डेकेन्द्र हत्या काण्ड र अपराधीहरुका राजनितिक स्वार्थ
● राजन कार्की
पत्रकार डेकेन्द्र थापाका हत्याराले ‘हामीलाई कारवाही गर’ भन्दै स्विकार गर्दापनि तिनलाई बचाउन निर्देशन दिने प्रधानमन्त्रीको कदम निन्दनिय छ । हत्यारा आफैंले कारवाहीको लागि भागिदर रहेको स्विकार गर्दापनि प्रधानमन्त्रीले बचाउन खोज्नु हत्या र हिंसालाई प्रश्रय दिनु हो । पिडितलाई झन पिडित बनाउनु हो । तर यहि मेसोमा देशका हजारौं निहत्था नागरिकको हत्यामा संलग्न अपराधीहरुसमेत चर्को चर्को स्वरमा कुर्लिरहेका छन् । तिनको ध्येय यहि मेसोमा जनताका सयौं छोराछोरीको हत्या गर्नेहरुलाई चोख्याउनु हो ।
यदि होइन भने सशस्त्र जनयुद्दका बेला धेरै पत्रकारको ज्यान गएको छ । अंग भंग भएका छन् । बिस्थापित हुनेहरुको यकिननै छैन । राज्य र विद्रोही पक्षबाट ३३ जनाभन्दा बढी पत्रकारहरूको त ज्यान नै गएको हो । चार जना पत्रकार अहिले पनि बेपत्ता छन् । तर तिनका बारेमा मानव अधिकारवादीले कुरो उठएका छैनन् । नेपाल पत्रकार महा संघपनि चुकेको छ दह्रोसित अवाज उठाउन। तर किन डेकेन्द्र थापाको हत्या प्रसंग मात्रै उठ्यो ? उठाइयो ? तिनको हेर्ने द्रिष्टिकोण । राजनितिक नाफाघाटा । नेताको पिछलग्गु हुनु र मानव अधिकारवादीहरुको हकमा भने डलरको खेती । किनकि माओवादी निकट पत्रकार भन्यो भने तिनलाई बिदेशी डलर झर्दैन ।
अहिलेका स्वघोषित बौद्दिक जमात, पत्रकार, कानुनबिद र प्रतिपक्षी राजनितिक दलका दाबी र कुर्लाहट देख्दा लाग्छ, माओवादी जनयुद्दक बेला युद्द पक्षियमात्रै अपराधमा संलग्न थिए । अहिलेका प्रतिपक्षि नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपा अनि अन्य झिनामसिना दल चोखा थिए । डेकेन्द्र थापाको हत्याको घटना उर्लिएका बेला एमाले, नेपाली कांग्रेस र अन्य दलमा बसेर जनताको रगत चुसेका अपराधीहरु अहिले डेकेन्द्र थापाको हत्या प्रकरणको घटनामा चोखिन उफ्रिरहेका छन् ।
प्रधानमन्त्री भट्टराई त यतिसम्म नालायक देखिए कि आफ्नै कार्यकर्ताको हत्या र हिंसामा मुछिएका, राष्ट्रसंघिय आयोगले कारवाहीको सिफारिस गरेका राजु बस्नेत जस्ता सैनिकलाई छानी छानी पुरस्क्रित गर्छन् । यसको बिरोध हुनै पर्छ । तर यसरि पुरस्क्रित्त गर्ने काममा नेकपा एमाले र नेपाली कांग्रेस अनि राप्रपाका नेतापनि संलग्न छन् । टाढा जानै पर्दैन, भरत गुरुङ र डिबी लामा जस्ता कुख्यतलाई उन्मुक्ति दिने को हो ? कसको सरकार हो ? खारामा सारा गाउँ घेरेर निहत्या जनताको हत्या कसले गर्यो ? धनुषाको गोदार गाउँमा दिउँसै घेरा हालेर कसले मार्यो ?
पत्रकार क्रिष्ण सेन ईच्क्षुक के हतियारधारी थिए ? मिलन नेपाली कहाँ छन् ? कसले दम्पट पार्यो ? कहाँ कसले हत्या गर्यो ? पत्रकार वीरेन्द्र शाहका हत्याराहरु कहाँ कसको संरक्षणमा उन्मुक्तिका साथ हिँडिरहेका छन् ? के तिनलाई हत्या गर्नेले उन्मुक्ति पाउनु पर्छ ? दम्पट हुनेहरुको कहाँ छन् ? कसरि दम्पट पारिए ? कसले कसको पालामा दम्पट पार्यो भन्ने खोजबिन गर्नु पर्दैन ? त्यसमा बौद्दिक वर्ग, पत्रकार र राजनितिक दलहरुले माग गर्नुपर्दैन ?
पत्रकार गोपाल बुढाथोकीलाई सुरक्षा क्याम्पभित्र नजरबन्द राखेर दिईएको यातना सम्झिँदा अहिलेपनि उनी रुने गर्छन् । तर्सिन्छन् । नेपाललाई पत्रकारहरुको जेल भनेर विश्वमा बदनाम गराउने नेपाली कांग्रेसकै प्रधानमन्त्री शेरबहादुर देउवा थिए । उनका पालामा जति सास्ति, यातना, त्रास, असुरक्षा कहिल्यै भोगेका थिएनन् नेपाली पत्रकारले । पत्रीकाका कार्यालयलाई सुरक्षा निकायको घेराबन्दिमा राख्नु, दिन दहाडै पक्रेर आँखामा कालो पट्टी बाँध्दै लैजानु, यातना दिनु, भिन्न बिचार राखेकै भरमा त्रस्त पार्नु नेपाली कांग्रेसको सरकारको मूल ध्येय जस्तै देखिन्थ्यो । त्यसका प्रमुख नाईके थिए शेरबहादुर देउवा । अनि अहिले डेकेन्द्र थापाको हत्या प्रकरणमा राजनितिक फाईदा लिईहालौं न त भनेर हुन्छ ? किन नेपाली कांग्रेसका नेता, पार्टी र कार्यकर्ताले शेरबहादुर देउवा जस्ता अत्याचारी, रक्त पिपासुहरुलाई कारवाही गर्नु पर्छ भन्दैनन् ?
डेकेन्द्र थापाको हत्या र क्रिष्ण सेनको हत्या के अलग हो ? डेकेन्द्र थापाको हत्यामा संलग्नहरुले कारवाही पाउनुपर्छ भनेर आवाज उठाउनेले किन क्रिष्ण सेन र मिलन नेपाली जस्ता पत्रकारको लागि आवाज दबाएका हुन् ? गोपाल बुढाथोकी र रेवती सापकोटा जस्ता पत्रकारलाई यातना दिनेहरुका बिरुद्द किन नबोलेका हुन् ? तिनको उद्देश्य पत्रकार बनेर कुनै पार्टीका लागि राजनितिक फाइदाको माध्यम बन्नु अवश्यै हुन्न । तर त्यहि भैरहेको छ । बौद्दिक वर्ग, कलाकार, मानव अधिअकरवादीहरु पनि यहि राजनितिक दाउका पछाडि दगुरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिं केसीले हिजो नुवाकोट पुगेर सार्वजनिक कार्यक्रममा आस्था र विचार बोकेकै आधारमा हत्या र दमन हुने अवस्था अत्यन्त निकृष्ठ भएको बताएछन् । यो उनले ठिकै भने । तर उनको यो भनाई गोहीका आँशु बाहेक केहि होइनन् । किनभने नेपाली पत्रकारलाई दमन र अत्याचार गर्न विश्वमै सबैभन्दा बढि भूमिका नेपाली कांग्रेसकै नेता प्रधनमन्त्री भएका बेला हो । नेपाली कांग्रेसकै सरकारका बेला आस्थाका आधारमा नेपाली पत्रकारहरुले धम्कि, गाली, त्रास, बिस्थापन र यातना भोगेका छन् । त्यसैले यिनको यो भनाई कपटपूर्ण, राजनितिक प्रतिशोध साँच्न र आफ्ना नेताले गरेका कर्तुतहरु ढाक्नका लागि आएको भन्न सकिन्छ । यदि उनले निष्पक्ष ढंगले साँच्चै दमनकारिहरुलाइ, हत्याराहरुलाई दण्डित गर्न चाहन्छन् भने अहिलेसम्मका सबै घटनाको निष्पक्ष अछानबिन गरेर जो सुकै होस् दण्डित गर्न नेपाली कांग्रेस तयार भएको सन्देश दिन सक्नुपर्छ ।
त्यति मात्रै होईन, ‘ माओवादी नेताता टाउका झोलामा बोकेर ल्याउ र त्यसको बदला लाख लाखका बिटा बोकेर लौजाउ’ भनेर घोषणा गर्ने सरकारपनि नेपाली कांग्रेसकै हो । त्यो विश्वब्यापी मानव अधिकारको मान्यता अनुसार जघन्य अपराध हो । त्यसरि मान्छेक टाउका काट्न पुरस्कार घोषणा गर्ने नेता र तिनैको पार्टीले अरुलाई पाठ सिकाउनु हाँस्यास्पद छ । तिनले एकातिर माओवादी नेताका टाउका गिँडेर ल्याउन पुरस्कारको घोषणा गरे । अर्कोतिर आस्थाकै भरमा नेपाली पत्रकार, मानव अधिकारकर्मी र नागरिकलाई यातना दिए । शान्तिवार्ता भएपछिपनि तिनले हत्या आतंक मच्चाए ।
जनयुद्दकालमा ग्रिहमन्त्री बनेका रामचन्द्र पौडेल, खुम बहदुर खड्का, केपी ओली, पूर्ण बहादुर खड्का, राजाका पालाका ग्रिहमन्त्री कमल थापा लगायत प्रधानमन्त्रीहरु समेत कोहि चोखा छैनन् । यि सबैको ईतिहास भनेकै रगतले रंगिएको छ । हतियारबिहिन नागरिकको हत्यामा लिखित छ । त्यसैले नेपाली कांग्रेस होस् वा नेकपा एमाले, राप्रपा होस् कि पूर्व राजा । यि सबै हत्या, हिंसा र अपराधमा मुछिएका छन् । त्यसको सत्य तथ्य छानबिन हुनु पर्छ । जुन सुकै पार्टीको जो सुकै परोस् अपराधीलाई दण्डित गरिनु पर्छ । त्यसका लागि स्वतन्त्र छानबिन गरिनुपर्छ । यसको अर्थ डेकेन्द्र थापाका हत्यारालाई उन्मुक्ति दिने भट्टराईको कदमलाई ठिक कदापी भनिएको होइन । हो के भने थापाकै मुद्दालाई उचालेर राजनितिक फाईदा लिन कुनैपनि दलले नपाओस् । जनताका हत्यारा, अपराधीहरुनै यसको फाईदा लिन कस्सिने र जोगिन नपाउन भन्ने हो ।
तर कुनैपनि दल र तिनका नेता स्वतन्त्र छानबिन गरेर अपराधीलाई दण्डित गर्न चाहँदैनन् । त्यो किनभने अहिले जतिसुकै कुर्लिएपनि निष्पक्ष तरिकाले त्यस्तो स्वतन्त्र छानबिन गर्नै चाहँदैनन् । किनकि सबै दलका प्रमुख नेता कुनै न कुनै अपराधमा मुछिएका छन् । स्वतन्त्र र निष्पक्ष छानबिन आयोग बनेर काम गर्यो भने ति दण्डित हुन्छन् । त्यसैले तिनले विशेष घटना देखाएर र उरालेर राजनितिक फाईदा लिन मात्रै चाहन्छन् । अहिले भएकोपनि त्यहि नै हो ।