चौबिस घण्टा नबित्दै कांग्रेस र एमाले थाङ्नामा
एक्कासि प्रचण्डले कसरि ‘लौ ल्याओ तिमेरको प्रधानमन्त्री’ भने ? सुन्दै पत्यारिलो थिएन । तर मन्त्री हुन खुट्टो उचालेका कांग्रेसका लोभीहरुले सोझा सुशील कोइरालालाई उचाले “अब प्रधानमन्त्री तपाइनै हुनुपर्छ सुशील दा” भन्दै । पत्याए सुशीला दाजुलेपनि । प्रचण्डलेनै लौ ल्याओ भनेपछि नपत्याउनुपनि कसरि ? रातारात कांग्रेसको केन्द्रिय समिति बैठक बोलाएर सर्वसम्मतीले त्यो निर्णय गरे । अब प्रधानमन्त्री सुशील हुने भए भनेर पक्कापक्की गर्दै मुख्य पार्टीहरुको बैठकमा प्रस्तुत भएका एमाले र नेपाली कांग्रेसलाई माओवादी अध्यक्षले तत्कालै लोप्पा खुवाए । भने ‘कहाँ हाम्ले तत्कालै प्रधानमन्त्री दिने भन्या हो र ?’ एमाले र कांग्रेसका नेता त्यहिँ हेराहेर गरे । जिल्लिए ।
प्रचण्डले नेपाली कांग्रेसमा खेल्न, नाडी छाम्न र को को लोभी छ पदको भनेर देखाउन त्यसो गरेका थिए । प्रधानमन्त्रीको चारो फाल्नासाथ शेरबहादुर देउवा र रामचन्द्रको वाकयुद्द र तानातानपनि शुरु भो । तर सुशीललाई बनाउने भनेपछि दुबै चाउरिए । उता प्रचण्डले प्रधानमन्त्रीको चारो फालेपछि बल्ल एकिक्रित नेकपा माओवादी पदाधिकारीहरुको बैठक बसेको न हो । नेपाली कांग्रेसमा झैं अलि मनपरि गर्न माओवादीमा आजकाल अलि दिँदैनन् । प्रचण्डले एक त चारोनै फालेका थिए । वास्तबिक लागेरै भनेको भएपनि पदाधिकारीहरुको बैठकले मान्नेवाला थिएन । नभन्दै माओवादी पदाधिकारीहरुको बैठकले नेपाली कांग्रेसका सभापती सुशीललाई सर्लक्क प्रधानमन्त्री नदिने निर्णय गर्यो ।
नेपाली कांग्रेस र एमाले कति विश्वस्त भए प्रचण्डका हावादारी प्रस्तावमा भने प्रचण्ड निवास लाजिम्पाटमा हिजो बसेको शीर्ष नेताहरुको बैठकमा कांग्रेसले आफूहरुको उम्मेदवार सुशील कोइराला भन्दै सरकार गठनमा सहयोग गर्न शुरुमै प्रस्ताव गर्यो । एमालेले त्यसैलाई समर्थन गर्ने जनायो । तर माओवादीको पार्टीगत निर्णय त अर्कै भैसकेको थियो । एमाओवादीले भने “प्याकेजमा सहमति भएपछि मात्र सहमतीय सरकार गठनको आधार बन्छ ” भनिदियो । कांग्रेस र एमाले हेरेको हेर्यै ।
प्रधानमन्त्री बनाइहालुम् अनि अरु विषयमा सल्लाह गर्दै जाउँला भन्ने एमाले र कांग्रेस । हैन पहिले संविधानसभा निर्वाचनको मिति तोकौं, निर्वाचनका लागि कानुनी र संवैधानिक अड्चन हटाउँ, निर्वाचन क्षेत्र र संविधानसभा सदस्य संख्या टुङ्गो लगाउँ, संविधानका सहमती हुन नसकेका बाँकि विषयमा सहमती जुटाउँ, संवैधानिक निकायका रित्त पदमा पदपूर्ति कसरि गर्ने हो सहमती गरौं, अनि बल्ल प्रधानमन्त्री पद छोड्न सकिन्छ” भनिदिए प्रचण्डले । बुधबार बिहानसम्म लौ अब नेपाली कांग्रेसको सरकार बन्ने भो भनेर सुरुवाल किन्ने सुरसार गर्दै रहेका नेतालाई प्रचण्डले २४ घण्टा नबित्दै यसरि थाङ्नामा सुताए ।
कांग्रेस र एमालेले “सहमतीय सरकार गठनपछि सबै विषयमा सहमति गर्न सकिने ” बताए । तर माओवादीले फेरी “पहिले हाम्ले भनेका विषयमा सहमती गरौं, तब बल्ल सरकार छोड्न सकिन्छ ” भनिदियो ।
यस्तो किन भो त ?
मुख्य कुरो के हो भने सबैको मुख्य उद्देश्य सरकार चलाउने । अर्थात् कुर्सी मोह । माओवादी छोड्न नचाहने । एमाले, कांग्रेस र मधेशी दललाई नभै नहुने । अर्को कारण, संबिधान छैन । संबिधान सभा भंग भो । राष्ट्रपतीलेपनि जबरजस्ति सहयोग गर्लान जस्तो देखिएन एमाले र कांग्रेसलाई । भारतलेपनि माओवादीलाईनै च्याप्यो । अब माओवादी सरकार हटाउन त हत्त पत्त नसकिने भो । माओवादी र मधेशी दल मिलेर वर्षौं ढुक्कले खाने भए । यहि सरकारले निर्वाचन गरे झन खत्तम पार्छ होला । सरकार बाहिरकालाई यहि चिन्ता । उता माओवादीलाई ? संविधान सभाको निर्वाचन पछि नेपाली कांग्रेसले तिन महिना हल्लाएको हैन सरकार नछोडेर ?
माओवादी ठूलो दल हुँदापनि नछोडेको । अहिले राष्ट्रपती नेपाली कांग्रेसकै । प्रधानमन्त्रीपनि कांग्रेसकै हुँदा के होला ? सल्लाह गरिगरि वर्षौं सरकारमा टाँस्सिन्छन् । न संविधान । न निर्वाचन । माओवादीलाई सत्यानाश गर्नतिर लाग्छन् बा दिनुहुन्न । अहिलेको समस्या यहि हो । र एकिक्रित नेकपा माओवादीका अध्यक्ष प्रचण्डले जहाँ जाँदापनि स्पष्ठ भन्ने गरेका छन् “नेकपा माओवादीले सरकार ज्यानजाला छोड्दैन, छोड्नुनै हुन्न । बास, बुझे हुन्छ, सरकार हत्तपत्त कांग्रेस वा एमाले कसैलेपनि पाउँदैनन् । उहि मुख मिठ्याउने, सुशील जस्ता सोझालाई खुइल्याउने मेसो मात्रै हो यो ।




