खतरनाक खेलको यस्तो खुलासा
राष्ट्रपतिको तामझामपूर्ण भारत भ्रमणले पनि बाबुरामलाई बर्खास्त गर्ने अभियानमा सफलता हात नलागेपछि दिल्लीले दिएको अभूतपूर्व दर्शनको अन्तर्य केलाउन थालिएको छ । रामवरण फर्किएलगत्तै तीन ठूला दलबीचको सात बुँदे गोप्य सहमतिको सार्वजनिकीकरण, प्रधानसेनापतिको दिल्ली दौडाहा र बेलायतमा कर्णेल कुमार लामाको गिरफ्तारी के कुनै सिलसिलाबद्ध योजनाको अंश थियो ? के अब प्रचण्डलाई नेपाली राजनीतिमा क्रमशः खुइल्याउँदै लाने खेलको हिस्सा हो यो ? कतै एमाओवादी अध्यक्ष प्रचण्डले सबैलाई चक्मा दिएर झलनाथ खनाललाई प्रधानमन्त्री बनाएकै शैलीमा बाबुरामलाई विस्थापित गरेर नेपाली राजनीतिमा पुनः एकपटक आफ्नो पहलकदमी देखाउने एउटा अवसरलाई तुहाउन त यो सब प्रपञ्च रचिएको होइन ? या दक्षिणलाई नसोधी बीचैमा कुनै कदम चल्ला कि भनेर राष्ट्रपतिलाई सम्मानको चक्रव्युहमा फसाइएको त होइन ? यस्ता अनेक प्रश्न उठ्न थालेपछि कांग्रेस नेताहरु र वैद्यसँग अन्तरंग भेटघाटमा जुट्न थालेका प्रचण्डको मनोविज्ञानसँगै भारतको नेपालसम्बन्धी चासो र चिन्तासमेत बेग्लै रुपमा नेपाली राजनीतिमा प्रकट हुन पुगेको छ ।
कांग्रेसका नेताहरुसँग लाचारी पोख्दै प्रस्टै शब्दमा प्रचण्डले भनेका छन्, ‘विदेशी दबाव थेग्नसक्ने पार्टी भनेको कांग्रेस नै रहेछ । बिपीकै पालादेखिको घटनाक्रम अध्ययन गर्दा मैले यस्तै पाएको छु ।’ प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेताहरुले प्रतिउत्तरमा उनलाई भनेका छन्, ‘तपाईंको मनमा साइकोलोजिकल फियर (मनोवैज्ञानिक डर) छ । पुच्छर लामो छ, त्यसैले कतै अल्झने पो हो कि भनेर डराउनुहुन्छ । सुशील दा’सँग त गुमाउने कुरा के छ र ? उनी परे सर्वहारा ।’ उनीहरुले प्रचण्डलाई यथार्थताबारे अझ सम्झाए, ‘तपाईंले आँटे राष्ट्रपति, कांग्रेस, एमाले, वैद्य समूह, उपेन्द्र यादव, शरदसिंह भण्डारीलगायत साना सबै कम्युनिस्ट घटकको समर्थन पाउनुहुन्छ तर अहिले एक्लो बाबुरामको अगाडि निरीह सावित हुनुभएको छ । आफ्नै पार्टीको समेत पूर्ण समर्थन तपाईंसँग छैन ।’
कांग्रेस नेताहरुको विश्लेषणअनुसार नेपालको शान्तिप्रक्रिया टि. हर्मिस, श्यामशरण र शिवशंकरको गेम प्लानअनुसार नै बढिरहेको छ । उनीहरुका सामु पुग्नेबित्तिकै प्रचण्ड लुरुक्क हुने गर्छन् । अथाह सम्पत्ति, मानवअधिकार उल्लंघनलगायतका प्रकरणमा फसाइनसक्ने, अन्तर्राष्ट्रिय आइसोलेसनमा पुर्याईनसक्ने आशंका उनलाई छ । कुमार लामा प्रकरण यसैको एउटा हिस्सा हो । अन्तर्राष्ट्रिय दायरा भएका मुद्दाहरुबाट जोसुकै होस्, ले उन्मुक्ति पाउँदैन । प्रचण्डलाई पनि त्यो बाध्यताले घेरेको छ । चर्चित अमेरिकी विदेशमन्त्री हेनरी किसिंगर बेल्जियम जान सक्दैनथे । जर्ज बुस स्वीट्जरल्यान्ड जान सक्दैनन् । इराक युद्ध हाँक्ने डोनाल्ड रम्स्फेल्ड त युरोपका कतिपय देश नै टेक्न नपाउने अवस्थामा छन् । जेनेभा कन्भेन्सनले अन्तर्राष्ट्रिय फौजदारी अभियोग लागेकाहरुलाई साह्रो पारेकै छ । उनलाई थाहा नहुन पनि सक्छ, प्रचण्ड पनि कतिपय मुलुकमा च्याप्प हुन सक्छन् ।
कुनै मुलुकमा कुनै निर्णय गरियो तर कार्यान्वयन गरिएन भने अन्तर्राष्ट्रिय क्षेत्राधिकारयुक्त कानुन बनाएकाहरु चुप लाग्दैनन् । उनीहरु उपयुक्त समयको प्रतीक्षा गरिरहेका हुन्छन् । विभिन्न बहानामा सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा ढिलो गरेर माओवादीले आफ्नै खुट्टामा बञ्चरो हानिरहेको छ । बरु राष्ट्रिय रुपमा लागेका अभियोगहरुमाथि छलफल र उचित कारबाही पूरा गरे बच्न सजिलो छ । तर अन्तर्राष्ट्रिय फौजदारी अदालतले त त्यसै छाड्दैन । दण्डहीनता मौलाएको मुलुकको कुनै पनि नागरिकले त्यस्ता कानुन भएका कुनै पनि देशमा सप्रमाण एउटा निवेदन दिए पुग्छ ।
कुमार लामा प्रकरणबाट नांग्लो ठटाएर हात्ती तर्साउन खोजिएको पक्कै हो । नेपालमा थोरै भए पनि प्राधिकारयुक्त संस्थाको रुपमा स्थापित राष्ट्रपतिलाई अल्मल्याइयो । विभिन्न कोणबाट उक्साइयो र अब पंगु बनाएर एउटा कुनामा थन्क्याइँदैछ । अब पालो प्रचण्डको हो, उनलाई दबाव दिन यी सबै घटना र परिघटनाहरु शृंखलाबद्ध रुपमा घटाइँदैछ । उनको प्रभावकारिता निस्तेज पार्ने उद्देश्यतर्फ त्यो शक्ति खुल्ला रुपमा लागिसकेको छ, जसको योजनामा नेपाली शान्ति प्रक्रिया चल्दैछ । विश्लेषकहरुको ठम्याइ छ, ‘जारी खेलको उद्देश्य प्रचण्डको शिकार गर्नु नै हो ।’
(अंक ४२, पुष २५ २०६९ को जन आस्था साप्ताहिकबाट)




