एन आर एन बेल्जियमको रकम बाँडिचुँडी हिनामिना

(आज २०६९ साल मंसिर २७ गते बुधवारको जनआस्था साप्ताहिकमा “विदेशमा समेत डरलाग्दो बदमासी” शिर्षकमा प्रकाशित समाचार)

ददि सापकोटा

एन आर एन केन्द्रिय कार्यालयको जल बिद्दुतमा लगानी गर्ने आव्हानमा पाँच करोड रकम लगानी गर्ने भन्दै एन आर एन बेल्जियमले सार्वजनिक गरेको छ । त्यसैगरि करिब पचास करोड रुपियाँको लगानीमा बेल्जियममा नेपाली सांस्क्रितिक घर (नेपाल हाउस) बनाउने भनेर घोषणा गरेको दुई वर्ष पुग्यो । त्यो पुरा होला भनेर आशा गर्नु त परै । एन आर एन बेल्जियममा आर्थिक हिनामिनाले गर्दा संस्थाको खातामा दुमडी छैन । करोडौं करोड रुपियाँको योजना सार्वजनिक गरेको एन आर एन बेल्जियमको दश युरोमा दर्ता हुने वेभ साईटको नाम समेत अहिले लिलाम घटाघटमा छ ।

तर एन आर एन बेल्जियमसित रकमनै नभएर यो हालतमा पुगेको भने होइन । एन आर एनको रकममा हिनामिना र आर्थिक अनियमितता गरेकाले संस्थाको खाता शुन्य भएको हो । त्यसो त खातामा अघिल्लो कार्य समितिले बुझाउनुपर्ने १३ हजारतिन सय ६९ युरो युरो अझै बुझाइएको छैन । यो कार्यसमितीले पुरै कानमा तेल हालेर बसेको थियो । सार्वजनिक रुपमा टिक्का टिप्पणी उठेपछि एन आर एनले बेल्जियमले जारी गरेको बिज्ञप्तीकै अनुसार १३ हजारतिन सय ६९ युरो तिर्न बाँकि छ । तर त्यो रकम कोसित छ ? अहिलेसम्म किन दाखिला भएन ? अहिलेसम्म प्रयोग गरेबापत ब्याज तिर्नु पर्छ कि पर्दैन ? संस्थाको रकम हिनामिना गर्नेमाथि कारबाही हुनुपर्छ कि पर्दैन केहि उल्लेख छैन । तर पंक्तिकारले रकमको नालीबेली भने पत्ता लगाएको छ ।

स्रोतका अनुसार एन आर एन बेल्जियमको सो रकम हिनामिना गर्नेमा सबै भन्दा अगाडि एकिक्रित नेकपा माओवादी समर्थित जन प्रगतिशिल मञ्च छ । उनीहरुले करिब सात हजार पाँच सय रकम हिनामिना गरेका छन् । त्यसैगरि नेपाली कांग्रेसको भात्री संगठन नेपाली जन संपर्क समिति बेल्जियमले करिब १० हजार युरो तिर्न बाँकि थियो । त्यसको केहि भाग चुक्ता गरेपनि केहि रकम अझै दिएका छैनन् । उता नेकपा एमालेको भात्रि संगठन नेपाली लोकतान्त्रिक मञ्च (NDF) ले दुई हजार युरो अनियमितता गरेको छ । एन आर एन बेल्जियमकै पदाधिकारीहरु मिलेर यो रकम अनियमितता गरेकाले अहिलेसम्म उक्त रकम नउठेको स्रोतले बतायो ।

गत साल भएको एन आर एन बेल्जियमको निर्वाचनमा पुरै पार्टीगत प्यानल थियो । नेकपा एमाले, नेपाली कांग्रेस, एकिक्रित नेकपा माओवादीका तर्फबाट आआफ्नै प्यानल बनेका थिए । निर्वाचनका दिन सदस्यता शुल्क पार्टीका भात्रि संगठनले आआफ्नो पार्टीको तर्फबाट उठाएर लिए । एन आर एनलाई निर्वाचनपछि बुझाउनेगरि । तर त्यो रकम आआफ्नो गोजीमा हाले, एन आर एनलाई बुझाएनन् । यहि पैसो दुरुपयोग गरेर केहिले निजि ब्यवसायमा लगानी गरेकोपनि स्रोतले उल्लेख गर्‍यो ।

पार्टीगत रुपमा त्यो रकम एन आर एनलाई बुझाउने जिम्मा एकिक्रित नेकपा माओवादीको भात्रि संगठन जनप्रगतिशिल मञ्चका तर्फबाट लिलाधर पन्त थिए । उनी निर्वाचन समितीको सदस्यता छानबिन तथा बितरण प्रमुख थिए । निर्वाचन कमिटीको प्रमुख थिए, नेपाली जन सम्पर्क समितिका सदस्य तथा पत्रकार शालिकराम गौतम थिए । उता नेकपा एमालेको भात्रि संगठन नेपाली लोकतान्त्रिक मञ्चका तर्फबाट उक्त रकमको जिम्मा ब्यापारी अर्जुनकुमार श्रेष्ठले लिएका थिए । उनी हाल एन आर एन बेल्जियमको आइ सिसी सदस्य छन् । त्यसैगरि एन आर एनको करिब चार हजार युरो एमाले कार्यकर्ता अर्जुन कुमार श्रेष्ठको नाममा बक्यौता रहेकोपनि स्रोतले उल्लेख गर्‍यो ।

यस विषयमा एन आर एन बेल्जियमका कोषाध्यक्ष राम घलेसित सम्पर्क गर्दा उनलेपनि एन आरएनको रकम पार्टीगत रुपमा चलाएको र उठन बाँकि रहेको प्रतिक्रिया दिए । उनले भने “सदस्यता बापत उठेको रकम नेकपा माओवादी, नेपाली कांग्रेस र एमालेले लिएका हुन् । पार्टीका केहि ब्यक्तिले दिन्छौं भनेर जिम्मेवारी लिएका हुन् । मैले पूर्व कोषाध्यक्षबाट त्यो रकम पाउनुपर्ने हो। तर अहिलेसम्म पाएको छैन । बांँकि रकम  पाउनको अलगि पत्राचार भने भएको छ ।”

निर्वाचनका दिन सदस्यहरु भरिभराउ भए । रकम निकै उठेको देखियो । त्यसदिन एन आर एन कोषाध्यक्ष राम घलेले खाली पानामा हिसाब लेखेर हिँडे । तर रकम भने उनीहरुले दिएनन् । तिनले लिएको उक्त रकमको ब्याज त परै जाओस् अहिलेसम्मपनि सो रकम तिरेका छैनन् । त्यसलाई हालसम्म गोप्यनै राखिएको थियो ।

एन आर एन बेल्जियमकै पुराना सदस्य र कार्यकारी पदमा उठेकाहरुपनि एन आर एन बेल्जियमको आर्थिक दुरुपयोग र बेथिति देखेर आक्रोशित बनेका छन् । एन आर एन बेल्जियमको अध्यक्ष पदमा उठेर पछि हालको अध्यक्ष जानकी गुरुङलाई समर्थन जनाउँदै उमेदवारी झिकेका क्रिष्ण प्रसाद रेग्मीले आफ्नो फेसबुकमा हाकै लेखेका छन् ” लाखौंको होइन करोडौंका मनगणन्ते योजना बाहिर आउँछन् । तर यस संस्थाको संस्थागत विकास जिरो (०) छ, जिरो क्या । ल यस सस्थाको वेवसाइट हेर्नुस पहिला । संस्थाको लेखा र खाता पाता वर्ष दिन सम्म पनि नयाँ कार्यसमितिमा हस्तान्तरण भएका छैनन । संस्थाका सामान्य सदस्यले वुझाएका रकमहरू समेत यो कार्यसमितिले उठाउन सकेको छैन भने हे दैव कसरी यो सस्थाले हाम्रो आस्थाको भावना प्रतिनिधित्व गर्न सक्ला ? जुन संस्थामा आबद्द हुनुहुन्छ त्यही सस्थाको वेवसाइट घटाघटमा विक्रीमा राखिएको छ । त्यहीसंस्थाका पदाधिकारीहरू अझै फुर्ती लगाउँदै धमास दिन पनि पछि पर्दैन भने के भन्ने ? हग्नेलाई भन्दा देख्नेलाइ लाज भन्या जस्तो ।”

पत्रकार महेन्द्र पौडेलले त झन नेपालीले दुख गरेर कमाएको पैसो सदस्यता स्वरुप उठाएर कुम्ल्याएको आरोप लगाएका छन् । उनले फेसबुकमा लेखेका छन् “एनआरएन बेल्जियमले ५ करोडको लक्ष्य लिएको छ हाइड्रोमा लगानीको । गतसाल भवन बनाउन दानमा बोलेको ७ करोड ५० लाख तिर्न दिन बाँकी छ । अव १२ करोड ५० लाख भो । भवन बनाउन २० करोडको लक्ष्य थियो रे । त्यो पनि गर्दा २५ करोड भएछ । यत्रो लक्ष्य लिनेको वेवसाइट www.nrnbelgium.be रकम नतिरेर विक्रीमा रहेछ । धेरै महाकवि भएपछि यस्तै हो । विदेशीएका नेपालीहरुलाई सदस्य बनाएर रकम कुम्ल्याउन एनआरएन भन्ने संस्था पल्किएछ । नेपाली जनताले एनआरएनवालाहरु गफ मात्रै लगाउँछन भनेको हो रैछ ।”

जनआस्थामा प्रकाशित भैसकेपछिको थप

माथिल्लो समाचार लेख्दा एन आर एन बेल्जियमले आफ्ना आई सिसी सदस्य र अन्यत्र पठाएको बिज्ञप्ती मैले फेला पारेको थिईन । अहिले एन आर एन बेल्जियमको आन्तरिक सर्कुलरपनि फेला परेको छ । आइ सि सी सदस्य पीजी शेर्पा र केहिका नाममा पठाइएको त्यो बिज्ञप्तीमा अर्जुन कुमार श्रेष्ठ तथा एन डी एफ बेल्जियम (नेकपा एमालेको नेपालीज डेमोक्रेटिक फोरम) ले २००५ युरो, नन्दु घले तथा जन संपर्क समिति बेल्जियम (नेपाली कांग्रेसको) ले ३९१० युरो र लिलाधर पन्त तथा एन पी पी एफ बेल्जियम (माओवादी निकटको जनप्रगतिशिल मञ्च) ले ७४५४ युरो नतिरेको उल्लेख छ । सर्कुलरमा पैसा नतिर्नेहरुलाई कडा शब्दमा लेखिएको छ “यो अन्तिम पत्रचार भएकोले समय सिमा भित्र खातामा रकम उपलब्ध नभए यसको सम्पुर्ण विवरण सार्वजनिक गर्न संस्था बाध्य हुने छ ।” पार्टी बिभाजनपछि बेल्जियममा बैध्य समूहको जनप्रगतिशिल मोर्चा बनेको छ भने संस्थापन पक्षले जनप्रगतिशिल मञ्च ओगटेका छन् । एन आर एनको निर्वाचन हुँदा भने यि दुबै पक्ष एकै ठाउँ थिए ।

स्रोतका अनुसार दान कबुलेको पैसो नदिनेहरुको नामावली नेपालप्लसमा प्रकाशित भएपछि एन आर एन बेल्जियमको बैठक हतारमा डाकिएको थियो। त्यहि बैठकले बक्यौता रकम तिर्नुपर्ने निर्णय गरेको थियो । त्यसपछि यो सर्कुलर जारी गरिएको हो ।

हजारौं हिनामिना अझै गुपचुप

अहिले एन आर एन बेल्जियमले गत निर्वाचनका बेलमा सदस्यता बापत उठेको रकम १३३६९ युरोका बारेमा उल्लेख गरेर बिज्ञप्ती निकालेको छ । यसबाट उब्जिन्छ ‘के यस अघि एन आर एनको खाता शुन्यमै थियो त ?’ किनभने एन आर एनकै सर्कुलर र गत हप्ता जारी बिज्ञप्तीमै प्रष्ट उल्लेख छ “यो रकम त सदस्यताबाट मात्रै उठेको हो।” स्रोतका अनुसार एन आर एनको खातामा अरु रकमपनि थियो । त्यो रकम पनि एन आरएनकै केहि ब्यक्तिहरुले निजि ब्यवशायमा लगाएका छन् । पत्रकार महेन्द्र पौडेलले आफ्नो फेसबुक मार्फत एन आर एन बेल्जियममा अझ ठूलो रकम आर्थिक हिनामिना भएको संकेत गरेका छन् । उनले लेखेका छन् “अर्को के भने जीवा लामिछाने आएको बखत त्यसबेलाका कोषाध्यक्षले सार्वजनिक गरेको लेखाविवरणमा एनआरएनको रकम करिव ३०,००० युरो हो । त्यतिबेलासम्म एनआरएनको सदस्य १००० थिए । तिनीहरुको कार्ड नविकरणको १५ युरोको दरले १५,००० युरो हुन्छ । नयाँ सदस्यता थपिएर एनआरएनको सदस्यता करिव २२०० हुन गयो बेल्जियममा । अर्थात १२०० नयाँ सदस्यता थपिए । जसको सदस्यता शुल्क १० युरो अर्थात १२०००युरो हुन आउँछ । हिसाव गर्दा ३०,०००, १५०००, १२००० जम्मा ५७ हजार हुन आउँछ । सामान्यमान्छेले पनि वुझ्ने हिसाव हो यो ।”

तैपनि खातामा हालसम्म के कति रकम थियो भन्ने बारेमा भने एन आर एनले कहिँ कतै उल्लेख गरेको छैन । एन आर एनको खातामा कूल कति रकम हुनुपर्ने हो भन्ने बारेमा प्रस्ट नपारिएकाले शंका र कौतुहलता रहनु स्वभाविकै छ । त्यसैले एन आर एन बेल्जियमले यस बारेमा प्रस्ट पारिदिनु उचित हुन्छ ।

एन आर एन बेल्जियमको गोप्य सर्कुलर हेर्नुस्

श्रीमान पिजी शेर्पा ज्यू
एन आर एन ए आइ सी सी सदस्य तथा
एन आर एन ए बेल्जियम निबर्तमान अध्यक्ष

बिषय – रकम दाखिला गर्ने बारे

एन आर एन ए बेल्जियमको निबर्तमान कार्यसमिति मार्फत प्राप्त आय ब्यबको विवरण अनुसार् तत्कालिन कार्य समिति मार्फत देहाय अनुसार सदस्यता बिरतण मार्फत सकलित रकम मध्य अझै १३३६९ युरो बाँकी रहेकोले यस रकम एन आर एन ए बेल्जियम को २५ नोभेम्बर २०१२ मा सम्पन्न आठौ बैठकको निर्णय अनुसार यहि डिसेम्बर १५ भित्र एन आर एन ए बेल्जियमको खाता नं Fortis Bank : Current a/c 001-5218961-49, Saving a/c 035-5653120-01 मा जम्मा गर्नु हुन अनुरोध् गरिएकोले यहाँबाट रकम दाखिलाको लागि पूर्ण सहयोग को अपेक्षा गर्दछौं ।
विवरण
१ – अर्जुन कुमार श्रेष्ठ तथा एन डी एफ बेल्जियम युरो २००५

२ – नन्दु घले तथा ज न संपर्क समिति बेल्जियम युरो ३९१०

३ – लिलाधर पन्त तथा एन पी पी एफ बेल्जियम युरो ७४५४

पुनस्च : यो अन्तिम पत्रचार भएकोले समय सिमा भित्र खातामा रकम उपलब्ध नभए यसको सम्पुर्ण विवरण सार्वजनिक गर्न संस्था बाध्य हुने छ ।

अध्यक्ष जानकी गुरुङ,

एन आर एन ए बेल्जियम

महासचिब शिव कुमार बरुवाल

एन आर एन ए बेल्जियम

२ डिसेम्बर २०१२

तलका संवन्धित लेखपनि हेर्नुस्

बेल्जियममा उधारो दान, नगद सम्मान

बेल्जियममा धर्मका नाममा अधर्मीहरु

दबाबमा पारेर महायज्ञमा दान माग्ने बेल्जियमका कागजी दानबीरहरु

बेल्जियमका नेपालीबिचको बैमनस्यता एउटै यज्ञमा स्वाहा पार्दैछन् पण्डित दिनबन्धुले

शरणार्थी क्याम्प बसेका पीडितलाई’नी यस्तरी ठग्ने ?

यत्रो दान किन दिइस् भन्दै बेल्जियममा रडाको

एन आर एन बेल्जियमका पदाधिकारी हो कता गए तिम्रा आश्वासन ?

मानव बेच बिखनको प्रसंग र बेल्जियमको राजनिति

बेल्जियममा दियो युनिटीले सास्ती, प्रहरी कागजपनि शंकास्पद

तपाइँको प्रतिक्रिया