किन थापे बैध्य बाले प्रधानमन्त्रीको च्याँखे ?
को हुन त राम बहादुर थापा ?
“सात दिन भित्र प्रधानमन्त्री को नाम देउ” भनेर राष्ट्रपतीले फरमान जारि गरेपछि बैध्य बा पनि जुरुक्क उचालिए । दलहरुको झिनाझप्टीमा पद कसले उछिट्याउने निश्चित नभएपछि राष्ट्रपतीले फेरी एक हप्ताको समय थपिदिए प्रधानमन्त्री छान्ने । बैध्य बाले प्रधानमन्त्रीको जुवा खालमा आफ्ना नेता राम बहादुर थापालाई थापेका छन् । बैध्य बालाई राम्ररि थाह छ, पानी बाराबार र कति नेतासित बोलचाल समेत बन्द भएको बेला नितिगत रुपमा अझैपनि निकट रहेको एकिक्रित माओवादीलेनै समर्थन दिन्न ।
भारतलाई धारे हात लगाएपछि मधेशी दलले त समर्थन गर्ने कुरै छैन । एमाले र नेपाली कांग्रेस त झन मिलिजुलि ओगट्न खोजेका छन् सरकार । अनि कसरि बैध्य बाको दिन आउने ? हामी जस्ता राजनितिका लाटाले त यो बुझ्छौं । के बैध्य बाले नबुझेर थापेका होलान् च्याँखे ? पक्कै हैन । तर पाइन्न, त्यो कुर्सीको नजिक पुग्नपनि दिन्नन् भन्ने जान्दा जान्दैपनि किन थापेका होलान् ?
बैध्य बाको मन भित्र के छ त कसले जान्ने ? तर सर्सर्ती हेर्दा के स्पष्ठ छ भने पालुङटार बैठकमै बैध्य पक्षको मत थियो, पार्टीले शषस्त्र क्रान्तिको दिशालाई अंगिकार गर्नुपर्छ । भनेपछि उनको पार्टी यो संसदिय राजनितिमा विश्वासै गर्दैन । बाबुराम र प्रचण्ड अनि झ्याँस माओवादी मिलेर पार्टीलाई संसदिय भासमै डुबाने भए भनेरै बैध्य बाको नयाँ पार्टी जन्मिएको हो । झिना मसिना अन्य कारणपनि होलान् नै । मूल कुरो यहि हो । तर त्यहि संसदिय भासमै जाक्किन किन राम बहादुर थापालाई प्रधानमन्त्रीका रुपमा अघि सारेका ?
ढिलो चाँडो कि त उनको पार्टी सक्किन्छ । कि अझ जम्दै जान्छ । फैलिँदै जान्छ । क्याँस र झ्याँस माओवादीको जति बदनाम भो उति फाईदा ड्यासलाई हुने हो । त्यसैले अहिलेको अवस्था हेर्दा ड्यास माओवादी सक्किने संभावना त देखिन्न । क्याँस झ्याँस माओवादी जति बदनाम हुँदै छ उति फाईदा बढि मात्रामा हुने बैध्य बाकै पार्टीलाई हो । तर संसदिय ब्यवस्था, अहिले भनिएको प्रजातान्त्रिक, लोकतान्त्रिक ब्यवस्थाले जनताका माग, आकांक्षा पुरा गर्न सक्दैन भन्ने देखाउन पाउनु यो पहिलो अवशर हुनसक्थ्यो । त्यहि भएर हुन सक्छ, एक पटक सरकार आफ्नो नेत्रित्वमा बनाएर देखाउँ । त्यसो गर्दा जनता र बाहिरी जगतलाई देखाउन सहज हुन सक्छ “लौ हेर हामीले कोसिस त गरेकै हो, तर यो ब्यवस्थामा जन सुधारका साना तिना काम गर्नपनि संभव भएन, त्यसैले शषस्त्र युद्दबाटै राज्यसत्ता कब्जा गर्नुको बिकल्प छैन ।” यसो भन्दै शषस्त्र जनयुद्दप्रति आकर्षण गर्न सहज होस् ।
अर्को कारण हो अन्तर्राष्ट्रिय संवन्ध सुधार्ने मेसो । लामो समय बैदेशिक बिभागको प्रमुख बनेका सिपी गजुरेल भारतमा समातिए । उता मोहन बैध्य पनि जेलमै परे । राम बहादुर थापालाई सैन्य क्षेत्र हेर्दै ठिक्क भो । नेत्र बिक्रम चन्द पश्चिममा खटिए । त्यसैले अन्तर्राष्ट्रिय संवन्ध बिस्तारमा क्याँस माओवादीकै हात माथि पर्यो । सरकार बनेका बेलापनि ड्यास माओवादीका थोरै गए मन्त्री बन्न । सरकारमा जान पाए अन्तर्राष्ट्रिय संवन्ध र कूटनितिक नातो फैलाउन पाइने उनीहरुको मूल्यांकन हुनुपर्छ । त्यस्तो संवन्ध बनाउन सरकारमा गएका बेला बढि सजिलो र पहुँच हुनु स्वभाविक हुन्छ । सरकारमा बसेका बेला कर्मचारी तन्त्रमा आफ्ना मान्छे घुसाउने, बुझ्ने र प्रभाव जमाउन सके शषस्त्र जनयुद्दका बेला केहि सहज हुन्छ ।
कतिपय माओवादी कार्यकर्तामा भ्रम (कडा लाइन भनिनेहरुको) छ, शषस्त्र जनयुद्द बिनानै चुनावमा ठूलो पार्टी बनेर संसदबाटै जनताका माग पुरा गर्न सकिन्छ । परिवर्तन संभव छ । त्यसैले बैध्य पक्षलाई आम कार्यकर्ताका माझ त्यो भ्रम चिर्नु छ । एक पटक सरकारमा गए काम गर्न त दिँदैनन् । अनि त्यस्ता कार्यकर्ताहरुको भ्रम चिरिने छ । बैध्य बाको दाउ योपनि हो ।
अर्को कारण हो भ्रस्टाचारको नालेबेली उतार्ने । उनीहरुले हाकै भनेका छन्, धेरै क्याँस र झ्याँस माओवादीले करोडौं अरबौं भ्रस्टाचार गरेका छन् । जनसेनाको रकम खाएको त छरपस्टै भएको हो । सरकारमा जान पाए ति मुहानभित्र पस्न सकिन्थ्यो कि ? त्यसलाई सार्वजनिक गरिदिन पाए संसदिय पार्टीका नेता र खासगरि माओवादी क्यासवालाहरुको व्बास्तबिकता उतार्न पाइन्थ्यो । पालुङटार बैठकमा आफ्नो लाईन समातेर हिरो बन्दै अन्तत धोका दिएका प्रचण्डलाई जसरिपनि नखँदारी भएकै छैन ।
जनसेनाका बारेमा सबैभन्दा तात्तिएका हुन् बैध्य पक्ष । जनसेनाको ब्यवस्थापन अहिलेसम्म हुन सकेको छैन । सरकारमा जान पाए आफु अनुकूलको निर्णय गराउन कस्सिने । त्यसको बिरोध त भैहाल्छ । त्यसलाई ‘लौ हेर हामीले त राम्रो निर्णय गरेका हौं, काम गर्नै दिएनन्’ भनेर देखाउने । यो अवशर भने क्यास माओवादीलाईसमेत कमजोर बनाउन पाइने हो ।
उनीहरुले जनजिविकाका ७०, ७२ सुत्रिय माग उठाएका छन् । त्यसैगरि बेपत्ता परिवारको खोजि र राहत लगायतका अलग्गै माग छन् । सरकारमा जान पाए साहसिक तरिकाले ति मागका बारेमा सम्बोधन गर्ने निर्णय गर्ने । त्यसो गर्दा ति माग पुरा हुन दिँदैनन् । त्यसपछि जनताको समर्थन पाइन्छ । त्यसलाई आफ्नो पार्टीको हितमा क्यास गर्ने । भारतसित सन्धि संझौताका बारेमा अडान राख्ने । त्यसो गर्नासाथ भारतले त्यो सरकार टिक्न दिन्न । त्यसलाई राष्ट्रियताको आन्दोलनसित जोडेर उठाउने ।
अहिलेको भावना जनजातिय छ । थापा यो बेला मिल्ने उमेदवार हुन सक्छन् । सैन्य ज्ञान भएका । पार्टीमा अन्तर्राष्ट्रिय अनुभवपनि भएको । पढे लेखेका । ठिक्क बोल्ने । हक्की र ईमान्दार भनेर चिनिएका । जनजातिको सेन्टिमेन्ट भावना र समर्थन बटुल्नपनि सहज हुने । अहिले जनजातिहरु एकल पहिचानका पक्षमा रहेकाले बैध्य पक्षको लाईनपनि त्यहि । यो बेला सरकारमा जान पाए त्यसकालागि प्रयास गर्ने उपयुक्त समय हुन सक्छ । जनजातिहरुले छुट्टै पार्टी गठनको मेसोपनि परेको । यहि बेला नेपाली कांग्रेस र एमाले छोडेर धेरै नेता जनजातिर हिँडेका । क्यास माओवादीले जनजातिका मुदामा लर्बराएको अवस्थापनि छ । यस्तो बेला बैध्य बाले देखेका छन्, आफ्नो पार्टी नितिसित जनजातिको जातिय पहिचानका सवालमा मेल खान्छ । यतिखेर सरकारमा जान पाउनु त्यसको माहोल स्रिजना गर्न सहज बन्छ ।
त्यसो त मेडियामा गित कम गाउनालेपनि राम बहादुर थापाको चर्चा कम हुने गर्छ । उनी आफैं ब्यक्तिगत चर्चा त्यति नरुचाउने भनेर चिनिन्छन् । तर पार्टीमा उनी एक प्रमुख योजनाकार सधैं थिए । माओवादी जनयुद्दलाई हाँक्ने सिल्पीहरु मध्ये बाबुराम भट्टराईभन्दा थापा धेरैमाथि गनिन्छन् । उनीहरुको बुझाइ, थापाले अझ राम्रोसित हाँक्न सक्छन् । थापा के कुरामा कम छन् र ? भन्नेपनि हुन सक्छ । उनीहरुका बुझाई अनेक होलान् । तर यतिखेर बैध्य बाले किन प्रधानमन्त्रीको च्याँखे थापे भनेर सर्वसाधारणलाई बुझ्न चाहिँ सहज छैन । किनभने उनीहरुले गोलमेच सम्मेलन बाट जनताको पक्षमा संविधान बनाउने भनेका छन् । त्यो गोलमेच सम्मेलनबाट संयुक्त सरकार बनाउने उनीहरुको भनाई राम बहादुर थापालाई प्रधानमन्त्रीमा अघि सारेर पुरा हुँदैन । यसका बारेमा उनीहरुले स्पष्ठ पारेकापनि छैनन् । केहि विष्लेशकहरु चाहिँ भन्दै छन् ‘अलि आशा लाग्दा ब्यक्ति थापा थिए । यि थापालाइपनि नंग्याएर थोत्रो पार्न खोजिएको हो ।’
को हुन त राम बहादुर थापा ? केहि महिना अघि नागरिक दैनिकमा उजिर मगरको नाममा छापिएको तलको लेख हेर्नुस् 
अलग धारको खोजीमा
उजिर मगर, काठमाडौं, पुस ९- एकीकृत माओवादीको दसवर्षे जनयुद्धकालमा एउटा नाम सधैं चर्चामा आइरहन्थ्यो, सैन्य क्षमता भएका व्यक्ति रामबहादुर थापा। लाहुरे पृष्ठभूमि, त्यसमा पनि मगर समुदायका। थापालाई त्यतिबेलै सैन्य विज्ञ उपमा दिइएको थियो। २०६० जेठ २८ गते। लामो समयपछि पहिलोपल्ट शान्ति वार्तामार्फत सार्वजनिक भएका थापाले खुलामञ्चमा भाषण ठोकेका थिए, ‘प्रतिक्रियावादीहरूले बारम्बार भिडन्तमा मर्यो भनेर हल्ला गरे। मेरो टाउकोको मूल्य तोकियो। अहिले यहीँ आएको छु। म हुँ- बादल।’
गुल्मी सदरमुकाम तम्घास वडागाउँमा २०१२ वैशाख १९ गते जन्मेका थापाका बुबा भारतीय सेनाका जागिरे हुन्। त्यसैले उनको बाल्यकाल भारतमै बित्यो। बुवाको अवकाससँगै परिवारको बसाइ चितवन सर्यो। थापाले स्थानीय शारदा माविबाट २०३१ सालमा एसएलसी उत्तीर्ण गरे।
रामपुर क्याम्पस भरतपुरमा आइएस्सी पढ्न जाँदा उनको भेट भएको थियो, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग। पहिलो भेटमै थापा दाहालसँग यति प्रभावित भएछन्, केही समयपछि दाहाल, मित्रराज दवाडी र खेम भण्डारीसँग नारायणी किनारमा मार्क्सवादी मण्डलीको स्थापना गर्दा उनको भूमिका महŒवपूर्ण बन्न पुग्यो। यो मण्डलीको त्यतिबेला कामै हुन्थ्यो, मार्क्सवादको अध्ययन गर्ने। उनीहरू त्यतिबेला चिनियाँ सांस्कृतिक क्रान्तिको पक्षमा थिए।
…
मस्कोको लुमुम्बा विश्वविद्यालयबाट बालीविज्ञान (एग्रोनोमी) मा स्नाकोत्तर गर्न जाँदा थापा मार्क्सवाद पनि अध्ययन गरे। त्यतिबेला मार्क्सवाद सोभियत संघमा उत्कर्षमा थियो। उनलाई नजिकबाट बु‰नेहरू अहिले पनि भन्ने गर्छन्, ‘सोभियत विकास उत्कर्षमा पुगेका बेला बादल त्यहीँ थिए। त्यसैले उनमा मार्क्सवादको प्रभाव निकै गहिरो छ।’
थापाले मस्कोमै छँदा नेपाल साम्यवादी दलमा रहेर काम गर्नसमेत भ्याए। नेपालमा ३६ सालको विद्यार्थी आन्दोलन उत्कर्षमा हुँदा उनी नेपाल फर्केका थिए। त्यतिबेला उनी बहुदलको पक्षमा उभिए। २०३७ सालमा उनले दाहालको प्रस्ताव र अमिक शेरचनको समर्थनमा पार्टी सदस्यता लिए। उनी मोहनविक्रम सिंहले नेतृत्व गरेको चौथो महाधिवेशनमा सक्रिय थिए।
कम्युनिस्ट पार्टीमा सुरक्षाका लागि भूमिगत नाम राख्ने चलन थियो। सदस्यता लिँदा रामबहादुर थापाको पहिलो भूमिगत नाम थियो, लाल सिंह। तर, पूर्णकालीन सदस्य भएपछि उनले आफ्नो नाम फेरेर ‘आकाश’ राखे। केही वर्षमै उनी यो नामबाट पनि अघाए। र, पछि आफ्नो नाम फेरि परिवर्तन गर्दै ‘बादल’ राखे। बादललाई नजिकबाट चिन्नेहरू उनी ३६ सालको विद्यार्थी आन्दोलनबाट निकै प्रभावित भएको दावी गर्छन्। यही आन्दोलनमा नेपाली युवाको जोस देखेपछि थापा यो निष्कर्षमा पुगेका थिए- नेपालमा क्रान्ति सम्भव छ।
उनको राजनीतिक गति तीव्र देखिन्छ। विगतमा उनले जति नेतृत्व लिए, त्यो सबैमा उनी सफल भएका छन्। थापा ३८ सालको चुनाव बहिष्कार गर्ने क्रममा पहिलो पल्ट पक्राउ परेका थिए। त्यतिबेला १० महिना जेल बस्नुपरेको थियो, उनले। जेलबाट छुटेलगत्तै उनी जिल्ला कमिटी हुँदै चार महिनामा क्षेत्रीय ब्युरो सदस्य बनेका थिए। २०४२ सालमा तत्कालीन नेकपा (मशाल)को केन्द्रीय सदस्य बने। लगत्तै उनलाई राप्ती अञ्चलको जिम्मेवारी सुम्पिएको थियो।
…….
२०४३ सालको सेक्टर काण्डले काठमाडौं उपत्यका अस्तव्यस्त भएको बेला पार्टीले उनलाई त्यसको एक वर्षपछि नै बागमती इन्चार्ज बनायो। त्यतिबेला उपत्यका देव गुरुङले हेर्थे। गुरुङलाई गण्डकी पठाउँदै एक दशक राप्ती बसेका थापालाई उपत्यकाको जिम्मेवारी सुम्पिएको थियो। राप्तीमा हुँदा उनले आफ्नै नेतृत्वमा ‘सिज’ (सिस्ने जलजला) अभियान चलाएका थिए। त्यतिबेला मगर समुदायले उनलाई राम्रो साथ दिए। अहिले पनि माओवादीमा भन्ने गरिन्छ, ‘जनयुद्ध’को मुख्य जग नै पछि गएर त्यही अभियान बन्न पुग्यो। थापालाई पहिलो पटक भेट्दाको सम्झना गर्दै पोलिटब्युरो सदस्य लोकेन्द्र विष्ट मगर भन्छन्, ‘ओहो, त्यो बेला बादलजी त हाम्रा लागि फिल्मी हिरो। त्यति सुकिला मगर त कम्युनिस्ट भए, हामी किन नहुने भनेर पछि लागियो।’
कुशल संगठक मानिने थापाले जहाँ खतरा भनेर औंल्याएको क्षेत्र हो, त्यहीँ कमान्ड लिएको इतिहास छ। उनले राप्ती हुँदै उपत्यका विशेष पूर्वी क्षेत्रको पूरै कमान्ड गरेका छन्। पहिलो संकटकाल घोषणा हुँदा थापा पाटनको नःटोलमा बस्थे। त्यहाँ उनलाई लामो समय कसैले चिनेनन्। उनलाई प्रायले चिनियाँ व्यापारी भन्ठान्थे। उनका सहयोगीका अनुसार जति ठूलो आक्रमण, घेरामा परे पनि उनी हडबडाउँदैनथे।
उनले पूर्वी कमान्ड सम्हाल्दा त्यो क्षेत्र निकै अस्तव्यस्त मानिन्थ्यो। उनी गएपछि त्यो क्षेत्रमा निकै सुधार आयो। माओवादीबाट अलग भएका संस्कृति मन्त्री गोपाल किराती माओवादीमा आउनुमा थापाको योगदान मानिन्छ। ‘माओवादी पार्टी अघि बढ्नुमा बादलको ठूलो भूमिका छ। म उहाँलाई सधैं सम्मान गर्छु,’ २०६० सालमा भूमिगत अवस्थामा रहँदा किरातीले भनेका थिए।
बाबुराम भट्टराई प्रधानमन्त्रीको उम्मेदवार बनाउने पार्टीको निर्णय हुँदा किरातीले थापालाई प्रधानमन्त्री बनाउनुपर्नेमा मत जाहेर गरेका थिए। किराती पछिल्लो पटक अध्यक्ष दाहाल पक्षबाट संस्कृति मन्त्री बनेका छन्।
……….
‘जनयुद्ध’ सुरु भएको एक वर्ष मात्र पूरा भएको थियो, एकाएक थापाको चर्चा आयो, अर्को रूपमा। ०५३ पुसमा लखनउमा भएको पोलिटब्युरो बैठकमा थापा र पम्फा भुसालको यौनकाण्ड छताछुल्ल भयो। ०५३ मा दाहालको छोरीको विवाह र केही हप्ताभित्र कानपुरमा भएको मोर्चाहरूको बैठकमा थापा र भुसालबीचको सम्बन्ध तल्लो तहसम्म पुग्यो।
रोल्पाकी एक केन्द्रीय सदस्यले थापालाई यौनकाण्ड लागेपछिको अनुभव यसरी सुनाइन्, ‘त्यतिबेला हामी रातभर हिँड्ने अवस्था थियो। यो सुनेर दिनभर सेल्टरमा रुन्थ्यौं।’ थापालाई ०५३ चैतमा फरिदावादमा भएको पोलिटब्युरो बैठक (पिबी)ले यौन अराजकताको आरोपमा अनुशासनको कारबाही गरेको थियो। २०५४ असारमा फरिदावादमै भएको पिबी बैठकले थापा-भुसाल यौनकाण्डलाई राजनीतिक रूपमा ‘लिन प्याओवादी उन्मुख प्रवृत्ति’ भनी थप कारबाही गर्यो।
पार्टीले थापा-भुसाल यौनकाण्डबारे दस्तावेजीकरण गर्दै भनेको छ, ‘जहाँसम्म अहिले उहाँहरूले एकअर्काप्रति लगाएका आरोप छन्, मुख्यतः कमरेड बादलले कमरेड हिमानीलाई लगाएको भयानक षड्यन्त्रकारी र सफल खेलाडीको आरोप तथा कमरेड हिमानीले कमरेड बादललाई लगाएको उपभोगवादीको आरोप ती उपरोक्त गल्ती कमजोरीकै सन्दर्भसँग सम्बन्धित भएकाले आआफ्ना गल्तीको पश्चाताप र आलोचनापछि तिनको खास औचित्य देखिन्न।’ यौनकाण्ड पुष्टि भइसकेपछि थापा र भुसालबीच चर्को आरोप प्रत्यारोप भएको थियो। २०५६ साल पुसमा जालन्धरमा शुद्धीकरण अभियान बैठकको पूर्वसन्ध्यामा थापालाई केन्द्रीय सदस्यमा लिने निर्णय भयो।
………..
२०५८ साउनमा रविन्द्र श्रेष्ठले थापालाई एकाएक पार्टीमा स्थापित गर्ने प्रस्ताव ल्याएपछि उपत्यकामा हलचल नै मच्चियो। थापालाई स्थापित गर्ने प्रस्ताव २०५८ कात्तिकमा फरिदावादमा भएको पोलिटब्युरो बैठकमा राख्दा वैद्य, थापा र रविन्द्र एकतिर थिए।
२०६० मा पार्टीले राजा ज्ञानेन्द्रसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव अघि सारेपछि थापालाई वार्ता टोलीमा समावेश गरिएको थियो। त्यतिबेला दरबारले बाबुरामलाई छोडेर थापालगायतसँग मात्रै भेट्ने प्रस्ताव अघि सारेको थियो। यसले भट्टराईसँग अन्तर्विरोध चर्किन पुग्यो।
अहिले भट्टराई मात्र होइन, थापालाई मूल्यांकन गर्ने विषयमा दाहालसँग पनि विवाद बढेको छ। ०६१ असारमा इलाहावादमा दाहाल, भट्टराई दीनानाथ शर्मालगायतले मुख्य समस्या केन्द्रमाथापा रहेको आशंका गरेका थिए। थापालाई हेडक्वार्टर कब्जा गर्न भट्टराईले उक्साएको आशंका पनि गरिएको थियो। त्यतिबेला पनि पूर्वी कमान्डबाट थापाले दाहालसँग भेट गर्दा भट्टराई सशंकित बन्ने गर्थे।
यति हुँदाहुँदै पनि अध्यक्ष दाहाल र उपाध्यक्ष भट्टराईले उनीप्रति मूल्यांकन गरिरहेको देखाउँछ। आफ्ना कमान्डरको कमान्ड कहिलेकाहीँ उल्लंघन गरेको भन्दै चुनबाङको चर्चित बैठकमाथापाले आत्मालोचना गरेका थिए।
चुनाबाङ बैठकमा अध्यक्ष दाहालसँगको सम्बन्धका विषयमा उनले भनेका छन्, ‘कमरेडहरू, म मगर जातिबाट आए”। मगर परिवारमा जन्मन खोज्ने मेरो इच्छा त थिएन। म मगर जातिको परिवेश र संस्कारसहित आए”। अध्यक्ष प्रचण्ड, तपाईं ब्राह्मण परिवारमा जन्मेर आउनुभयो। तपाईं पनि ब्राह्मण परिवारमा जन्मिन्छु भनेर जन्मनुभएको होइन। त्यो ऐतिहासिक परिवेश र संस्कारसहित तपाईं आउनुभयो र इतिहासले हामीलाई नारायणी किनारमा मिलन गराइदियो। हाम्रो फ्युजन भयो आफ्ना सीमा र संस्कारसहित। मार्क्सवादबारे हामीबीच अन्तर्विरोध छैन तर संस्कारहरूमा अन्तर्विरोध छ।’
………….
शान्ति प्रक्रियापछि थापा केही समय सार्वजनिक कार्यक्रममा देखिएनन्। धेरैले शंका गरे, थापा कहाँ छन्? ०६२/६३ पछि उनी एक्कासि साउनमा सार्वजनिक भए, मगरात मुक्ति मोर्चाको पाल्पा अधिवेशनमा। सञ्चार माध्यममा आउन खासै नरुचाउने थापा ०६५ सम्म दुई पटक मात्र टेलिभिजनमा देखिए, ०६० सालको शान्ति वार्ताताका नेपाल टेलिभिजनको ‘दिशानिर्देश’ र ०६४ मा कान्तिपुर टेलिभिजनको ‘बहस’ कार्यक्रममा।
अन्तरिम संसदमा सभासद छान्ने जिम्मा थापाको थियो। संविधानसभाको चुनावमा प्रत्यक्ष/समानुपातिक उम्मेदवार छान्ने जिम्मा पनि थापाले पाएका थिए। थापा चितवनको क्षेत्र नम्बर २ बाट विजयी बने। बाहिरी सैन्य विज्ञको दर्जा पाएका थापा गणतन्त्र नेपालको पहिलो मन्त्रिपरिषदमा रक्षा मन्त्री बने।
संविधानसभाको ठूलो दल माओवादीले सरकार नेतृत्व गरिरहेका बेला थापाकै मन्त्रालय अन्तर्गत रहेका तत्कालीन प्रधान सेनापति रुक्मांगद कटवाललाई पदच्युत गर्ने प्रस्ताव ल्याइएको थियो। तर, उनले प्रधान सेनापतिलाई पदच्युत गर्दाको परिणाम के हुन्छ, अनुमान गर्न सकेनन्।
बालाजु, खरिपाटी बैठकमा थापा पार्टीलाई एकढिक्का बनाउने काममा सक्रिय थिए। चुनबाङमा थापाले दाहालसँग गरेको प्रतिबद्धतालाई आत्मसात गर्दै दाहालकै पक्षमा रहने आकलन गरिएको थियो। पार्टी बहुपदीय ढाँचामा जाँदा थापा पार्टीको शक्तिशाली पद महासचिवमा आए। खरिपाटीमा १७ दाहाल र १७ वैद्य पक्षमा हुँदा थापा तटस्थ बसेका थिए। त्यही नजिरलाई टेकेर माओवादीमा विवाद आउँदा एउटा जमात भन्ने गर्थ्यो, ‘पार्टी फुटाउनु हुँदैन। हामीले बादल दाइले जस्तो भूमिका खेल्नुपर्छ।’ पालुङटार बैठकमा थापा दाहालसँगै थिए। तर, ‘शान्ति र संविधान’ भन्दै दाहाल भट्टराईतर्फ लागेपछि थापाले आफ्नो कित्ता ‘क्लिएर’ पारेका छन्। धोबीघाट समीकरण छिन्नभिन्न भएपछिथापा अहिले वैद्य समूहको नेतृत्व गर्दैछन्।
बीचमा बस्दा ‘मध्यमार्गी’ भइने। आफ्नो धार नहुने निश्कर्षमा थापा पुगेको उनका पुराना सहयोगी बताउँछन्। थापा अहिले पार्टी नेतृत्वले ‘जनमुक्ति सेना’ विघटन गरेको, पार्टीले चाहेको संविधान निर्माण हुन नसक्ने निष्कर्षमा पुगिसकेका छन्। र, उनले संविधान घोषणाकै दिन पार्टीमा विद्रोह हुने घोषणा गरिसकेका छन्। थापा अहिले वैद्य विचार समूहको मियो बनेका छन्। भनिन्छ, वैद्य र थापाबीच छिट्टै नै पारिवारिक नाता गाँसिदैछ। यही पारिवारिक, वैचारिक एकतासँगै थापाको भावी राजनीतिक यात्रा तय हुनेछ । शनिबार बस्ने बैठकको पूर्वसन्ध्यामा थापा निकै अघि बढिसकेका छन्। चुनबाङ बैठकले गरेको निर्णय ‘अन्तरिम सरकार, संविधानसभा, संघीय गणतन्त्र र नयाँ संविधान निर्माण’ गर्ने उद्देश्य यही बैठकले छिनोफानो गर्दैछ। तर, थापा त्यही विषयमा अहिले फरक देखिएका छन्।




