महामहिमको धम्की र मैले भोगेको नेपाली दुतावास
∙ सोमना थारु / बेल्जियम
म एउटा साधारण मजदुरी गरेर जिविकोपार्जन गर्ने साधारण नेपाली । नेपालको सोझा लाटा सरल इमान्दार जे भने पनि थारु जातिको छोरो । म कुनै पत्रकार होइन । कुनै लेखक पनि हैन । नेपालको कुनै शिक्षण सस्थाबाट स्नातकको प्रमाण पत्र बाहकभन्दा म केहि होइन । मलाई कलम चलाउन खासै त्यस्तो ज्ञान, शिप, कला र बानी छैन ।
आफु नेपाली भएको नाताले नेपाल र नेपाली प्रति माया छ । यस कारण बेल्जियममा बसाइ सरेको एक दशक भन्दा अलि कति बढी भैंसक्दा पनि अझै यहाँको समाचारका पाना हरु पल्टाउनु भन्दा नेपालकै चिन्ताले पिरोल्छ । त्यसैले होला, नेपाली समाचारको पानामा आँखा पल्टाउन उचित लाग्छ । नेपाली पत्रिकाहरु पढदा नेपाल तिरका विभिन्न घटनाहरुको जानकारी पाइन्छ । नेपालको अहिलेको संकट ग्रस्त राजनीतिक स्थितिको बारेमा एउटा सचेत नेपाली नागरिकले चासो राख्नु स्वाभाविक नै हो । त्यस लगायत युरोप तिर भए गरेका नेपालीहरुको गतिबिधिको बारेमा यहाँका नेपाली मिडियाहरुले छाप्ने बिषयहरु पनि हामी नेपालीको लागि सचेतना मुलक नै मान्न सकिन्छ ।
मैले माथिनै बताई सकेको छु, म कुनै पत्रकार वा लेखक होइन । तर कहिलेकाहीं जानी नजानी फुस्रे किन नहोस कलम चलाउन बाध्य भइँदो रहेछ । यहाँ निर मैले प्रसंग नेपाली दुतावासको नै जोडन चाहेको हुँ । पूर्व राजदुत प्रमेश कुमार हमाल कुटनीतिक हिसाबले सक्षम मानिन्छन । तर उनको कार्यकालमा पनि विगतमा जस्तै नेपालीहरुले बिना कारण त्यहाँका कर्मचारीहरुबाट अनेक झन्झट व्यहोर्नु परेको कुरा सर्व विदितै छ । नेपाली दुतावासले नेपालीहरुलाई दिने समस्या, झमेलाको बारेमा म लगायत अन्य कतिपय सचेत नेपालीले तत्कालिन राजदुत प्रमेश कुमार हमालको कार्यकालमा नउठाएको हैन । त्यति बेला म आफुलाई राजदुतवासले दिएको बिना कारणको झन्झटको बारेमा नेपाल प्लसमा छापिए पछी मेरो काम तुरुन्त फत्ते भएको थियो ।
एक पटक राम कार्की फ्रान्सको राजदूतमा प्रस्तावित भए रे भन्ने सुन्दा यता तिरका माओवादी समर्थकहरु उत्साहित बनेका थिए । तर उनको एग्रिमो माथि अन्यले जाल झेल गरेर उनलाई फ्रान्सको राजदुत बन्ने बाटो बन्द गराएका थिए । त्यसपछि फ्रान्स र बेल्जियमका मात्रै हैन नेपाल र अन्य मुलुकका वहाँका शुभ चिन्तकहरु निरास भए । अहिलेका महामहिम राजदुत यहाँ कार्य भार सम्हाल्न आउनु अघि नै हामीले मिडियाहरुबाट थाहा पायौं, एनेकपा माओवादीको सिफारिसमा राम मणि पोखरेल भन्ने मुन्छे राजदुत भएर आउने भो । तत्कालिन अवस्थामा नैतिक रुपमा एनेकपा माओवादीलाई समर्थन गर्ने भएको हुदाँ खुसि नलाग्ने कुरै भएन ।
मार्क्सवादी सिद्धान्त बुझेको, माओवादी विचार बोकेको मुन्छे । बेल्जियममा राजदुत भएपछी यहाँका नेपालीहरुको दुख सुखमा साथ् दिनु होला । सबै नेपाली, नेपाली संघ संस्थाहरुलाई सामन्जस्य गरेर लैजानु होला भनेर हामीले निकै ठुलो आशा र विश्वास गरेका थियौ । तर हाम्रो आशा र भरोशा सबै निराशा भए । जब उनले गणतन्त्र दिवस मनाउदा कसैलाई काखा र कसै लाइ पाखा गरे । राज्यको ढुकुटी आफ्नो खल्तीमा पार्न गणतन्त्र दिवस मनाउँदा विभिन्न संघ संस्थालाई बोलाए । अलि अलि जुस र रक्सि पिउन दिए । तर उनले बोलेको कुरा पुरा गरेनन । अर्थात् उपस्थित भैंदिनलाइ अरुलाई के के वचन दिएका थिए । त्यो झुठो साबित भो । आफ्नो स्वार्थ पुरा गर्न झुठो बोलेका रहेछन । प्रमाणित भो ।
जनजाती बिरोधी भावना
प्रसंग जेष्ठ १४ भन्दा अगाडिको हो । नेपाली आदिवासी जनजाति संयुक्त संघर्ष समिति वेल्जियमले वेल्जियम दुतावास मार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई राज्य पुनर्संरचना तथा राज्यको शक्ति बाँडफाँड विषय समितिले तयार पारेको प्रतिवेदनको आधारमा राज्यको पुनरर्संरचना हुनु पर्दछ भनि दवाव दिने उद्धेश्यले वेल्जियमका लागि नेपाली महामहिम राजदुत राममणी पोखरेल लाई ज्ञापन पत्र हस्तान्तरण गरेको थियो । ज्ञापन पत्र हस्तान्तरण गरिसकेपछि केही समिक्षा भयो । कार्यक्रमको पहिलो चरणमा परिचयात्मक कार्यक्रमका साथै इच्छुक साथीहरुले ज्ञापनपत्र हस्तान्तरणको उद्देश्य वारे प्रकाश पार्नुभयो । दोस्रो चरणमा संयूक्त संघर्ष समितिका अध्यक्षले मन्तव्य सहित ज्ञापनपत्र पढेर सुनाउनुभयो । राजदुत पोखरेललाई ज्ञापनपत्र हस्तान्तरण गर्नुभयो ।
त्यसपछि राजदुत, त्यहां उपस्थित मन्त्रालयकी उच्च ओहदाकी कर्मचारी र दुतावासका एक जना कर्मचारीले पालै पालो आआफ्ना धारणा राखे । राजदुतले बोल्ने क्रममा “तपाईहरुले चाहेजस्तो एकल जातीय पहिचान सहितको संघीयता सम्भव छैन । तपाईहरु मिश्रीत पहिचानमा सहमतिमा आउनु पर्दछ” भन्नुभएको थियो । हामीले त्यसमा पहिलेनै असहमति जनाइसकेका थियौं । वहाँले थप भन्नु भो “म पोखरेलको छोरा भएकोले एउटा लिम्बुले मलाइ लात्ताले हान्यो ।” यस्तो भनाइले कसले जातीय सदभाव भडकाउने कोशिस गर्दै छ ? घाम झैँ छर्लंग छ । अनि अस्तिको राजदुतावासको विज्ञप्तिमा भनिएको छ “जातीय सदभाव खल्बल्याउने काम नहोस ।”
माओवादीको विचार बोकेको मुन्छे । जातीय समस्या पनि वर्गीय समस्या हो भन्ने सिद्धान्त बुझेको पार्टीको मुन्छे । त्यसमा पनि राजदुत जस्तो मुन्छेले के यस्तो बोल्न सुहाउँछ ? उनको मनमा जातीय बिरोधी भावना भए पनि कुटनीतिक पाराले राखे हुन्थ्यो नि । उक्त कार्यक्रममा मन्त्रालयकी कर्मचारी भन्दै थिइन “यो जात जातीको राजनिती गर्नु हुँदैन । जातीय सद्भाव खल्वल्याउन हुँदैन ।”
त्यस्तै गरेर दुतावासका एकजना कर्मचारी भन्दै थिए “विश्वमा भएका हिंसाहरु मुख्यत जातीय कारणलेनै भएका छन् ।” हामीलाई यस्तो भान भयो की यो दुतावास नेपालमा भइरहेको अग्रगामी आन्दोलन विरोधीहरु वस्ने कुनै घर हो ।”
अन्याय को बिरोध
पहिलेका राजा रजौटा, प्रशासक, कर्मचारीहरुले आफुले जे चाहे त्यहि गर्दथे । ति शासकहरुले अन्याय अत्याचार, शोसण, दमन गरिरहन्थे । कसैलाई धम्काएर । कसैलाई फकाएर आदि आदि । राजदुत महोदयको पृष्ठभुमि नेपालको सामन्तवादी राज्यसत्ताको बडा हाकिम रहेछ । त्यसकारण वहाँको पहिलाको रवाफ अझै हटीनसकेको देखिन्छ । यहाँका जनजातिहरुले, अग्रगामी शक्तिहरुले अन्याय र भेदभावको बिरोध गरेका हुन् । के बिरोध गर्न नपाउनु ? के अन्यायको बिरुद्ध आवाज उठाउन नपाउनु ? बिरोध गर्नेलाइ कारवाही को धम्कि ? यो कुन दुनियाँ हो ? अहिलेको नेपाल गणतान्त्रिक लोकतान्त्रिक नेपाल हो । अहिलेका सचेत जनतालाई धम्काएर कोहि धम्किने वाला छैनन् । यो राणा शासन होइन जहाँ बांगो रुख देख्दा देख्दै पनि “सोझो छ बाबु साहेब” भन्न कर लाग्थ्यो । राजदुतले पटक पटक जनजाती बिरोधी मनसाय ओकलेको र झुठो कुरा बोलेको हुदाँ यहाँ विज्ञप्ति माथि विज्ञप्ति र लेख माथि लेख को चाङ परिरहेको छ ।
(प्रतिक्रियाहरु ब्यक्ति केन्द्रित, ब्यक्तिगत गाली गलौज र बेक्कारका लान्छनाले भरिएका भन्दा नितिगत, लेखका विविध पक्षमा केन्द्रित भएर शिष्ठ भाषामा राख्नुहोला । अन्यथा तपाईका प्रतिक्रिया मेट्न बाध्य हुनेछ । छलफल चलाउनुहोला । लेखका कमीकमजोरीहरु केलाउनुहोला। दुतावासका थप बेतिथी, सास्ती र अन्य लुकेका चर्चायोग्य सूचना राख्नुहोला । तपाईसित अन्य क्षेत्रका सूचना छन् तर वास्तबिक नाममा छाप्न चाहनुहुन्न भने मलाई मेल [email protected] मा खबर गर्नुहोला । तपाईको सामाग्रि सत्य छ भने परिचय गोप्य राखेर छापिने छ । तर मसित सम्पर्क हुनु जरुरि छ । अथवा भरोसायोग्य लाग्नु पर्ने छ-नेपालप्लस)




