राजतन्त्र फर्काउने भित्री रहर
कसैले आफूलाई काँध थापिरहेको छ भने ऊप्रति काँध थापिनेले निश्चिन्त हुनुपर्ने हो । तर, पूर्वराजा ज्ञानेन्द्रमा भने त्यस्तो कुरामा निश्चिन्त हुने बानी रहेनछ । राजतन्त्र पुनःस्थापना पक्षधर कित्तामा प्रष्टसँग उभिएको राप्रपा नेपालले गएको पुस २ देखि ११ सम्म हिन्दू राष्ट्रको माग गर्दै जनकपुर, लुम्बिनी हुँदै पशुपतिसम्म रथयात्रा आयोजना गर्यो । त्यसक्रममा उसले विभिन्न एक सय ६३ स्थानमा कोणसभा गरी नेपाल धर्मनिरपेक्ष नभई हिन्दू राष्ट्र नै हुनुपर्ने तर्क झिक्दै निकै जोडतोडका साथ कुरा उठायो । तर, पूर्वराजाको आशा रहेछ, उनीहरूले यही बहानामा राजतन्त्र पुनःस्थापनाको कुरा पनि उठाउनेछन् ।
धार्मिक भ्रमणका नाममा आफूले शुरु गरेको देशव्यापी भेटघाटको राजनीतिक अभियान राप्रपा नेपालले थालेको भन्ने बुझाइमा रहेका उनी पत्नी कोमलको उपचार (सिंगापुर) बाट फर्किएपछि झस्किए । यसपछि जान्न चाहे, कमल थापाहरूले जानी जानी यस्तो गरेका हुन् या अरु कुनै कारणले । यो कुरा कसरी बुझ्ने ? आफूले शाहीकालमा सञ्चार मन्त्रालय जिम्मा दिएको टंक ढकालले प्रस्ट भन्लान् भनी उनीसँग बुझ्ने प्रयास गरे । तर, निर्मल निवासले खोजेको बेला टंक भेटिएनन् । केशरबहादुर विष्टसँग बुझ्ने प्रयास भयो, उनको पनि टाइम मिलेन । दुबै नभेटिएपछि ‘बाठाले बोल्दैनन्, लाटैलाई कन्याउनु बेस’ भन्ने नीति निर्मल निवासले अख्तियार गर्यो ।
यसअनुसार, पुलिसका पूर्वहवल्दार तथा राप्रपा नेपालका सिन्धुपाल्चोक अध्यक्ष द इन्द्रबहादुर ठकुरीलाई पूर्वराजाका सचिव सागर तिमिल्सिना आफैंले फोन गरेर बोलाए र सोधे, ‘बोल्नुपर्ने कुरा किन कतै पनि नबोलेको ?’ ठकुरीले भने, ‘त्यही त हजुर, मैले त बोल्नुपर्छ भनेकै हो नि, तर उनीहरूले मानेनन् । हामी सोझालाई हेप्छन्, हामीले भनेको लाग्दैन ।’ सागरले जान्न चाहेको विषय थियो, राजतन्त्र पुनःस्थापनाको कुरा नियतवश नबोलिएको हो या सन्दर्भ नपरेर हो ? ठकुरीले भने, ‘नियतवश त होइन होला हजुर, बेकारमा धार्मिक कुरामा यो प्रसंग किन ल्याउने भनेर कमल थापाले मलाई नै भनेका हुन् ।’
सागरले पूर्वराजा यसो चाहन्छन् भनेर त केही भनेनन्, बरु ठकुरीलाई सम्झाए, ‘राजतन्त्र पुनःस्थापनाको कुरा उठाउने उपयुक्त समय नै अहिले हो । दलहरू असफल भए, राष्ट्रपति निरीह छन्, यस्तो अवस्था राजतन्त्रले कहिल्यै पनि आउन दिएको थिएन । त्यसैले राजतन्त्रको आवश्यकता बढेको छ भनेर तपाईंहरूले प्रचार गर्नुपर्थ्यो । तर, किन गर्नुभएन ?’ विचरा सोझा ठकुरीले ‘हस् हजुर, म कमल थापालाई भन्छु’ भन्ने जवाफ दिनुबाहेक के नै भन्न सक्थे र । जनआस्थाले सोध्दा तिमिल्सिनासँग आफ्नो भेट भएको र समसामयिक विषयमा कुरा भएको ठकुरीले स्विकारे ।
( जनआस्था साप्ताहिकबाट)




