कम्मल ओढेर घ्यु खाने प्रबितिले माओवादीमा फूट

युवराज चौलागाई (माओवादी केन्द्रिय नेता)

बास्तवमा एकिक्रित नेकपा (माओवादी)र नेकपा-माओवादी पार्टीको बिचमा त्यति भिन्नता छैन । पार्टी फोर्ने साथीहरुले यो फुटको औचित्य साबित गर्न सक्नुभएको छैन । मेरो बिचारमा यो फुटको औचित्य ईतिहासमा साबितपनि हुँदैन । उहाँहरुले जसरि पार्टी फुटाउनु भएको छ त्यो संकिर्ण संगठनात्मक सोच र अलिकति पुरातनबादी चिन्तन ले गर्दा हो । त्यो दुई वटाको कूल योगले गर्दा पार्टी फुटेको छ । ‘हामीले हामीले भनेजस्तो हुँदैन भने हामी फुटाइदिन्छौं र देखाइदिन्छौं’ भन्ने खालको एउटा संकिर्ण सोच । पुस्तकमा पढिएको सफल क्रान्तिको पुनराव्रित्ति आफ्नो देशमा गर्न चाहने चिन्तन । त्यो दुईवटाको योगले यस्तो भएको छ ।

जबकी नेपालको जनक्रान्ति वा आन्दोलन जे भनौं त्यो चाहिँ निरन्तर नयाँ नयाँ बाटोबाट हिँडेर मात्रै निरन्तर अगाडि बढेको छ । अन्यत्र सफल भैसकेको क्रान्ति जस्ताको त्यस्तै लागू गर्छु भन्यो भने त सफल हुन्न । चित्र त हेरेर बनाउन खोज्यो भने ठ्याक्क हुन्न । यहाँ त मान्छेहरुको बिचमा सामाजिक क्रान्ति गर्ने कुरा छ । त्यो त गाह्रो पर्छ । यो विषयमा साथीहरुले जे सोचिराख्नु भएको छ त्यो ईतिहासमा प्रमाणित हुनेवाला छैन र अहिलेसम्म भएकोपनि छैन ।

पार्टीको बिभाजनपछिपनि नेपालको सन्दर्भमा त्यति धेरै फरक परेको छैन । र मैले यहाँपनि हेरें । त्यति फरक परेको छैन पार्टीलाई । तर पार्टीका केहि महत्वपूर्ण साथीहरु छोडेर जानु भएको छ । उहाँहरु नगएको भए हाम्रो पार्टी अरु मजबुद हुन्थ्यो । त्यो कुरो हामीले मान्नै पर्छ । पुराना नेताहरु पार्टीमै बसेर मेहनत गरेर, एकताबद्द गराएर लैजाँदा खेरी त धेरै राम्रो हुन्थ्यो ।

तैपनि फुटको असर संगठनात्मक ढंगले उहाँहरुले पार्न खोजेपनि त्यति परेको छैन । बैचारिक रुपमा पनि नयाँ सिद्दान्त, नयाँ प्रस्तावना दिन सक्नु भएको छैन  । राजनितिक रुपमापनि कुनै नयाँ माहौलको स्रिजना गर्ने र राष्ट्रलाई त्यता जान बाध्य पार्ने खालको गतिबिधि गर्न उहाँहरुले सक्नु भएको छैन । त्यसैले यो फुट औचित्यहिन थियो भन्ने बिस्तारै प्रमाणित हुँदै छ ।

यो फुटलाई कसरि समाधान गर्ने भन्ने कुराको हकमा चाहिँ कम्युनिष्ट पार्टीका आधारभुत कुराहरुदेखि अहिलेसम्मका बिबिध पक्षहरुको विषयमा छलफल गर्नुपर्ने हुन्छ । त्यो धेरै गहन विषयपनि हो । जे भनेपनि समग्रतामा के भने उहाँहरुले फुटेर लामो समयसम्म टिक्न सक्नु होला भन्ने कुरोमा चाहिँ नेपालको राजनितिमा सन्देह गरिन्छ । र त्यो कुरा सहि हो जस्तो लाग्छ हेर्दा खेरी ।

केहि मानिसहरुले के चर्चा गर्छन् भने माओवादी अहिलेको फुटको अवस्थामा एक्कासि पुगेको होइन होला । पार्टीलाई एक पक्षले अब यसरि बिघटन गराउँदै छ, यस्तो तयारि गर्दै छ भन्ने बुझेपछि अर्को पक्षले पनि उसैगरि तयारि गर्दै आएको थियो होला । माओवादी शान्ति वार्तामा आएपछि बिगतमा एमालेले झैं झ्याँस माओवादीहरु, जो जस्तालाइपनि खुल्ला रुपले हुलियो। त्यसरि राधाक्रिष्ण मैनाली जस्तापनि छिर्न पाएपछि एकिक्रित नेकपा माओवादीतिर बढि हुनु त स्वभाविक भयो नि हो । यसरिपनि चर्चा गर्छन् कसैकसैले ।

तर कुरो के भने कम्युनिष्ट पार्टीलाई कम्युनिष्टहरुको द्रिष्टिकोण (एङ्गल) बाट हेर्नुपर्‍यो ।  त्यसरिनै बुझ्न सकिन्छ । हुन त उनीहरुपनि हाम्रो समाजकै उत्पादन हुन् । तैपनि हाम्रो कम्युनिष्ट पार्टीहरुको बैचारिक पद्दती के छ भने एउटा पार्टीभित्र हमेशा तिन खालको ट्रेन्ड हुन्छ । अलिकति उग्रबामपन्थि भएर सोच्ने । अलिकति राइट वा दक्षिणपन्थी भएर सोच्ने । वा अलिकति सहज बाटोहरु मात्रै खोज्ने । र दुईवटाको बिचमा अलिकति खेल्ने । त्यो क्रम भैराख्छ कम्युनिष्ट आन्दोलनमा । माओ हुनुहुन्थ्यो । माओसँग ग्याङ अफ फोरपनि थियो । र देङ्स्याओपिङहरुको टिमपनि थियो । तर माओ सफलनै हुनुहुन्थ्यो, सहिनै हुनुहुन्थ्यो । एउटा क्रान्तिकारि नेत्रित्वकर्ताको रुपमा लेनिन हुनुहुन्थ्यो । तर लेनिनसँग के भने एकातिर ट्रटस्कि थियो । अर्कोतिर स्टालिन थिए ।

उनिहरुको के ट्रेन्ड थियो दुनियाँलाई थाह छ । स्टालिन र ट्रटस्कीलाई सँगै लिएर हिँड्ने लेलिनचाहिँ न मध्यपन्थी थिए न गलत थिए । त्यो बिचमा यता उति खेल्ने काम भैराख्छ । तर त्यो सधैं भैराख्ने होइन । खासगरि माओवादी पार्टीभित्रको हकमापनि के भने अलिकति लेफ्ट, अलिकति राईट, अलिकति मध्यमन्थिहरु लामो समयदेखि पार्टीभित्र थिए नै । त्यो हुन्छ । जसरि एउटा चुम्बकलाई अन्तिमसम्म लैजाँदा उत्तर र दक्षिण ध्रुबहरु रहिरहन्छन् त्यसरिनै कम्युनिष्ट पार्टी यि दुई तिनवटा ट्रेन्डहरु रहिनै रहन्छन् । त्यो कम्युनिष्ट पार्टीको नियम हो ।

किरण कमरेडहरुले सोचे, प्रचण्ड र बाबुराम राईटिस्ट भए । तिनलाई हटाएर एउटा राम्रो पार्टी बनाउँ भनेपनि त्यहिँपनि लेफ्ट र राईट फेरि स्रिजना भैहाल्छ । त्यसैले एउटा क्रान्तिकारी पार्टीको नेत्रित्वको लागि यो नै सबैभन्दा राम्रो कुरा हो कि आफ्नो पार्टीभित्र आएका ट्रेन्डहरुमा आधारभुत कुरामा फरक नपरुन्जेल त्यसलाई लिएर जाओस् । मेरो बिचारमा कम्युनिस्टहरु त्यसैमा चुकेका हुन् र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा कम्युनिस्टहरु एकदमै प्रतिरक्षात्मक हुनुको कारण यो हो ।

एक्लै हुँदा क्रान्तिकारि हुने । मन मिल्ने मन मिल्नेहरुको बिचमा मात्रै काम गर्न रुचाउने । जोसँग अलिकति मन मिल्दैन त्यसलाई बिभिन्न आरोपहरु लगाएर टाढा पन्छाइदिने । दक्षिणपन्थी, उग्र, गद्दार के के भन्दिने । उसलाइ समाप्त पार्ने कोसिस गर्ने । अन्तत  उसलाई समात्न पार्न नसक्ने र आफैंपनि कमजोर बन्ने । यो विश्व र नेपालको पनि कम्युनिष्ट आन्दोलनको आत्मघाति ट्रेन्ड हो ।

पछिलो समयमा माओवादी आन्दोलनको सफलता के थियो भने चाहिँ एउटा प्रस्ट जनयुद्दको धारमा अन्य कम्युनिष्ट पार्टीहरुको बिचमा एकता कायम गरेर आएको थियो र त्यसलेनै उसलाई सफल पारेको थियो । कम्युनिस्ट आन्दोलनमा खासगरि २०५२ सालको प्रक्रियादेखि यता कम्युनिष्ट पार्टीहरुमा अलग खालको एकता कायम भएको छ । त्यसमा बैचारिक स्पष्ठता र सांगठनिक उदारता वा संगठनात्मक अलि फराकिलोपना भनौं न । त्यसले काम गरेको देख्छौं हामी । त्यो ट्रेन्डको निरन्तरता हो के यो पनि ।

कतिपय मानिसलाई हामीले पार्टीभित्र ल्याउने या नल्याउने भन्ने कुरा । को सन्दर्भपनि छ । अर्थात् बहुमत पुर्‍याउनलाई प्रचण्ड पक्षधरले जस्तालाइपनि हुने भन्ने आरोप । एउटा पार्टीको ढोका बन्द हुने कि सबै ट्रेन्डहरुलाई मिलाएर लिएर जान तयार हुने ? त्यो नै एउटा बहसको विषय हो । त्यसमा प्रचण्डको नेत्रित्वमा हाम्रो पार्टीले गरेको निर्णय र निष्कर्ष के थियो भने ढोका बन्द गर्न हुँदैन । कम्युनिस्ट आन्दोलनमा लामो संघर्ष गरेका पार्टी, ब्यक्ति र पात्रहरुलाई स्थान दिएरनै अगाडि बढ्नुपर्छ । त्यसो गरे मात्रै आन्दोलनलाई सफल पार्न सकिन्छ । नत्र सानो सानो गूटहरुमै रमाई राख्ने हो भने त्यसले कम्युनिष्ट पार्टीलाई असफलतातिर लान्छ भन्ने हो ।

हाम्रो नेपालको कम्युनिष्ट आन्दोलनको हकमा के छ भने कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलन एउटै छैन । सिंगो कम्युनिष्ट आन्दोलनका बिबिन्न पात्रहरु हुन् कम्युनिष्ट पार्टीहरु । कहिलेकाहिँ के भैदिन्छ भने कम्युनिष्ट आन्दोलनको पर्याय बन्न आइदिन्छ कम्युनिष्ट पार्टी । हाम्रो पार्टी कम्युनिष्ट आन्दोलनको पर्यायको रुपमा आएको हो । अहिले त्यसको बारेमा केहि प्रश्नहरु छन् स्वभाबिक रुपले ।

त्यो हुन्छ कि हुँदैन भोली ? एमालेले दाबी गरेको छ । किरण कमरेडहरुले कम्युनिष्ट आन्दोलनको मूल ट्रेण्ड यो हैन है, उहाँहरु अलिकति बिग्रिनु भो भन्नु भएको छ । यो त एउटा ईतिहासको फेरी परिक्षामा छ । यो परिक्षाबाट पार्टीहरु भाग्न सक्दैनन् र भाग्नुपनि हुन्न । भाग्यो भने त त्यो पार्टीनै भएन । समाप्त भयो । त्यो खालको स्थिति छ ।

कम्युनिष्ट पार्टीभित्रको फुटलाई कम्युनिष्ट आइडोलोजिकै फेनोमेनाबाट हेर्नुपर्छ । त्यसरि हेर्दा के भएको हो भनेर बुझिन्छ । मैले राख्न खोजेको एउटा कुरा यो हो । दोस्रो कुरा माओवादीमा शक्ति सन्तुलनकालागि, त्यसमा हाबी हुन बिभिन्न पक्षसित एकता गरिएको भन्ने कुरो बिलकुल झुठो हो । माओवादी पार्टीभित्र अहिले फुटेर जाने साथीहरु दुई लाइन संघर्षमा कहिल्यैपनि बहुमतमा हुनुहुन्न । कमरेड प्रकाशहरु (एकता केन्द्रवाला) सितको एकतालाई अलि बढि चर्चा गरिन्छ । हुन त हाम्रो धेरै पक्षहरुसँग एकता भएको छ पार्टीको ।

त्यसरि पन्छाएका छैनौं हाम्रो पार्टीमा एकता गरेर आउन चाहनेहरुलाई । जति एकता भएका आउनुपर्ने, ल्याउनुपर्नेलाई नै समाहित गरिएको छ । त्यसमा त्यति ठूलो बिबाद छैन । मैले भन्न खोजेको कुरो के भने कमरेड किरण पक्षहरु कहिले बहुमतमा हुनुहुन्थ्यो र त्यो बहुमतलाई उल्ट्याउन अध्यक्षले अरुसित एकता गर्नुपर्‍या हो ? भन्नुपर्‍यो नि त । २०६५ सालमा चर्चित खरिपार्टी भन्ने भेला थियो । त्यतिबेला पार्टीमा ठुलै फरक पर्नेगरि केन्द्रिय समितिमा सदस्यहरु थपिएको थिएन । काउन्टेबल तरिकाले थपिएको भनेको खरिपार्टी भेलापछि मात्रै हो । त्यो भन्दा अगाडिदेखि उहाँहरु पार्टीमा संघर्ष (स्ट्रगल) कै स्थितिमा हुनुहुन्छ । उहाँहरुले फरक मतहरु राखिराख्नु भएको छ । उहाँहरु निरन्तर अल्पमतमा पर्दै आउनु भएको छ । त्यसैले अर्को कुनै ट्रेन्डलाई ल्याएर पार्टीभित्र हाबी हुनकोलागि, त्यो बहुमतलाई उल्टाउनको लागि हो भन्ने कुरो गलत हो ।

तेस्रो कुरा के हो भने झुठकोपनि सिमा हुन्छ के । पार्टीमा सबै कुरा प्रचण्डले भनेको मात्रै हुन्छ र ? हुँदैनन् नी । यो पार्टीमा पुरानो नेता भएको नाताले जति बेलासम्म कमरेड किरण हुनुहुन्थ्यो त्यो बेलासम्म इज्जत थियो र भूमिकापनि त्यहि अनुसार थियो । यो पार्टीको उहाँ संगठन बिभागको प्रमुख हुनुहुन्थ्यो । पार्टीहरुसित हुने बार्ताको, एकता प्रक्रियाको संयोजन गर्ने टिमकोनै उहाँ प्रमुख हुनुहुन्थ्यो । उहाँलेनै निर्णय गरिसकेपछि मात्रै पार्टीले अनुमोदन गर्थ्यो । उहाँ चाहिँ कहाँ हुनुहुन्थ्यो त त्यतिबेला ? यो सबै प्रक्रियामा त उहाँलेनै सहि गर्नु भएको छ । उहाँकै तर्फबाट बार्ता भएका छन् । उहाँलेनै बार्ताको ब्यवस्थापन गर्नु भएको छ । उहाँलेनै पहलकदमी लिएर कामहरु अगाडि बढेका छन् भने आफुले जिम्मा लिएर गर्ने दोष जति कुनै एउटा अमुक मान्छेलाई लगाइदिएर पन्छिन मिल्छ र ?

बरु बास्तबिकता के हो भने एकता प्रक्रियाबाट आएकाहरुलाई समेत लिएर हामी बहुमतमा जाउँलाकि भन्ने कमरेड किरणहरुलाई थियो । तर उहाँहरुको दूर्भाग्य भनौं वा आन्दोलनको लागि एउटा राम्रो पक्ष के भैदियो पार्टीलाई भने एकता प्रक्रियामा आएका मध्ये अधिकांशले उहाँहरुलाई विश्वास गर्नुभएन । उहाँहरुले गर्न चाहेको त हो नि ! धोबीघाट के हो त त्यसो भए ? कमरेड प्रकाश लगायत अहिले संस्थापन पक्षमा भएका कतिलाई लिएर ‘लौ हाम्रो त बहुमत भयो अब’ भनेर अध्यक्षका बिरुद्द पत्रकार सम्मेलन नै गरेको होइन त ? त्यो चाहिँ के हो त ? आफुलाई साथ दिएमा भए भरको सबै खतबाद माफ । तपाईहरुको ठिक छैन कामरेड भनेर राजनिति बाझ्दाखेरि चाहिँ भएभरको आरोप लगाउने ? त्यो त ठिक भएन । राजनितिक ईमान्दारितापनि भएन । हामीले त कामरेड किरणलाई भन्यौं ‘तपाईहरुको राजनितिक ईमान्दारिता खै ? संविधान बन्दै बन्दैन भन्ने लागेको छ तपाईहरुलाई ? त्यसो भए संविधान सभामा किन आएको त ? एउटा राजनितिक नैतिकताकोपनि कुरा हुन्छ नि त । संविधान बन्दैन भन्ने हो भने संविधान चाहियो, संविधान हामी लेख्छौं किन भन्ने जनतालाई ? उल्लू बनाउने हो र ?

उहाँले त स्पष्ठै भन्नु भएको छ हो, ‘जनताको पक्षमा जनसंविधान बनाउने । जनसंविधान लेख्न नसके आन्दोलनमा जाने ।’ त्यो चाहिँ पार्टी फुटेपछिको अभिब्यक्तिको कुरो हो । पार्टी फुट्नु भन्दा पहिला त के थियो भने संविधान लेख्ने, जनसंविधान लेख्ने, संविधान सभाबाटै संविधान लेख्ने भन्ने कुरामा उहाँहरुको बिमति त होइन । डकुमेन्टहरुमा स्पष्ठै छ नी पार्टीको आधिकारिक दस्ताबेजमा के छ हेर्नुपर्‍यो । हाम्रो पार्टीले संविधानका अन्तर्वस्तु भनेर पार्टी केन्द्रिय समितिबाट पास गरेको छ । त्यसमा पार्टीको सर्वसम्मत छ । त्यसमा उहाँहरुको बिमति हुनुपर्‍यो नि त

जन संविधान भन्नु बभएको छ उहाँहरुले ।  त्यसमा जन भन्ने शब्द हाल्ने नहाल्ने अर्को कुरो भयो । तर हामीले के भनेका छौं भने जनताको संघिय गणतन्त्रको संविधान हामीलाइ चाहियो । त्यसैकोलागि पार्टीले जारि गरेको हो । त्यो भनेको के के चाहियो त ? त्यसमा यो यो हुनुपर्‍यो भनेर आठ, दश बुँदा पार्टीले पास गरेको छ । र त्यो एक मतले पास गरेको हो ।

सेना समायोजनको विषयमापनि के भने पार्टीले अरु पार्टीसित गरेको सहमतीको सात बुँदेमा एक मतले सहमती गरेको हो पार्टीको स्थायि समितिमा । जहाँ कमरेड किरणपनि पनि हुनुहुन्छ । स्थायी समितिका सबै सदस्य बसेको बैठकले एक मतले सेना समायोजनलाई निर्णय गरेको छ । अनि संविधानको बारेमापनि निर्णय गरेको छ । त्यहि विषयमा पार्टी अहिले अगाडि बढिराख्या छ । भन्ने मात्रै हो कि गर्ने पनि हो, गर्नेपनि हो कि भन्ने मात्रै हो त भन्ने तिरको बादबिबाद जस्तो भो । यहाँ भन्न खोजेको कुरो के भने मार्क्सले, लेलिनले स्तालिनले माओले परिकल्पना गरेकै जस्तोगरि सामाजिक ब्यवस्थाको रुपमा लिएर जाने हो कि कम्युनिष्ट त्यसलाई अप गर्ने हो भन्ने बादबिबाद हो ।

कम्युनिष्ट बिचारलाई सर्वस्विक्रित एउटा बिचारको रुपमा लिने हो कि निश्चित क्याडरहरुको बिचको सूत्रको रुपमा लिने ? भन्ने बहस हो यो । यसमा हामीले प्रमुख पक्षलाई प्राथमिकता दिएका हौं । उहाँहरुले दोस्रोलाई । बन्द समाजलाइ । धर्मशास्त्रको रुपमा मार्क्सवाद र कम्युनिष्ट आन्दोलनलाई लिने कुरालाई । ईतिहासमा जे भएको थियो त्यहि गर्नुपर्छ, नयाँ गर्न पाइदैन भन्ने कुरालाई हो । त्यसो भए उहाँहरुले भन्नुपर्‍यो नि त नयाँ चाहिँ के हो ?

ल एकछिनलाई मानौं कि प्रचण्डको नेत्रित्वको पार्टी चाहिँ अलिकति बिग्रियो रे । त्यो कुरो सहि त होइन । तर एक छिनलाई त्यो सहि मान्ने हो भने कम्युनिष्ट पार्टीले नयाँ केहि विकास नगरि जे भएको थियो त्यहि गर्दा मात्रै विकास हुन्छ त ? त्यो त उहाँहरुपनि मान्नुहुन्न होला । त्यसो भन्ने हो भने नयाँ चाहिँ के त उहाँहरुले भनेको ? हामीले भन्या नयाँ त ल यो भयो । उहाँहरुको चाहिँ के हो त नयाँ ? नयाँ केहिपनि छैन । त्यसो भनेको के हो भने पुरानोको निरन्तरतातिर जान्छ । त्यो भनेको धर्मशास्त्र हो । दिनभरि घण्टी बजाउने । रातपरेपछि मनपरि गर्ने जुन धार्मिक प्रब्रित्ति छ कम्मल ओढेर घ्यु खाने प्रबितिमा चाहिँ उहाँहरु जानु भएको छ । यो पखाण्डलेनै कम्युनिष्ट आन्दोलनलाई बर्बाद पार्छ ।

(चौलागाईसित नेपालप्लसले गरेकोको बार्तामा आधारित । यसका बाँकि भागपनि आउँने छन्)

तपाइँको प्रतिक्रिया