बेल्जियमको इपरमा टकराएको जातिय पहिचान

राम वहादुर गुरुङ्ग / वेल्जियम

हामी जनजातीहरु अधिकांस लाहुरे परिवारको हुनाले आफु लाहुरे नभए पनि सुनेको जानेको हिसावले हामीलाइ लाहुरे सम्वन्धि र लडाइ तथा हातहतियार सम्वन्धि मोटा मोटी ज्ञान हुन्छ नै । मेरो वुवाले भारतिय वृटिस सेनामा भर्ना भएर अफ्रिकाको कंगो र पूर्वी युरोपमा दोश्रो विश्वयुद्ध लडेका थिए भने ठुलावाले नेपाली सेनाको कालीवहादुर पल्टनवाट दोश्रो विश्वयुद्धमा वृटिस सरकारलाई सघाउन वर्मा फ्रन्टमा लडेका थिए । उनले वर्माको जंगलमा जापानीहरुसँग वहादुरीसाथ लडेका थिए । उनी एक्लैले सार्पसुटिंग गरी आफ्नो मोर्चालाइ सखाप पार्न आएका जापानीहरुलाई मारेका हुनाले उनले वहादुरीस्वरुप मिलीटरी क्रस पाएका थिए । यो भिक्टोरिया क्रस पछिको दोश्रो उपाधी रहेछ ।

त्यसबेला नेपालवाट गएका सेना मध्ये यस्ता मिलिटरी क्रस पाउने दुइ तिन जना मात्र रहेछन । मेरा वुवा भन्दा पनि यिनै ठुला वुवा सु. होमवहादुरले मलाइ पटक पटक सुनाएको लडाइको वर्णन अझै पनि मेरो मानसपटलमा ताजै छ । उनी युद्ध कति क्रुर र विभत्स हुन्छ भनेर सुनाउँथे । मलाई राजनीतिक चेतना आएपछि मात्र युद्धलाइ राजनीति र इतिहाँससँग जोडेर हेरें । त्यस पछि यसको विविध पक्षहरुमा आफ्नो छुट्टै धाराणा पनि वन्दै गयो र चासो पनि वढदै गयो ।

पहिलो तथा दोश्रो विश्वयुद्ध युरोप वाटै शुरु भएको र भारतिय वृटिस सेनावाट दुवै विश्वयुद्धमा नेपालीहरुले लडेको भन्ने मैले इतिहाँसमा अध्ययन गरेको थिएँ । त्यसैले वेल्जियम आएर राजनीतिक शरणार्थी भएर वस्ने क्रममा युरोपमा दुवै विश्वयुद्धमा नेपालीहरु लडेको ठाउँ कहाँ होला भन्ने प्रश्नले मलाइ घच्घच्याइ रह्यो । यसवारे केही जानकारी पाइन्छकी भनेर वेल्जियममा नेपालीहरुलाइ सहयोग गर्ने वेल्जियन नागरिक जोन लेकन्सलाइ सोधें । तर उहाँले स्पष्ट उत्तर दिन सक्नुभएन ।

सन २००१ को नयाँ वर्ष मनाउन वकर्स पार्टी वेल्जियमले नेपाली जनप्रगतिशील मञ्च वेल्जियमलाई निम्ता गरयो । निम्तामा नविन सापकोट, कृष्ण खतिवडा र यो पंत्तिकारको उपस्थिति थियो । वकर्स पार्टी वेल्जियमका केन्द्रिय स्तर देखी स्थानियस्तर सम्मका  कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । हामी वेल्जियन परिकारको स्वाद लिंदै वर्कस पार्टीका कार्यकर्ताहरुले नेपालको राजनीति, भुगोल र इतिहाँस सम्वन्धि राखेको जिज्ञासाको उत्तरहरु पनि दिँदै थियो । यसै क्रममा मैले “नेपालीहरु दुवै विश्वयुद्धमा युरोपमा भारतिय वृटिस सेना अन्तर्गत युद्धमा भागलिन आएका थिए र कति यतै विरगती प्राप्त गरे भन्ने छ । त्यो ठाउँ कहाँ होला ?” भनी जिज्ञासा राखें । एक जना कमरेडले “त्यो स्थान वेल्जियमको इपर हो” भने । त्यो ठाउँ घुमाइदिन उनलाइ अनुरोध गरें । र उनले केहि दिन भित्र आफ्नो फुर्सदमा घुमाइदिने वचन दिए । यसरी हामी तिनजना त्यो साथीको सहयोगमा पहिलो पल्ट इपर पुग्यौं ।

हामीले पहिले लडाइको म्युजियम हेर्यौं त्यस पछि कम्पाउण्डले घेरिएको प्रथम विश्वयुद्धमा मारिएका योद्धाहरुको सामुहिक चिहानहरु हेर्यौं । प्रत्येक चिहानको गेटमा राखिएको रिकर्ड पुस्तिकामा नेपालीका नाम खोज्यौं तर पत्ता लगाउन सकेनौं । त्यसपछि हामीलाइ उनले इपरको मेनन गेटमा ल्याए । “प्रथम विश्व युद्धमा मारिएका तर मृत्यु पश्चात शरिरको कुनै पनि अवशेष फेला नपरेकाहरुको नाम यो गेटको भित्तामा लेखिएको छ ” भनेर उनले भनेपछि हामीले नेपाली नाम खोज्न थाल्यौं । तत्कालै हामीले मेनन गेटको पिल्लरमा नेपालीहरुको नाम देख्यौं । त्यहाँ नेपालीहरुको नाम देख्दा हामी उत्साहित र भावुक दुवै भयौं । साथै त्यती वेलाका सोझा नेपालीहरुले सपनामा पनि नसोचेको ठाउँमा आएर आफ्नो ज्यान गुमाउँदाको दुखदायी अन्तिम क्षणलाइ संझेर एकछिन हामी भावविभोर भएका थियौं । हामी नेपालीको यो दुखद परम्परा अझै कायम रहेकोमा दिक्क पनि लागेर आयो । यो भ्रमणवारे मैले विशेषगरि नेपाली जनप्रगतिशील मञ्च, तमु समाज साथै अन्य जनजाती साथीहरुलाइ सुनाएँ । त्यस पछि अनौपचारिक ढंगले किराँत समुादायका साथीहरु पनि इपर भ्रमणमा गए ।

वेल्जियमको सेन्ट्राइदिन वस्नु हुने लालवहादुर गुरु¨को अध्यक्षतामा २००१मा गठन भएको दश सदस्यिय जनजातीहरुको संगठन The World Gurkhaj Tribal Association for Conservation, Belgium ले औपचारिकरुपमै पहिलो पल्ट २००२ को नोभेम्वर ११ मा इपरमा श्रदान्जली कार्याक्रम सम्पन्न गर्यो । त्यसपछि २००३ को ११ नोभेम्वरमा पहिलो पल्ट तमु समाजको आयोजनामा सल्लाहकार गमवहादुर गुरुङको संयोजकत्वमा इपरमा श्रदान्जली कार्यक्रमको आयोजना गरेको थियो । यिनै गमवहादुर गुरुङको प्रयासमा इपरमा विरगती प्राप्त गर्ने भारतिय वृटिस सेनाको नामावली सम्वन्धित निकायवाट प्राप्त गरेर वेल्जियमका नेपालीहरु विच प्रकाशमा ल्याइएको थियो । श्रदान्जली कार्यक्रमले विचमा दुइ वर्ष निरन्तरता पाएन । तर २००६ र २००७ मा पुन तमु समाजले श्रदान्जली कार्यक्रम गर्यो । तर फेरीपनि विचका केही वर्षहरुमा कार्यक्रमले निरन्तरता पाउन छाड्यो । तमु समाजको आफ्नो विविध समस्याले विच विचमा निरन्तरता दिन नसकेका वर्षहरुमा वेल्जियमका अन्य संगठनहरुले पनि त्यो स्थान लिन नसकेको पनि सत्य नै हो ।

फेरी २०१०देखी हालसम्म तमुसमाजले निरन्तर इपरमा ११ नोभेम्वरमा श्रदान्जली कार्यक्रम गर्दै आइरहेको छ । यसरी इपरमा श्रदान्जली कार्यक्रमको आयोजना गर्ने संगठनको रुपमा अग्रस्थानमा रहेर पनि आज स्मारक वनाउने विषयमा स्वत उस्लाइ जिम्मेवारीको नेतृत्व दिनको सट्टा उ भन्दा पछि जन्मेका संगठनलाइ दिने कोशिस केही व्यक्ति विशेषवाट भइरहनुलाइ विडम्वनानै भन्नु पर्छ ।

अहिले इपरमा प्रथम विश्वयुद्धमा विरगती प्राप्त गर्ने गोर्खा सैनिकहरुको संझनामा स्मारक निर्माण गर्ने कुरा उठे पछि वाह्र वर्ष पहिले देखी इपरको महत्वलाइ प्रकाशमा ल्याउने तथा प्रचार प्रसार गर्ने अलावा श्रदान्जली कार्यक्रमहरु संचालन गर्दै आइरहेको संगठनलाइ छायाँमा पार्दै वर्तमानको विषयलाइ मात्र विभिन्न रंग दिएर वहुप्रचारित गरिएको छ । यो प्रकृया इपरसँग भावानात्मक सम्वन्ध राख्ने समुदाय विच निश्चितरुपमा ग्राह्य छैन भन्ने कुरा गत ११ नोभेम्वरमा इपरको स्मारक निर्माण स्थल भनिने स्थानमा भएको विभिन्न व्यक्तिहरुको अनौपचारिक अभिव्यक्तिले झल्काएको छ । त्यो अनौपचारिक अभिव्यक्ति दिने क्रममा केही व्यक्तिहरुले आत्मकेन्द्रित हुँदै विगतलाइ पुरै विर्सेर केही वर्ष यता आफुहरुले मात्र यस्तो र उस्तो गर्यौं भनेर प्रचारवाजी गर्दै विगत देखी श्रदान्जली कार्यक्रम गर्दै आउने तमु समाज र अन्य जनजातीका संगठन तथा व्यक्तित्वहरुलाइ ओझेलमा पार्ने कोशिस गरे । यसै भावभुमीमा ‘जातीभन्दा माथी उठनु पर्छ’ भन्दै एनआरएन वेल्जियमलाइ स्मारक निर्माणको जिम्मा दिइनु पर्छ भन्ने प्रस्ताव सम्म गर्न भ्याए । तर यस्ता अभिव्यक्ति दिनेहरुलाइ उपस्थित अधिकांशले नेपाल हाउस जस्तो योजना सफल पार्न नसकी असफल सिद्ध हुँदै गइरहेको एनआरएन वेल्जियमलाइ स्मारक वनाउन दिन नहुने तर्क राख्दै तमु समाजलाइनै यसको नेतृत्व दिनु पर्छ भन्ने आवाज उठेको थियो । जाती भन्दा माथी उठनुपर्छ भन्नेलाइ तमु समाजका कार्यकर्ताहरुले “के तमु नेपाली होइन ?” भन्ने प्रतिप्रश्न गरेका थिए ।

जाती भन्दा माथी उठनु पर्छ भन्ने महानुभावले हिजो एनआरएन वेल्जियमवाट आफु सम्भावित आइ.सि.सि.को उम्मेदवार हुँदा आफ्नो व्यक्तिगत स्वार्थको लागी आफु सम्वद्ध जातिय संगठनलाइ आफुलाइ भोट दिन जातिय व्हिप जारी गर्न संगठनलाइ दवाव दिएका थिए । उनको प्रस्तावलाई संगठनको वहुमतले नकारेपछि उहाँहरु उँधोमुन्टो लगाउँदै फर्कनु भएको थियो । यो चरम अवसरवादी चरित्रको नांगो जात्रा थियो । यस्ता निम्न कोटीका वैचारिक सोंच राख्ने व्यक्ति इपरको प्रस्तावित स्मारक स्थलमा उभिएर त्यहीं जातिय संस्थालाइ औंल्याउदै “जाती भन्दा माथी उठनुपर्छ” भन्ने आव्हान गर्नु कति निर्लज्ज तरिका हो भन्ने वेल्जियमका नेपालीहरु विच अहिले चर्चाको विषय वनेको छ । अहिले आएर निर्माण हुनेवाला स्मारक सँग आफुलाइ जोडेर सस्तो प्रचार गर्नेहरुले इपरसँग नेपालीहरुको सम्वन्धलाइ जस्तोसुकै रुप दिन खोजे पनि वेल्जियमको विगत देखी वर्तमान सम्म जनजातीहरु इपरसँग कसरी गाँसिएका छन भन्ने विषय अहिले वेल्जियममा दिनको घाम जत्तिकै छर्लङ्ग छ ।

इपरमा आदीवासी जनजातीको चासो वढि किन ?

नेपालमा २०४६ को जनआन्दोलन पछि देशमा आएको परिवर्तन सँगै आदीवासी जनजातीहरु पनि सचेत हुँदै आएभने माओवादी जनयुद्धकालमा जातिय पहिचानको आवाजले शसक्त रुप लियो । “नेपाल वहुजाती, वहुभाषी, वहुधार्मिक तथा वहुसांस्कृतिक देश हो” भन्ने मान्यतामा जनमत वढदै गयो । “त्यसभित्र रहेका समस्याहरुको सम्वोधन भए मात्र समग्र नेपालको समस्या हल हुन्छ” भन्ने विषयलाइ नेपालका प्राय सवै राजनीतिक दलहरुले गम्भिरताका साथ लिनपर्ने अवस्था सिर्जना भयो । साथै नेपालका केही जातीहरु एकिकृत नेपाल भित्र गाभिनु भन्दा पहिले राष्ट्रको रुपमा विकसित भइसकेका थिए । तर आधुनिक नेपालमा तत्कालिन उच्च अहंकारवादी मुठ्ठिभर व्राह्मणवादी सामान्ती राज्यसत्ताले उनिहरुको धर्म, भाषा र संस्कृति खोसेर उनिहरुलाइ उत्पिडित वनायो । यो अमानविय कार्यको कारण उनिहरु राज्यको हरेक क्षेत्रमा पछाडी पर्दै गए । यो सामान्तवादी राज्यसत्ताको नियोजित चालवाजीनै थियो । यो उत्पिडनको चरम अवस्था भनेको तत्कालिन शासक वर्गले अनेक चालवाजी गरेर यि जातीका युवाहरुलाई पहिलो तथा दोश्रो विश्वयुद्धमा होमेका थिए ।

नेपालको इतिहांसमा के देखिन्छ भने सुगौली सन्धि सुरु हुनुभन्दा केही समय पहिलैदेखी यो जातीहरुको सोझोपन र लडाकु प्रवृत्ति साथै कठिन परिस्थितीको पनि सामना गर्न सक्ने जातीको रुपमा अंग्रेजहरुले नेपालसँगको युद्धमा हेक्का राखेका थिए । त्यसैले पनि सुगौली सन्धि पश्चात तुरुन्तै गोर्खालीहरुलाइ अंग्रेजहरुले आफ्नो सेनामा भर्ना गर्न थालेका थिए । अढाइ शय वर्ष पहिलेदेखी अहिलेसम्म जनजातीहरुले विदेशी सेनामा भर्ना हुनु पर्ने जस्तो राज्यको उत्पिडन भोग्दै आएको छ । त्यसैले प्रश्न उठछ के यि उत्पिडित आदीवासी जनजातीहरु उत्पिडनवाट मुक्त हुन संघर्ष गर्नु उनिहरुको अधिकार भित्र पर्दैन ? उनिहरुले आफ्नो जातिय पहिचान किन नखोज्ने ? त्यसैले जातिय पहिचान सहितको संघियता भएको संम्विधान वनेमात्र उनिहरुको अस्तित्व कायम रहने छ । र उनिहरुले अरु वरावर राज्यको असली हिस्सेदार वन्न पाउनेछन र विस्तारै शासक जातीको हाराहारीमा आइपुग्नेछन । त्यसैले पनि जातिय पहिचानको विषय हामी आदीवासी जनजातीहरुको लागी अपरिहार्य छ ।

आज यो सवाल हाम्रा पुर्खाहरु जो वाध्यातावश यो ठाउँमा आएर अर्काको साम्राज्यको खातिर वलिदानी भए उनिहरुको सम्झनामा वनाउने स्मारकको विषयमा आएर टकराएको छ । जाती भन्दा माथी उठनु पर्छ भन्ने नाममा हाम्रो जातिय पहिचानलाइ मेटाउने दुश्साहस गरिंदै छ । जवसम्म आदीवासी जनजातीहरुलाइ अरु वरावरमा ल्याइने राज्यले व्यवस्था गर्दैनन तव सम्म यो जातिय पहिचानको आवाज, उत्पिडनको आवाज उठिनै रहनेछ । त्यसैले हामीलाइ नेपालमा ठगे जस्तरी आज यहाँपनि हाम्रो भावना र पहिचानलाइ लत्याएर समग्र नेपाली भन्दै घुमाउरो किसिमले हामीलाइ उनिहरुको पछाडी सधैँलुरु लुरु हिडने सोझो जातीमा दर्ज गराउन खोजिंदै छ । यो चलाखीलाइ आदीवासी जनजातीहरुले समयमानै वुझ्न जरुरी छ ।

विश्वयुद्धमा विरगती प्राप्त गरेका गोर्खालीहरुलाइ दिइने विशेषण तथा सम्मान सम्वन्धमा

श्रदान्जली कार्यक्रममा आएका नेपालीहरुले “इपरमा विरगती पाएका गोर्खालीहरु प्रति हामीले गर्व गर्नु पर्दछ” भनेको पनि सुनियो । तर यो विरगाथाको पछाडी थुप्रै दर्दनाक कथा छन । हामीले एकोहरो ढंगले उनिहरु प्रति गर्व मात्रै गर्ने हो भने मानवता विरोधी तथा राष्ट्रविरोधी विदेशी भर्तिलाइ निरन्तरता दिइरहनुनै हो । तर अहिलको समय परिस्थीतीले “त्यो वाटो गलत थियो” भन्ने निष्कर्षमा पुगेका छन जनजातीहरु पनि । किनभने उनिहरु आफुखुशी यहाँ लडन आएका थिएनन । उनिहरुलाइ तत्कालिन राणा प्रधानमन्त्रि चन्द्र शमशेरले उर्दी जारी गरेपछि भारतिय वृटिस सेनामा वाध्यतावश भर्ना भएका थिए । प्रथम विश्वयुद्ध समाप्त भएपछि चन्द्रशमशेरले प्रथम विश्वयुद्धमा सहयोग गरे वापत अंग्रेजहरुसँग केही माग राखे । जसमध्ये प्रधानमन्त्रिलाइ पिलिभीत सिमाको वा अन्य ठाउँको केही क्षेत्र दिने भन्ने थियो । तर अंग्रेजहरुले यस्को सट्टा उनलाइ वर्षेनी दशलाख दिने भए । शायद यसैलाइ रोएल्टी भनिन्थ्यो । भनिन्छ अंग्रेजहरुले दिने गरेको रोयल्टी राजतन्त्र रहुन्जेल सम्म थियो । यसको हिसाव खोज्ने यि विरगती पाउनेहरुका सन्तती हामीले हो ।

पहिलो तथा विश्वयुद्धमा भर्ना गरिएका गोर्खाली सैनिकहरु जो बाँचेका थिए ति मध्ये कतिपयलाइ खालीखुट्टा फर्काइएको थियो । पहिलो विश्वयुद्ध ताकाका त रिर्कडनै पुरा छैन । दोश्रो विश्वयुद्धताकाका यस्ता सैनिक तथा उनका परिवारलाइ भुतपुर्वक सैनिकहरुको संगठन गेसोको सहयोगमा थोरै भए पनि पेन्सन वा अर्थिक सहयोग दिलाउने काम भयो । भुतपुर्वक सैनिकहरुको विभिन्न समस्यालाइ लिएर वृटिस सरकारसँग मुद्धा लडेको गेसोले धेरैजसो समस्याहरुको समाधान गरेका छन र वांकी समस्यासंग पनि उनिहरु जुझ्दैछन । त्यस्तै गरेर हामी विदेशमा रहेका विर गोर्खालीका सन्ततीहरुले पनि आफ्ना पुर्खाले विदेशमा रगत वगाएका र ज्यान गुमाएका स्थानको खोजी गर्ने, उनिहरुको पहिचान उजागर गर्ने साथै उनिहरुको संझनामा स्मारक वनाउने र उनका सन्ततीहरुले क्षतीपूर्ती नपाएका भए त्यसको लागी कोशिस गर्ने जस्ता कार्य गर्नुनै उनिहरु प्रती सच्चा श्रदान्जली र सम्मान हो ।

(लेखक नेपाली जनजाती सरोकार मञ्च युरोपका अध्यक्ष तथा बेल्जियमको ईपेरमा नेपाली सैनिकहरुको बलिदानबारे खोजबिन शुरु गर्ने पहिलो नेपाली पनि हुन् )।

ईपेर संवन्धि तलका लेखपनि हेर्नुस्

गुमनाम मृत्यु

बेल्जियममा मारिएका हजारौं नेपालीको चासो कसलाई ?

प्रथम विश्व युद्दमा बेल्जियमबाट लडेका नेपाली

तपाइँको प्रतिक्रिया