जनजातिको त नाममाथिपनि अतिक्रमण

बडका थारु / बेल्जियम 

som-narayan-thanet-somana-tharu-1212यस पंतिकारको  फ्रान्समा बसोबास गर्नु हुने एक जना पत्रकार संग भेट भएको थियो करिब ७ ,८ वर्ष पहिले  । परिचय पश्चात वहाँले मलाइ भन्नु भयो ” सोम जी तपाइको नाम माथीपनि हिन्दु अतिक्रमण भएको रहेछ नि । ” मैले कसरि ‘कसरि ? ‘ उत्तर आयो,  ‘तपाइको नामको पछाडी नारायण झुण्डीएको छ नि  । ‘ यो संवादले म झसंग भएँ । वहांको त्यो  भनाइ अहिले पनि बेला बेला मेरो मस्तिस्कमा झल्किरहन्छ  ।

नेपालका आदिवासी जनजाती माथि हिन्दु अहंकारद्वारा पालित पोषित सामन्ती राज्य सत्ताले उत्पीडन गर्‍यो ।  दलित, महिला मुस्लिम आदिलाई हिन्दु धर्मले उत्पीडनमा पार्‍यो  । हिन्दु धर्मको आडमा शदियौं सम्म सामन्तवादी राज्य सत्ताले जनजाती, महिला, दलित माथी अन्याय गर्यो । भेदभाव गर्यो । अगाडी बढ्न दिएन । यी विभिन्न आरोपहरु हिन्दु धर्म  र खासगरि त्यसको क्षत्र छायाँको शासन व्यवस्था र शासकहरुलाई लगाउने गरिन्छ । के साँच्चै हिन्दु धर्मले जनजातीका धर्म, सस्कृति,परम्परामाथी अतिक्रमण गरेकै छ त ? के पत्रकारले भने झैँ मेरो नाममा हिन्दु अतिक्रमण भएकै हो त ?

हो, मेरो नाम माथी  हिन्दु अतिक्रमण भएकै रहेछ   । किन र कसरि भयो ? यो प्रश्नको उत्तर  खोज्न मैले केहि जुरजुलुम गरें । अभिभावक, साथीभाइ गुहारें । मैले आफु भित्रै खोजतलाश गरें । के कारणले मेरो नामको पछाडी नारायण झुण्डीएको रहेछ त ?

वास्तबिकता यस्तो पो रहेछ, म सानो हुदाँ मेरो नाम बडका थियो । सबैले मलाइ बडका भन्थे मेरो गाउँमा । अर्थात जेठो छोरो । छोरी भएकी भए बडकी हुन्थे । अर्थात् जेठी छोरी ।  मेरा साथी भाइ संगिका नाम पनि सबैका  ठेट थारु नाम नै थिए । कसैको झिनका, कसैको फुहरा, कसैको भेडहरवा, गिदरा आदि ।  पछि खोइ कताबाट एक जना भट्टराई थरको पण्डित बसाइ सरेर हाम्रो छिमेकी गाउँमा  आएको रहेछ   । त्यहि भट्टराई पण्डितले बुवा लाइ भेटेर भनेको रहेछ “औनिया ( मेरो बाबाको नाम ) तिम्रो छोराको नाम पात्रो हेरेर राखेको कि त्यसै  ? ”उस बेलाका थारु पुस्ता पात्रो बारे मुस्किलले जानकार थिए होलान । अनि पण्डित बाजेले बाबालाई फ़काएछन “छोरा छोरीको नाम दिन, घडी, पल आदि जुराएर राख्नु पर्छ । ग्रह दशा, खड्ग आदि अनेक हुन् सक्छन । पात्रो हेरेर राख्यो भने पछि त्यो ग्रह दशा कटाउन सजिलो हुन्छ ।”  मेरो बुवा अनपढ र एकदमै सोझो हुनुहुन्थ्यो । हुन त थारुहरुको विशेषता नै सोझोपन र सरलता हो । जालझेल, फटयाई गर्न नजान्ने र नबुझ्ने ।

पण्डितको कुरो बाबाले पत्याउनु भएछ । सानो हुदाँ म पटक पटक सिकिस्त बिमारी भएको थिएँ रे  । त्यहि भएर पनि बाबाले पण्डितजीलाइ झन विश्वाश गर्नु भा रैछ  । सके ग्रह अर्थात खडग कटाउने बिचार बाबाको दिमागमा आएको हुनसक्छ । ‘त्यसो भए  पात्रो हेरेर नाम राखी दिनोस न बाजे’ भनेछन बाबाले  ।

अनि बाजेले अक्षेता ल्याउन भनेछन बाबालाई  । बाजेले अक्षेता यहाँ राख त्यहाँ राख भनेछन  । जसो जसो पण्डित बाजे त्यसै त्यसै स्वाहा भने झैँ जे जे बाजेले भने बाबाले त्यसै त्यसै गरेछन । अनि  बाजे ले मेरो नाम जुराएछन ।  मेरो नाम हिन्दु भगवान नारायण संग जोडेर सोम नारायण राखी दिएका रहेछन  । यसरि मेरो नाम माथी  हिन्दुकरण भएको रहेछ  ।

ति पत्रकार साथी प्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु, मलाइ व्युझाई दिनु भएकोमा  । मेरो नाम हिन्दुकरण गर्ने ति पण्डित बाजेले  हाम्रो गाउँमा मेरो नाम मात्र बदलीदिएनन । मेरा साथी संगी लगायत अरुका नाम पनि बदलीदिए । सबैको नाम हिन्दु भगवानसंग जोडाइदिए । कसैको इश्वरी बनाइदिए । कसैको बिष्णु, कसैको महादेव आदि ।

यसरि गाउँ घरका थारु युवाहरुको मौलिक नाममाथी हिन्दु आक्रमण भयो  । त्यस पश्चात ति पण्डित बाजेले थारुहरुका अन्य संस्क्रिति र परम्परामाथी पनि हस्तक्षेप शुरु गरे । त्यहाँका थारुहरुलाई सत्य नारायणको व्रत कथा तथा पूजा गर्न लगाउने  र त्यस माध्यमबाट आर्थिक शोषण पनि गर्ने । त्यति मात्र नभई थारुहरुका जन्म, बिवाह, म्रित्यु आदिमा हिन्दु संस्क्रिति लागू गर्दैगयो । यसरि आफ्नै मौलिक परमपरामा रमाईरहेका तराइका सोझा जाती माथी तत्कालिन हिन्दु धर्मको आडमा सत्तामा रहेका सामन्तवादी बिचार बोकेका शासकहरुद्वारा थारु लगायत अन्य जनजातिका संस्कृतिमाथी हस्तक्षेप गर्न पण्डित र डिठ्ठाको नाममा गाउँ गाउँमा एक किसिमको प्रशासक बनाएर पठाइएका हुन्थे ।  तिनीहरुले भित्र भित्र जनजाती माथी हिन्दुकरण गर्दथे । शोसन गर्दथे ।

उनीहरुले  विस्तारै त्यहाँका सोझा, सरल जनजातिहरुको  मौलिक संस्कृतिमाथी शासकहरुको योजना बमोजिम हस्तक्षेप गर्दथे । उनीहरुले हिन्दु धर्मको आडमा त्यहाँ वर्ग को सृजना गर्दथे । उनीहरुले त्यहाँ जात पातको सिर्जना सम्बन्धि बिषय प्रचार प्रसार गर्दथे । जातको आधारमा उँचनिच भेदभावको कुरा गर्थे । वास्तवमा ति डिठ्ठा र पण्डित नामका सामन्तवादका विश्वासिलो खम्बा हुन्थे । उनीहरुले हिन्दु धर्मको रक्षा मात्र गर्दैनथे । त्यसको धरातलमा टेकी अन्य समुदाय खास गरि जनजाती भित्र प्रवेश गर्दथे । र उनीहरुका संस्कृति, परम्परामाथि भाइरस बनेर ध्वस्त पारिदिन्थे ।

त्यसैले कतिपय जनजातिका भाषा, संस्कृति आज विलिन अवस्थामा पुगेका छन् । कतिपय त लोप भैसकेको स्थिति छ  । नेपालमा जनजातिका हक अधिकार र भाषा संरक्षणका कुरा विगत लामो समयदेखि चर्चामा आएको हो । त्यसैगरि दलित माथी भएका उत्पीडन, भेदभावका कुरा, महिला माथी भए गरेका र हुने गरेका उत्पीडन कुरा पनि चर्चामा नआएका होइनन  । तर ति बिषयमा कानुनत र व्यवहारमा कहिल्यै समाधान भएनन्  ।

अहिलेको नेपालको राजनीतिक परिस्थिति बदलिँदो छ । यस्तो जटिल अवस्थामा जनजातिका हक अधिकारका बिषय टडकारो रुपमा आइरहेका छन् । महिला, दलित, मुस्लिम, मधेशीका हक र अधिकारका कुरा आइरहेका छन् । यी लगायत नेपालका विविध भाषा, संस्कृति संरक्षणको लागि के  गर्न आवश्यक छ ? समाधान खोजौं । छलफल र बहश गरौं ।

 

तपाइँको प्रतिक्रिया