प्रतिपक्षीहरुको गलत दौडधुप

शिव पन्त

अहिलेका प्रतिपक्षीहरु विशेष गरी कांग्रेस एमालेले आफ्नो शक्ति र दौडधुप गलत ठाउँमा खर्च गरिरहेका छन । उनीहरु बाबुराम भट्टराईलाई हटाउने, सहमतिको सरकारको निर्माण गर्ने मुख्य मुद्दा लिएर अघि बढेका छन । तर भट्टराई सरकार प्रचण्ड र माओबादीको पार्टीको विशेष टाउको दुखाइ हो न कि कांग्रेस एमालेको । कांग्रेस एमालेको मुख्य ध्यान र शक्ति अब निर्वाचनको लागि खर्च हुनुपर्छ । चुनावको सुनिस्चितता माग्नुपर्छ प्रतिपक्षीले अहिलेको सरकार र माओबादीबाट । निष्पक्ष निर्वाचन हुने सुनिश्चितता खोजेर खुला रुपमा जनतामा गएर आफ्नो सक्कली आकार देखाई माओबादीको हैसियत के हो त्यो देखाइदीने तिर पो उनीहरुले सोच्नु पर्ने हो ।

भट्टराई प्रम भएपछि माओबादी पार्टी फुट्यो । राष्ट्रघाती सन्धि सम्झौता हरु भए । भारतसंग उहिले आत्मसमर्पण गरिसकेको हो माओबादीले भन्नेपनि खुलासा भयो । भारतीय हस्तक्षेप ह्वात्तै बढ्यो । जनतालाई छर्लंग भयो, भारतसँग सुरुङ युद्द लड्छु भनेर जनताको अगाडी बम्केको पार्टी त भारतको पाउमा उहिले लम्पसार परी ज्यानको भीख माग्दै राष्ट्रिय अस्मिता बेचेर आइसकेको रहेछ ।

मुख्य कुरो त आजसम्म सत्तामा बसेर ससुराली खलकलाइ जागिर खुवाउने र अपराधीको मुद्दा फिर्ता लिने बाहेक केही काम गर्न नसकेको बरु जनता सामु डुंगडुंगति गन्हाएको बाबुराम सरकार फिर्ता गर्ने अनि राष्ट्रिय सहमतिको सरकारको पहल गर्ने काम त पार्टी अध्यक्षको नाताले प्रचण्डको हो । आफुलाई कति न विद्वान र भिजन भएको व्यक्तित्व ठान्ने बाबुराम आफैले घोषणा गरेको चुनाव गर्न नसकेपछि जनताको नजरमा असक्षम भयो नै । फेरी जनता समक्ष माफी माग्नुको साटो अर्को चुनाव (आफुले गर्नै नसक्ने) को घोषणा गरेर अनैतिकताको पराकाष्ठा नै देखायो । यस्तो व्यक्ति र सरकारलाइ फिर्ता बोलाउने, जिम्मेवारीबाट मुक्त गर्ने सबभन्दा ठुलो हतार त त्यही पार्टीको अध्यक्षलाइ हुनुपर्ने हो ।

वास्तवमा बाबुराम हटाउनकै लागि प्रचण्डले कांग्रेस संग उम्मेदवार मागेका थिए । तर त्यतिनै बेलाको करन सिंगको नेपाल भ्रमणले भट्टराइको ज्यानमा तागत भरिदियो भने प्रचण्ड लुते हुन पुगे । र पुन एकपटक उनि आफ्नो बोली फेर्न बाध्य भए । प्रचन्डले कुनै न कुनै रुपमा फेरी कांग्रेसलाई सत्ताको ललिपप देखाउन सक्छन । कांग्रेस रिझाउन होइन बरु भट्टराई हटाउन । त्यतिबेला कांग्रेसले आफुले नलिने र प्रचण्डलाईनै प्रधानमन्त्री प्रस्ताब गर्नुपर्छ । जसले गर्दा कांग्रेसलाई लगाउन खोजिएको सत्ता लिप्साको आरोप पखालियोस । प्रचन्डले प्रम बन्न मानेनन् भने कांग्रेस र एमाले मिलेर ड्यास माओबादीले उठाएको उम्मेदवार बादललाइ समर्थन गर्नु पर्छ ।

फेरी पनि कांग्रेस र एमालेले आफ्नो मुख्य ध्यान चुनावमा लगाउन पर्छ । राजनीतिक असहमति, संक्रमणकाल आदिको बहाना गरेर चुनाव टार्न खोज्ने माओबादी चाल निस्तेज पार्नु पर्छ । घिसारेर निर्वाचनमा ल्याइसकेपछि त्यो निर्वाचन निष्पक्ष गराउनेतिर कांग्रेस एमाले सचेत हुनुपर्छ । संबिधान सभा निर्वाचनमा बाबुराम भट्टराईले गोरखाबाट मतदाताको संख्या भन्दा बढी भोट पाएको कुरा बिर्सनु हुन्न् कांग्रेस एमालेले ।

तपाइँको प्रतिक्रिया