भारतलाई गलाउन माओवादी सफल
● राजन कार्की
एकिक्रित नेकपा माओवादी भारतसित झुकेको ? बेक्कारको कुरा । माओवादीले बरु भारतलाई झुकाएको । बबन्डर ताते यो सुनेर ? पहिले तर्क र प्रमाण त हेर्नुस् । संसदिय ब्यवस्थामा आउनु अघि सबैभन्दा ठूलो शत्रु को थियो माओवादीको ? बाबुराम भट्टराई नेपालको सामान्तवाद भन्थे । अर्थात दरबार र त्यससित मिलेर वा त्यसको आडमा जनतालाई चुसेर खाने कुलिन वर्ग ।
प्रचण्ड चाहिँ प्रमुख शत्रु भारत भन्थे । तर पार्टीमा प्रचण्डकै निति पास हुन्थ्यो । त्यसैले नेपालको प्रमुख शत्रु भारत घोषित गरेर सुरुङ युद्द शुरु भो । त्यो शुरु नहुँदै जनयुद्दको पक्षमा समर्थन लिन खोजे । टेर्यो भारतले ? केहि गर्दापनि माओवादीका पक्षमा भारत नलागेपछि न घोषणा भएको हो, सुरुङ युद्द ।
सुरुङ युद्द लड्ने घोषणा भो । कार्यकर्ताहरुलाई बिकट पहाडी बस्तिका डाँडा काँडामा भ्वाङ खन्न निर्देशन दिए । बिचरा सोझा कार्यकर्ताहरु लुकि लुकि खन्न थाले खाडल । उता त्यो बेला भारतसित मोल मोलाई (बार्गेनिङ) चलिरहेको रहेछ भित्र भित्रै । संविधान सभाको निर्वाचन गराउने, राजतन्त्रलाई मास्ने भनेर बाँकि दललाई दबाब देउ भन्दै लेनादेनापनि भएकै रहेछ । माओवादी झुकाउन सफल भो भारतलाई । पहिले माओवादीको नाम सुन्नासाथ नटेर्ने भारत अब कांग्रेस र एमालेलाई माओवादीका एजेन्डामा झुकाउनपनि सफल भो ।
तिनै सेरोफेरोमा १२ बुँदे सम्झौता गरे माओवादीकै चाखमा दलहरुले । त्योपनि भारतमै । यहाँ फेरी झुकायो माओवादीले भारतलाई । किनभने संविधान सभाको निर्वाचन गर्न पटक्कै नमानेका नेपाली कांग्रेस र एमाले सहमत भए । माओवादी, नेपाली कांग्रेस, एमाले लगायतका दल एक ठाउँमा मिलेर तेस्रो जन आन्दोलन गर्नु पर्छ भन्ने माओवादी नितिमा माओवादीहरुले फेरी भारतलाई झुकाए । र त सबै दल एक ठाउँ जम्मा भए ।
संविधान सभाको निर्वाचन भयो । माओवादी मुख्य दल बन्यो । सरकार सुम्पिन अनेक बखेडा झिकिएका थिए । अनेक खेल र दबाबमा माओवादी सरकार बन्यो । तर भारतसित चुरिफुरी गर्छु भन्दा प्रचण्डले छोड्नुपर्यो । त्यतिबेला “सेनापती कटुवाललाई बर्खास्त गर्नु बहादुरी हो, भारतसित झुकिएन ” भने । तर पछि त लौ “गल्ति थियो कटुवाललाई बर्खास्त गर्नु ” भन्दै प्रचण्डले भारत भक्ति देखाइहाले । योपनि भारतलाई झुकाउने एउटा तुरुप यस्सो मिल्काएका थिए ।
तर केहि समय एमालेको सरकार बनेपनि त्यसलाई फ्याँकेर फेरी झलनाथको नेत्रित्वमा एमाले सरकारनै बनाउन सफल भए । तर टिक्ने पारा देखिएन । किनकि भारतले अब बाबुराम भट्टराईलाई च्याप्ने संकेत देखायो । प्रचण्डका अगाडि खुम्चिने गरेका भट्टराई भारतको हरियो बत्तीले चमक दिन थालेपछि टक्कर लिन थाले प्रचण्डसित । दलहरुले एकै स्वरमा भने “यो प्रचण्ड हुन्न, बाबुराम भट्टराई हुने भए सर्वसम्मत प्रधानमन्त्री स्विकार्छौं’ । ” यतिबेला सम्म बाबुरामले भित्र भित्रै भारतलाई निकै गलाईसकेका रहेछन् । त्यसैले बाबुरामका पक्षमा सारा दलले सर्वसम्मत उम्मेदवार स्विकार्न तयार भए ।
पालुङटार भेलामा बैध्या बा सित मिलेर नितिगत रुपमा जितेका प्रचण्ड कार्यगत रुपमा भट्टराईसित मिले । हुँदा हुँदा बरु बिमानस्थल सुरक्षा भारतलाई दिने । बिप्पा सम्झौता गर्ने । सिमा अतिक्रमणका मुद्दा नउठाउने । भारतलाई गलाउन सफल भएकैले हो नितिगत रुपमा सबैभन्दा दुरीमा रहेको माओवादीसित मधेशी दलको सहकार्य । मधेशीलाई सेनामा हुल्ने भन्दै छद्म रुपमा भारतीय लडाकूलाई नेपाली सेनामा हुल्न राजी भए । नागरिकता बितरणका नाममा भारतीयहरुलाई हुल्नैका लागि खुकुलो भैदिए । आफ्ना पक्षमा नलागि नहुने बनाएर भारतलाई थप गलाए । जसले गर्दा भारतले सधैं माओवादी सरकारलाई सहयोग गरोस् ।
हुँदा हुँदा पछिल्लो चरणमा त राष्ट्रपती र भारतीय दूत करन सिंहलाई गलाएर माओवादीले एमाले र नेपाली कांग्रेसलाई नै चुनौति दिन सफल भएको छ । भारतलाई गलाएर उसले राष्ट्रपतीपनि माओवादी सरकारलै निरन्तरतामा अन्टोसन्टो क्रियाकलाप र बोली मार्फत सहयोगि बनेका छन् । यसरि भारत मार्फत राष्ट्रपतीलाई गलाउन सफल हुनासाथ माओवादीले नेपाली कांग्रेस र एमालेलाई हाकै भनेको छ ‘हाम्ले भनेका, राखेका शर्त माने तिमेरुलाई सरकार बनाउन दिने बारे छलफल गर्न सकिन्छ (दिनेनै त हैन, छलफल मात्रै) । नत्र यो सरकारले कुनै हालतमा छोड्दैन ।
(लेखक रेडियो पत्रकार हुन् )




