कमरेडहरूले यसरी मच्चाए किचलो
‘आफू ताक्छ मूढो, बञ्चरो ताक्छ घुँडो’ भनेझैं भएको छ, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको महाधिवेशन । राजनीतिक कार्यदिशासम्बन्धी अन्योल चिर्न महाधिवेशन गर्ने कम्युनिष्ट पार्टीहरुको परम्परा हो । असारमा पार्टी विभाजन गर्दा प्रचण्ड नेतृत्वको पार्टीभन्दा फरक के कारणले हो भन्ने पुष्टि गर्न महाधिवेशन गरिने र त्यसैले फरक दस्तावेज ल्याउने किरणहरुको भनाइ थियो । अहिले महाधिवेशन सम्पन्न हुँदै गर्दा परिस्थिति भने फरक भएको छ ।
महाधिवेशनबाट स्पष्ट कार्यदिशा लिएर कार्यक्षेत्र फर्कने तयारीका साथ आएका कार्यकर्ता हलमा नेताहरुबीच भएको विवादित बहसले अन्योलमा परेका छन् । पुस २६ देखि कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्द सत्रमा मोहन बैद्यले पेश गरेको राजनीतिक कार्यदिशासम्बन्धी प्रस्ताव र सचिव देव गुरुङले पेश गरेको विधानसम्बन्धी प्रस्तावमा छलफल गर्दै २१ समितिका संयोजक र पदाधिकारीले एकापसमा बाझिने गरी कार्यदिशाको विषयमा मत राखे । टोली नेताहरुको भनाइ सकिएपछि जवाफ दिने पालो सचिवालयका नेताहरुको थियो । टोली नेताहरुले जनयुद्धको जग स्पष्ट नभएको त कसैले जनयुद्धको जगै नरहेको बताएका थिए । कतिपयले जनविद्रोह सशस्त्र हुने कि निशस्त्र हुने ? सशस्त्र हुने हो भने त्यो जनयुद्धका लागि हुने कि जनविद्रोहका लागि मात्रै ? जस्ता प्रश्न उठाएका थिए ।
माओवादीभित्र संगठनात्मक पहुँच कायम गरेका नेत्रविक्रम चन्द (विप्लव) ले पार्टीले सशस्त्र फौजी कार्यदिशा अबलम्बन गर्नुपर्ने र जनविद्रोहका लागि जग बनाउन सशस्त्र जनयुद्धको घुम्ती हिँड्नुपर्ने मत राखेका थिए । वैद्यको प्रस्तावमा जनविद्रोहका लागि तयार रहन कार्यकर्तालाई आह्वान गरिएको थियो । विप्लवले जनविद्रोहको विरोधमा छुट्टै दस्तावेज पेश गरेका थिएनन् । न त हलमा प्रष्ट रुपमा जनविद्रोह ठीक छैन, जनयुद्धमा जानुपर्छ भनेर किटानी मत नै राख्न सकेका थिए । जनआस्थालाई प्राप्त विवरणअनुसार, बन्दसत्रमा विप्लवले सशस्त्र फौजी मोर्चा बनाउनुपर्ने, त्यसो गर्दा दमन हुने र प्रतिरोधका लागि दीर्घकालीन सशस्त्र जनयुद्धको बाटो हिँड्नुपर्ने परिस्थिति आउनसक्ने भन्दै घुमाउरो भाषामा जनयुद्धको पक्षपोषण गरेपछि उनीलगत्तै बोल्न मञ्चमा पुगेका उपाध्यक्ष सीपी गजुरेलले अबको कार्यदिशा जनविद्रोह नै हुने र आवश्यक परे त्यो सशस्त्र पनि हुनसक्ने भन्दै कुनै भ्रममा नरहन हललाई अनुरोध गरे । बन्दसत्रमा पुगेर विवाद बढेजस्तो देखिए पनि माओवादी महाधिवेशनको शुरुवाती दिनदेखि नै केही विरोधाभाषपूर्ण क्रियाकलाप देखिन थालेको थियो ।
सहिदमाथि मनपरी
माओवादीले आयोजना गर्ने हरेक सार्वजनिक तथा आन्तरिक कार्यक्रममा जनयुद्धका सहिदको तस्वीर राख्ने गरिन्छ । खुलामञ्चमा आयोजति उद्घाटन सत्रमा कम्युनिष्ट आन्दोलनका योद्धा ऋषि देवकोटा ‘आजाद’ देखि जनयुद्धका केही शीर्ष सहिदको तस्वीरसमेत राखिएको थियो । तर, जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको तस्वीर भने राखिएन । खुलामञ्चमा भेटिएका एक केन्द्रीय सदस्य जनआस्थासँग भन्दै थिए, ‘पार्टी फुटेपछि सहिद पनि भाग लागेजस्तो छ, नत्र यसअघि हरेक कार्यक्रममा जनयुद्धका प्रथम सहिदको तस्वीर राख्ने गरिएकोमा यसपटक नराखिनु अर्थपूर्ण छ ।’
क्रान्तिकारीमा शाही शासन
अखिल (क्रान्तिकारी) बाट महाधिवेशन प्रतिनिधि र पर्यवेक्षक बन्ने भन्दै शुरुमा सात जनाको नाम पारित भयो । तर, बन्दसत्रको अघिल्लो रात महासचिव कमल शाही, सचिव रत्न ढकालले रातारात भर्खरै केन्द्रीय समितिमा आएका जुनियरहरुलाई प्रतिनिधि–पर्यवेक्षकको पास उपलब्ध गराए । यसअघि पनि शाही र ढकालले आफू निकटका नेताहरुलाई पैसा दिने र अरुलाई खर्चसमेत नदिई आर्थिक नाकाबन्दी गरेको भन्दै पार्टी नेतृत्वसमक्ष उजुरी परेको थियो । महाधिवेशनमा समेत आफू निकटका प्रतिनिधिले बुझाउनुपर्ने जनही शुल्क तीन हजार बुझाइदिने र फरक मत राख्नेहरुको वास्तासमेत नगर्ने भएपछि केही प्रतिनिधिले महाधिवेशनमा उपस्थिति नजनाउने धम्की दिए । यसपछि विद्यार्थी डिओसीका सचिव ढकालले तेस्रो व्यक्ति लगाएर शुल्क तिरिदिएका थिए । आफूलाई पार्टी सचिव विप्लवको समर्थन रहेको भर्खरै केन्द्रीय समितिमा आएका धीरज खनालको नेतृत्वमा स्वयंसेवक दस्तामा बस्न भन्दै सिनियर केन्द्रीय सदस्यलाई फोन गर्न लगाएपछि अध्यक्ष शरद रसाइलीलगायतले शाहको सातो लिएका थिए ।
नाता–गोताको लर्को
भूगोलमा काम गरेका नेता–कार्यकर्तालाई पार्टी सदस्य संख्याको शून्य दशमलव पाँच प्रतिशतका दरले हुन आउने गरी प्रतिनिधि–पर्यवेक्षक छान्न सर्कुलर गरिएको थियो । सबैले निर्देशन मानेर त्यसैअनुसार गरे । तर, जब बन्दसत्रमा छिरे, तब पार्टीमा सामान्य योगदानसमेत नगरेका नेताका श्रीमती, छोराछोरी र आसेपासेहरु प्रतिनिधि–पर्यवेक्षक बनेर छिरिरहेको देखे । क्रान्तिकारी कार्यदिशा निर्माण गर्ने भनी कमलादी छिरेका नेताले संसदीय चुनावमा भोट हाल्न कार्यकर्ताको लर्को लगाएजस्तो गरी नातागोताको लर्को लगाएपछि केही नेताको टिप्पणी थियो, ‘चुनाव नहुने र क्रान्तिमा जाने कुरा गर्दा त यस्तो छ, सत्तामा पुगे भने के गर्लान् ?’ यसरी आफ्ना नातागोता छिराउनेमा पश्चिमतिरका नेता बढी थिए । प्रचार राज्य समिति, जनसाँस्कृतिक संघलगायतका नाममा भर्खरै सदस्यता लिएका कार्यकर्तालाई प्रतिनिधि–पर्यवेक्षक बनाइएको एक असन्तुष्ट सहभागीले बताए ।
विप्लवको बितण्डा
जब मञ्चमा टोली नेताहरुको प्रश्नको जवाफ दिन विप्लव अघि बढे, उनको भनाइ किरणको भनाइसँग खासमा फरक थिएन । उनले छुट्टै मतका रुपमा महाधिवेशनमा आफ्नो प्रस्तावपनि पेश गरेका थिएनन् । उनले फौजी कार्यदिशाको सवाल मात्रै उठाए । त्यो सशस्त्र हुँदा त्यसले जनयुद्धको बाटो समात्ने हुनाले हामीले सशस्त्र फौजी कार्यदिशातिर ध्यान दिनुपर्छ भन्ने मत राखे । त्यसपछि सीपी र देव गुरुङले अहिलेको संक्रमणकालमा तत्काल जनयुद्धमा जाँदा जनताले नपत्याउने, मुद्दा स्थापित पनि नहुने भएकाले नौ महिनादेखि एक वर्षसम्मको मिति तोकेर आवश्यक परे सशस्त्र जनविद्रोहका लागि प्रयास गर्ने, जनयुद्धको जगको रुपमा जनअदालत, जनमुक्ति सेना र जनसरकारको घोषणा गर्नुपर्ने राय राखे । सीपीले जनयुद्धको जगको व्याख्या गर्दै आफ्नो विचार समूहले आह्वान गर्दा शिविरबाट निस्किएका साढे ६ हजार सेना आफूहरुसँगै रहेको, जनयुद्ध शुरुवातदेखि लडाइँमा लागेको मुख्य वैचारिक नेतृत्व आफूहरुसँग रहेको र जनयुद्धकालीन कार्यकर्ताको विशाल पंक्ति दायाँ–बायाँ नलागी पार्टीमा लागेकाले यही नै जनयुद्धको जग भएको र यसैमा टेकेर जनविद्रोहमा अगाडि बढ्नुपर्ने बताए । देव गुरुङले चाहिँ अब जातीय मुद्दा वर्गीय मुद्दाकै रुपमा अगाडि बढ्ने, विदेशी दलालहरुले प्रतिक्रियावादी सत्तामा रहेका बाहुनवादी शासकहरुमार्फत् जातीय मुद्दालाई उग्र रुपमा विषयान्तर गरेर राष्ट्रियताको मुद्दालाई कमजोर बनाउन प्रयास गरेकाले अब समग्र जातीय मुक्ति आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग जोडेर अगाडि लैजानुपर्ने धारणा राखे । महासचिव रामबहादुर थापा ‘बादल’ र अध्यक्ष किरणले जनयुद्धको जगमा जनविद्रोह गर्ने कार्यदिशाको आ–आफ्नो बुझाइअनुसार व्याख्या गरेका थिए । शुरुकै दिन किरणले प्रस्ताव प्रष्ट भएन भनेरमात्र हुँदैन, कहाँनेर प्रष्ट नभएको हो ? के भयो भने प्रष्ट हुने हो ? यस विषयमा खुल्ला ढंगले सुझाव दिनुहोला भन्दै प्रस्ताव पेश गरेका थिए । सोहीअनुसार टोली नेताहरु र सचिवालयका नेताले आफ्नो धारणा राखे ।
बन्दसत्रले किरणको प्रस्तावलाई सामान्य सुझावसहित पारित गर्यो । बन्दसत्रमा खुल्ला रुपमा प्रस्तावको आलोचना नगरेका विप्लवले कार्यदिशासम्बन्धी बितण्डा शुरु गर्ने पालो बल्ल आयो । उनी आफू मौन रहेर नेतृत्वसमक्ष साखुल्य बने र निकट कार्यकर्तालाई कार्यदिशा पारित भइसकेपछि विवाद सिर्जना गर्न लगाए । यसो गर्नेमा विप्लवनिकट भनेर चिनिएका स्वयंसेवक व्युरोका अध्यक्ष उदय चलाउने ‘दीपक’, व्युरोकै उपत्यका इञ्चार्ज साकार, जनसाँस्कृतिक महासंघका माइला लामा, प्रचार व्युरोका पुष्प न्यौपानेलगायत थिए । उनीहरु जनयुद्धमै जानुपर्ने र पारित कार्यदिशामा आफूहरुको सहमति नभएको भन्दै कराउन लागे । विप्लवलाई नजिकबाट चिनेका एक केन्द्रीय नेताले यो बितण्डालाई आफू महासचिव हुने र केन्द्रीय समितिमा निकट नेतालाई ल्याउने बार्गेनिङका रुपमा आएको टिप्पणी गरे । ‘अन्यथा, केन्द्रीय समितिले पारित गरेको कार्यदिशामा फरक मत भएको भए उनले बन्दसत्रमा कार्यदिशासम्बन्धी छुट्टै प्रतिवेदन पेश गर्थे’, ती नेताले बताए ।
यसरी स्पष्ट कार्यदिशाका लागि आएका कार्यकर्ताहरुमा महाधिवेशन हलमा भएको आन्तरिक अन्योलता प्रकट हुने किसिमको बेमेल अभिव्यक्तिले झनै अस्पष्ट बनाइदिएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले बताए । यसैबीच, काठमाडौंमा सम्पन्न माओवादीको सातौं महाधिवेशनले अध्यक्षमा किरणसहित पुरानै पदाधिकारीलाई कायम गरी ५१ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको छ । ५१ सदस्यमा पुरानै समितिका ४३ जनाले निरन्तरता पाएका छन् भने ८ जना पछि थपिनेछ । पुरानो समितिमा केन्द्रीय सदस्य रहेका कृष्णध्वज खड्का, रेखा शर्मा र कुमार दाहाललाई हटाएको छ । २५० भन्दा बढी आकांक्षीहरुले केन्द्रीय समिति ताकेपछि यसअघि सहमति गरिएको १०५ सदस्यीय केन्द्रीय समितिलाई घटाएर ४१ सदस्यमा झारिएको हो ।
(हिजो अंक ४३, माघ ३ गते २०६९ सालको जनआस्था साप्ताहिकबाट । फोटो चाहिँ जयन्ती लुईँटेलको फेसबूकबाट लिईएको हो )





