झुठो बक्तब्य जारी गर्दै दिए महामहिमले कारवाहीको धम्की

बेल्जियमका नेपाली राजदूत राममणी पोख्रेल आफूसित अखितियारीनै नभएको विषयमा केहि ब्यक्ति र संस्थालाई कारबाही गर्छु भन्ने धम्कि दिएर उपस्थित भएका छन् ।  नेपालप्लसको नामनै नलिईकन नेपालप्लसलाई कारबाहीको धम्कि दिएका छन् तर सांकेतिक रुपमा (बिज्ञप्ती हेर्नुस्) । नेपाली दूतावास बेल्जियमको तर्फबाट बक्तब्यबाजी गरेर उनले पञ्चायतकालिन शैलीमा कारबाहीको धम्कि दिएका हुन् । पहिलो विश्वयुद्दका क्रममा बेलायती सेनाको तर्फबाट मारिएका नेपाली गोर्खाली सेनाको नाममा बनाउन लागिएको स्मारकको विषयमा उनले झुठो विवरणसमेत पेश गरेका छन् । उनको कारवाहीको यो धम्कीलाई तमु समाज बेल्जियमले दुख मनाउ गर्दै सोधेको छ “किन र केका आधारमा हामी बेल्जियममा रहेका संस्थालाई कारवाही गर्ने ? कतै यो उहि पन्चायती शैलीमा हामीलाई धम्काउन खोजिएको त होइन ?”

झुठो बक्तब्य

बेल्जियमको ईपेरमा सधैं झैं विश्वयुद्द रोकिएको दिन ११ नोभेम्बरमा त्यहाँ मारिनेका नाममा श्रद्दान्जली मनाउने गर्छ इपेरको नगरपालिकाले । त्यो दिन त्यहाँ लड्न आएका सेनासित संवन्धित देशका राजदूत, सरकारी प्रतिनिधीहरुलाई निम्ता दिने गर्छ । त्यसदिन तमु समाज बेल्जियमले सदा झैं ठाउँ ठाउँबाट यातायातको सुबिधा दिएर नेपालीहरुलाई लगेको थियो । श्रद्दान्जली मनाउन राजकूमार फिलिप, त्यहाँको फ्लेमिस पार्टीका सांसद,  भारतीय राजदूत, त्यहाँका मेयर, बिपक्षी दलका नेता थिए । तर नेपाली राजदूत राममणी पोख्रेललाई त्यहाँ कसैले देखेन । ११ नोभेम्बरका दिन ११ बजेर, ११ मिनेट र ११ सेकेन्ड जाँदा गरिने श्रद्दान्जली सभामा उनी थिएनन् ।

त्यसपछि फेरी तमु समाजले सबै नेपालीका तर्फबाट श्रद्दान्जली सभा राख्यो । त्यहाँ नेपालीहरु चार बजेसम्म बसे । उनी त्यहाँपनि पुगेनन् । तर पछि उनले बक्तब्य जारी गरे, ‘महामहिम राजदूतले श्रद्दान्जली ब्यक्त गरे” भन्दै । यो झुठो भएको नेपालीहरुले बताएका छन् । बरु थुप्रै देशका प्रतिनिधीका अगाडि राममणी पोख्रेलले नेपालीको बेईज्जत र अपमान गरेको आरोप लगाएका छन् । तमु समाज बेल्जियमका पूर्व अध्यक्ष तथा अहिलेका सल्लाहकार श्री प्रसाद गुरुङले भने ‘सरकारी श्रद्दन्जली सभामा हामीले अरु देशका प्रतिनिधी देख्यौं, उनलाई देखिएन । पछि नेपालीले राखेको श्रद्दानजली सभामा हामी करिब चार बजेसम्म थियौं, उनी आएनन् । पछि दुतावासको बिज्ञप्तीमा पो महामहिम पुगे श्रद्दान्जली मनाउन भन्ने लेखेको देखियो । उनी कहाँबाट कता कसरि पुगे हामीलाई थाह छैन, हामीले चाहिँ देखेनौं ।”

प्रथम विश्वयुद्धले कति क्षति पुर्‍यायो भन्ने अध्ययन गर्न बेलायतीहरूले एउटा संस्था खोलेका थिए, ‘कमन वेल्थ ग्रेभ कमिसन्स’ नामको  । उसैसित सल्लाह गरेर त्यो श्रद्दान्जली मनाउन जान सक्थे राममणी पोख्रेल । तर गएनन् । यदि गएकै हुन् भने ल त हिम्मत गरोस् नेपाली दुतावासले अन्य देशका प्रतिनिधीसितै बसेर खिचिएको फोटो सार्वजनिक गरेर देखाओस् । त्यस दिनको कार्यक्रमको भिडियो पाइन्छ अझै । लौ देखाओस् त त्यो । नत्र बन्द कोठामा कमाण्डर शैलीमा मुड्की उठाएर बक्तब्य बाजी गर्ने ? त्यो दिन लुसुक्क कसरि श्रद्दान्जली दिन गए ? शंकास्पद छ । यो पुरै आत्मकेन्द्रित ब्यक्तिबादी सोच हो महामहिम पोख्रेलको । सयौं देशका प्रतिनिधी पुगेर श्रद्दान्जली दिएको ठाउँमा नहुने । नेपालीले बोलाएको ठाउँमापनि नदेखिने, नपुग्ने । तर पछि प्रेस बिज्ञप्तीमा पुग्ने ? झुठो बोल्नुको पनि सिमा हुन्न र महामहिम ज्यु ?

कहाँ छ गाली ?

यि राजदूत मलाई म त राजनितिक ब्यक्ति भन्थे । यि पुरै प्रचण्डको ठाडो निर्देशन र चाकरी गरेर मात्रै आएका पो रहेछन् कि के हो ? राजनितिक ब्यक्ति भन्ने तर राजनितिक शब्द नबुझ्ने । तमु समाजले जारी गरेको बक्तब्यमा कहाँ छ गाली ? षडयन्त्र भन्ने शब्द गाली हो ? यो पुरै राजनितिक शब्द हो । राजनितिज्ञ र नेपाल सरकारको प्रतिनिधी संस्थासित राजनितिक शब्दमा बिज्ञप्ती जारी गर्नु सामान्य हो ।

राजदूतावास सबै नेपालीको साझा हुनु पर्ने हो । पोख्रेललाई थाह होस्, त्यो दुतावास कसैको पेवा होइन । आम नेपालीको दुख, मेहनत, पसिनाले सिर्जिएको करबाट तलब खान्छौ। तर दुतावासको बिज्ञप्ती पुरै धम्किपूर्ण छ । यस्तो प्रब्रित्तिलाई दुताबासले सहयोग गर्दैन भनेर धम्कीको भाषामा लेखिएको छ । तर तमु समाज लगायत त्यहाँका संघसंस्थाले जारि गरेको प्रेस बिज्ञप्ती  निस्पक्ष बनेर काम गरिदिनुस् भनेर उल्लेख गरिएको छ । त्यसैले जो निष्पक्ष हुनुपर्ने हो उ लडाकूको धम्कीपूर्ण भाषामा उपस्थित छ । जो तात्तिनु पर्ने हो उसको संयमपूर्ण छ । महिमहिम ज्यु, यो पञ्चायतकालिन समय हैन । र यो हैन पनि, सिस्ने जंगल छेउका कुनै गाउँलेलाई ‘तेरा खुट्टा भाँचि दिउँला’ भन्दै दिएको धम्कि जस्तो । यहाँका नेपाली कोहि डराउनेवाला छैन यस्तो बिज्ञप्तीले ।

गुरुङ मगरलाई यस्तरी हेप्ने ?

राजदूतको बक्तब्यका बारेमा प्रतिक्रिया लिन मैले तमु समाजका पूर्व अध्यक्ष र अहिलेका सल्लाहकार श्रीप्रसाद गुरुङसित सम्पर्क गरेको थिएँ । उनले अचम्मको प्रश्न उठाए । नोभेम्बर ११ का दिन श्रद्दान्जली सभा मनाउने क्रममा तमु समाजकै पूर्व अध्यक्ष युवराज गुरुङले “ईपेरमा अरु जातिका मान्छेले ढाँटेर गुरुङको नाम लेखाएका छन्” भनेका रहेछन् । श्री प्रसाद गुरुङले यो पुरै षडयन्त्रपूर्ण भनाई रहेको बताए । “यो सोह्रै आना झुठा हो । यो गुरुङ, मगर, राई, लिम्बूलाई अपमानित गर्न आएको भनाई हो । हामी यसको पुरै खारेज गर्छौं । जतिपनि बेलायती सेनामा पस्ने नेपाली हुन्छन्, तिनको बास्तबिक छानबिन र पहिचान किटान नगरि उनीहरुले लिंदैनथे” श्री प्रसाद गुरुङले भने “दुतावासले बैठक डाक्यो । हामी गयौं । तर स्मारक बनाउन भनेर जुन सैमिति बनाउने भनिएको थियो त्यो समिति बनाउने बैठकनै दुतावासले रद्द गर्‍यो । त्यसपछि त्यसको पुरै लत्तु छोड्यो दुतावासले । त्यसलाई त्यत्तिकै अलपत्र पार्नु त भएन । त्यसैले हामीले त्यसको नेत्रित्व गर्न खोजेका हौं ।”

 

राजदूत र मेरो बुझाई

तमु समाज लगायत बेल्जियमका अन्य जनजाति संस्थाले जारी गरेको बिज्ञप्तीसहित मैले समाचार बनाएँ । र सामाग्रिमा भएको विषय मध्ये भाषा मिलाएर शिर्षक राखें । त्यसलाई अझ इन्भर्टेड कमा (“) भित्र राखें । पत्रकारिताको धर्म, विषय, मापदण्ड र नियम अनि रित पुर्‍याएर गरिएको हो यो । तर फूर्सदै फूर्सदमा भएका राजदूत न परे । मुठ्ठी उचालेका भरमा सबै हुन्छ भन्ने भ्रम रहेछ कि, उनले त त्यो दुराशयपूर्ण भनेर पो लेखेका रहेछन् । दुतावासलाई बदनाम गर्ने उद्देश्यले आएको हो भनेछन् । यत्तिपनि नबुझ्ने राजदूतलाई म पत्रकारिताका मापदण्ड र प्रेस, प्रेस सामाग्रिसित कसरि ब्यवहार गर्ने, कसरि चिन्ने भनेर केहि घण्टाको निशुल्क प्रबचन दिन प्रस्ताब गर्छु । हैन भने ‘मलाई बिदेशमा राम्रोसित भिज्न आएन, मलाई अरुले लेखेको राम्रोसित बुझ्ने तालिम चाहियो’ भनेर परराष्ट्र मन्त्रालयसित वा आफ्ना नेता प्रचण्डसित माग राख्ने सल्लाह दिन्छु । अझ दुतावासलाई बदनाम गर्ने उद्देश्यले आएको हो भनेर जो कोहिले बुझ्छ भन्दै लेखेका रहेछन् । बुझ्ने आआफ्ना तरिका र शैली होलान् । मपनि महामहिमको शैलीलाई काईते, जालझेलपूर्ण, बदनियतपूर्ण, अख्तियारीको दुरुपयोग, कूटनितिक ज्ञान शुन्य, धम्की, षडयन्त्रमूलक, जालझेलपूर्ण, रुन्चे, गैह्र जिम्मेवार, बेईज्जतिपूर्ण रुपमा लिन्छु, बुझ्छु ।

उनले कारवाहीको जुन धम्कि दिए त्यसका बारेमा उनका त्यहाँको क्रियाकलाप सहित म केहि दिनमा अर्को लेख लिएर उपस्थित हुने छु । तत्कालकालागि भने धम्कीका बारेमा नेपालप्लस यत्ति भन्न चाहन्छ ‘आफ्नो थान्कामा बसेनौ भने महामहिम तिम्रो हालतपनि फ्रान्सका राजदूतको झैं बिवादस्पद हुने छ । तिमीले राज्य शक्ति पुरै हातमा लिएछौ भनेपनि नेपालप्लसको एक रौंपनि हल्लिँदैन । बरु तिम्रो नेपालदेखिको ईतिहास केलाएर आउने छ । बरु पत्रकारिताका बारेमा अलि जानेर र बुझेर ब्यवहार गर्ने गर । धमास नदेउ ।”

यसै विषयसित संवन्धित तलका लेख रचनापनि हेर्नुस् ।

बेल्जियममा स्मारक निर्माण : केहि सुझाब

बेल्जियममा शुरु भो मर्नेका नाममा राजनिति

महामहिम ज्यु झुट र चाकरीको सहाराले कतिदिन चल्ला र ?

“महामहिम भएर यस्तो झुठ र षडयन्त्रमुलक कुरो बोल्ने ?”

बेल्जियमको इपरमा टकराएको जातिय पहिचान

गुमनाम मृत्यु

बेल्जियममा मारिएका हजारौं नेपालीको चासो कसलाई ?

प्रथम विश्व युद्दमा बेल्जियमबाट लडेका नेपाली

तमु समाज बेल्जियमको सूचनापनि हेर्नुस्। तर यो चाहिँ बिज्ञापन हो ।



तपाइँको प्रतिक्रिया