आवरणमा हामी सवै नेपाली, भित्र कति निर्दयी र विभेदकारी !

विष्णु भुजेल / वेल्जियम

सायद पृथ्वी नारायण शाहको राज्य एकिकरण अभियान पछि होला, “चार जात छत्तिस वर्णको फुलवारी, हामी सवै नेपाली” भन्दै नेपाली जनतालाई घोक्न लगाइएको थियो । जव जव नेपालमा राजनैतिक संक्रमण गहिरिंदै जान्छ र समाजले निकास पाउन खोज्छ तव प्रतिगामीहरु यही नारा अगाडि तेर्स्याउँछन् र वाटो वन्द गरिदिन्छन । दिग्भ्रमित पारिदिन्छन र हामी सवै नेपाली भन्छन् । फेरी समाज पश्चगमनकारीहरुकै हातमा गइहाल्छ । यो हामी सवै नेपाली भन्न लगाउनेलाई त नेपालको बिद्दमान समाजमा विभेद कति छ स्पष्ट थाहा छ । तर हामी जो यो नारामा वहकिन्छौं हामीले आफैंमाथी भइरहेको विभेद थाहा पाएका छैनौं ।

हामी सवै नेपाली हुनका लागि समाजमा विध्यमान विभेदहरु कति मेटिए त भनेर कसिमा जाँच्नुपर्दछ । अव नेपाली समाजमा विद्यमान विभेदहरु के के छन् हेरौंन त । नेपाल कृषि प्रधान देश हो । जमीनको स्वामित्वको आधारमा यो सामन्तवादी राज्य सत्ता हो । यहाँ सामन्त, धनि किसान, मध्यम किसान, गरीव किसान र सुकुम्वासी विद्यमान छन् । परिश्रम सवैभन्दा वढि सुकुम्वासीले गर्नुपर्दछ र उत्पिडित पनि सवैभन्दा वढि उही छ । तर के सुकुम्वासी र सामन्त एउटै स्तरको नेपाली हो ? त्यसैले हामी सवै नेपाली भन्ने नाममा उनिहरु विचको विभेदलाइ विर्सन मिल्छ ? यदि हामी सवै नेपालीको नारालाइ समानतामा वुझ्ने हो भने सामन्तको जमीनमा हदवन्दी लगाई सुकुम्वासीलाई वितरण किन नगर्ने ?

त्यस्तै गरेर उद्योग धन्दामा हेर्नुस । पुंजीवादी समाजमा मालिक र मजदुर हुनु स्वभाविक छ । हाम्रो देशमा त मालिकको चरित्र पनि दुइ प्रकारको छ । राष्ट्रिय पुंजीपति र दलाल पुंजीपति । राष्ट्रको उद्योग धन्दा सरकार आफैंले नितिगत रुपमानै एक पछि अर्को गर्दै दलाल पुंजीपतिको हातमा सुम्पँदै छ । अव दलालको सेवकहरुले भन्ने र राष्ट्रभक्तहरुले भन्ने हामी सवै नेपाली उस्तै होत ? मजदुरहरुको उत्पिडनको त कुरै छौडौं । यसको हिसाव किताव राख्ने जिम्मा पाठक वृन्दलाइनै । मजदुरहरुमा पनि एउटा लम्पट सर्वहारा वर्ग छ । यो घरवार पनि नभएको र रोजगार पनि नभएको । जीवन यापन गर्नलाई सडकमा विविध काम गर्ने वर्ग हो । अव यो लम्पट सर्वहारा र उद्योगपतिलाइ संगसंगै राखेर हामी सवै नेपाली भन्ने ?

अहिले राजनीतिक दर्पणमा यस्तो देखिदै आएको छ कि नेपाल सरकारको प्रमुखले कति वढि भारतको दलाल हुने भनेर प्रतिस्पर्धा गर्नु पर्ने रे । अव खुल्ला रुपमानै को वढि दलाल हुने भनेर दौड प्रतियोगिता राखे छनौट कार्य चाहिं पक्कै पारदर्शी हुने थियो । यस्तो दलाली गरेर कुर्सीमा टांस्सीने सरकार र यसको लागि प्रतिस्पर्धा गर्ने दलहरुले फेरी हामी सवै नेपाली भन्न सुहाउने कुरा हो । लाखौंको संख्यामा भारतीय नागरिकहरुले नेपाली नागरिकता लिएको सार्वजनिक भएकै हो । आफ्नो जीवनका महत्वपुर्ण वर्षहरु नेपालप्रति समर्पण गरेका चलचित्रकर्मी गोपाल भुटानीले आफ्नो अन्तिम इच्छा नेपालको नागरिकता प्राप्त गर्ने हो भनेर विभिन्न दलका नेताको ढोका घच्घच्याउंदा पनि पाएनन् । यो एउटा व्यक्तिगत विषय होइन । जो एन आर एनहरु दोहोरो नागरिकता पाउन सक्ने प्रावधान भएका देशमा वसेका छन्, उनीहरु जहिले पनि नेपालप्रति समर्पित छन् । उनीहरुलाई नागरिकता दिने नियम वनाउन किन सक्दैन नेपाल सरकारले ? यसमा एकाध व्यक्तिले नेपालको सम्पत्ति वाहिर ल्याउन सक्लान । तर अन्य सवैले विदेशको सम्पत्ति नेपालनै पठाइरहेका त छन् । नेपाल केले चलेको छत भन्दा रेमिटेन्सले भन्ने, आन्दोलनको गेयर थप्न रेमिटेन्स वन्द गरिदिनु परयो भन्ने, अनि उनै नागरिकलाई नागरिकता दिन नमान्ने । अव भन्नुस लाखौंको संख्यामा नेपाली नागरिकता लिएका भारतीयहरुले आफुलाइ हामी सवै नेपाली भन्ने र आफ्नै देशको नागरिकता लिन्छु भन्दा नपाउने नेपालीले भन्ने हामी सवै नेपाली उस्तै हो ?

शताव्दियौं देखि दोहोरो उत्पिडनमा परेका महिला, आफ्नो राज्य, भाषा संस्कृति, स्रोत साधन, सामाजिक आर्थिक संरचना लुटिएका आदिवासी जनजाती, धार्मिक उत्पिडनमा परेका समुदायहरु, आफ्नै भुमीमा समाजमा अछुतको व्यवहार सहंदै आएका दलितहरु, आफु सुत्ने फल्याकको मुनी सुंगुर पाल्ने, त्यहि फल्याक पल्टायर दिशा गर्ने र फेरी फल्याक पल्टायर सुत्ने उत्पिडित क्षेत्रका जनताले भन्ने हामी सवै नेपाली र चप्पल लगाएर सडकमा घसारिँदै गरेका राजनैतिक दलका नेता, यस्तै जनताको भोट लिएर रातारात करोडौंको मालिक वनेर आफ्नो विल्कुलै व्यक्तिगत स्वार्थको लागि देशलाई वन्दी वनाएर राख्ने नेताले भन्ने गरेको हामी सवै नेपाली उस्तै हुन्छ ?

प्रसंग स्थानीय घटनाक्रमको हो । माथी उल्लेखित सन्दर्भहरु यहाँ जस्ताको तस्तै नमिल्न सक्छ । तैपनि वेल्जियमको इपरमा स्मारक निर्माण गर्ने सवालमा पनि हामी सवै नेपाली भन्ने नारा वडो चर्चित भएर अगाडि आएको छ । सुन्दा र कल्पना गर्दा पनि दर्द भरियर आउँछ । पहिलो र दोस्रो विश्व युद्धमा व्रिटिस साम्राज्यको स्वार्थका लागि नेपालीहरुले गोर्खाजको नाममा युरोपको विभिन्न देशमा पनि विरगती प्राप्त गरे । युद्धमा सहभागीहरु धेरै घर फर्केनन् । यतै जिवन समाप्त भयो । ती गोर्खाजहरुलाई पहाडी मुलुकवाट आएको भनेर असजिला पहाडी मोर्चाहरुमा जहां यातायातको साधन जान सक्दैनथे, डिसेम्वरको हिंउमा नदीको किनारहरुका मोर्चाहरुमा लड्न लगाइन्थ्यो । चिसोले सुन्निएका गोडाहरु घिसार्दै उनिहरु लडे । लड्नेको त के दोष र आफ्नो जागिरको दायित्व पुरा गरे । दोष त लड्न पठाउनेको पो त । नेपाल सरकारको पो हो त । यो त पुरानो कुरा भन्नु होला । अस्ति भर्खर पोखराका लोर्के जवान अफगानिस्तानमा विरगति प्राप्त गरे । यो निरन्तर छ । अझै कति हुने हो । अव लडाइंमा मर्नेका दरसन्तानले र लडाईंमा पठाउने राज्य र त्यसको अंग वेल्जियमको सवालमा नेपाली दुतावासले पनि हामी सवै नेपाली भनेर उही अर्थमा लिन मिल्छ ? मैले त्यो अंगको कुनै व्यक्ति विशेषको कुरागर्न खोजेको होइन । हो उहाँहरु नेपाली प्रतिको भावनाले ओतप्रोत हुनु होला । सहानुभुति होला । तर आफ्नो निकायको हैसियतलेत  भन्न मिलेननी । हिम्मत भए गोरखा भर्ति केन्द्र वन्द गरेर यो क्रमलाई स्थाइ रुपमा वन्द गर्न परयोनी । अनि हामी सवै नेपाली भन्न्न सुहाउँछ ।

राज्यले लड्न पठाउने । मर्नदिने । त्यसपछि विरगति प्राप्त गरेकाका सन्तानहरुले विरगति प्राप्त गर्नेहरुलाई सम्मान गर्छु भन्दा तिमीहरुले पाउंदैनौ दुतावासले गर्नुपर्छ भन्ने । यदि गरयौ भने विडम्वना हुनेछ भन्दै कार्वाहीको धम्की दिने । आफ्नो नैतिकता र कार्यक्षेत्रको समेत ज्ञान नहुने कुटनितिज्ञवाट नेपाली समुदायले के आशा गर्ने ? अनि यस्तो गलत प्रवृत्तिलाई प्रोत्साहित गर्दै उकास्ने वेल्जियमस्थित केही संघ संस्थाका नेताहरुले भन्ने गरेको हामी सवै नेपालीलाई कसरी वुझ्ने ?

तमु समाज वेल्जियमले इपरमा स्मारक निर्माण गर्नका लागि पहल कदमी थालीसकेको छ । उसलाई यसको अधिकार पनि छ । यतिका वर्षसम्म तमु समाज वेल्जियमको एकल निर्णयवाट श्रद्धान्जली सभा सम्पन्न गर्दा छलफल गर्न नपर्ने । उसको निमन्त्रणलाई सहर्स स्वीकार्दै वेल्जियमका सवै संघसंस्थाका नेता तथा प्रतिनिधीहरु उपस्थित हुने । सवै संगठनहरुले ऐक्यवद्धता जाहेर गर्ने । अहिले तमु समाज वेल्जियमको सकृयता र नेतृत्वमा वेल्जियमका सवै संघ संस्थाहरुलाई सहभागी वनाएर अगाडि वढ्न उक्त संस्थाले भगिरथ प्रयास गर्दा उक्त कार्यलाई हस्तक्षेप गर्ने । अलमल्याउने। उक्त संस्थामा विभाजन ल्याउन प्रयास गर्ने लगायत नेतृत्वमा मात्र केन्द्रित हुनेहरुलाई हामी सवै नेपाली भन्ने की तमु समाज वेल्जियमले अगाडि वढाइसकेको मिशनलाई प्रभावित हुन नदिई सहयोग गर्नेलाई हामी सवै नेपाली भन्ने ?

केहीले जनजाती संगठनले यो वनाउँदा सवै नेपाली समेटिँदैन भन्ने कुतर्क पनि गर्दै आएको छ । स्मारक निर्माणको सवालमा वेल्जियम स्थित सवै नेपाली संघ संस्थाको हैसियत उहि हो । त्यसको लागि वेल्जियमको कानुन अनुसार दर्ता भएको जुन कुनै संस्थाले पनि प्रोजेक्ट तयार पारी इपरको मेयरको कार्यालयमा निवेदन दिन सक्छ । तर नेपाली दुतावासले गर्न सक्दैन । संघ संस्थालाई सहयोग गर्न सक्छ । यसमा अन्य संस्था सवै उत्तिकै हकदार छन् । सवै संस्थाको सामुहीक प्रयत्न उत्तम विकल्प हो । यति हुंदा हुंदै पनि विगतका दिनमा त्यहां संस्थागत रुपमा गतिविधी गर्दै आएको र विरगती प्राप्त गर्ने वहुसंख्यकको उत्तराधिकारी (डिसेन्डेन्ट) संस्था पनि भएकोले यसको पहलकदमी लिने र नेतृत्व गर्ने पहिलो अधिकार तमु समाज वेल्जियमलाइनै जान्छ । यो अधिकारको लागि उसले कानुनी रुपमा पनि लड्न सक्दछ ।

तमु समाज वेल्जियमले डिसेम्वर ९, २०१२ तारिख आयोजना गरेको सर्वपक्षीय भेलामा वितरण गरेको कार्यपत्रमा तमु समाज वेल्जियमको संयोजकत्मा वेल्जियम स्थित इच्छुक नेपाली संघ संस्थाहरुलाई सहभागी गराई स्मारक निर्माण समिति निर्माण गर्ने तथा दुतावास र एन आर एन वेल्जियमलाई संरक्षक वनाउने प्रस्ताव गरिएको छ । जनजाती महासंघ वेल्जियमलाई पनि संरक्षक राख्ने प्रस्ताव हलवाटनै आयो र सर्वसम्मतवाट पारित भएको छ । वांकी कार्य तमु समाजकै आयोजनामा हुने जनवरी ६, २०१३ को भेलामा सम्पन्न गर्ने निर्णय सार्वजनिक पनि भइसकेको छ । यसरी हेर्दा तमु समाज नत जातीवादमा फसेको छ नत कुनै संकीर्णतामा । उसलाई तिरस्कार गर्नेलाई पनि समेट्न सक्ने गरी हात फैलाएको छ । यसलाई सबैले स्वागत गर्दा, स्वीकार्दा वेल्जियमवासी नेपाली समुदायमा अर्को हार्दिकता, एकता पैदा हुने निश्चित छ ।  सरल ढंगले छोटो समयमा स्मारक निर्माण कार्य सम्पन्न हुनेछ । एउटा संस्थाले कार्यक्रमलाई सकरात्मक रुपमा अगाडि वढाइसकेको अवस्थामा एन आर एनले यसलाई हस्तक्षेप गर्न मिल्दैन । उसको दायित्व यसलाई सहयोग र ऐक्यवद्धता जाहेर गर्ने मात्रै हो । एन आर एन वेल्जियमले यही नितिगत कुरा छुट्याउन नसक्दा आफ्ना निर्णय भइसकेका प्राय योजनाहरु सम्पन्न हुनेतर्फ भन्दा पनि वढि विवादित हुनेतर्फ उन्मुख भइरहेका छन् । पहिले उसले ती विषयहरु हल गर्न जरुरी छ ।

यस्तो सामाजिक महत्वको विषयमा आम सहमति हुन सके राम्रो हो । यो संस्थाले यो विषयमा योगदान पुर्‍याएका संस्था तथा व्यक्तित्वहरुलाई समेटेर अगाडि जान प्रयास गरेको देखिन्छ । त्यसैले यस्तो कार्यमा हामी सवैलै सकरात्मक पहल गर्नु पर्दछ । जहांसम्म तमु समाजवाट नेतृत्व को भन्ने विषय छ त्यो तमु समाजलेनै निर्णय गर्ने कुरा हो । अन्य संगठनले वाहिरवाट नेतृत्व तयार गरिदिने होइन । तर सामाजिक, आर्थिक काम महत्वपुर्ण भएको यो मिशनमा समाजमा पाच्य, अनुशाषित, पारदर्शी र प्रतिवद्ध नेतृत्वको छनौट गर्न तमु समाज वेल्जियम चुक्नु हुँदैन ।

त्यसैले मलाइ लाग्छ हामी सवै नेपाली भन्न अझ धेरै काम गर्न वांकी छ । हाम्रा कुण्ठा, व्यक्तिगत स्वार्थ, प्रतिशोध भन्दा माथि उठेर पहल गरौं । जहां भए पनि नेपालको सेवामा जुटौं ।

(लेखक नेपाली जन प्रगतिशील, मोर्चा वेल्जियमका सल्लाहकार हुन्)

तपाइँको प्रतिक्रिया