म बैध्यबा तिर लागें रामु

सुकिया थारु उषा ” /बन्डाभार, बर्दिया

sukiya-tharu-223234प्यारो श्रीमान,

स्वास्थ्य र दिर्घायुको कामना !

तिम्रो पत्र प्राप्त गरें । पत्र खोलेर पढदा खुसी र खल्लो दुबै लाग्यो ।

रामु पहिले तिमीलाई हजुर, तपाइँ भनेपनि अब देखि तिमि नै भन्ने निर्णयमा पुगेकी छु । पहिला पो मलाइ राजनीतिक चेतना थिएन । अहिले त अलिकति सचेत भएकी छु तिम्रै कारणले । तिमी धन्यवादका पात्र छौ । जे जसो भएपनि आजको दिनसम्म हामी यहाँ आरामै छौ । तिम्रो पनि सुस्वास्थको कामना गर्दछु । पत्र लेख्नैपर्ने खास त्यस्तो महत्वपूर्ण कारण त केहि छैन । तर पनि आखिरमा श्रीमान श्रीमती त हो नि ! मायाले डोर्याईहाल्दो रहेछ ।

तिम्रा साथी सँगी, इस्टमित्र, नातागोता सबैले तिम्रो बारेमा सोधीरहनुहुन्छ । गाउँका बुढापाकाले विशेष गरेर सोझा र हक्की स्वभावका हल्दार माइला बाले सम्झीरहनुहुन्छ । एक हप्ता अघिमात्र कुलोको बिषयमा छलफल गर्न भनेर गाउँमा भेला थियो । त्यो भेलामा हल्दार माइला बासँग भेट भाको थियो । तिमीलाई सम्झेर भन्दै हुनुहुन्थ्यो ‘’नानी ! रामुको हाल खबर के छ ? रामु जस्तो सोझो, इमान्दार र अन्याय, अत्याचारको विरोध गर्न सक्ने मुन्छे यो गाउँलाई चाहिएको थियो । हेर त अहिले जमिन्दारले फेरीपनि आफुखुसि अर्न लागि साक्यो । के आर्ने नानि कोही बोल्ना साक्दैन । तिमीले रामुलाई चिठ्ठी लेख्यो भाने मेरो नामास्कार छ भन्दे हाइ ।‘’

त्यहि भएर गाउँ तिरका हाल खबर थोरै भएपनि तिमीलाई बताउँ भनेर मात्रै केहि हरफ कोर्ने प्रयास गरेकी हुँ ।

सर्बप्रथम त घर परिवारकै केहि कुरा भन्न अनुमति चाहन्छु । बुबालाइ सबै ठिकै भएपनि आमाले तपाइको धेरै चिन्ता लिने गर्नु भाछ । मैले सकेजति सम्झाएकी छु । कान्छा देवरले प्लस टुको परिक्षामा राम्रो अंक ल्याएर पास गर्नु भाछ । क्यापसमा पनि अनेरास्ववियु क्रान्तिकारीको इकाई कमिटीमा सचिवको भूमिका पाउनु भएको छ । सानो उमेरमै कान्छा देवर व्यावहारिक र सामाजिक महत्व बुझ्ने व्यक्तिको रुपमा स्थापित भएको देख्दा बुबा आमा सबै खुसि हुनुहुन्छ । उहाँले कुरापनि बुढापाकाले जस्तो गर्नुहुन्छ । उट्पट्याङ र उत्ताउलो व्यहोरा वहाँमा छँदै छैन ।

ए साँच्चै रामु ! जनयुद्ध कालमा तिम्रो नेतृत्वमा त्यो अमात्य जमिन्दारको जमिन खोसिएको थियो । पार्टीले त्यो जग्गा घरबारबिहिन, सुकुम्बासीहरुलाई वितरण गरेको थियो । पार्टीले जनहितको काम गरेको थियो । अमात्य जमिन्दार गाउँ छोडेर ज्यान जोगाउँदै काठमाडौं गएर बसेको थियो । तर शान्ति प्रक्रियामा गएपछि त्यो जग्गा फेरी जमिन्दारलाई फिर्ता दिएको छ पार्टीले । त्यो शोसक, फटाहा जमिन्दार फेरी गाउँमा बस्न थालेको छ । राजनीतिको ‘’र” त मलाई त्यति थाहा छैन । तर मलाई सानो हुदाँदेखि के थाहा छ भने अमात्य मालिकको त्यो जग्गा त्यहाँका सोझा, साझा थारुहरुको थियो । त्यो अमात्य जमिन्दारले कहिल्यैपनि हलोको अनौं समातेको छैन । न त कहिल्यै हिलोमा पाइला टेकेको छ । त्यो अमात्यले अनेक जालझेल गरेर ति जग्गा आफ्नो नाममा बनाएको न हो ।

त्यति मात्र कहाँ हो र ? उसको घरमा काम गर्ने हली, हरुवा चरुवाका छोरी चेलीलाइ उसले अनैतिक र दुरव्यवहार गरेको कुरा मैले थुप्रै सुनेकी र देखिकी छु । त्यो अमात्य जमिन्दारकि छोरी मंगलादेवी र म गाउँको स्कुलमा सँगै पढन हिँडेका त हौँ नि । उ र मैले कखरा सँगसँगै सिकेका त हौँ नि ! पछि पो उ शहरमा पढन गइ त । शहरमा बसेर उसले बिए पास गरि । उ अहिले कता विना विभागीय मन्त्रालयमा अधिकृत भै छि रे । म भने गाउँ घरकै साथीहरुसँग मेलापात गर्दै, घाँस दाउरासँग रमाउँदै दशसम्म पढें । एसएलसीमा गुल्टेपछि र तिमीसँग विवाह भए पछि औपचारिक शिक्षाको बाटो नै बन्द भो ।

रामु ! तिमी विदेश नजादै भन्ने गर्थ्यो । हाम्रो पार्टी भित्र दुइ तिन धार देखापर्दै छ । पार्टीमा चर्को ध्रुवीकरण देखापरिरहेको छ । यसले पार्टीलाई अन्तरसंघर्ष गर्न फाइदा नै पुगेको बताइएपनि पार्टीमा गुट उप गुटको सृजना भै पार्टी चिरा चिरा पर्नसक्ने भन्थ्यो । नभन्दै त्यस्तै भाको छ यहाँ त ।

हुन् त यो आधुनिक जमाना हो । यो इन्टरनेट भन्छ कि के भन्छ । त्यसबाट देश विदेशका ताजा खबर खाबर सजिलै हेर्न र पढन पाइन्छ भन्छन । मलाई त थाहा भएन त्यो । तर जे भएपनि हाम्रो पार्टी फुट्यो । बढो दुखको कुरो । सँगै हिँडेका कमरेडहरु अहिले टाढा टाढा भएका छौं । पार्टी फुटेर हामीलाई भन्दा नि दुश्मनलाई फाइदा पुग्छ ।

रामु ! विवाह हुनुपूर्व मलाइ राजनीतिमा त्यति चासो थिएन । तिमी सँग वैवाहिक सम्बन्ध पछि तिम्रै राजनीतिक बुझाइको कारणले म पनि वामपन्थी अझ माओवादी सिद्धान्त प्रति आकर्षित भएकी हुँ । पार्टीको फुटपछि हाम्रो गाउँ कमिटिमा पनि त्यसको प्रभाव परेको छ । कोही साथीहरु संस्थापन पक्ष भनेर दावी गर्ने प्रचण्डको धारतिर लागेका छन् भने कोही बैध्य समूहतिर । कोही कोही अन्यौलमा छन् ।

रामु ! तिमीले कुन धारतिर आफ्नो मत जाहेर गरेका छौं । त्यो तिम्रो बुझाइ हो । त्यो तिम्रो राजनीतिक स्वतन्त्रता पनि हो । र हो, त्यो तिम्रो अधिकार पनि । मैले पनि आफ्नो सैद्धान्तिक बुझाइको मत राख्न पाउनु मेरो स्वतन्त्रा हो । मेरो अधिकारपनि । तिमीसँगको वैवाहिक गाँठोले मलाइ राजनीतिक चेतना खुलाएको छ, तिम्रै कारणले ।

‘महि माग्नु ढुङ्ग्रो लुकाउनु’ जस्तो मैले गर्न सक्दिन । प्रस्ट भन्नुपर्दा हाम्रो पार्टीले शसस्त्र जनयुद्धको माध्यमबाट गाउँले शहर घेर्ने नीति लिएको थियो । त्यसको खातिर नै जनमुक्ति सेनाको गठन गरिएको थियो । पार्टी शान्ति प्रक्रियामा आउदाँ हाम्रो जनमुक्ति सेनाको समायोजन र संबिधान लेख्ने कार्य सँगसँगै हुनुपर्छ भनेर हाम्रो प्यारो पार्टीले निर्णय गरेको थियो । तर पार्टीका अध्यक्ष क. प्रचन्डले पार्टीको निर्णय विपरित एकलौटी ढंगले अगाडी बढ्दै पार्टी हितको विपरित संबिधान नबन्दै जनमुक्ति सेना विघटन गर्न हतार गर्नुभयो । हाम्रो रास्ट्रियता माथी बारम्बार हस्तक्षेप गर्ने भारतीय विस्तारवादसँग घाँटी जोडेर बिप्पा जस्तो रास्ट्रघाती सम्झौता समेत गर्न प्रचण्ड चुक्नु भएन ।

यी लगायत तमाम यस्ता पार्टी हित विपरित कदमहरु प्रचण्ड र बाबुरामबाट भएका छन् । यी विविध कारणले पार्टीलाइ प्रचण्ड र बाबुरामले संसदीय भासमा लगिरहेको मैले निष्कर्ष निकालेर सोझा, इमान्दार र पार्टीको सिद्धान्तप्रति वफादार बैध्य बा तिर लाग्ने निर्णय गरेकी छु । म अहिले बैध्य बाजेको पार्टीको सातौं महाधिवेशनमा भाग लिईरहेको छु । यतिखेर हाम्रो बन्द सत्रमा पार्टीले आगामी दिनमा लिने कार्यदिशाबारे गम्भीर छलफल भैरहेको छ । नेपाली शोसित पिडित जनताको मुक्तिको खातिर आफ्नो ज्यानको बलिदानी दिने शहिदहरुको सपना अधुरो रहन दिनुहुँदैन । जनयुद्धका घाइते, अपाङ्गहरुको आदर र सम्मान गरिनुपर्छ । बेपत्ता परिवारका मागहरु सुनिनुपर्छ भनेर । प्रचण्ड र बाबुरामले जस्तो जनतालाई धोका दिनु हुँदैन । आफ्नै कार्यकर्तालाई यातना दिने सैनिक अधिकारी, प्रहरी, प्रशासकलाई कारवाही गर्नुको सट्टा बढुवा गरिनु प्रचण्ड र बाबुरामको व्यक्तिगत स्वार्थ बाहेक अरु केहि होइन भनेर सहभागी प्रतिनिधि तथा पर्यक्षेकहरुले जोडदारले आवाज उठाईरहेका छन् । सहभागी कमरेडहरुले जनयुद्धको जगमा जनविद्रोहमा जानु पर्छ भनेर नेताहरुलाई दवाव दिईरहनु भएको छ ।

भर्खरै मात्र हलबाट हाम्रा नेताहरु द्वारा प्रस्तुत उदघोषहरु पारित भएका छन् । सहभागी कमरेडहरु सार्है उत्साहित हुनुभएको छ । पारित उदघोषहरु ”बिस्तारवाद्को दलालहरु र नेपाली जनताको अन्तर्बिरोध अहिलेको प्रमुख अन्तर्बिरोध हो ।‘’

‘’प्रचन्ड र बाबुरामहरु नवदलालमा परिणत भइसकेका छन्” क. किरण

”विस्तारवादका दलालहरुलाई गाउँ गाउँबाट कालोमोसो र जुत्ताको माला लगाएर लखेटने अधिकार दस्ताबेजले दिएको छ” क. बादल

”अब नेपालको समस्याहरु सबै राष्ट्रियतासँग जोडीएको छ । त्यसैले राष्ट्रिय स्वाधिनताको आन्दोलन सम्पन्न नगरि समाधान हुनैसक्दैन” क. देव गुरुङ

हलमा तालीको गडगडाहटले नेताहरुको उदघोषको स्वागत गरेका छन् ।

रामु, बैचारिक रुपमा तिमीसँग मेरो मत फरक हुनसक्छ । यसले हाम्रो पारिवारिक सम्बन्धमा चिरा पार्नसक्छ । मलाइ आशा छ, तिमी आफ्नो पहिलाको बिचारमा अडिग छौ । तिमीले अझैपनि नेपाली जनताको मुक्तिको निमित्त आफु अस्थायी रुपमा रहेको स्थानबाट नैतिक र भौतिक रुपमा एक्यबद्धता जागेर गर्न सक्छौ । रामु तिमीले नै मलाई पटक पटक भनेका थियौ ”क्रान्तिकारीहरु कि सहिद हुन्छन कि मुक्त हुन्छन ।” त्यसैले तिमीलेनै मलाइ सिकाएको, अर्थ्याएको कुरो तिमी आफैंले कसरि भुलौला ? जनताको मुक्ति अझै भएको त छैन । त्यसैले जनताको मुक्तिको लागि शहिद बन्न तयार हौला तिमीपनि भन्ने विश्वास छ मलाई ।

रामु, तिम्रो विदेशको कमाइले हामीले आफ्नो लागि ठुलो महल बनाउन सकौला । तरपनि मलाइ प्रचन्डले जस्तो ठुलो महलमा बस्नु छैन । सानो झुपडी भएपनि हुन्छ । नेपाली गरिब शोसित पिडितलाइपनि त्यस्तै झुपडी भए पुग्छ । प्रचण्डको जस्तो महँगो महल चाहिँदैन ।

तिम्रो  जीवन संगिनी

सुकिया थारु,”उषा ”

बन्डाभार, बर्दिया

हाल : प्रज्ञा भवन, कमलादी

तपाइँको प्रतिक्रिया