कम्बोडियाको जेलमा एक नेपालीको क्रन्दन

दिपेन योङहाङ लिम्बु / कम्बोडिया

dipen-yonghang-rai-cambodiya-112123“रुँदैछ नेपाल प्राइस जेलभित्र
छैनन् सुन्ने देख्ने त्यहाँको बिचित्र
छतमुनी चार गोठालो छन भित्ताहरु
लाग्छ त्यो खामेरुजको भट्किएको आत्माहरू
अनगिन्ति भाषामा कोरिएकाछ्न अक्षरहरु ति आत्मा भित्र
आफ्नै मानचित्र खोज्दैछन नजरले अक्षरहरुको भीडभित्र
निस्ताएका छन आँखाहरु सुस्ताएका हरेकका पाइलाहरु
अत्तासिएको छ नेपाल प्राइस जेलभित्र”
“अनन्तमा बिलिन क्रन्दन”

dipen-limbu-cambodia-33434

देश-विदेश भरि छरिएर रहनुहुने नेपाल आमाको सम्पूर्ण सन्तानहरु, बिश्वप्रसिद्ध सगरमाथाको छत्रछायाँले ओतप्रोत सम्पूर्ण नेपाली दाजु-भाई दिदी बहिनी, अग्रज मान्य सबै समक्ष मैले लेखिरहेको यो सत्य कथा “अनन्तमा बिलिन क्रन्दन” भित्रबाट “एक अन्जुली” पस्केको छु । अंकित छन, अन्याय, असहयोग, दोष, द्वेष, व्यक्ति, व्यक्तित्व, कायर, कायरता, वर्ण, बर्ग, हाकिम, कामदार, मालिक, नोक्कर, डक्टर (औषधिको नाम नजान्ने) गँवार (नपढेको काली गण्डकीको जलहारी) जात सानो र ठुलो….यिनै बिषय-बस्तुहरु अंकित छन “अनन्तमा बिलिन क्रन्दन” भित्र !

यहाँ कुनै काल्पनिक पात्र छैन । यो दन्ते कथा पनि होइन । सम्बाद र चिठी हु-बहु प्रस्तुत छन – नेपाली देवनागरी, इंगलिस रोमनमा । “अनन्तमा बिलिन क्रन्दन” लाई परिमाण दिने क्रममा मेरो ध्यानाकर्षण कुनै व्यक्तिको नामको इट्टा खर्च नगरी आचरणको सिमेन्ट र बालुवा मात्र प्रयोग गरेको छु जसमा मैले भन्नै पर्नेहुन्छ, मेरो यो बिसुद्ध चलिरहेको कलममा खोट देखियो र असामयिक ठेस लागेको महसुस गर्ने मेरो नजिकै बाट होस् या टाढाबाट । माथि उल्लेखित डक्टर मित्र महोदयहरुलाई हजुरहरुको कन्ट्याक्ट लिस्टबाट या मेरो प्रोफाइलबाट मेरो इ-मेइल ठेगाना या फोन नम्बर लिएर मसंग ठाडै कुरा गर्न सक्नु हुनेछ । यसो गरेमा मलाई नाम सार्बजनिक गर्न दुख नहुने । तपाईलाई पनि मानसिक झन्जट नहुने ।

एक म असाहय रमिते साथी र वहाँ जो क्याम्बोडियाको प्राइस जेलभित्र बेकसुर ८ सालको जेल यातनामा व्यस्त हुनुहुन्छ । बिहान हुन्छ । रात पर्छ । उज्यालो हुन्छ । दिन महिना आइरहेकोछ । बितिरहने क्रम पनि जारि नै छ । यस्तै रहेछ यो स्वार्थी दुनियाँको थिति । आज आज भोलि भोलि । यसो होला कि उसो होला कि ? यसो गर्दा हुने हो कि उसो गर्दा हुने हो ? यहाँबाट पो सहयोग हुने हो कि वहाँबाट पो सहयोग हुने हो कि ?  नेपालबाट फलाना मन्त्रि आएको छ । मानव अधिकारवादी फलाना ढिस्काना आएका छन । ल वहाँको मुद्धाको बिषयमा कुरा राखौं । लन्च या डिनरको प्रबन्ध गरौं भन्यो । त्यसै गरियो । आफ्नो त के कुरा गराई भो र ? मान्य डाक्टर सापहरुको तछाड-मछाड गोडा मल्न पल्केका सैंद्वा महोदयहरु बंसिभुतको मकुण्डो मन्त्रि साहेबहरुको स्वार्थी मुखडा सामु प्रस्तुत भए । मुद्धाको बिषयमा कुरा राखे या राखेनन् भगवानै जाने । धेरै देशद्रोही नेता-मन्त्रि आए । लन्च डिनर खाए । टन्न भए । खिचिक्क-खिचिक्क फोटो खिचे तछाड मछाड गर्दै डक्टर मित्रहरुले । त्यस्ता थुप्रै लन्च-डिनर हावामा खेर गए ।

तर वहाँको क्रन्दन खोइ कसले सुन्यो ? आशा लाग्थ्यो—अब त एक नेपाल आमाका सन्तान दुर्भाग्यले भनुँ या त दसाले बेकसुर जेल यातनामा निस्सासिरहेको क्रन्दनले राहत पाउने हो कि भन्दा भन्दै सुनिदिने कोहि भएन । भएरपनि नसुने झैं भएसी त्यो निस्सासिएको क्रन्दन निरिह-निस्साहार अनन्तमा बिलिन भयो । बिना ठोस प्रमाण नेपाल आमाको सन्तानमाथि अन्यायपूर्ण कोर्टबाट आठ सालको सजाय सुनवाई भयो । स्वस्थ स्थिति तनावको जिम्मा लागिसकेको । त्यति खेरका हृष्ट-पुष्ट व्यक्ति फुक्कीढल भैसकेको । बिबश आँखाहरु आशा र अनुनयको मरिकुच्चे भारीले लोलाएको । कुनै झाँक्रीलाई कम्पन सुरु भए झैं थुरुर्र काँप्दै लालाक्लुलुक असक्त पाइलाहरु प्राइस जेल तिर मानिनमानी अगाडी बढ्यो । त्यो पनि आज दुई बर्ष पो बिती सकेछ ।

यहाँ लेख्ने क्रममा मैले भन्नै पर्ने हुन्छ, यो देशमा रहनुभएका थोर-बहुत नेपाली मनहरुले सहयोगको हात बाँटिएको तितो सत्य र बिश्व प्रसिद्ध गैर आबासीय नेपाली संगठन एनआर एनको एक्शन-कट- सहयोगलाई धन्यवाद नदिइ अगाडी लेख्न बढें भने दालमा नुन हाल्नपर्ने चिनी परे जस्तो होला । मैले भन्नैपर्ने हुन्छ, एन आर एन र एन आर एनका सम्पूर्ण कार्यकारी टिमलाई एक बेकसुर नेपाली माथिको आठ साल जेल सजाय प्रति कायरतापुर्ण टड्कारो आवाज र बिभिन्न संघ संस्था र नेपाल सरकारसंग यो मुद्धा सम्बन्धि बराबर अपडेटिंगको लागि धन्यबाद । यतिले मात्र अधुरो रहला अरु “एक्शन-कट”हरु लेखाइको यात्रा संगै अरु सामग्रीका साथमा “अनन्तमा बिलिन क्रन्दन”ले प्रस्तुत हुँदै जानेछन ।
वहाँ अत्यन्तै मिलनसार । कहिल्यै कोहिसंगपनि रिसाउन नजान्ने एक साक्षर व्यक्तित्व हुनुहुन्थ्यो । समयको चर्खा घुम्दै जाने क्रममा आज भन्दा पाँच वर्ष अगाडी वहाँ र मेरो यहि क्याम्बोडियाको “बंङ्क लेक” मा क्यम्बोडियन ट्रेडिशनल कफी शपमा भेटघाट भएथ्यो । त्यस पश्चात वहाँ र मेरो भेटघाट कामको व्यस्तताले पातलो भएपनि फोनमा भने हाइ हेल्लो भइरहन्थ्यो । बिशेष गरेर सनिबार आइतबार । भेटघाटको क्रम बिस्तारै मित्रताको प्रगाढतासंगै बढ्दै गयो । वहाँसंगको भेटमा एउटा मैले भुल्नै नसकेको वहाँको आदत भनुँ भने आदत होइन तर मलाई देख्ने बितिक्कै भन्नुहुन्थ्यो “ल दिपेन जी एउटा गीत चाहिं गाउनैपर्यो ।” वहाँको यो अनुरोध जहिल्यै मेरो कानमा गुन्जीरहन्छ । सायद वहाँ र मेरो भेटहरुमा कहीं कतै मैले गीत गुन गुनाएको सुन्नुभएको थियो होला । हुन त म अलिक गितांङ्गे नै रहेछु त्यसताका । एकान्त हुनै नहुने । खुब ताल पारेर बुट्टा भर्न सुरु हुन्थें । थोत्रे स्वर तानी-तानी जानी नजानी । कहिलेकहीं वहाँको अनुरोधले मलाई निकै अप्ठेरोमा नपारेको पनि होइन । तर झोल निकालीसकेको छोक्रे गीत धोक्रे स्वरमा सुनाईदिन्थें । अनि वहाँले त्यो मेरो टपरामा सु गरे जस्तो स्वर खुब गहिरिएर सुन्नुहुन्थ्यो । खोइ वहाँलाई के मज्जा आउंथ्यो मलाई गीत गाउन लगाएर !
वहाँ यहि क्याम्बोडियाको कुनै एउटा इन्डियन रेष्टुरेन्टमा लेखा तथा बजार ब्यवस्थापक पोस्टमा काम गर्नुहुन्थ्यो । त्यो रेष्टुरेन्टलाई राम्ररी नै हाँक्नु भएको थियो भन्ने कुरा वहाँको काम गराई र रेष्टुरेन्टमा ग्राहकको चापलेपनि प्रमाणित गर्थ्यो । आफ्नो ड्युटीमा साह्रै पक्का व्यक्तित्व हुनुहुन्थ्यो । रेष्टुरेन्ट सबैको साँझ सांढे दशमा भने बन्द हुन्थ्यो । तर वहाँले काम गर्ने रेष्टुरेन्ट भने कहिले ११ बज्थ्यो त कहिले १२ नै बज्थ्यो । कुनै निश्चित समय नै थिएन । समयको अनिकालमा पनि रेष्टुरेन्ट बन्द गरेर वहाँ रमाइलो गर्न निस्किनु हुन्थ्यो ।

नाच्नमा निकै सौखिन हुनुहुन्थ्यो । ठाउँ मात्र पाउनु भयो भने पनि खुबै नाच्नु हुन्थ्यो ।
दिन, समय, रात अनि कर्तब्य लात्तेबुंङ् चल्दै गयो । यहि क्रमहरुमा वहाँले धेरै ठाउँमा मलाई गीत गाउन लगाएर अप्ठेरोमा पार्नु भएथ्यो । मैले पनि वहाँलाई धेरै ठाउँमा नचाएर पैंचो असुलेको अहिले भर्खरै जस्तो लाग्छ । यस्तै लात्तेबुंङ्कै भिडभित्रबाट एक दिन सपना जस्तो लाग्छ वहाँको नाम डिजे रहन गयो । यो नाम त्यहि भिडभित्रबाट कसैले दिएको हो । यो नाम महिनाहरुमा मात्र होइन बर्षभरि नै निकै चर्चित रहयो । कहिँ भिडमा होस् या कहीं सुनसानमा होस् डिजे को निकै चर्चा चल्थ्यो ।

समयले कोल्टे फेर्दै जाने क्रममा समयको रंग पनि क्रमश: फेरिंदै गयो । वहाँसंगको मेरो भेटहरु प्राय रमाईलै हुन्थ्यो । हाम्रो भेटघाटको क्रमहरु कहिले कफिसंग त कहिले बियरको क्यानसंग । कहिले ह्विश्कीसंग त कहिले कोरियन सोझुसंग । कहिले गाउँले ठर्रासंग समेत भेट हुन्थ्यो । यतिका धेरै भेटहरुमा हाम्रो व्यक्तिगत कुराकानी अँ…हँ….. कहिल्यै भएन । कसैको व्यक्तिगत बिषयलाई कोट्याउनु हुन्न भन्ने वहाँको मान्यता थियो । कसैले सोधी हालेको खण्डमा सुटुक्क बिषयबस्तु बदल्न वहाँ निकै सिपालु हुनुहुन्थ्यो । यतिका लामो समय संगै हिडियो । बसियो । खाइयो । पिइयो । गाइन्थ्यो । नाचिन्थ्यो । तर मलाई खासै वहाँको बारेमा केहि थाहा भएन । घर कहाँ हो ? कुन जिल्ला, कुन गाउँ ? पारिवारिक बिषयमा होस् या कुनै राजनैतिक आर्थिक बिषयमा होस् । तर बाहुनबादको कुरा निक्ल्यो भने अलिकति आँखा उठाएर भन्नु हुन्थ्यो “बाहुन भनेको परदेशी भाईमारा जोगी हुन् । “तर अरु पक्षमा अँहँ कसैलाई थाहा भएन । मैले धेरै पटक समय सापेक्ष सोध्ने प्रयास गरेको पनि हुँ । त्यस्तो अबस्थामा केहि त भन्नु नै भाथ्यो । तर पनि त्यो पर्याप्त भने थिएन र भन्नु पर्दा वहाँ त्यति भावनामा बगीहाल्ने व्यक्तित्व नै हुनु हुन्नथ्यो ।

समय हुइँकिने क्रम जारी त थियो नै । यहि क्रममा त्यस्तो केहि भएको पनि होइन । तर समयले अचानक फुत्केर परिस्थितिलाई जबर्जस्ति करणी गर्न शुरुगर्यो । बिबशताको कैदी जन्जिर भित्र बिलिन क्रन्दनमा समाहित हुन बिबश थियो । भन्छन नि, उँधो दौडेको मृगलाइ लुते कुकुरले पनि बेजोडले खेद्छ रे । त्यस्तै नै वहाँको पछी पनि मानवरुपी लुते कुकुरहरुको दौड शुरुभयो । यहाँ मानवता छैन । दौड मात्र छ । यहाँ दर्जाले मात्तिएको हाकिमको हैकम मात्र छ । यहाँ मालिकको हुकुम मात्र छ । यहाँ त मानवता, समानता, दया, माया भन्ने चिज छैन । यहाँ बिबशताले पिल्सिएको नग्नतामाथि खुलेआम बलात्कार हुँदै छ । तर त्यहाँ बिबश क्रन्दन सुन्ने कोहि छैन । हैकम र पैसाको भरमा पन्जालाई जबर्जस्ति चौका भन्न यी मानवरुपी लुते कुकुरहरु यति खेर खुब ब्यास्त थिए ।

 

तपाइँको प्रतिक्रिया