झाप्पड काण्ड : सामूहिक आक्रोशको छताछुल्ल रुप

झाप्पडकाण्ड नियाल्दै जाँदा सबैभन्दा विश्वाशिलो सूचना राखेको लाग्यो, स्तम्भकार आनन्दराम पौडेलले फेसबुकमा । प्रचण्डलाइ झाप्पड हान्ने ब्यक्ति को हो ? कुन पार्टीको हो ? किन हान्यो ? छोटो जानकारिमा सबै अटाएका रहेछन् । मङ्सीर १ गते एमाओवादीले आयोजना गरेको चियापान समारोहमा प्रचण्डको गालामा थप्पड हान्ने पदम कुँवर उनैका कार्यकर्ता पो रहेछन् ।

बाग्लुङ जिल्ला, राजकुत-२ कुटनेटाबाट उनको पूरै परिवार भूमिगत भएर जनयुद्धमा होमिएको रहेछ । द्वन्दकालमा उनको दाजु र दिदीलाइ लागेको गोलि अहिलेसम्म निकालिएको रहेनछ । दिदी र दाजुको शरिरमा रहेको गोलि निकाल्नका लागि लोकतन्त्र आएपछि सबै नेताहरुको घर-घर धाएछन् । कसैलेपनि वास्ता नगरेपछि निरास भएर यिनी सोह्रखुट्टेको तन्दुरी रेस्टुरेण्टमा काम गर्न थालेछन् । दाजु सुन्दरचाहीं गाउँमै पसल थापेर बसेछन् । प्रचण्डलाइ थप्पड हानेर यिनले आफूभित्र दन्किरहेको आक्रोसको ज्वाला पोखेका रहेछन् । अब प्रश्न उठ्छ झाप्पड हान्नु ठिक हो कि हैन ?

पिटेर, कुटेर, ज्यान मार्ने धम्कि दिएर समस्याको समाधान हुन्न । प्रजातन्त्र, प्राजातान्त्रिक संस्कारपनि यो होइन । कुटपिटबाट हुने भए खै त त्यत्रो दश वर्षे जनयुद्दबाटै हुँदो हो । समाधान भएन । तर न्युन स्तरका हाम्रा झोले नेता, राजनितिक पार्टीका भरिया जस्ता कार्यकर्ता र भरौटे अनि अन्धभक्तहरुले भने नेता हेरि ठिक र बेठिक भनिरहेका छन् । एमालेका नेता झलनाथ खनाललाई झाप्पड हान्दा एकिक्रित माओवादीका छोटे नेता र कार्यकर्ता रमाएका थिए । अहिले प्रचण्डमाथि झाप्प्ड हानिँदा नेपाली कांग्रेसका कार्यकर्ता र युद्दमा अत्याचार गरेका थिए प्रचण्डले भन्दै आक्रोशित सर्वसाधारणपनि बढिनै खुशि भएको देखियो । अचम्म के भने कांग्रेस सभापती सुशिल कोइरालामाथि आक्रमण हुँदा बिरोध गरेका केहि कांग्रेस कार्यकर्तापनि प्रचण्डमाथि आक्रमण हुँदा चाहिँ रमेको देखियो । यद्दपी यसरि झप्पड खाने नेता रामकन्द्र पौडेल र झक्कु सुबेदीपनि हुन् । पौडेलले संसदभित्रै गोल्छे सार्कीको झाप्पु खाएका थिए भने सुबेदीलाई बानेश्वरमा चिया पसलेले झाप्पड हानेका थिए ।

झाप्पडनै हानेर समस्याको समधान हुन्न नै । तर जनताको धैर्तयाको बाँध टुटेको संकेत चाहिँ हो यो । जनयुद्दका बेला पदम कुँवरलाई माओवादी नेताले घरैमा गएर फकाए । यो मुलुकमा धनी र गरिब हुन्न । सबै बराबर हुन्छ । देशको बिकास हुन्छ । शिक्षा, स्वास्थ्य, रोजगारीको सुनिश्चित हुन्छ । मुलुकले विकासको नाटकिय फड्को मार्छ । गरिबका दिन आउँछन् । यस्तै आश्वाशन दिएर सिंगै परिवारलाई जनयुद्दमा होम्न बाध्य बनायो । ति सबै त्यागेर जुधे, लडे । तर लडाईमा भिडन्त गर्दा लागेका गोलीका छर्रापनि पार्टी र माओवादीको सरकार बनेपछिपनि झिक्न नसक्दा कति आक्रोश पैदा भयो होला ? एकातिर माओवादी नेता आलिशान भवनमा बस्ने । नेताका छोराछोरी र आउरेबाउरेहरुका दिन फेरिने । बिदेश भ्रमण र मोजमस्ति गर्ने । टाढाबाठा र नेताको चाकरी गर्नेहरुका दिन फिर्ने । तर तिनलाई सत्तामा पुर्‍याउन ज्यानको बाजी लगाएर लडेकाहरुको गोलीपनि शरिरबाट झिकिदिने कोहि नहुने ? यस्तो अवस्था भएपछि कसैले सहन सक्छ ? यस्ता हजारौं कार्यकर्ता छन् माओवादीमा ।

पार्टीले आजको भोली बिजुली चम्केको गतिमा परिवर्तन गरोस् भन्ने सोचेका छैनन् तिनले । तर नेताले गरेको भ्रस्टाचार, मनपरि, नाताबाद, मोजमस्ति, महल र सवारि प्रेम, जासुसहरुसितको उठबस, राष्ट्रियतामाथिको गद्दारी, लूट, भ्रस्टाचार देखेर वाक्क र दिक्क भएका छन् । जनयुद्द गर्दा जे आश्वाशन दिएका थिए त्योसित एक प्रतिशतपनि आज लागू नभएको देख्दा हजारौं कार्यकर्ता आक्रोशित छन् । कुँवरलेपनि आफ्नो समस्या लिएर पार्टी र नेता धाएछन् । आफ्नै पार्टी नेत्रित्वको सरकार हुँदासमेत कहिँ कतै सुनुवाइ नभएपछि “मर्ता क्या नहिँ कर्ता?” भने झैं आक्रोश पोखेका हुन् ।

कुँवर एक ब्यक्ति हुन् । तर उनको आक्रोश सामूहिक आक्रोशको छताछुल्ल रुप हो । यसलाई कसरि न्युनिकरण गर्न सकिन्छ ? पार्टी र नेताले के के बिराए भनेर घोत्लिनु त कता कता एकिक्रित माओवादीका नेताले प्रचण्डको चाकरि गर्दै निश्कर्ष निकालेका छन् “यसलाई क्षणिक आक्रोस र अराजकता मात्र मान्नु मनोगत र गलत हुन्छ । शान्ति, संविधान र संघीयताविरुद्ध गम्भीर षड्यन्त्र हो । यसले प्रतिगमनलाई नै सहयोग पुर्‍याउँछ ।” यो कार्यकर्ताको मनोभावना बुझ्न नसक्ने, पार्टीलाई अझै नेताको चंगुलमा सिमित राख्ने, प्रचण्डप्रति भक्ति गाएर आफ्नो दुनो सोझ्याउने हुतिहारा र रुन्चे दाबी हो । यस्तो बुझाईले अझ धेरै मुड्कीहरु उदाउने बनाउँछ । अझ धेरै पदम कुँवर र देवी प्रसाद रेग्मी जन्माउँछ । कार्यकर्ता, पार्टी पंक्ति, समाज, देश र जनता प्रति जिम्मेवार बन्नु पर्छ । स्थानिय तहमा भिज्नुपर्छ । जनगुनासा सुन्नुपर्छ र तिनलाई हल गर्नुपर्छ । नसके जनतासित छलफल गरेर सम्झाउनुपर्छ भन्ने हेक्का माओवादी नेताको गिदिमा अझै घुसेनछ । बरु अब त झन सभा र सम्मेलनमा जनता र कार्यकर्तालाई नेताबाट टाढै राख्ने निर्णय पो गरेछन् ।

ठिकै हो, हिजो जनताका छोराछोरीलाई ढाँट्न, फकाउन, फसाउन, सन्काउन, उचाल्न र कुर्सीको भर्‍याङ बनाउन पो खाँचो थियो र गुन्द्रिमा सँगै बस्नुपर्थ्यो । अब सिंहदरबार र दिल्ली दरबार धाएकै भरमा मस्ति गर्ने दिन आउँछन् भन्ने भएपछि किन जानुपर्‍यो जनताको नजिक ? तर हेक्का राखे हुन्छ माओवादी नेत्रित्वले, विश्वकै सर्वशक्तिमान भनिएको देशका राष्ट्रपती जर्ज बुशमाथिपनि मध्यपूर्वमा हलभित्रै एक पत्रकारले जुत्ता हानेका थिए । त्यसैले बन्द घेरा, प्रहरी सुरक्षा र जनताबाट टाढा बस्छु भन्दैमा जनताको आक्रोशबाट बच्न सकिन्न ।

हिजो जनयुद्द गर्दा माओवादीले बाचस्पती देवकोटामाथि गोरखामा आक्रमण गरे, भिरबाट पथ्थर गुल्ट्याउँदै । एमाले महासचिव ईश्वर पोख्रेललाई सिन्धुलीतिर झण्डै मारेका थिए आक्रमण गरेर । उनीहरुले सिकाएको के थियो भने बिचार र बाटो नमिल्नेलाई कुट, पिट, मार, पत्तासाफ पार, धम्काउ, थुन, अपहरण गर, यातना देउ, लुछ, चिथोर, निचोर, थेचार, रुवाउ, हातखुट्टा भाँच । मुलुक ठग्नेहरुमाथि जनताले आक्रमण गर्न पाउनुपर्छ । भ्रस्टाचार, मनपरी, नाताबाद गर्नेलाई भौतिक कारवाही गर्नुपर्छ । हिजो सिकाएकै यहि थियो । कार्यकर्ताले सिक्ने के हो ? हिजो अरुलाई जे जे आरोप लगाइएको थियो, आज माओवादीका उपल्लो तहका कार्यकर्ता र नेता त्यहि रुपमा फेरिएका छन् । एमाले र नेपाली कांग्रेसले गरेको ठगी, बदमासी, मस्ति, लूट, भ्रस्टाचार, ठेक्कापट्टा सबै आज माओवादीका नेता र अकर्यकर्ताको पञ्जामा पुगेको छ । यस्तो अत्याचार गर्दा कांग्रेस एमालेमाथि कारवाही गर्न सिकाउने पार्टीका नेताले त्यहि गरेपछि कार्यकर्ताले गर्ने के त आज ? वास्तबमा कुँवरले त प्रचण्ड र उनको पार्टी र नेताले जे सिकाए त्यहि गरेका हुन् ।

हिजो एमाले र नेपाली कांग्रेसलाई राष्ट्रघाती, देश बिरोधी भनेर फलाक्ने माओवादीहरुलेनै अहिले सबै भन्दा बढि राष्ट्रघात गरिरहेका छन् । भ्रस्टाचारको पारो कांग्रेस र एमालेको बेलाभन्दा अझै आकाशिएको छ । नेताका गाडी र महल शामान्तहरुलेपनि रस चुहाउने अवस्थाका छन् । अनि नेताको बोली झर्न नपाउँदै मुढा तेसार्ने, बन्दुक उचाल्ने, भिडन्तमा उत्रिने कुँवरहरुले आज त्यस्तो देखेपछि मुड्की नउदाएर के गर्नु ? राजनितिक पाठ सिकाएकोपनि त्यहि । शारिरिक अभ्यास गराएकोपनि त्यहि । १० वर्ष सम्म रोपिएको बिरुवाको फल अहिले गाउँ गाउँ टोलटोलमा फलिरहेको छ । कुँवर त्यहि बिरुवाका एक फल हुन् । आफैंले रोपेको फल अहिले माओवादीले खान पायो । जनयुद्द गर्दाका ६, ७ वर्षका नानीहरु अहिले कुँवरले झैं मुड्की हान्ने फलमा बदलिएका छन् । यस्ता फल माओवादी नेताले अझ धेरै पाउन सक्छन् । यो समजमा यस्ता फलहरुको भारी हाम्रो समजले अझ बढि ब्यहोर्नुपर्ने हुन सक्छ ।

तपाइँको प्रतिक्रिया