथवा जातीय, क्षेत्रीय मुद्दाहरू उठायो भन्दैमा जो कसैलाई विश्वास गरिहाल्नु नहुने रहेछ, जातीय, क्षेत्रीय मुद्दाहरू निजी स्वार्थ प्राप्तिका लागि पनि उठाइने रहेछ भन्ने शिक्षा लिएका छन् । अर्कोतिर जनजातिका मानिसहरूले खोल्न लागेको नयाँ पार्टीमा विगतमा पार्टी जीवनको अनुभव नगरेका अथवा पार्टी जीवनमा अभ्यस्त नभएकाहरूका कोरा मानिसहरूको उपस्थिति ठूलो संख्यामा हुनेछ ।

क्षेत्रगत हिसाबले पनि धेरैतिरबाट आएका मानिसहरूको जमघट हुनेछ । त्यस्ता मानिसहरूलाई मिलाएर पार्टी सञ्चालन गर्नु त्यति सजिलो हुनेछैन । पार्टीभित्र अराजकता, स्वच्छन्दता, अनुशासनहीनता आदिको सम्भावना प्रवल हुनेछ । विभिन्न क्षेत्रबाट आएका व्यक्तित्वहरूको टकराव हुन सक्ने सम्भावना पनि भई नै हाल्छ । निश्चय पनि यस्तो पार्टी बलियो हुने कुरै आउँदैन । माथि प्रस्तुत गरिएका तर्कहरूका आधारमा सहजै भन्न सकिन्छ, जनजातिका मानिसहरूले खोल्न लागेको पार्टी ठूलो र शक्तिशाली बन्ने र त्यसले जनजातिका मुद्दाहरूलाई सम्बोधन गर्ने, गराउने कुरामा प्रभावकारी भूमिका खेल्न कुनै सम्भावना हुनेछैन । साँच्चै भन्ने हो भने सबै काम झोलाबाटै चलाउनुपर्ने झोले पार्टी बन्ने सम्भावना बढी छ ।

थप कुरा गर्ने हो भने, जनजातिका मानिसहरूले नयाँ पार्टी खोलेपछि विद्यमान ठूला राजनीतिक पार्टीहरूमा झन् नकारात्मक असर देखापर्ने सम्भावना हुनेछ । किनकि, ती ठूला पार्टीहरूमा एकातिर प्रतिक्रियात्मक सोच विकास हुनेछ अथवा जनजातिहरूका पार्टीलाई सैद्धान्तिक रूपमा गलत र व्यावहारिक रूपमा असफल पार्ने सोच विकास भएर जानेछ । अझ आफ्ना पार्टीबाट कतिपय नेता, कार्यकर्ताहरू त्यस पार्टीमा गए भने त त्यस्ता खाले सोचको सम्भावना झनै बढेर जानेछ ।

अर्कोतिर ती ठूला दलहरूबाट जनजातिका मुद्दाहरूका पक्षमा आवाज उठाउँदै आएका कतिपय नेता, कार्यकर्ताहरू बाहिरिए भने त्यसै पनि ती पार्टीहरूमा त्यस खालको आवाज कमजोर हुनेछ नै तर कोही बाहिरिएनन् भने पनि जनजातिका मानिसहरूले खोलेका दलको तर्फबाट ती ठूला दलहरूलाई चर्को प्रहार गरिन थालेपछि ती ठूला दलमा आबद्ध जनजाति नेताहरू पनि आफ्नो पार्टीको रक्षामा उभिनुपर्नेछ, त्यसो गर्नु उनीहरूको बाध्यता हुनेछ । त्यति मात्र होइन, उनीहरूले पार्टीभित्र जनजातिका मुद्दाहरूलाई उचो स्वरले उठाउन सक्ने अवस्थासमेत बाँकी रहनेछैन ।

यी सबै कुराहरूको असर ठूला पार्टीहरूका संस्थागत निर्णयहरूमा पनि पर्न सक्नेछ । निष्कर्षमा भन्ने हो भने देखाइएको उद्देश्य एउटा र भित्री उद्देश्य बेग्लै छन् भने बेग्लै कुरा अथवा प्रत्यक्ष निर्वाचनमा शून्य सिट हात लागे पनि समानुपातिकबाट दुई, चार सिट हात पार्ने, समानुपातिकसहितको प्रणालीबाट चुनाव हुँदा कसैको पनि बहुमत नआउने खालको संसद् बन्न सक्ने र त्यस्तो अवस्थामा आफूलाई बिक्रीमा राखेर एक, दुई थान मन्त्रीको पद पड्काउने अथवा सिद्धान्त र अतिवादी आदर्शका लागि बलिदान हुने भने बेग्लै कुरा । होइन भने जनजातिका मानिसहरूले छुट्टै दल खोलेर केही फाइदा हुनेछैन बरु घाटा हुनेछ, मुलुक र व्यक्ति सबैका लागि ।

(लेखक एमालेका युवा नेता हुन् । यो लेख समसामयिक र महत्वपूर्ण लागेकाले राजधानी दैनिकबाट साभार गरिएको हो)

तपाइँको प्रतिक्रिया