जनजातिकै नाम मेटाएर कसरि मान्य होला र ?

श्री प्रसाद गुरुङ / बेल्जियम

सन् १९६४ मा म धारनस्थित बेलायती क्याम्पमा काम गर्थें । त्यहाँ मेरो सानो ब्यवशाय थियो । मेरा बुवा, हजुरबुवा सबै बेलायती सेनामा थिए । बुवा सार्जन क्लर्क हुनुहुन्थ्यो । मेरो बाजे, दाजु सबै बेलायती सेनामा हुनुहुन्थ्यो । हामी बेलायती सेनामा भएका नेपालीलाई चाहिँ नेपालमा खुब् हेपिन्थ्यो गोरखा भनेर । बेलायती सेनामा भएका  गोर्खालीहरु बेलायती उपनिबेश भएका देशहरु, बेलायतको झण्डा फहरिने ठाउँहरुमा पुग्दा, जस्तै हङकङ, अष्ट्रेलिया, ईन्डिया जहाँ जहाँ पुगेपनि सम्मान गरिन्थ्यो । भिसी पाउनेहरुलाई स्यालुट गर्थे ति देशमा पुग्दा । तर उनीहरु काठमाडौं ओर्लिनासाथ बिमानस्थलमा हेप्ने गरिन्थ्यो । तिनले ल्याएका हुस्की, ब्रान्डी खोसिदिने गर्थे । फुटाइदिन्थे । भारतीय सेनामा भएका नेपालीलाईपनि त्यसै गर्थे । नेपाल छिर्दा भन्सारका नेपालीले एकदम हेप्थे । आफ्नो घर परिवार त्यागेर, देश, भाषा, संस्क्रिति र संस्कार छोडेर बिदेश गयो । आर्काको मुलुक गएर दुई चार पैसो कमाउन खोज्दापनि बदनाम गर्थे ।

पहिलो विश्व युद्दमा थाहै नदिकन युरोप ल्याएछन् धेरै नेपालीलाई । ति इपरमा मारिए । तिनको बारेमा रामबहादुर गुरुङ लगायत केहि साथीहरुले अध्ययन गर्नु भयो । त्यसको तथ्याङ्कहरु बाहिर ल्याएर सार्वजनिक गरिदिनु भयो । उहाँले त्यो सार्वजनिक गरेपछि भूतपूर्व सैनिक संगठन (गेसो) का सल्लाहकार चन्द्र गुरुङले फोन गरेर रामबहादुर गुरुङलाई धन्यावाद दिनु भो, प्रशंसा गर्नु भो ।

राम बहादुर गुरुङकै सोधखोजपछि त्यहाँ मारिएका नेपालीको सम्मानमा तमु समाज बेल्जियमले वार्षिक रुपमा श्रद्दान्जली सभा गर्दै आएकोपनि हो । केहि वर्ष त्यो हुन सकेन सांगठनिक कमिकमजोरीले गर्दा । तर ईपरका बारेमा सोधखोज गर्ने, सत्य तथ्य बाहिर ल्याउने काम तमु समाजलेनै शुरु गरेको हो । तमु समाजले श्रद्दान्जली गर्दापनि सबै नेपालीलाई निम्ता दिने गर्थ्यो । त्यहाँ जानको लागि यातायातको सुबिधापनि आफ्नै खर्चमा गर्थ्यो । त्यसको घाटा साटा सबै तमु समाजलेनै ब्यहोर्दै आएको छ । यो वर्षपनि तमु समाजले केहि ठाउँबाट बस राखेको थियो त्यहाँ जान ।

त्यहाँ ११ नोभेम्बरका दिन ११ बजे, ११ मिनेट ११ सेकेन्ड जाँदा श्रद्दान्जली सभा गरिन्छ । यो वर्षपनि भयो । त्यहाँको मेयर कार्यालयले त्यहाँ जुन जुन देशका सेना आएर लडे त्यो देशका प्रतिनिधीलाई बोलाउँछ । त्यो कार्यक्रममा भारतका राजदूत देखि राजकुमार फिलिप सम्म देख्यौं । हामी धेरै नेपाली त्यहिँ थियौं । तर हाम्रो देशको त कोहि प्रतिनिधी देखिएन । त्यहाँ सरकारी तर्फको श्रद्दान्जली सम्पन्न भैसकेपछि हामीले श्रद्दान्जली राख्यौं नेपालीको तर्फबाट । अधिकांश जनजातिका साथीहरु थियौं । हामी चार बजेसम्म बस्यौं । तर यसमापनि दुतावासका तर्फबाट कोहि सहभागि भएको थिएन । तर पछि दुतावासको बिज्ञप्ती पढ्दा त अचम्म लाग्यो । त्यसमा महामहिम राजदूतले श्रद्दान्जली ब्यक्त गरेको भनेर लेखेको रैछ । हामीले जानेनौं, उहाँ कसरि र कतिखेर जानु भो ? कुनै नेपालीले त देखेको थिएन त्यहाँ । त्यो उहाँलेनै जान्ने कुरो हो ।

त्यो दिन रद्दान्जली मनाइरहेका बेला तमु समाजकै पूर्व अध्यक्ष महासचिव युवराज गुरुङले तमु र अन्य जनजातिको मान मर्दन गर्नुभयो । उहाँले त्यहां गुरुङको नाम लिएर अन्य जातिका मान्छेपनि आएर लडेको भन्ने अभिब्यक्ति दिनुभयो । यो पुरै जनजातिमाथिको अपमान हो । यो झुठो हो । यसको हामी तिब्र खण्डन गर्छौं । बेलायतीहरुको नियम एकदम कडा हुन्छ । उनीहरुले पुरा छानबिन नगरि लिँदैलिँदैन । यतिसम्म कि नेपाल बिदा मनाउन जाँदापनि काठमाडौं एयरपोर्ट ओर्लेपछि सिधा घर जान पाइन्थेन । उनीहरु पहिले ब्रिटिस क्याम्पमा गएर, हाँजिर भएर बल्ल घर जान पाईन्थ्यो । उनीहरुले पुरै जाँचबुझ गर्थे र बल्ल बेलायती सेनामा भर्ति हुन पाईन्थ्यो ।

स्मारक बनाउने कुरोमापनि जुन दिन छलफल भयो । त्यस दिनपनि अधिकांशले तमु समाजले अहिलेसम्म सोध खोज, श्रदान्जली सभा गर्दै आएकोले उसैले नेत्रित्व गर्नुपर्ने भनाई राखेका हुन् । तर युवराज गुरुङजीले चाहिँ एन अर एन बेल्जियमलाई अगाडि सार्नु भो । तर यो त अलि मिलेन । ईपेरमा फिल्ड भिजिट गर्न जाँदापनि एन आर एनको कोहि उपस्थित थिएन । कहाँबाट, कसरि एक्कासि एन आर एनको नाम आयो ? त्यो त ठिक भएन । हामीले अनुसन्धान गर्ने । सोधखोज गर्ने । श्रद्दान्जली गर्ने । मानिस लैजाने बस भाडामा लिई लिईकन । अनि त्यसको जसचाहिँ एन आर एनलाई दिने ? यो त भएन भनेर भनें मैले ।

दुतावासमा जुन बैठक बस्यो स्मारक समिती बनाउने भनेर त्यो दिन समिति बनेन । दुतावासले अर्को बैठक बोलाउने सहमती भो । अर्को बैठक बोलायोपनि । तर दुतावासलेनै आफैंले कुन्नी के कारण भनेर एकाएक बैठक रद्द गरेको मेल पठायो । हामीलाई लाग्यो, केहि भो होला । दुतावासमा काम पर्‍यो होला । अर्को बैठक बोलाउला । लौ पछि त राजदूतले बक्तब्य दिनु भएछ । त्यसमा त उहाँले ‘म फुर्सदै फुर्सदमा थिएँ । तर संघ संस्थाका मान्छेहरु ब्यस्त भएकोले, नआएकोले बैठक बस्न सकेन’ भनेर हामीलाई आरोप लगाएर बक्तब्य आयो । यो त भएन । हाम्रो कारणले बैठक नबसेको त होइन ।

उहाँहरुले केपनि भन्नु भो भने एन आर एनले बनाउने । नेपाली सेना भनेर राख्ने गोरखाली सेना भन्नुभन्दा । मैले के भनें भने त्यहाँ जति लड्न आए ति नेपाली त हुन् । तर गोर्खाली सेनाको नाममा आएका हुन् । त्यसैले गोर्खाली नामको ईतिहाँस मेट्न पाइन्न । ठिकै छ बरु नेपालीको नामपनि राखौं गोरखाली नाम नमेटाइकन । तर गोर्खाली सेनाको नाम मेटाउने काम त गर्नु भएन । एन आर एनले त्यो नेपाल हाउस जुन बनाउने भनेको छ त्यहि गरोस्, बनाएर देखाओस् । अरुले गरिरहेको काममा फेरि आएर अबरुद्द गर्नु त भएन ।

बेल्जियममा बसोबास गर्ने १५३ देशका नागरिकहरुको अन्तर्राष्ट्रिय संस्था छ । त्यसमा तमु समाजपनि आबद्द छ । आफ्नो भाषा, संस्क्रिति, संस्कारहरु जोगाउन, एकले अर्कोलाई पर्दा सहयोग गर्न सकुन्, आफ्नो पहिचान कायम गरुन् भनेर त्यसले सहयोग गर्छ ति संस्थालाई । तमु समाजलाइपनि त्यसले सानो तिनो सहयोग गर्छ । तमु समाज बेल्जियममा भएका त्यस्ता संस्था मध्ये अग्रणी भनेर तिनले मानेका छन् । किनभने हामी यहाँको सरकार, समाज र कानुन अनुसार दर्ता भएर बसेका, क्रियाकलाप गरेका संस्था हौं । हामीलाई तिनले आफ्ना कार्यक्रममा निम्तो गर्छन् । त्यति मात्रै होइन, यहाँको राजपरिवारको कार्यक्रममा हामीलाईपनि निम्ता पठाउँछन् । तर हाम्रै नेपाली राजदूतावासले चाहिँ हामीमाथि कारवाही गर्ने रे । हामीले राजदूतलाई स्मारकको संरक्षक बनाएर राख्न खोजेको त राजदूतबाट चाहिँ हामीलाईनै कारवाही पो गर्ने रे । हामी जनजातिमाथि कारवाही गर्ने दुतावासले ? हाम्रा संस्था नेपालमा दर्ता भएका, नेपालको कानुन अनुसर चल्ने संस्था हुन् र ? बेल्जियम सरकारको निकायमा दर्ता भएका, यहाँको प्रशासनले मान्यता दिएको संस्थालाई नेपाली राजदूतले कारवाही गर्ने ? मिल्छ ? के कारवाही गर्ने ? दुख सुख पर्दा सहयोग गर्ला भनेको त उल्टो कारवाही पो गर्ने रे ।

यहाँको क्लोज क्याम्पमा नेपालीहरु पर्छन् । तिनलाई नेपाली दुतावासले सहयोग गर्दैन । मान्छे मरे भने फूल चढाएर जान्छन् । यहि स्मारक बनाउन पनि दुतावासले कुनै आर्थिक सहयोग गर्न सक्दैन भनिसकेको छ । हामी आफैंले देशको नाममा खर्च गर्न खोजेका छौं । अनि कारवाही चाहिँ गर्ने रे । पहिले पहिले गोर्खाली सेनालाई हेपे झैं अहिलेपनि हेप्ने खोज्या हो कि ? पञ्चायतकालमा झैं गर्न खोजेको हो कि ? हामी गोर्खाली सेनामाथि सधैं अन्याय र अत्याचार गरिरहने ? पहिलेपहिले बेलायती सेनामा जाने हरेक हरेक गोर्खाली सेनाबाट राजाले  मासिक १६ पाउण्ड लिने रहेछ बेलायती सरकारसित । अहिले कसकोमा जम्मा भएको छ थाह छैन । पहिले भारतीय सरकारलेपनि खान्थ्यो रे ।

त्यो ईपरमा धेरै जनजातिकै छन् मारिनेहरु । त्यसमापनि गुरुङहरु धेरै छन् । जनजाति पछि क्षेत्रीहरु छन् । त्यसैले जसको सन्तान अढि पर्‍यो उसलाई बढि मन दुख्ने रैछ । जुन औंला बढि चोट लाग्छ त्यसैमा बढि मलम लगाइन्छ । जनजातिका मानिसहरु बढि परेकोले हामीलाई पिर, चिन्ता बढि पर्नु स्वभाविकै हो । र हामीले त स्मारक बनाएर मात्रै छोड्न खोज्यापनि हैन । स्मारक बनाइसकेपछि त्यहाँ मर्नेको परिवारलाई क्षतीपूर्ती दिनतिर लाग्ने हाम्रो सोच हो । त्यसकोलागि हामीले गेसोसित सम्पर्कपनि गरिसकेका छौं । उहाँहरु त्यसमा सकारात्मकपनि हुनुहुन्छ ।

(वार्तामा आधारित)

तपाइँको प्रतिक्रिया