जोन लेननको विश्वास, हाम्रा नेता र आगामी चुनाब
● मोहन राज बराल “मुन” / बेलायत
प्रख्यात गायक जोन लेननले ११ डिसेम्बर १९७० मा रिलिज गरेको आफ्नो गीत “गड” मा भनेका छन् ।
“आई डन्ट बिलिभ इन ज़िम्मरम्यान
आई डन्ट बिलिभ इन बिटल्स
आई जस्ट बिलिभ इन मि
योको एंड मि
एण्ड द्याट ईज रियालिटी”
यो गीतमा भगवानलाई हाम्रो पिडाहरु नाप्न प्रयोग हुने अवधारणको रुपमा प्रस्तुत गर्दै गीता, बाईवल, बौद्ध आदि धर्महरुमा विश्वास गर्दिन । त्यस्तै हिटलर, केनेडी, राजा आदि शासकहरु विश्वास गर्दिन । साथै बब डयालिन तथा बिटल्स जस्ता संगीतकर्मीहरु पनि विश्वास गर्दिन । तर मात्रै आफुंलाई र आफ्नो दोस्रो श्रीमती “योको” लाई विश्वास गर्छु भनिएको छ ।
यहाँ प्रसंग गर्न खोजिएको भने राजनीतिको हो । राजनीतिक पाटीहरुको हो । लेननले उक्त गीतमा कसैको विश्वास छैन भने झैँ हाम्रो देशका पाटीका बडे नेता र यिनका छोटे नेताहरुले हिजोका दिनहरुमा अर्को पाटीलाई विश्वास गरेनन । यदि विश्वास गरे भनेपनि आन्दोलन हुँदा छोटो दिनको लागि मात्रै गरे । यो पछि विश्वास गरेत केवल सत्ता र कुर्चीको लागि मात्रै गरे । २०४६ साल पछिका दिनहरुमा येस्तै खेलहरु धेरै खेलिए । राजनीतिक पाटीलाई बिना लगानी स्थापना गरिएको नाफामुखी उद्योग व्यबसाय बनाईयो । २०६२/२०६३ को गणतान्त्रिक आन्दोलनपछी अहिलेपनि कहानी उही नै छ ।
अहिले नेपालमा ४ दलीय सिन्डिकेट प्रथा छ । अफसोच ! आफै-आफैमा विश्वासको वातावरण छैन । फलत यिनीहरु चोर बाटोबाट खिलराज लाई भिरमा पुराउने र “डिलराज ” बनाउन खोज्दै छन् । हुनत फलानो पाटीले चुनाब जितेपनि विश्वासको वातावरण बनाउन पर्छ । लोकतन्त्रमा विश्वास गर्ने हो भने हतियार बिहिन हुनपर्छ । सेना बिहिन हुनपर्छ । बल्ल वातावरण सिर्जना हुन्छ भन्ने कुरालाई १००० पटक रेति लगाउने काम पनि भए । यी कुरा पुरा भए लगत्तै हात्तीको देखाउने दाँत जस्तै फेरि स्वर परिवर्तन हुन थाले । फेरि सर्बसत्ताबाद, निरङ्कुश, अधिनायकबाद जस्ता बखेडाहरु झिकेर निषेधको राजनीतिलाई सुरुवात गरिएको छ । बरु अब कति दिनसम्म एउटा राजनीतिक दलको नेता भएको प्रधानमन्त्रीको कुर्ची अर्को दलको नेतामा सर्दैमा निकास निस्कने भनेर पछि कुद्ने ? के प्रचण्डबाट माधब नेपाल भए फेरि झलनाथ भए के हिजो को दिनमा निकास निस्किएको थियो र ? के जुन सुकै “सेते”आए नि उही “काले” जस्तै भएका छैनन् र ? तसर्थ कुनै पूर्वसर्त नराखी राजनीतिक दलहरूले यो सरकारकै नेतृत्वमा किन नजाने ? बरु दलहरु भन्ने गरेको झैँ दलहरूको हातबाट राज्यसत्ता खोसिने पक्का छ । किन कि चुनाब गराउने नाममा संस्थागत गर्नुपर्ने लोकतन्त्र ३ महिनाको ठेक्कामा दिन खोजिदै छ ।
अहिले हाम्रा नेताहरु “हाँडीगाउ” नेपालमै पर्छ भनेर सहमतिको नाममा भजन गाउँदै कहिँ नभाको जात्रा सधै देखाईरहेछन । जसले मुखले चुनाब चुनाब भने पनि कोहि चुनाब चाहन्नन् । पाटीलाई चुनाब गराउने नाममा सत्ता चाहिएको छ । हिजो अधिकार चाहियो भनेर आन्दोलन गर्नेहरु खै आज चुनाबको माग गरेर बालुवाटार घेरेका ? कहाँ गए हिजोका ति “अखण्ड” भनेर आन्दोलन गर्नेहरु ? जेठ १४ अगाडी “अखण्ड” भनेर आन्दोलन गर्ने सभासद-अखंडेहरु २०६४ चैत्र २८ को संबिधान सभाको चुनाबमा कस्तो घोषणा पत्र लिएर भोट माग्न चुनाबमा गएका थिए ? आज किन मौन छन् ? अहिले यी चुपचाप देख्दा आफै झाक्री आफै बोक्सी झैँ लाग्छ ।
यहाँ सबलाई डर छ, कुन मुख लिएर भोट माग्न जाने ? के नेताहरु भित्रि मनबाटै चुनाब चाहन्छन ? यहाँ के छ भने कालले मर्ने दोष जिब्रोलाई दिने, बाबु-आमा दुवैको गल्तिले छोरा मर्ने एक अर्कोमा दोष -प्रत्यारोपण गर्ने प्रथा हाम्रो पाटीहरुमा छ । राजनैतिक संस्कार त छँदै छैन । बेलायतमा ११ मे २०१० देखि आफ्नो पाटीको स्पस्ट बहुमत नभए पनि डेबिट क्यामरुन प्रधानमन्त्री छन् । प्रधानमन्त्री हुने भनेर चुनाब लडेका निक लेग उप-प्रधानमन्त्री छन् । तर हाम्रोमा खै राजनैतिक संस्कार ? हामीले राजनीतिलाई कति दिनसम्म यस्तै कित्तामा प्रयोग गर्ने ? अरु पाटीलाई लोकतन्त्रको अभ्याश गर भन्ने पाटीले पहिला आफुले राजनैतिक संस्कारको अभ्याश गर्ने कि नगर्ने ?
“आईरन लेडी” भनेर चिनिने बेलायतको प्रथम महिला प्रधानमन्त्री मार्गरेट थेचर जसले बेलायतमा ४ मे १९७९ देखि २८ नोवेम्बेर १९९० लामो समयसम्म शासन गरिन । उनले बन्दुक बोकिनन् । आफ्ना कार्यक्रमलाई अरूका विरुद्ध लक्षित गर्नेभन्दा नागरिकका जीवन निर्वाहलाई सहयोग गर्ने दिशामा लागिन् । तेस्तै २० जनवरी १९८१ देखि २० जनवरी १९८९ सम्म अमेरिकाको राष्ट्रपति भएका रोनाल्ड रेगन जसले अरूका विरुद्ध आवाज उठाएनन्, जनतालाई राम्रा र सुधारका कार्यक्रम दिए । तर हाम्रोमा बिपक्षिले सरकारलाई गाली या बिरोध, सरकारको बिरुद्द आन्दोलन गर्यो भने हाम्रा सरकार झन् ठुलो स्वरले बिपक्षि बिरुद्द चिच्याउँछ । सरकार सरकारी मिडियाहरु दुरुप्रयोग गर्छ । लोकलाईनै मजाक बनाउँदै विपक्षीसँगै सरकारपनि सडक आन्दोलनमा निस्कन्छ । हाम्रोमा पाटी, यिनका बडे नेता, छोटे नेताहरुको काम भनेको आफूपनि सुधारको काम नगर्ने अरुको बिरुद्द आवाज उठाउने नै रहेको हुन्छ ।
अन्त्यमा माथि को गीतहरुमा जोन लेननले अरुलाई विश्वास नगरे नि आफुले आफुलाई विश्वास गर्छु भने झैँ हाम्रा नेताहरुले पनि आफुले आफैलाई विश्वास गरेर यहि सरकारमा सामेल भएको राम्रो । त्यसपछि संसद पुनस्थापना गरि अबको केहि बर्षसम्म येही सरकारलाई स्थिर गरेर बल्ल चुनाब गर्दा नि हुन्छ । बरु यो अवधीसम्म हिजोको हिट गोकर्ण बिस्ट र अर्थमन्त्रि बाबुराम झैँ हुने प्रयास गर्नुपर्छ । यदि जनतालाई राम्रा र सुधारका कार्यक्रम दिए देश र पूर्ण राजनीति उनका पक्षमा रहन्छ । त्यो अवधीसम्म पीछाडिएका वर्ग र भू -भागको उठान गरियो । चेतनाको स्तरको बिकाश गरियो । देशको आर्थिक विकास गरियो भने हरेक तहमा गरिएको राजनीतिककरणको अन्त्य गरियो भने, राजनीतिक सस्कारको विकास गरियो भने बल्ल चुनाबमा जान उपुक्त हुन्छ ।
हरेक समस्याको अन्तिम विकल्प चुनाब नै हो । तर चुनाब गर्न बातावरण चाहिन्छ । फेरि एकले अर्कोलाई विश्वासपनि गर्नुपर्छ । फेरि हाम्रा चुनाबी प्रणाली उही समानुपातिक पनि छ । यो भनेको आउने पात्र उही नै हुन् । यिनको संस्कार उही नै हो । हिजोको दिनमा सहमतिको नाममा २/२ ठाउँबाट हारेका माधब नेपाललाई प्रधानमन्त्री बनाएर लोकलाई हँसाउने र जनमतको खिल्ली उडाउने गरिए झैँ अब नि उही हो । क्षेत्रिय राजनीति र जातिय राजनीतिको दबदबा छ । स्पस्ट बहुमत नआउँदा उही अहिले झैँ साना दल बलिया हुन्छन । ६/६ महिनामा सरकार ढलाउन जोड घटाऊ फेरि हुन्छ ।
एक स्पस्ट कुरा के हो भने अहिले देशमा अनेकौ समस्या छन् । अहिलेनै यी समस्याको हल गरेर चुनाबमा जान राम्रो हुन्छ । देशको ढुकुटी रित्तायर हतारमा फेरि चुनाबमा गईयो भने आउने परिमाण उही नै हो । कोदाको ढिडोको कहानी “जे खाए गतो उही आएगा फिर खायेगा त्यो गनाएगा” !!! जे खाएर उही आउँछ भन्ने चिजलाई जान्दा जान्दै फेरि उही चिज खानु भनेको गनाउनु नै हो । या संबिधान सभालाई कोदोको ढिडो कहानी झैँ बनाउनु हो । देशलाई अझ २/४ बर्ष पछि धकेल्नु हो । व्यक्ति, नेता या पाटीले जित्ने तर देशले हार्ने चुनाबको कुनै अर्थ हुदैन ! सबाल यो हो की जित कसको हुने । २००७ सालपछिको हरेक चुनाबमा देशले हार्दै आएको छ । साच्चै देशले जित्ने चुनाब गर्ने हो भने बिगतको असफलतालाई आत्ममुल्यांकन गर । पहिला आफुले आफैलाई विश्वास गरेर दुवै प्रतिपक्ष या सत्तापक्ष एक अर्कालाई विश्वास गर्नैपर्ने हुन्छ । दुवैमा सस्कारको राजनीति हुनै पर्छ । वास्तविक नेता हुने चाहनेले आफुले आफैलाई विश्वास गर्नै पर्छ । अरुलाई पनि विश्वास गर्नैपर्छ । बल्ल अनि चुनाब चाहनु पर्छ । आफ्नो हारलाई स्वीकार गर्न सक्न पर्छ । अर्कोको जीतलाई नि सम्मान गर्न सक्नु पर्छ । उही आचरणमा चुनाब गर्दा कति पटकसम्म चुनाब गर्ने भन्ने कुरा आउँछ । समय छ आचरण बदल्ने । पहिला आचरण परिवर्तन गर । चुनाब त भैहाल्छ ।




