के गगन,रबिन्द्र र हेम भण्डारी निष्ठाको राजनीति गर्ने नेता हुन ?

मोहन राज बरालमून” / बेलायत 

mohanraj-baral-moon-121234कुनैबेला पत्रकार रबिन्द्र मिश्रले भनेका थिए “नेपालमा आश गरिएका र निष्ठाको राजनिती गर्ने तीनजना युवा नेताहरु छन, ती हुन गगन थापा, रबिन्द्र अधिकारी र हेम भण्डारी ।” विगतमा भएको विद्यार्थी आन्दोलन, गणतान्त्रिक आन्दोलन तथा अन्य आन्दोलनमा उनिहरुको भूमिका हेर्दा देशले आशै गरेका नेताहरु हुन । तर आन्दोलनको उपलब्धीको रक्षा र यसलाई संस्थागत गर्न शुन्यहीन भूमिका भएको हुनाले निष्ठालाई जोड्दा कता कता असहज महसुस हुन्छ । यि तीनथरी युवा नेताहरु तीनथरी विचारबाट  सृजीत भएका हुन ।  गगन थापा जो राजधानीबाट राजनीति गर्थे र जुन पार्टीसँग आवद्ध थिए, पार्टिको विचार र यिनको विचार फरक थियो ।

हुन त पहिले देखी नै नरहरी आचार्यले नेपाली काङग्रेसमा परिवर्तन र गणतन्त्रको बिषयमा बहस गर्दै आएका थिए। लाग्छ, गगन थापाले नै नरहरी आचार्यको विचारलाई सडकमा युवाहरुमाझ पुर्याएका थिए । तत्कालिन अवस्थामा राजतन्त्रको पक्षमा वकालत गर्ने पार्टी सभापति गिरिजा प्रसाद कोइरालाले यि दुई जनालाई ‘दरबारको एजेन्ट’ भनेर बिल्ला भिराइदिएका थिए । तर गगन थापाले पार्टिको असहयोगको बाबजुद पनी युवाहरुलाई आन्दोलनमा उतारेर नेपाली काङ्रेसलाई गणतन्त्रको एजेन्डामा लैजान वाध्य बनाए ।

यस्तै रबिन्द्र अधिकारी, जो पोखराबाट राजनीति गर्थे, पछी किर्तिपुरमा स्ववियु सभापति भए । अखिललाई नेत्रित्व दिए । त्यो बेलामा शुल्कवृद्धिविरोधी आन्दोलन, मूल्यवृद्धिविरुद्ध आन्दोलन, यातायात, मनोरञ्जनमा सहुलियतको  आन्दोलनलाई उचाइ दिए । राष्ट्रियताको आन्दोलनलाई अगाडि बढाए । पारसद्वारा गरिएको प्रविन गुरुङ हत्या कान्डमा तत्कालिन राजदरवारलाई दबाब सिर्जना गरिदिए । यस्तै अर्का नेता हेम भण्डारी जो धनकुटाबाट राजनिती गर्थे ।  यिनले माओवादी विद्यार्थी मोर्चा र माओवादी सेनामा समेत काम गरेका थिए। देशमा गणतन्त्र ल्याउन यिनले माओको बिचार  सँगै बन्दुक पनि बोके ।

लाग्छ, माथि चर्चा गरिएका युवाहरुलाई समयको मागले जन्माएको थियो । यि युवाहरुको विचार र लडाईंलाई हेर्दा यिनका पार्टीको कृयाकलाप भन्दा बेग्लै थियो । तर पार्टिमा पनि यिनको विचार प्रतिनिधित्व गर्ने नेताहरु अल्पमतमा थिए । जस्तै नेपाली काङ्रेसमा नरहरी आचार्यले आफ्नो विचारहरु राख्दा गिरिजा प्रसाद कोइरालाले पार्टिको जिम्मेवार पदबाट पनि हटाएका थिए । २०५६ सालको आम निर्वाचनमा पार्टीबाट टिकट नै पाएनन । त्यस्तै पार्टिमा बामदेव गौतमको नजिक रहेका रबिन्द्र अधिकारी,आफ्नो पार्टीको सरकार हुँदा गरेको राष्ट्रघाती महाकाली सन्धीको बिरोध गर्दै बामदेव सँगै मालेमा गए । यस्तै मसालमा बिद्रोह गरेर हेमराज भण्डारी २०५७ सालमा दिनानाथ समुहसँगै माओबादीमा प्रवेश गरेका थिए ।

जब नेपालमा असोज १८, २०५९ को शाही घोषणा सँगै जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरियो । त्यसपछिका दिनहरुमा सडक आन्दोलन गर्न कठिनाई हुन थाल्यो । ४६ सालको परिवर्तनको बार्ह बर्षसम्म पनि जनताले सोचेका र आश गरेका कामहरु भएनन । नेताहरुको कुर्सीमोह, पजेरो सँस्क्रीती र व्याप्त भ्रस्टचार हुनु नै त्यो बेलाका सडक आन्दोलन सिथिल हुनुका कारणहरु थिए । तैपनी सुरुका बेलामा आन्दोलनमा जे जस्तो सिथिलता आएता पनि जब बाह्र बुँदे सम्झौता भयो बिभिन्न विचारधारा भएका युवाहरुको एकिकरण भयो । तब द्वितिय जन आन्दोलन पनि सफल भएरै छाड्यो ।

नेपालमा विद्यार्थी या युवाहरुको आन्दोलनलाई हेर्दा जब आन्दोलनमा बिभिन्न बिचारहरु एक ढिक्का भएर लाग्छ तब आन्दोलन सफल भएको पाईन्छ । विसं २००४ मा भएको ‘जयतु संस्कृतम्’ आन्दोलन नेपाली विद्यार्थी आन्दोलनको एउटा  संगठित आन्दोलन किन नहोस्,२००८ मा भएको भारतीय सैनिक हस्तक्षेपविरुद्धको आन्दोलन होस् । या ०१० को कोसी-सम्झौताविरोधी आन्दोलन किन नहोस् ।  डाल्डा घिउ आयातविरोधी आन्दोलन होस् या गण्डक सम्झौताविरोधी आन्दोलन होस् । २०२१ मा स्ववियुको निर्वाचन गराउने माग सहितको आन्दोलन किन नहोस् । या २०३६ सालमा जनमत सङ्ग्रह ल्याउने आन्दोलन या २०४६ सालको आन्दोलन । यि हरेक खाले आन्दोलनमा  एकिकृत भएका युवाहरुको ठुलो भूमिका छ । न्याय ,समानता र अधिकारका एकिकृत भएर लड्नुपर्छ भन्ने बिगत आन्दोलनको कालखण्डले राम्रैसँग सिकायो भन्न सकिन्छ । तर जब हामीले आन्दोलन गरेर सफल हुन्छौ,हामी युवाहरु त्यस्को उपलब्धिहरुलाई रक्षा र संस्थागत गर्ने बेलामा फेरी छुटिन्छौ।  हामी सजिलै भुलदिन्छौ आन्दोलन बाट प्राप्त उपलब्धि को रक्षा र संस्थागत गर्नु पनि अर्को महान आन्दोलन हो भनेर । हामी देशको लागि भनेर आन्दोलन गर्छौ अनी फेरी पार्टिको लागि, नेताको लागि, गुट उपगुटको लागि अल्झिन्छौ । पार्टिले गरेको राष्ट्रघाती कार्यहरुलाई पनि आँखा चिम्लेर सदर गरिदिन्छौ । हामी एउटा बोल्छौ । अर्को काम गर्छौ । फोस्रो राष्ट्रबादी एजेन्डा लिएर आन्दोलन गर्छौ । र नेताको कुर्सिको लागि भर्र्याङ् बनिदिन्छौ ।

अहिले हेर्दा हाम्रा जल्दा-बल्दा युवा नेताहरु जो निष्ठाका राजनीति गर्छन् पनि भनिन्छ, यिनिहरुलाई हेर्दा केबल पार्टिको लागि र आफ्नो गुटको नेताकोलागी राजनिती गरिरहेका छन । राष्ट्रघाती महाकाली सन्धी भनेर क्रान्तिकारी बनेका रबिन्द्र अधिकारीहरुले पनि एमालेमै प्रवेश गरेर चुपचाप भईदिए । हिजो पारस बिरुद्ध त्यत्रो हङगामा मच्चाउने एउटा विद्यार्थी नेता आज गणतन्त्र आएको बेलामा आफ्नै सरकार हुँदा र आँफै सभासद हुँदा त्यही कान्ड बिरुद्ध “र” समेत उच्चारण गर्न सकेनन । यस्तै गगन थापा, जसलाई आन्दोलनको मिथकको रुपमा पनि लिईन्छ, को आन्दोलन न त हाम्रो सिमा मिचिदा भयो न त कुनै राष्ट्रियतको पक्षमा । पशुपतिको भारतीय पूजारी कान्डमा चुप्चाप बसिदिए । तर त्यही पशुपती बिकास कोषले आज पूजारिलाई तलबमा राखेर दैनिक लाखौं रुपैयाँ कोषमा जम्मा गर्न  सक्षम छ । त्यस्तै अदालतले भ्रस्टचारी भनेर जेल चलान गरेको गोबिन्दराजहरुको मुद्धामा यिनिहरु कहिल्यै भ्रस्टाचार बिरुद्धको अभियानमा अघी बढ्न खोजेनन । बरु यि जुकाहरुलाई जोगाउन  यिनिहरुका आन्दोलन राजमार्गहरु बन्द गर्दै गोबिन्द जय जय गोपाल जय जय गर्दै जग हसाउँदै अघी  बढने थिए ।

यस्तै हेम भण्डारीहरु पनि उस्तै नै भए । सर्वहाँरा वर्गको नेतामा आएको गम्भिर सांस्क्रित्क विचलनलाई यिनले आफ्नो आँखामा कालो पट्टी बाधेर हेर्न चाहेनन । लडाकुका चेकहरु खोसिदा यिनका गर्जनहरु शान्त समुद्रझैं थिए । अरबौ रकम हिनामिना भएको बात लाग्दा यिनिहरुलाई साइलीको भट्टिको मात लागे झैं अवचेतनको नाटक मन्चन गरेर बसे ।

यस्तो लाग्छ, हाम्रा यि नेताहरु पार्टिको गुट नेताहरुको भर्र्याङ् बनिरहेका छन । मोहरा बनेका छन । हिजो रबिन्द्र अधिकारीहरु बामदेवको मोहरा बनेर सती गए । त्यस्तै गगन थापाहरु पनि सुशिल कोइरालाहरुका अन्धो भक्त बनिरहेका छन । त्यस्तै हेम भण्डारीहरु पनि मोहरा नै बनिरहेका छन। जबसम्म राष्ट्रियताको सवालमा एक भईन्न,पार्टिबाट एक कदम माथी उठिदैन तब सम्म नत लोकतन्त्रको रक्षा हुन्छ । नत बिकास निर्माण नै हुन्छ । फगत हाम्रा युवा नेताहरु पार्टिको झुन्ड भएर कती दिनसम्म नाच्ने ? अर्काको अस्तित्वलाई सम्मान र स्विकार कती दिनसम्म नगर्ने  ? लोकतन्त्रलाई सत्ता प्राप्तिको धमिलो नारा मात्रै कती दिनसम्म बनाउने ?

नेताहरुलाई सहमतिकोलागी दबाब नदिने बरु उल्टो आक्रमण गर्ने सस्कार कती दिनसम्म अगाडि बढाउदै लैजाने ? हामीले कती दिन सम्म जापान,कोरिया,मलेसिया आदी देशहरु यती बर्ष अघीसम्म यस्ता थिए भनेर मरेको ईतिहासलाई ज्युँदो वर्तमान सँग तुलना गर्दै बिकासका दिवा स्वप्न देखेर बाँच्ने ? किन हामीले त्यहाँका राजनीतिक संस्कारहरुलाई अँगाल्न नसक्ने ? राष्ट्रिय स्वार्थका लागि कहिले पनि एकता प्रदर्शन गर्न असक्षम  हामीले कती दिन सम्म जहिले पनि बिदेशी शक्तिमा दोष थुपार्ने ? आफ्ना आचरण , व्यबहार परिवर्तन नगरिकन  हामीले कती दिन सम्म एउटा राजनीतिक दलबाट सत्ता अर्को दलमा सर्दैमा निकास  निस्कन्छ भनेर पछि लाग्ने  ?

रबिन्द्र मिश्र जि तपाईं बेलायतमा भएको बिकासलाई नजिकबाट नियालदै लामो समयसम्म पत्रकारिता गरेको मान्छे,पक्कै पनि तपाईंले यहाँको राजनितिक संस्कारलाई पनि देख्नु भएको छ । पक्कै पनि यहाँका टोनी ब्लयर, डेभिड केमरुन,निक क्लेग जस्ता युवा नेताहरुलाई बुझ्नु भएको छ । तपाईं साँच्चै भित्री मनबाट भन्नुस् त, के गगन थापा,रबिन्द्र अधिकारी र हेम भण्डारीहरु निष्ठाको राजनीति गर्ने  युवा नेता नै हुन त ?

 

तपाइँको प्रतिक्रिया