जनजाती बिरोधी छाँयाहरु बेल्जियमको इपरमा
● बमबहादुर पुडासैनी / बेल्जियम
अधिकांश आदिबासी जनजातिका छोराहरुलाई युद्दमा होमेर, बेचेर कमिसन खाने सामन्ती शासकहरुका पृष्ठपोषकले । अहिले तिनका छाँयाहरुले बेल्जियमको इपरमा प्रथम युद्दलडि शहादत प्राप्त गर्ने नेपालीहरुको सम्झनामा स्मारक बनाउने एतिहासिक काममा भाजोहाली बाधा अड्चन पुर्याउन खोजिरहेका छन् । तिनका चलखेलहरु प्रति शुरुमै घोर आपत्तिकासाथ खेद प्रकट गर्नु पहिलो कर्तब्य ठान्दछु । इपरको युद्दमा धेरै क्षति व्यहोर्ने आदिबासी जनजातीहरुनै हुन् भन्ने सत्य छिप्ने कुरा होइन । त्यसैले इपरको बिषयमा आदिबासी जनजातिहरुले बिशेष चासो राख्नु स्वाभाविकै ठान्नु पर्दछ ।
यिनै मर्मस्पर्शी संबेदनसिल कारणहरुले गर्दा नै शुरुमा, नेपाल सरकारका प्रतिनिधि निकाय राजदुताबासलाइ चासो, अत्तोपत्तो नहुदापनि केहि जागरुक नेपाली व्यक्तित्वहरु र तमु समाज बेल्जियमले खोजीनिती गरि इपरको इतिहास पत्ता लगाउने काम गरेको हो । त्यतिमात्र नभएर धेरै बर्ष अगाडीबाट तमु समाज बेल्जियमले प्रत्यक बर्ष ११ नोवेम्बर का दिन सहादत प्राप्त गर्ने पुर्खाहरुलाई श्रद्दान्जली दिन प्रत्येक नेपालीहरुलाई झकझकाईरहेको कुरापनि सबैलाई अवगत भएकै हो ।
बिगतका यि सबै प्रयासहरुलाई हेर्दा तमु समाज बेल्जियमले आफ्ना पुर्खाहरुको सम्झनामा स्मारक बनाई नेपालीहरुको इतिहास लेख्न अग्रसर हुनु स्वाभाविक मात्र छैन, यसमा सबै नेपाली व्यक्ति संस्थाहरुले तमु समाजको प्रशंसा गरेका हुन् । तिनलाई धन्यवाद दिदै सक्दो सहयोग पुर्याउनु कर्तब्य हुन आउँछ । तर यहाँ त उल्टो केहि ब्यक्ति र संस्थाहरुले बहुमत र जनमतको कदर नगरी भाँजो हालेर स्मारक बन्न नदिने चलखेल गरेको देख्दा सुनियोजित षडयन्त्र हो कि भनेर केलाउनु पर्ने देखिन्छ ।
नेपालीहरुको पहिचान राखी यस्तो इतिहास रच्ने कामलाई पनि “तमु समाज जातीय संस्था भएकोले स्मारक बनाउने जिम्मा दिनुहुँदैन । तमु समाजले स्मारक बनाउँदा आदिबासी जनजातिको मात्र पहिचान र इतिहास रहन्छ ” भन्ने भ्रम फैलाउँदै ‘स्मारक सबै नेपालीको पहिचान र इतिहास हो ‘ भन्ने स्विकार नगरि भाँजो हाल्नेहरु पक्कै स्मारक बिरोधि हुन भन्ने पुष्टि हुन गैरहेछ । तमु समाजलाई जातीय संस्थाकारुपमा मात्र हेर्नु अल्पज्ञानी सोच हो । तमु समाज एउटा नेपाली सामाजिक संस्था हो भन्ने कुरा जोसुकैले बुझ्ने कुरा हो ।
जातीय होस् वा अन्य सामाजिक संस्था होस्, संगठित हुने जो कोहि व्यक्ति, समुदायहरु मिलेर मानबहितका लागि सामाजिक काम गर्न स्थापित हुन्छन भन्नेकुरा सामान्य ज्ञान भएका जोकोहीले पनि बुझ्ने कुरा हो । जातीय संस्था स्थापना हुनको पछाडि के कारण छ भने जाति, भाषा, धर्म, संस्कृति मिल्नेहरू छिटो संगठित हुन सहज र सजिलो हुने भएकोले जातीय संस्थाहरु स्थापना भएका हुन । नकि एकै जातिले मोजमस्ती गर्न र अरु जाति समुदायले चाहिँ दुर्गति नै दुर्गति पाउन भनेर होइन ।
नेपालमा पहिचान र संघियता बिरोधि तत्वहरुले संबिधान सभा राज्य पुनसंरचना समितिले पारित गरेको पहिचान सहितको संघिय राज्य ब्यबस्थाको निर्णयलाई बैधानिक पद्दति अनुसार मतदान गराउँदा अत्यधिक बहुमतले पारित हुने निश्चित भएपछि संबिधान सभानै भंग गरेका थिए । हो त्यसरिनै यहाँपनि कतै तिनै तत्वहरुका चम्चाहरुले इपरमा पनि तमुसमाजको मेहनतले स्मारक बन्न सक्ने देखेपछि कुटिल चाल चल्न खोजेका त होइनन भनि सोच्नुपर्ने बेला भएको छ । यस्तै षड्यन्त्रका चालहरु मध्ये राजदुत राममणि पोख्रेल महोदयले मेरो सहयोग बिना सिन्को पनि भाँचिने छैन र माछामाछा भ्यागुतो हुनेछ भनि धम्कीपूर्ण खुल्ला अभिव्यक्ति दिनुलेपनि झन् शंका बढेर गएको छ । यतिमात्र नभएर राजदुत महोदयले स्मारक बनाउन एनआरएनलाइ जिम्मा दिनुपर्छ भनि कन्दनि कसेर लागेको देख्दा शंकाहरु झनै थपिँदै गएका छन् ।
राजदुत महोदयलाई राम्ररी थाहा छ, यो काम एनआरएनलाई दियोभने पुरा हुन सक्दैन । कारण नेपाल भवन बनाउने एनआरएनको क्रियाकलाप देखेर नेपालीहरु एनआरएनको नाम मात्र पनि सुन्न चाहँदैनन् । स्मारक बनाउनलाई मुख्य त आर्थिक बजेटको आवश्यकता पर्दछ । राजदुताबासले एक कंच पनि नदिने भनेर राजदुत महोदयले नै बताईसकेकाछन । त्यसैले बजेट तर्जुमा बेल्जियमबासि नेपालीहरुबाटै आर्थिक संकलनबाट गर्नुपर्ने हुन्छ । अहिलेको अवस्थामा एनआरएनको नाम मात्रै लिएर आर्थिक सहयोग माग्न जाने हो भने पैसाको सट्टा थप्पड पाइने निश्चितै छ ।
किनभने थप्पड अभियान नेपालमा धेरै प्रभाबकारी भएको बेल्जियमबासि नेपालीहरुले पनि राम्ररी बुझिसकेकाछन् । परिवार र मातृभूमिको यादमा पलपल मर्दै जम्मा गरेको रकम एनआरएनलाई दिनेहरु, नेपाल हाउस नबनाएर ढोगी पण्डितलाइ लाखौं लाखको हिराको हार पहिराउन संकलित रकम स्वाहा बनाउनेहरुलाई तत्काल बिश्वास गर्न तयार देखिँदैनन । बेल्जियमबासी नेपालीहरु अब पटकपटक चप्पलवाला नवधनाध्यहरुलाई हिरा हार जबाहरतको शौख पुरा गरिदीन तयार छैनन् । यस्तो अवस्था थाहा पाउनेहरुले एन आर एनलाई नै स्मारक बनाउन दिने जोड गर्नुभनेको स्मारक नबनोस भन्नेनै हो भनि बुझ्न गाह्रो छैन ।
राजदुत महोदयकै छाँयाँका रुपमा पहिचान र संघियता बिरोधि षडयन्त्रकारी तत्वहरुको अर्को रुप एन आर एन साधारण सभामा पनि देखापर्यो । त्यो कसरि भने नेपाली राजनैतिक पार्टीका भात्रि संगठनका केहि ब्यक्तिहरुले “तमु समाजको अग्रसरतामा स्मारक बनाउँदा आपत्ति छैन भने । तर तमु समाजलाइ धेरै उचाल्ने काम भएकोले सोच्नु पर्ने भएको छ ” भनि घुमाउरो पाराले एन आर एनलाई जिम्मा लगाएर असफल पार्न खोज्ने मनसाय अभिव्यक्तिबाट प्रष्टिन्थ्यो । यसरि मुखमा रामराम बगलीमा छुरा भिरेर पहिचान र संघियता हाम्रो पनि नारा हो भन्नेहरुको असली चरित्र उक्त दिनको उनीहरुकै भनाईबाट पर्दाफास भएको छ ।
यि पहिचान र संघियता बिरोधिहरु जसरि व्यक्तिलाई नाम, गाम, ठाम, क्षेत्र, धर्म, भाषा, संस्कृति र राष्ट्रको पहिचान चाहिन्छ, त्यसरीनै जातिलाई पनि जातीय पहिचान चाहिन्छ भन्ने शाश्वत सत्यलाई स्विकार नगरि हाम्रो देशमा भैरहेको एकल जाति, भाषा, धर्म, संस्कृतिको सामन्ती बर्चश्वलाई कायम राखेर हालीमुहाली गर्न चाहन्छन । यसैले अब यि समाज र राष्ट्र बिरोधि तत्वहरुको भण्डाफोर गर्दै सबै इमान्दार न्यायप्रेमी नेपालीहरु एक भएर इपरमा स्मारक बनाउन कम्मर कसेर लाग्नु पर्ने अवस्था आएको छ ।




