राजा त्रिभुवनले यसरि सुन्नु भो राजतन्त्र बिरोधी हाम्रा कुरा
● प्राध्यापक माणिकलाल श्रेष्ठ
राजा त्रिभुवनले हामी दुवैजनालाई “देशको तत्कालीन स्थितिबारे र राजतन्त्रबारे पनि” निसङ्कोच भन्नु होला भन्नुभयो । केही बेरसम्म प्रेमबहादुरजी केही नबोली चुप लागेर बस्नुभएको देखेर राजाले “भन्नोस्, प्रेमबहादुरजी, किन चुप बस्नुभएको ?” भनी सोध्नुभयो । अनि प्रेमबहादुरजीले भनुभयो, “देशमा एउटा राजनीतिक परिवर्तन आएको बेलामा हामी राजनीतिक कार्यकर्ताहरू देशको स्थितिबारे आफ्नो धारणा राजालाई सुनाऔँ” भनेर यहाँ आयौँ । तर महाराजको साथमा बसेर एकजना विदेशीले सबै कुरा सुनिरहेको छ म कसरी बोलुँ ।”
नेपालको इतिहासमा सत्तारूढ अन्तिम राजवंश शाह वंशका राजाहरूमध्ये अन्तिम चारजना राजाहरू मेरो जीवनकालमा देखेको हुँ । तीमध्ये अन्तिम राजा पूर्वराजा ज्ञानेन्द्रसित मेरो भेटघाट भएको छैन, अरू तीनजना राजाहरू (त्रिभुवन, महेन्द्र र वीरेन्द्र) प्रत्येकसित मैले दुई दुई पटक भेटेको हुँ । राजा त्रिभुवनसितको भेटका केही सान्दर्भिक (वर्तमान परिप्रेक्ष्यमा) कुराहरूको स्मरण गर्न खोजेको छु ।
नेपाली काङ्ग्रेसले २००७ सालमा राणा शासनविरुद्ध चलाएको सशस्त्र सङ्घर्ष दिल्ली सम्झौताद्वारा अन्त भई राणाको पारिवारिक शासनको ठाउँमा राजा-राणा-काङ्ग्रेसको त्रिपक्षीय संयुक्त शासन चलेको बेला थियो । राणाको पारिवारिक सैनिक तानाशाहीको अन्त्य भएकोलाई करिब करिब सबैले स्वागत गरे पनि ‘दिल्ली सम्झौता’ लाई विरोध र आलोचना गर्नेहरू प्रशस्त थिए ।
पहिले काङ्ग्रेसकै नेतृत्व तहमा रहिसकेका प्रेमबहादुर कंसाकारले ‘दिल्ली सम्झौतालाई स्वीकार’ गर्ने नेताहरूलाई ‘देश बेचुवा’ भन्ने आरोप लगाए । राणाविरोधी सङ्घर्षको क्रममा उहाँले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूलाई भेट्न जानुहुँदा प्रधानमन्त्री निवासको बैठकमा भेटका लागि पर्खिरहँदा त्यही नै ‘दिल्ली सम्झौता’ र ‘सङ्घर्षको अन्त्य’ भएको खबर सुनेर नेहरूजीलाई नभेटिकनै र्फकेर आउनुभयो । तुरुन्तै आफ्नो केही साथीहरूसित मिलेर नेपाल जनवादी प्रजातन्त्र सङ्घ नामक पार्टी गठन गरेर नेपाल र्फकनुभयो । नेपाल कम्युनिस्ट पार्टीले नेपाली काङ्ग्रेसले दिल्ली सम्झौता गरी क्रान्तिलाई बीचैमा रोकी नेपाली जनतालाई धोखा दिए भन्ने आरोप लगाए ।
यसरी कम्युनिस्ट पार्टीले दिल्ली सम्झौतालाई ‘काङ्ग्रेसद्वारा क्रान्तिप्रति गद्दारी’ र जनवादी प्रजातन्त्र सङ्घले ‘काङ्ग्रेसी नेताहरूले देश बेचेको’ भन्ने आरोपहरू लगाइरहेको बेला नेपाली काङ्ग्रेसका शीर्षस्थ नेताहरूले ‘हामीले सम्झौता गरेको छैन । दिल्ली सम्झौताबारे हामीलाई केही थाहा छैन’ भनी वक्तव्य नै दिए । देशभित्र रहेका -खास गरी काठमाडौँ उपत्यकाका) काङ्ग्रेसी कार्यकर्ताहरूमध्ये धेरैले यो सम्झौताको विरोध गरे । डा. केआई सिंहले राणाविरोधी लडाइँ स्थगन नगर्ने घोषणा गरे । २००७ साल फागुन ७ गते अन्तरिम सरकार बन्ने र जेलबाट भर्खरै छुट्नुभएका गणेशमान सिंहजी पनि त्यस सरकारमा समावेश गर्ने निर्णय भएपछि गणेशमानजीले ‘सम्झौताबाट सङ्घर्ष स्थगित भएको’ स्थितिका राणासितको संयुक्त सरकारकामा सरिक हुनु ठीक होला कि नहोला भनी फागुन ५ र ६ गतेसम्म पनि राजधानीका काङ्ग्रेसी कार्यकर्ताहरूको राय लिइरहनुभएको थियो ।
वास्तवमा ‘दिल्ली सम्झौता’ सङ्घर्षरत दुई पक्ष -राणा सरकार र काङ्ग्रेसी विद्रोही, बीचको सम्झौता वा सहमति थिएन, त्यो त भारतको नेहरू सरकार र नेपालको राणा प्रधानमन्त्रीको सरकारबीचको सम्झौता थियो । नेपालमा अब कस्तो व्यवस्था गर्ने भन्नेबारे छलफल गर्न भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले नेपालका राणा प्रधानमन्त्री मोहनशमशेरलाई ‘दिल्लीमा आफै आउनू वा अधिकार-सम्पन्न प्रतिनिधि पठाउनु’ भनी बोलावट भएपछि नेपालबाट गएका प्रतिनिधि केशरशमशेरलाई नेहरूले प्रस्ताव -सुझावको नाममा आदेश प्रस्तुत गरी त्यसका ‘परामर्श’ भई भएको ‘सहमति’ अनुसार भारत सरकार र नेपालको राणा सरकारबीच सम्झौता भएको थियो र सम्झौतामा हस्ताक्षर गरेका पनि त्यही दुई पक्ष थिए । सम्झौता गर्न नेपाली काङ्ग्रेसको स्वीकृति वा रायसम्म पनि लिइएको थिएन, अझ सम्झौताबारे जानकारी पनि दिइएको थिएन । दिल्लीमा शरण लिई बसेका राजा त्रिभुवनलाई पनि जानकारी मात्र दिइएको थियो । एक किसिमले यो सम्झौता जवाहरलाल नेहरूको एकपक्षीय निर्णय थियो, नेपालको राणा सरकारमाथि त्यो निर्णय लादिएको थियो र नेपाली काङ्ग्रेसलाई सङ्घर्ष रोक्न आदेश दिइएको थियो । यो कुरा जवाहरलाल नेहरूद्वारा भारतीय संसद्मा दिइएको नेपालबारेको दुईवटा प्रतिवेदन (१९५० डिसेम्बर ६ र डिसेम्बर २१ का) र खासगरी नेपालमा अब के गरे ठीक होला भन्ने नेहरूको ‘सुझाव-प्रस्ताव (१९५० डिसेम्बर २१ मा भारतीय संसद्मा जानकारी दिइएको) का शब्दहरू र २००७ साल फागुन ७ गतेको राजा त्रिभुवनको शाही घोषणाहरूका शब्दहरू हुबहु मिलेकोबाट सिद्ध हुन्छ ।
यस्तो नाटकीय रूपमा भएको घटनाक्रमबाट नेपालको २००७ सालको परिवर्तन आएको केही समयपछि नेपाल जनवादी प्रजातन्त्र सङ्घको एक आमसभामा बोल्न मलाई आमन्त्रण गरिँदा मैले बोलेको भाषणको सारांश यस्तो थियो- “नेपालमा राणाको पारिवारिक शासनको अन्त्य भयो तर शाहवंशीय राजतन्त्र कायमै छ । राजा त्रिभुवनले नेपाली जनताको राणाविरोधी सङ्घर्षलाई समर्थन गरेको सकारात्मक कदमको बाबजुद राजतन्त्र भन्नु सामन्ती शक्तिको नाइके हो । त्यो संस्था कायम रहनुको मतलव नेपाली जनताको जनतान्त्रिक सङ्घर्ष आधा मात्र पूरा भएको भन्नुपर्दछ । हाम्रो क्रान्ति अपुरो छ ।”
मैले यसरी राजतन्त्रविरुद्ध बोलेको थाहा पाएर हो वा कुनै नियमित कार्यक्रम अनुसार नै हो राजा त्रिभुवनले राणा विरोधी सङ्घर्षमा लागेका कार्यकर्ताहरूलाई क्रमिक रूपमा भेटघाट गर्ने सूचीमा मलाई पनि राखेको छ भन्ने विश्वसनीय जानकारी मैले सुने । सायद यही कुरा सुनेर हो वा कुनै सङ्केत पाएर हो दुईजना विशिष्ट व्यक्तित्वहरू -१ राणा सरकारले १९९७ सालमा दमन गरी बन्द गरेको स्कुल ‘द महावीर इन्स्िटच्युटका संस्थापकहरूमध्ये एक श्री फत्तेबहादुर सिंह २. नेपाल जनवादी प्रजातन्त्र सङ्घका शीर्षस्थ नेता श्री प्रेमबहादुर कंसाकार) ले राजा त्रिभुवनसित भेटघाटमा जाँदा मलाई पनि सरिक गर्नुभयो । यस प्रकार २००८ सालको सुरुतिर मैले राजा त्रिभुवनसित दुईपटक भेट गरेँ । यसबेला म भर्खरै बीएस्सी पास गरेको १८ वर्षको विद्यार्थी र राणाविरोधी सङ्घर्षमा विद्यार्थी क्षेत्रबाट काम गरेको व्यक्ति थिएँ ।
राजा त्रिभुवनसितको पहिलो भेटमा फत्तेबहादुर सिंहजीसित जाँदा राजा त्रिभुवनले महावीर इन्स्िटच्युटसम्बन्धी पुराना कुराहरूबारे अर्थात् इन्स्िटच्युटको इतिहासबारे जानकारी लिएकाले कुराकानी शैक्षिक विषयमा मात्र सीमित रहृयो । मेरो प्रारम्भिक शिक्षा त्यही स्कुलबाट भएको थाहा पाएर मैले त्यस इन्स्िटच्युटको आदर्श र त्यहाँका शिक्षकहरू सहिद गङ्गालाला श्रेष्ठ र सहिद चिनियाँ लालसिंहबाट प्रेरणा लिएर देशको शिक्षा विकासमा आफूले सके जति योगदान दिनुपर्दछ भनी राजा त्रिभुवनले मलाई आग्रह गर्नुभयो । यो ‘सल्लाह’ सामान्य र हार्दिक मात्र थियो वा तिमीहरूजस्ता विद्यार्थीहरू प्रत्यक्ष्य राजनीतिमा लाग्ने होइन, शिक्षा क्षेत्रमा काम गर भन्ने सङ्केत हो मलाई थाहा भएन । त्यस भेटमा राजा त्रिभुवनले मसित कहिले नेपाली भाषामा र कहिले नेपाल भाषामा कुरा गर्नुभएको थियो ।
मेरो दोस्रो भेटमा (प्रेमबहादुर कंसाकारजीसँग गएको बेला) भेटको सुरुमै राजा त्रिभुवनले हामी दुवैजनालाई “देशको तत्कालीन स्थितिबारे र राजतन्त्रबारे पनि” निसङ्कोच भन्नु होला भनी भन्नुभयो । केही बेरसम्म प्रेमबहादुरजी केही नबोली चुप लागेर बस्नुभएको देखेर राजाले “भन्नोस्, प्रेमबहादुरजी, किन चुप बस्नुभएको ?” भनी सोध्नुभयो । अनि प्रेमबहादुरजीले भनुभयो, “देशमा एउटा राजनीतिक परिवर्तन आएको बेलामा हामी राजनीतिक कार्यकर्ताहरू देशको स्थितिबारे आफ्नो धारणा राजालाई सुनाऔँ” भनेर यहाँ आयौँ तर महाराजको साथमा बसेर एकजना विदेशीले सबै कुरा सुनिरहेको छ म कसरी बोलुँ ।”
वास्तवमा त्यहाँ साथै उभिरहेका थिए गोविन्द नारायण (भारत सरकारका पूर्वप्रमुख सचिव) जसलाई राजा त्रिभुवन दिल्ली प्रवासबाट नेपाल र्फकंदा राजाको प्राइभेट सेक्रेटरी बनाई राजाको साथ लगाई भारत सरकारले नेपालमा पठाएको थियो र हामीले राजा त्रिभुवनसित भेट गर्दा राजाको छेउमा उभिएर सबै कुरा सुनरिहेको थियो । उनको उपस्थितिको विरोध प्रेमबहादुरजीले गर्नु हुँदा पनि राजाले उनलाई बाहिर जानु भन्नुभएन तर तुरुन्तै नेपालीमा बोल्न छोडी नेपाल भाषा (नेवारी) मा कुरा गर्न थाल्नुभयो र केही नबुझेपछि गोविन्दनारायण आफैँ बाहिर निस्के । प्रेमबहादुरजीले राजा त्रिभुवन व्यक्तिसित कुनै विरोध छैन तर आफ्नो राजनीतिक आस्था गणतन्त्र भएकोले राजतन्त्र मान्न नसकेको हो भनी भन्नुभयो र नेपालमा भारतीय हस्तक्षेप बढ्दै गएकोप्रति आपत्ति जनाउनुभयो । मैले पनि राजतन्त्रबारे आफूले आमसभामा बोलेको कुराको सारांश भने । राजा त्रिभुवनले हामी दुवैजनाको कुरा ध्यानपूर्वक सुन्नुभयो तर कुनै प्रतिक्रिया जनाउनुभएन ।
(नेवा टाईम्सबाट साभार)




