अब खुईलिने पालो सुशील कोइरालाको
हाम्रा एकखाले नेता छन् जसको कामनै यस्सो आशा गरेका, स्वच्छ मानिएकालाई बदनाम गराउने । केहि बौद्दिक, केहि पार्टी भित्रका विश्वाशिला र नजिक भनिएकाहरु आफ्नो सिमित स्वार्थकालागि ज्यान फालेर लाग्छन् कुर्सी दिलाउन । सक्दै नसक्ने, संभवनै नभएको बेला, प्रतिकूल स्थितिमा पदमा बसाउँछन् र तिनको साख खुइल्याउन थाल्छन् । बाबुराम भट्टराईलाई मज्जाले खुइल्याइसकेपछि (वा खुइलिएपछि) अब स्वच्छ छबी भनेर चिनिएका कांग्रेस सभापती सुशीलकोइरालालाई खुइल्याउन केहि कांग्रेसी र बौद्दिकहरु कम्मर कसेका छन् । उनलाई प्रधानमन्त्रीको पदमा हाइ हाई गर्दै उचाल्नु उनलाई बदनाम गर्ने मेसो हो ।
प्रधानमन्त्रीको कुर्सीमा शेर बहादुर देउवा र रामचन्द्र पौडेलको सधैं मारामार हुने गरेको छ । जब सरकार परिवर्तनको चर्चा चल्छ यि दुई काटामार गर्न थालिहाल्छन् । आफुले पाउन भन्दापनि अर्कोलाई नदिन कम्मर कसेर लागेका हुन्छन् । शेर र रामचन्द्र सुशीलका ढोकामा लम्पसार पर्छन् “प्रधानमन्त्रीको आधिकार उमेदवार मलाई घोषणा गरिपाउँ प्रभू” भन्दै । आआफ्ना चौकिदार, ढोके, हुक्के, चाकरीबाज र मन्त्री पद ताकेर बस्नेहरु आआफ्नै तरिकाले लाग्छन् यि दुईको पक्षमा शंख बजाउन । सुशीललाई सधैं हत्ते । त्यसैलेपनि हुनुपर्छ, बुढा सुशील आजित भएर ‘ल त’ भन्दै आफैं उठ्ने दाउ गरेका छन् । तर यो राम्रो संकेत होइन ।
सुशील कोइराला छक्कापञ्जा उति जान्दैनन् । यि गिरिजा जस्ता हक्की पनि छैनन् । जिवनभर देश र जनता भन्दै विवाह गर्न सम्म नभ्याएका उनले पद र पैसामा लामो हात गरेनन् । बरु पार्टीको बफादार भैराखे । रोलक्रमले गिरिजा प्रसाद कोइरालापछि उनै सभापती बने । त्यो बेलापनि सामान्य सुबिधाको डेरामा, किताबकापी असरल्ल भुइँमा मिल्काएर सादा जिवन बाँचेकाथिए । पछि महराजगञ्जको त्यो सुबिधामा नेपाली कांग्रेसका कार्यकर्ताले जबर्जस्ति लगेर बसाए । ब्यक्तिगत स्वार्थ र सम्पत्तीमा यति स्वच्छ नेता एकदम कम छन् । यस्ता नेतालाई उचालेर अहिलेको कठिन अवस्थामा प्रधानमन्त्रीको कुर्सीमा राखिदिएर के होला ? केहि नेताको स्वार्थ सिद्द हुने छ । उस्तै परे लोभी पापीहरुले यिनलाई उचालेर कुन कुन आर्थिक खाडलमा जाक्छन् र आर्थिक रुपलेपनि बदनाम गराउँछन् । आफु गुन्द्रीमा पल्टिने गरेको यो बुढालाई उस्तै परे भ्रस्टाचारी भनेर बदनामा हुने काममा फसाउन बेर छैन ।
अझ महत्वपूर्ण कुरो त के भने अहिले देशमा संविधान छैन । राज्यको के कसरि पूनर्संरचना गर्ने टुंगो छैन । कस्तो खालको संघिय शासन रोज्ने स्पष्ठ छैन । दलहरु आफ्नै दलभित्र बिभाजित छन् यि विषयमा । नेता र दल देखेर जनता अहिलेनै आजित भैसकेका छन् । उनी प्रधानमन्त्री भएपनि उनलाई केहि गर्न दिँदैनन् । सबैभन्दा ठूलो तगारो उनैको दलका कुर्सीप्रेमी बन्न बेर छैन । उनैको दलका नभए एकिक्रित नेकपा माओवादीले सजिलै नेपाली कांग्रेसलाई सफल हुन दिन्न । उसित सेना छैन, आफैले दश वर्ष लडेर ल्याएको संविधान सभा छैन । जुझारु कार्यकर्ता छैनन् । यस्तो बेला अब संसदिय कुर्सीपनि सुशीललाई राम्रोसित चलाउन दिएर एकिक्रित माओवादीले गर्ने के ? दलहरु सबैले आफु सरकार बाहिर बस्दा असहयोग गरेको तुस आफ्नो पालामा बदला लिने संस्क्रितिनै बसेको छ । मधेशी दलको तगारो त कुर्सीकालागि जेसुकै गर्ने हुन्छ नै । अनि यि सोझा सुशील कसरि सफल हुने ? के गर्न दिन्छन् ? संविधान सभाको निर्वाचनमा पराजित भएकाले जनमतको अनादार भो भन्ने आरोप पनि बेक्कारमा लाग्छ । यो बुढोपनि पदको लोभी रैछ भनेर प्रधानमन्त्री बनाउँ भनेर प्रस्ताब गर्नेहरुलेनै गीत गाउन थाल्छन् ।
बरु यो बेला सुशीलले गर्नुपर्ने त पार्टीसुधार हो । किनभने नेपाली कांग्रेस एक छ भनेपनि छैन । बिबाद यथावत छ । तानातान र विवाद हेर्दा अलग पार्टीजस्तो देखिन्छ । यहि हालतमा चुनावमा गए नेपाली कांग्रेसको हालत पत्ला हुन्छ । त्यसैले नेपाली कांग्रेसले जानेदेखि अहिले सुशील कोइरालालाई सरकारमा पठाउनै हुन्न । केहि समयमा निर्वाचन त पक्कै हुन्छ हुन्छ । त्यसकोलागि अहिलेदेखिनै पार्टी सुधारेर गए न चुनावमा कांग्रेसले राम्रो गर्ने हो । झन जनजातिका नेताले पार्टी छोडेर गएकाले अहिले कांग्रेसको हालत झन कमजोर छ । यस्तो बेला कांग्रेसलाई पार्टीसुधारेर लाने गतिलो नेत्रित्वको खाँचो छ । त्यसकोलागि सुशीललाई पार्टी निर्माणमा खटाउनुपर्ने हो । तरकांग्रेसीहरु उल्टो गरिरहेकाछन् । पार्टीमा खट्नुपर्ने, स्वच्छ र सिधा भनिएका सुशील कोइरालालाई प्रधानमन्त्री बनाएर बदनाम गर्न खोजिरहेका छन् ।




