माओवादी केन्द्रिय नेतालाई मैले पठाएको खबरदारी पत्र

Yubaraj-Chaulagain-12123 019प्रिय युवराज चौलागाईजी

नमस्कार,

म ददि सापकोटा फ्रान्सबाट । पेरिसमा तपाईसित भेटेर मैले सानो बातचित गरेको सम्झना हराइसकेको छैन होला भन्ने आशामा छु । तपाईसित गरिएको लामो राजनितिक कुराकानी केहि अन्तर्वार्ता र केहि लेखका रुपमा प्रकाशित गरेको थिएँ । ब्यस्त समयमा मलाई दिनु भएको समयप्रति म अनुग्रही छु ।

तपाई सायद ब्यस्त, अतिनै ब्यस्त हुनुहोला हेटौंडामा । पार्टीको राष्ट्रिय महाधिबेशन । त्यसमाथि तपाई पार्टीको बैदेश बिभागका एक सक्रिय सदस्य । पार्टीका एक केन्द्रिय सदस्यपनि । अवस्यै ब्यस्त हुनुहुन्छ । आइटी प्रबिधीमा अत्यन्त चासो राख्ने र पार्टीको बिदेश बिभागका एक सदस्य हुनाले तपाईले बिदेशबाट आएका मेलहरु निरन्तर हेर्नुहुन्छ भन्नेमा म बिश्वस्त छु । जनजिविका, शहिद परिवार, बेपत्ता नागरिक, देशको आर्थिक सामाजिक अवस्था र हिजो माओवादीले गरेका बाचा सबै म यहाँ उल्लेख गर्न चाहन्न । त्यसो गर्दा यो लामो हुन सक्छ र तपाई जस्ता ब्यस्त नेतालाई लामो प्रतिक्रिया पढ्ने समयपनि नहुन सक्छ । यो सन्देश मिलेसम्म अन्य सदस्य, तपाईका अध्यक्ष र प्रधानमन्त्री भट्टराई समक्षपनि पुगोस् । तपाई मार्फतनै । हुनत यसलाई मैले प्रधानमन्त्रीका राजनितिक सल्लाहकार देबेन्द्र पौडेललाईपनि पठाएको छु ।

त्यसैले, तपाईले मैसित ब्यस्त गर्नु भएका अडान, आश्वाशन र पार्टी नितिका बारेमा केहि असहमती राख्न चाहन्छु । केहि स्मरण गराउन चाहन्छु । अन्यथा लिनुहुने छैन भन्ने आशाका साथ । किनकि म तपाईको शुभचिन्तक हुँ र एकिक्रित नेकपा माओवादी बिग्रेको, भत्केको हेर्न चाहन्न । सप्रेकोनै देख्न चाहन्छु । किनकि यो पार्टी संभवत हाम्रो मुलुककालागि सबैभन्दा महँगो सावित भैसकेको छ । र यो पार्टी सप्रिँदानैमुलुकको भविष्य बन्छ ।

छलफलका क्रममा भन्नु भएको थियो, हामी पार्टीलाई बिदेशीको गुलाम बन्न दिने छैनौं । हामी जनयुद्दका मुद्दाहरु छोड्न दिने छैनौं । राष्ट्रियताको सवालमा हामी पटक्कै झुक्ने छैनौं, झुक्न दिने छैनौं । हामी कार्यकर्ताहरु सचेत र सबल छौं । तर युवराजजी, आज तपाइकै अध्यक्षले नेपालका बिबादित सिमा समस्या जनमतसंग्रह गरेर टुङ्ग्याईने छ भनेर हाकै राजनितिक प्रस्ताबमा उल्लेख गर्नु भएको छ । म तपाईलाइ प्रश्न गर्न चाहन्छु, के हाम्रो देशको सिमा, अर्थात दुई देशको सिमा बिबाद हाम्रो देशमा जनमत संग्रह गरेर सुल्झिने विषय हो ? तपाईहरुकै पार्टीले घोषणा गरेको हाम्रो मिचिएको भूमी अब नेपालीले जनमत संग्रह गरेर फिर्ता पाइने हो ? आफ्नो भूमी ऐतिहासिक र बिध्यमान तथ्य तथ्यांक, प्रमाण, दस्ताबेज, सिमा नक्शाका आधारमा सिमाबिद, परराष्ट्रबिदहरुको सल्लाह सुझाव, सिमा संवन्धि अन्तर्राष्ट्रिय मूल्य र मान्यता, नजिर, प्रचलन अनुसार लिईनुपर्ने हो ? दुई देशले सहजै सुल्झाउन नसके अन्तर्राष्ट्रिय जगतको सहयोग लिएर सुल्झाउनुपर्ने हो ? प्रचण्डको यो प्रस्तावका बिरुद्द सिमाबिद र विशेषज्ञहरुले गम्भिर आपत्ती जनाईसकेकालेपनि यसमा भारतीय शासक वर्गलाइ खुशि पार्ने कुत्सित मनशाय छ भन्ने थोरै वा धेरै पुष्टि हुन्छ ।

पार्टी अध्यक्षबाट यस्तो गम्भिर मुद्दा भारतलाई खुशि पार्न ल्याइएको हो भनेर के तपाईहरु सचेत हुनुहुन्छ ? हाम्रो देशको मिचिएको भूमी फिर्ता माग्नुको साटो किन त्यसैलाई बैधानिकता दिने कुत्चित मनशायले ल्याइयो ? के यस विषयमा तपाईहरु बोल्नु पर्दैन ? तपाईहरुमा अब भारतसित नझुकि, हाम्रो भूमी उसले मागे, दाबी गरे अनुसार नछोडि सरकारमा बस्न सकिन्न र जुनसुकै हालतमा सरकारमा बस्नै पर्छ भन्ने निर्णयमा पुग्नु भएको हो ? के शिर्ष नेताहरुले यो भूमीका चोक्टाहरु बिदेशीलाई जिम्मा लगाउने प्रस्ताब ल्याउँदा र त्यसलाई आम कार्यकर्ताका बिचबाट सदर गराउन खोज्दापनि तपाईहरु जस्ता कार्यकर्ताहरु नालायकै बन्न खोज्नु भएको हो ? एकिक्रित नेकपा माओवादी सिक्किमिकरणको दिशामा जान लागेको हैन भनेर हामी जस्ता थोरै जाने बुझेका, राष्ट्रिय मुद्दामा चासो राख्ने र आम जनताले कसरि बुझ्ने अब ?

हुन त तपाईहरुले बन्द सत्रमा यस्ता विषयमा गम्भिर बहस गरिरहनु भएकोपनि हुन सक्छ । तरपनि म तपाईलाई सम्झाउन चाहन्छु । मेरो मेलले तपाईलाई थोरै भएपनि उर्जा दियो, सोच्न बाध्य बनायो र गम्भिरताको अनुभव भयो भने सार्थकता हुने छ ।

युवराजजी, मलाई तपाईले भन्नु भएका केहि कुरा अहिलेपनि कानमा झनझनाईरहन्छन् । तपाईले भन्नु भएको थियो ‘मेरो त जनयुद्दका क्रममा भाइ र परिवारका अन्य सदस्यपनि गुमे । परिवार छतबिच्छेद भएको हो । यो देशको मुक्तिकालागि हामीले सबै त्यागेका हौं । यदि त्यसमा तपाई अझैपनि अडिग हुनुहुन्छ भने तपाई र यो देशको मुक्ति गर्न भनेर ज्यान दिएको तपाईको सहोदर भाईको रगत सम्झेर सोध्नोस, के त्यो बलिदान नेपालको सिमा मिचाउन थियो ? के त्यो बलिदान हाम्रो गुमेको भूमी भारतलाई बुझाउन थियो ? १५ हजार भन्दा बढिले के सिमित नेतालाई मन्त्री बनाउन, महल राज गराउन, महँगा गाडीमा सयर गराउन ज्यान दिएका थिए ? तिस लाख भन्दाबढि भारतीयलाई नागरिकता दिलाउन तपाईका भाईले रगत बगाएर गएका थिए ? के तपाईले यो देशको मुक्तिका लागि भनेर लडेको फगत आर्काको आशिर्वादमा सरकारमा एकिक्रित माओवादीलाई बसाउन थियो ? नेताहरुलाई मन्त्री बनाउन मात्रै थियो ? केका लागि थियो ?

हिजो तपाईहरुनै होइन नेपालको राष्ट्रिय अखण्डता संकटमा पर्‍यो भन्दै भारतबिरुद्द राष्ट्रिय स्वाधिनताको लडाई लड्न भनेर डाँडाकाँडामा सुरुङ खन्दै हिँड्ने ? के मधेशी दलसित मिलेर सरकारमा जानासाथ हाम्रो राष्ट्रियता बलियो भयो ? हाम्रो भूमी फिर्ता भयो ? सन् १९५० लगायतका सबै असमान सन्धि र संझौताहरु खारेज हुनुपर्छ भन्दै राष्ट्रियताको  नाममा गरिएका आन्दोलन किन थिए ? के ति पुरा भए ? तपाईको पार्टी सरकारमा छ, के ति मुद्दा उठाउन हिम्मत गरेको छ ? क्रिपया यसमा गम्भिर हुनुहोला भन्ने म अनुरोध गर्न चाहन्छु ।

नेता मोटाउने, नागरिक कंगाल बन्दै जाने, नेताहरु महलमा बस्ने, जनताहरु झुप्रोबाटपनि लखेटिने, महँगी र अत्याचारले नागरिकलाई पिल्साउने तपाईको पार्टीको सरकार, तपाईका बिलासी नेताहरुका क्रियाकलाप बारेपनि दह्रोसित आवाज उठाउन सक्नु भएन भने म भन्छु ‘तपाई जस्ता कार्यकर्ता र नेताले आफ्नै परिवारको रगत पिएको ठहरिने छ । आफ्नै परिवारको ज्यानसित गद्दारी गरेको सिद्द हुने छ । तपाईहरु सिक्किमिकरण गर्ने नेताका रबर छाप बन्नुहुने छ ।

म यति भन्दै महाधिबेशनको सफलताको कामना गर्छु । यदि एकिक्रित नेकपा माओवदीले राष्ट्रघात गर्छ भने त्यो एनेकपा  माओवादी, त्यसका नेता र जनतालाईपनि महँगो सावित हुने छ । नेपाली जनताले त्यसबिरुद्द जस्तोसुकै मूल्यपनि चुकाउने छन् । त्यसैले, अन्तिममा फेरि सम्झाउन चाहन्छु, क्रिपया कम्तिमा हाम्रो राष्ट्रियता बेच्ने काममा कहिँ कतै सम्झौता र सहमती गर्न नदिनुहोला ।

लेखाईमा छुच्चोपन देख्नु भयो भने अग्रिम माफी चाहन्छु ।

धन्यावाद

०४ फर्वरि २०१३

पेरिस

तपाइँको प्रतिक्रिया