माओवादी र एमालेको बैचारिक निति एउटै !
सबैका लागि यो खुशिको खबर हो, एमाले र एकिक्रित नेकपा माओवादीको बैचारिक धरातल नजिकिएको मात्रै होइन, समान बन्न पुग्दै छ । खुशिको कुरा किन हो भने माओवादीले चाँडैनै आफ्नो बैचारिक निति स्पष्ठ पारेको छ । अब उसले भन्ने गरेको जनवादी राज्य सत्ता, जनबिद्रोह, बिद्रोहका धम्की र बाटाहरु घोषित रुपमै छोड्ने निर्णय गरेकाले भ्रम रहने छैन । नौलो जनवादी क्रान्ति छोडेर एमालेका तत्कालिन महासचिव मदन भण्डारीले पूँजीवादी ब्यवस्थाको वकालत गरेका थिए । भलै त्यसलाई बहुदलिय जनवादको नामाकरण गरिएको थियो । मदन भण्डारीलाई पूँजीवादीको प्रवर्तक भन्ने आरोप लगाउँदै आएका माओवादी अन्तत त्यहि धारमा पुगेका छन् ।
कम्युनिष्ट ब्यवस्थाका प्रवर्तकका रुपमा आएको पार्टी भएकाले एक्कासि त्यो छोड्नु संभव थिएन । जनता र पार्टी कार्यकर्तामा पार्टीको विश्वास एक्कासि टुट्ला भनेर । त्यसैले बहुदलियका पछाडि जनवाद थपेका थिए भण्डारीले । अहिले ठ्याक्कै त्यसै गरेका छन् एकिक्रित नेकपा माओवादीका शिर्ष नेत्रित्वले । चलाखीपूर्वक मदन भण्डारीकै नक्कल गरेर उनीहरुले पूँजीवादी जनवादी क्रान्तिको कार्यदिशा पार्टीले अँगाल्ने सार्वजनिक गरे ।
आजदेखि नेकपा माओवादीको राष्ट्रिय महाधिबेशन हुँदै छ । यो महाधिबेशन हुनुअघि पालुङटारमा राष्ट्रिय भेला भएको थियो, करिब एक वर्ष अघि मात्रै । त्यति बेला जनवादी राज्यसत्ता स्थापनाका लागि जनबिद्रोहमा जानुपर्छ भन्ने लाईन बहुमतले पारित गरेको थियो । डा बाबुराम भट्टराईलाई अलग्याउँदै पार्टी अध्यक्ष प्रचण्ड मोहन बैध्य किरणको बैचारिक लाईनमा मिल्न गएका थिए । यि दुई मिलेपछि बहुमतले जनवादी राज्य व्यवस्था स्थापना गर्ने लाईन बहुमतबाट पास भएको थियो ।
त्यसको एक वर्षभित्रै एकिक्रित नेकपा माओवादीले जनवादी राज्य सत्ताको लाईन पूर्णरुपमा त्यागेर पूँजीवादी राज्य ब्यवस्थाको लाईन समातेको छ । तर उहि एमालेले जनतालाई आफ्नो पार्टीमा अड्याइराख्न वा अलि नमिठोसित भन्नुपर्दा भ्रम छर्न बहुदलियका अगाडि जनवाद थपेझैं अहिले माओवादीलेपनि पूँजीवादीका पछाडि जनवादी झुण्ड्याएको छ । सारमा एमालेको बहुदलिय जनवाद र माओवादीले अहिले पारिद गर्न लागेको पूँजीवादी जनवादी क्रान्तिमा कुनै अन्तर छैन । दुबै पूर्णरुपमा पूँजीवादी राज्य ब्यवस्थाका रुप हुन् । त्यसैले, जनवादी राज्य ब्यवस्थाका नाममा जसरि एमालेले जनतालाई भ्रम छर्दै आएको थियो, र अहिलेसम्म धेरै थोरै छरिरहेको छ त्यसैगरि एकिक्रित नेकपा माओवादीलेपनि भ्रम छर्ने छ । पूँजीवादीका पछाडी जनवादी क्रान्ति भन्ने शब्द थप्दै एमाले मार्ग समातेको छ ।
अनौठो के भने नेकपा माओवादीले पेरु, भियतनाम, कम्बोडिया, पूर्वी युरोप लगायतका धेरै मुलुकमा किन कम्युनिष्ट ब्यवस्थाले धक्का खायो ? यसको अध्ययन, अनुसन्धान गरेर, त्यसको पाठबाट सिक्छौं । नयाँ ढंगले नेपालमा नौलो जनवादी क्रान्ति सम्पन्न गर्छौं भन्ने दाबी गर्थे । प्रचण्ड र बाबुरामले भन्नेगर्थे “अरु देशको नक्कल गरेर नेपालमा जनवादी क्रान्ति गर्न संभव छैन । नेपालको आफ्नै भौगोलिक, सामाजिक, सांस्क्रितिक र अन्तर्राष्ट्रिय प्रभाव , भूमिका र परिस्थीतिको सहि मूल्यांकन गरेर मात्रै संभव छ । नेपालको जनवादी क्रान्ति मौलिक ढंगले गर्नु पर्छ । तर अहिले नाटकिय ढंगले उहि एमालेकै बहुदलिय जनवादको नक्कल गरे । यसरि हेर्दा, वर्ग शत्रु सफाई अभियानका नाममा शामान्तका टाउका काट्ने अभियान चलाएर आएको तत्कालिन एमालेले जनवादी राज्य व्यवथाको लाईन त्यागे झैं १० वर्षे जनयुद्दमा हजारौंको हत्या र हिंसा गरेको एकिक्रित नेकपा माओवादीपनि अन्तत एकै लाईनमा उभिएका छन् । अरु देशले प्रयोग गरिसकेको क्रान्तिको ढाँचा प्रयोग गरेर संभव हुन्न भनेका माओवादी अन्तत : विश्वका अन्य असफल जनवादी क्रान्तिकै बाटो समात्न पुगेको छ ।
एकिक्रित नेकपा माओवादीले कति सजिलो र लाजमर्दो किसिमले जनतालाई ढाँट्यो भन्नेपनि अहिले पारिद गर्न लागिएको भनिएको प्रचण्डको दस्ताबेजले छर्लङ्ग बनाउँछ । किनकि एक वर्ष अघिसम्म एकिक्रित नेकपा माओवादीले जनवादी राज्यसत्ता स्थापनाको लाईन पास गरेको थियो । त्यतिबेला नेपाली समाज अझैपनि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको विश्लेषण गरिएको थियो । त्यसैले उनीहरुले नयाँ जनवादी क्रान्ति गर्नुपर्ने र त्यसलाइ जनबिद्रोहमार्फत सफल बनाउने भनिएको थियो । तर त्यस्तो दाबी गरिएको एक वर्ष भित्रैमा उनीहरुले नेपाली समाजमा ‘नयाँ जनवादी क्रान्ति आंशिक र आधारभूत रूपमा सम्पन्न भएको’ भनेर प्रतिबेदन लेखे ।
एकै वर्षमा नेपाल अर्ध सामान्ति र अर्ध औपनिबेशिकताबाट कसरि मुक्त भयो ? माओवादीले किटान गरेका सामान्तवादका जरा पुरै बिच्छेद भए ? हाम्रो राजनितिक, आर्थिक, भौगोलिकता माथि बिदेशी हस्तक्षेप रोकियो ? किचिएका, मिचिएका हाम्रा भूमी फिर्ता भए ? माओवादीले जनयुद्द कालभरि उठाउँदै आएका सबै असमान सन्धी र संझौता खारेज भए ? मुठीभरका सामान्तहरुको भूस्वामित्व गरिखाने जनताको भयो ? ईमान्दार माओवादी कार्यकर्ता छन् भने तिनले अवश्यै नेत्रित्व समक्ष यि प्रश्न राख्ने छन् ।
अझ अचम्मको कुरो त के भने पार्टीको महाधिबेशनमा प्रस्ताब गरिन लागेको राजनितिक प्रस्तावमा कत्तिपनि बहस, छलफल र रचनात्मक टिकाटिप्पणी भएको छैन । राजनितिक प्रस्ताब तल्लो तहसम्म अग्रिम पठाएर पर्याप्त बहस र छलफलपछि आएका सुझावलाई संलेषण गर्नुपर्नेमा हारहुरे पाराले जिल्ला अधिबेशनहरुमा पढेर सुनाउने गरिएको भन्ने ब्यापक गुनासो कार्यकर्ता पंक्तिबाटै आएको छ । प्रतिनिधी छनौटमापनि सक्षम, सबल र योगदानका आधारमा भन्दा उच्च नेत्रित्वको भागबण्डामा तोकिएको छ । को सक्षम भन्दापनि प्रतिनिधी छनौटमा ‘हाम्रा मान्छे परे, हाम्रा परेनन्, फलानो यो पक्ष, यो त्यो पक्ष’ भन्दै ठाउँठाउँमा देखिएको मारमुंग्रीले त्यहि संकेत गर्छ । महाधिबेशन नमिलेका बुद्दामा बहस गर्ने, नसल्टिएका मुद्दा सल्टाउने, पार्टीमा नयाँ बैचारिक मार्गको खोजि गर्ने, वर्षौं देखि थाँती रहेका मुद्दाहरुमा रचनात्मक छलफल चलाउने। कार्यकर्तामा नयाँ जोस र उमंग थप्ने । पार्टीलाई बैचारिक हिसाबले तिखो पार्ने भन्दापनि नेत्रित्वको भागबण्डा र औपचारिकता पुरा गर्न मात्रै यो महाधिबेशन आयोजना गर्न लागेको देखिन्छ । यदि यहि राजनितिक प्रतिबेदन पास भएमा एकिक्रित नेकपा माओवादी घोषित रुपमै नेकपा एमाले बन्ने छ ।




