पर्यवेक्षकको नजरमा बैध्य र प्रचण्ड
• बम बहादुर पुडासैनी / बेल्जियम
नेपालमा सदियौबाट भैरहेको सबैखाले अन्याय अत्याचार, शोषण र विभेदहरु अन्त होस् भन्ने आम नेपालीले चाहेका थिए । समृद्द नेपाल नेकपा माओबादीहरुले बनाउला भन्ने आशामा बसेका माओबादी इमान्दार समर्थकहरुद्वारा माओबादी पार्टी नफुटोस भनि कामना गर्दागर्दै बिभाजन भयो । त्यसपछि कुन पक्षमा लाग्ने वा चुप बस्ने भन्ने बिषयमा धेरै दोधारमा परेको यथार्थ हो । यसरि दोधारमै परेपनि सधैं चुप बसिराख्न सकिनेकुरा पनि भएन । त्यसैले पार्टी दुइ नै भैसकेपछि एकलाई रोज्नुपर्ने बाध्यता आइपरेको कुरापनि ठिकै हो ।
यसै सन्दर्भमा बेल्जियमका नेपाली माओबादीहरुका चलखेल निकै चर्चाको बिषय भएको छ । बिदेशमा बेल्जियम पनि नेपाली राजनीति गतिबिधि धेरै हुने स्थानमा पर्छ । त्यसैले माओवादी दुवै पक्षका बरिष्ठ नेताहरु प्रचण्ड र सिपि गजुरेल स्वयम् उपस्थित भएर भातृसंगठनहरु विस्तारमा हाजिर भएकाथिए । यिनै माओबादीहरुका गतिबिधिहरुलाई लिएर पर्यवेक्षकको रुपमा थोरै टिप्पणि गर्ने जमर्को गरेको छु ।
नेपालमा जस्तै बेल्जियमका नेपाली माओबादीहरु पनि आ-आफ्ना चरित्र र स्वार्थ अनुसार पक्ष छनौटमा तिब्रताकासाथ दौडधुप भैरहेकोछ । बेल्जियमको माओबादीहरुको पक्ष छनौट हेर्दा नेपालमा क्यास र पदप्रेमी भ्रष्ट माओबादीहरु एकातिर र इमान्दारहरु अर्कोतिर लागेझैँ यहाँका अधिकांश स्वार्थि पदलोलुप, चाकरीवाज, आफ्नै साथीभाईहरुलाई दलालिगरी ठग्ने छट्टु बेइमान अवसरबादीहरु जति संस्थापनपक्ष बलियो र सरकार समेत रहेको शक्ति देखेर उतातिर लागेका छन् । तिनले अझै आफ्ना स्वार्थहरू पुरागर्न सकिने मुल्यांकन गरि शक्तिको चाकरीमा तछाडमछाड र दौडधुपकासाथ लागिरहेको देखिन्छ । क्यास, झयास र पावरले पनि बिचलित नभएका इमान्दार खाँट्टी माओबादीहरु भने बैध्यपक्षमा लागेको देखिँदै छ । केहि विचार, अडान नभएका धरमरवालाहरु र चैतप्रेमी अवसरबादीहरु भने प्रचण्डको दर्शन गर्न पाएकोमा प्रफुल्ल छन । उनिहरु बैध्यहरुको हबिगत मालेको जस्तै हुने गफ हाँक्दै प्रचण्डको बेल्जियममा नै प्रत्यक्ष दर्शन र चाकरी गर्न पाउँदा खुबै मखलेल भैरहेछन् । बेईमानहरु एमाले मालेको फुट एकै खाल्ड़ोका भ्रष्ट स्वार्थि मुलाहरुको फुट थियो भने बैद्य प्रचण्ड इमान्दार र भ्रष्टहरुको फुट हो भन्ने कुरा छुट्टाउन चाहँदैनन् ।
यस्ता कटु सत्यलाई नजरअन्दाजगरि शक्तिको पछाडि दौडेको देख्दा स्वार्थि बेइमानहरु जहिलेपनि शक्तिको पुजारि हुन्छन भन्ने कुरा यिनीहरुको स्वार्थि क्रियाकलापहरुले अझ स्पष्ट पारेको छ । त्यसैले द्विबिधामा परेका इमान्दार माओबादीहरुले अब यि दुइ मध्ये को इमान्दार र को भ्रष्ट अनि बेइमान हो भन्ने पहिचान गरि छुट्टाएर पक्ष बिपक्षमा लाग्नुपर्ने अवस्था आइसकेको छ । यि दुइ मध्ये को इमान्दार, को बेइमान भनि छुट्टाउन अर्जुनदृष्टिवाला दुरबिन बिनानै सिधै हेर्दा प्रचण्ड भन्दा बैध्य दश गुणा इमान्दार भएको तस्बिर सबैको नजरमा उत्रिसकेको पाइन्छ । प्रचण्ड भ्रष्टचारका काण्डहरुले भ्रष्टचारिहरुमा प्रथम श्रेणिमा प्रथम भएर बाबुरामको प्रथमै प्रथमको डिग्रीलाई फेल खुवाई राखेको कुरा अब सबैलाई कहिरहनु परेन । प्रचण्ड ग्यांगको बर्गीय उत्थान भै नवधनाढ्यमा पदोन्नति भएर गजबसँग छलांग हो कि क्रमभंग भएको छ । प्रचण्डको रहनसहन, उठबस र खानपानहरु माफिया सुमार्गीसँग मात्र हुने गरेको बुझिँदै छ । सरसल्लाह, छलफलहरु भारतीय खुफियाका गुप्तचरहरुसंग मात्रै हुने गरेको समाचारहरु बारम्बार आईरहेकापनि छन् ।
भर्खरैको समाचार अनुसार अन्तराष्ट्रिय माफिया एनसेल संगपनि प्रचण्डको गहिरो प्रेम परिसकेर बन्दिखामवाला लभलेटरहरुमा युरो प्राप्त हुन थालिसकेको रिपोर्ट संचार माध्यमहरुले जानकारी गराउँदै छन् । पार्टी भित्र अमिक शेरचनलाई बुख्याचा कोषाध्यक्ष बनाएर खरबौं रकम प्रचन्डले मनोमानिगरि ब्रम्हलुट गरेका कुराहरु धमाधम पर्दाफास भैरहेछ । जनसेनाका पसिनामा समेत हिनामिनागरी मोजगरेका काण्डहरु धमाधम अख्तियारमा दर्ता हुँदैपनि छन । यि काण्डहरुले प्रचण्ड ग्यांगको हालत खुमे, वाग्ले र गुप्ताहरुको झैँ हुने सम्भावना पनि त्यत्तिकै बढिरहेको देखिन्छ । यसरि आर्थिक भ्रष्टाचारले खुमे हुने सम्भावना देखिँदै छ भने राजनैतिक भ्रष्टाचारले पार्टिनै विभाजनमा पुर्याएर शक्तिशालि सबैभन्दा ठुलो पार्टीलाई हुलियाटाइट हालत पतला प्रचण्ड ग्यांगले बनाई छाडेको छ । जनता र राष्ट्रका लागि बलिदानीका नमुना नेता कार्यकर्ताहरुलाई पाखा लगाएर दशौ हज्जार सहिदको बलिदानी रगतलाई स्त्रीको रजस्वलासंग तुलना गर्ने झ्याँस माओबादीहरुलाई महत्वपूर्ण जिम्मेवारीहरु सुम्पेर प्रचण्डले राजनैतिक भ्रष्टाचार गरेका छन । इमान्दार र क्षमतावान नेताहरुलाई पाखा लगाएर झ्याँस माओबादीहरुको बहुमत देखाउँदै निर्विकल्प सर्बसत्ताबादि नेता बन्ने प्रचण्डको दुश्प्रायासले अन्तत पार्टी दुइ टुक्रा पारेको हो ।
बरिष्ठ र जिम्मेवार नेताहरुले जिम्मेवारी चाहियोभन्दा उल्टो पद र भाग खोज्यो भनेर प्रचण्डहरुले जिल्ल्याउने काम गरे । कसैलेपनि त्याग, बलिदान र परिश्रम अनुसारको जिम्मेवारी खोज्नु स्वाभाविक छ भन्नेकुरा जानीजानी प्रचन्डले बुझ्ने काम गरेनन् । सामुहिक नेतृत्वको निर्णयहरुलाई पनि प्रचन्डले लत्याएर मनोमानी गरेका कारणहरुले बरिष्ठ इमान्दार नेताहरु जिम्मेवारीबिहिन हुनुपरेको सत्य हो । जसको परिणाम पार्टी भ्रष्टीकरण हुँदै क्यास माओबादीमा परिणत हुनपुग्यो ।
प्रचण्डहरु सत्ताको लागि जनता र राष्ट्रको अस्मितामा निजि बिर्ता झैँ जुवा खेलेको उदघोष गरिरहेका छन् । एकपछि अर्को राष्ट्रियता बिदेशीलाई हस्तान्तरण गर्न हतारिरहेका छन् । बिप्पा सम्झौता, सुपुर्दगी सन्धि, एयरपोर्ट जस्ता राष्ट्रिय सुरक्षा, सार्बभौमिकता सँग गाँसिएका संबेदनसिल कुराहरुलाई साम्राज्यबादी भारतलाई सुम्पिने काम गरिरहेका छन् । भट्टराई सरकारको गतिबिधि हेर्दा बैध्यले “दलालहरु सकेजति सबै भारतीय बनाउन चाहन्छन ” भनेझैं सत्य साबित भैरहेछ । भट्टराई भट्टराई भन्ने हामी सबै नेपालीहरुलाई भट्टराईले तिनचित उत्तानो पारेर गन्देहिलोमा पछारि दिएकाछन् । गरिबको झुपडीमा सुत्ने सस्तो नारा लिएर भट्टराई महोत्तरीका बिसनी सदाहरुलाई चिसो भुइँमा पल्टाएर आफु पाल टागेर झुलभित्र पसे । नरम डसनामा सुकिला वस्त्रमा हुल कसेर लाखौं खर्च गरि पिकनिक मनाईरहेका छन् ! झुपडीका गरिब सदाहरुलाई सिधै आर्थिक राहत दिनुको सट्टा सदालाई ऋणमा डुबाऊन भट्टराई हेलिकप्टर चढी जत्था सहित भोजभतेर गर्दै हिँड्छन् । भ्रमणमा हुने लाखौ खर्च सदा जस्ता गरिबलाई सिधै राहत स्वरूप प्रदान गर्दा प्रभाबकारी हुनेकुरा पिएचडीवाला भट्टराई स्वयमलाई ज्ञान नभएपनि उनका लाखौ तलब भत्ता हसुरिरहेका चाटुकार सल्लाहकारहरुले समेत सहि सल्लाह दिन सकिरहेका छैनन् ।
देशका हजारौं ठाउँमा दश हजारका लट्ठा तान्न नसकेर नदी वारिपारी गर्न सकिरहेका छैनन् जनता । केहीमहिना अगाडी मात्र लट्ठा चुडिएर सयौको दुखद मृत्युले पुरै गाउ शोकमा डुबेका दुखदायी जनताका पिरमर्कालाई अनदेखा गर्दै हिमाल चढ्ने सनकिहरुको रहर पुरागरिदिन भट्टराई सरकार करोडौ खर्चगर्न तम्तयार भएको थियो । प्रचण्ड बाबुराम सधै सत्तामा बसिराख्नन पाउने शर्तमा सहि ठोकिदिने हो भने उनीहरु जस्तोसुकै राष्ट्रघाती जनतामारा सन्धिसम्झौता गर्न तयार हुन्छनभन्नेकुरा बिप्पासम्झौता, सुपुर्दगी सन्धि, एयरपोर्ट सुम्पिने देखि संबिधानसभाको राज्य पुनसंरचना समितिले पास गरेको चौध प्रदेशलाई घरि आठ घरि एघारमा सम्झौता गर्न तयार भएको घटनाले सिद्द गर्छ । संबिधानसभा भंग गर्ने, फेरी पुनर्स्थापना गर्नुपर्छ भन्ने, जनसेनाहरुलाई बेईजत्तिपुर्बक बिगठन गर्ने र आफ्नै पार्टी बिभाजन गराई ध्वस्त बनाउन षडयन्त्रगर्ने जस्ता थुप्रै घोर अवसरबादी घटनाहरुले प्रमाणित गरिसकेको छ यि राष्ट्रघाती हुन् भन्ने । केहि देसीबिदेशी विश्लेषकहरुले प्रचण्ड बाबुराम जनता र राष्ट्रको लागि होइन पद र सत्ताकालागि नेता बनेका हुन भनेका कुराहरु ठ्याक्कै मेल खाँदै छ ।
अर्को पक्ष के भने बैध्यलाई अहिलेसम्म लाग्दै आएको आरोप भनेको जडसुत्रबादी, युद्दप्रेमी शान्तिबिरोधि भन्ने छ । इमान्दारपुर्बक जनता र राष्ट्रको मुक्तिमा लाग्नुपर्छ भन्ने बैध्य जडसुत्रबादी हुने र भ्रष्ट पदलोलुप बेइमानहरुचाहिँ परिबर्तनकारी हुने यो व्याख्या सैदान्तिक भनेपनि ब्यबहारिक, बस्तुबादी, बैज्ञानिक भनेपनि, छलांग र क्रमभंग जे भनेपनि सहि देखिँदैन । यसरीनै बैध्यहरुले पटकपटक हाम्रो संघर्ष शन्तिपुर्बक हुनेछ तर परिबर्तनबिरोधि सामन्तहरुबाट खुनी हमला भएमा स्वत हतियार उठ्ने कुरा बारम्बार स्पष्टसंग भनिरहँदापनि युद्दप्रेमी शान्तिबिरोधि भनेर आरोप लगाउनुमा कुनै तुक देखिदैन । यसरि सतिसाल झैँ सत नछाडि अनवरत जनता र राष्ट्रको लागि उभिएर संघर्ष गर्नेहरुलाई जड्सुत्रबादी भन्नेहरु उल्टै जड (जरा ) बिना सुकेर आफै सिक्रा भैरहेको कुरा उनीहरुले पत्तै पाईरहेका छैनन् ।
यि गैरजडसूत्रबादी, बैज्ञानिक, यथार्थ बस्तुबादीहरुको छलाङ, क्रमभंग, सहमति, लचकता र निकासहरुले हाम्रो देश कहाँ पुरयाईरहेछन छर्लंगै भएको छ । अब यि सबै प्रकरणहरु हेर्दा बैध्य र प्रचण्ड कुन कुन बादी रहेछन भनि चिन्न कम्युनिष्ट दर्शन अध्ययनको आवश्यकनै देखिन्न । त्यसै कारण अब सबैले गम्भीर भएर बेइमानहरुलाई छाडि इमान्दारहरुलाई साथदिनु आवस्यक भैसकेको छ । नत्र सयौं बर्षसम्म सबै नेपालीहरु खाल्डोमा जाकिनुपर्ने पक्का छ ।
मेरो उपरोक्त निष्पक्ष पर्यवेक्षकिय भनाइहरु थुप्रै हुँदाहुँदैपनि मै मुलाले पनि जनता र राष्ट्रकोलागि सिन्को भाँच्ने काम समेत नगरी नागरिक कर्तब्यसमेत निभाउन नसकेको अनुभूति गरिरहेको छु । त्यसैले अरु नेता, पार्टीहरुको मात्रै धेरै टिकाटिप्पणी जायज नहुने बुझेर हाललाई मात्रै यति भनिराख्न उचित ठानेको छु । प्रिय मित्रहरु यो मेरो विचार प्रकाशितको लागि केहि समय अगाडि नै तयार भएको भएतापनि सोहि समयमा प्रचण्डले जनताको थप्पड खाएको हुँदा घाउमा नुन हालेको आरोप लाग्ने भयले अलि ढिलो प्रकाशित गर्ने मनशाय बनाएको पाठकबृन्दहरुमा निबेदन गर्न चाहन्छु ! जय नेपाल ! जय पृथ्बी !
(ब्यक्त बिचारहरु लेखकका निजि हुन् )




