लौ गरौं मुख्य नेता र दलहरुको काजक्रिया !

Nepalese political leaders from 22 partiदेशमा जब संविधान सभाको निर्वाचन भयो त्यसपछि देशमा अपराध बढ्यो । असुरक्षामा वृद्धि भो । बन्द र हडतालमा वृद्धि भयो उसैगरि । घरेलु हिंसामा वृद्धि भयो । दण्डहीनता चुलियो । भ्रष्टाचार आकाशियो, महँगीमा वृद्धि भयो । देशमा जनतालाई चाहिने जे जे हो त्यसमा अभाव बाहेक केहि छैन । अराजकता र कुशासनले ईतिहास कायम गरेको छ । अन्तर्राष्ट्रिय संस्थाका प्रतिवेदनले नेपाल एक ‘असफल राज्य’का रूपमा अगाडि बढेको भनेर संकेत गरिरहेका छन् । पार्टीहरुमा जनताप्रति, राष्ट्रप्रति भन्दा कुर्सीको हारालुछ छ । देश नै बन्दकि रहोस् कुर्सी छोड्न र दाबी गर्न कोहि छोड्दैन । यस्तो बेला कुनै एक ब्यक्तिको नेत्रित्वमा सरकार बनाउने प्रस्ताब कहाँबाट कसरि आयो ? कसरि एक्कासि यो निर्णयमा दलहरु सहमत हुन पुगे ? यो पक्कैपनि सामान्य ढंगले आएको होइन ।

एमाले केन्द्रीय कमिटीले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने प्रस्तावलाई बहुदलीय जनवादविरोधी भन्दै अस्विकार गरेको दुई दिनपनि बितेको थिएन । केन्द्रिय कमिटीका बहुमत सदस्य त्यसको बिरुद्दमा रहँदा रहँदै कताबाट कसको निर्देशनमा अर्को बैठकले खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउन राजि गर्‍यो ? आफैँ सम्मिलित केन्द्रिय कमिटीले असफल बनाएको प्रस्ताव पास गराउन फेरी किन र कसको निर्देशनमा पार्टी अध्यक्ष झलनाथ खनाल कस्सिए ? यस्तो प्रस्तावमा एक्कासि कसरि माधव नेपाल र केपी ओलीसमेत सहमत हुन पुगे ? जबकि यिनले दुई दिन अघिसम्म प्रधान न्यायधिशलाई प्रधानमन्त्री मान्न कुनैपनि हालतमा एमाले तयार नभएको भनेर माओवादीको तिब्र आलोचना गर्दै आएका थिए ।

सधैं माओवादीको बिरोध गर्ने नेकपा एमालेका नेता केपी ओली, माधव कुमार नेपाल र झलनाथ खनालसम्म कसरि प्रधान न्यायधिशलाई प्रधानमन्त्री बनाउने खेलमा सहमत भए ? कसरि नेपाली कांग्रेसले एक्कासि नब्बे डिग्रीको घुम्ति मोडिएर माओवादीकै समर्थनमा सहमत भयो ? यो पक्कैपनि सहज रुपमा आएको छैन ।

सबै जसो संवैधानिक र ब्यवस्थापिकाका अंगहरु निक्रिय जस्तै छन् । यस्तो बेला राष्ट्रिय मुद्दा, जनघाती हर्कतहरुलाई हेर्ने शसक्त निकाय भनेको सर्बोच्च अदालत हो । यस्तै मौका पारेर सर्बोच्च अदालतकै प्रधान न्यायधिशलाई किन प्रधानमन्त्रीमा प्रस्ताव गरियो ? राजनितिक दलहरुबिचमा सरकार चलाउने विषयमा सहमति हुन नसक्ने भएपनि सर्बोच्च अदालतका पूर्व प्रधानन्यायधिश वा अन्य स्वतन्त्र ब्यक्तिलाई प्रधानमन्त्री बनाउन किन सहमति भएन ? किन चाहियो सर्बोच्चकै बहालवाला प्रधान न्यायधिश ?

प्रधानमन्त्रीमा डा बाबुराम भट्टराई आएपछि बिदेशी चलखेल तिब्र भएको सबैले अनुभव गरेकै हो । यसलाई उनलेनै पटक पटक सिद्द गरिसकेका छन् । देशको सबैभन्दा ठूलो भनिएको पार्टी, दश वर्षे जनयुद्दबाट आएको दल र अन्य दलहरु कमजोर रहेका बेला कम्युनिष्टको नाममा लुट्न पाइरहेको भारतले उसैलाई कोखिलामा च्यापेको छ । बाँकि दलहरु कुर्सीका लागि यस्सो घुर्कि त लगाउँछन् तर उसैका शर्तमा लतारिन बाध्य छन् । तिनको लर्खराईले देखाउँछ, तिनमा माओवादीको शर्त र बलमिच्याईलाई पेल्न सक्ने ह्याउ नै छैन ।

जनताका परिवर्तनहरुलाई संस्थागत गर्ने काम राजनितिक दलहरुको हो । जब राजनितिक दलहरु असफल बनाइन्छन् तब प्रजातान्त्रिक मूल्य र मान्यताहरु ध्वस्त पारिन्छन् । दलहरु असफल भएपछि एक तन्त्रले घाँटी उठाउँछ । राष्ट्रहित बिरोधी काम हुन थाल्छन् । अहिले गर्न खोजिएको यहि नै हो । यो प्रस्ताव जनताको परिवर्तनको चाहना, प्राप्त अधिकारहरुलाई खत्तम पार्न र दलीय प्रणालीलाई समाप्त पार्न एकिक्रित नेकपा माओवादीले बिदेशी शक्तिको निर्देशन ल्याएको षडयन्त्र हो भनेर कसरि नपत्याउने ?

एकातिर सबै दललाई असफल सिद्द गराउने प्रयास भैरहेको छ । किनभने दलहरु सरकार बनाउनपनि असफल भएकैले प्रधान न्याधिश चाहिएको हो भनेर प्रचार गरिँदै छ । सरकार प्रमुख कुनै ब्यक्ति हुन्नसाथ दलहरु कार्य सञ्चालनमा यसैपनि कमजोर हुन्छन् । अर्कोतिर सर्बोच्च अदालतका प्रधान न्ययधिशनै सरकारको कार्यकारी प्रमुख । यस्तो बेला दलहरु असफल भएकोले भन्दै प्रधानमन्त्रीबाट हाम्रो राष्ट्रहित बिरुद्द कुनै अप्रिय निर्णय हुन नसक्ला भनेर कसरि विश्वास गर्ने ? त्यसैलाई सर्बोच्च अदालतबाट सदर गराइन्न भनेर कसरि विश्वास नगर्ने ?

जनताले ल्याएका परिवर्तनलाइ संस्थागत गर्न नसक्ने । नाथे एउटा सरकार सहमतीमा गठन गर्नै नसक्ने । निर्वाचन गराउन कुनै अमूक ब्यक्ति चाहिने हो भने यस्ता दलको के काम ? यि हुतिहारा नेता किन चाहियो ? देश अप्ठेरो परेको बेला नेत्रित्व दिन सक्ने एक जना नेतापनि जन्मिन सकेको रहेनछ, धिक्कार छ तिमीहरुलाई । राष्ट्र हाँक्छु भनेर वर्षौंदेखि नेपालीका टाउकामा नाच्दै आएका नेता त सबै नालायक, हुतिहारा, बिदेशीका गोटी पो रहेछन् । नेपाली जनताको करमा तलब तलब र भत्ता खाएर चुस्दै आएका किर्ना पो रहेछन् यि । देशले चुनतिको सामाना गर्न सक्ने नेता खोजेको बेला कोहि निस्किन्न भने अरु बेला किन चाहियो यस्ता लठैतहरु ? यिनलाइ नेता मन्ने होइन यिनको नाममा काजक्रिया गर्नु पर्छ जनताले ।

तपाइँको प्रतिक्रिया