लडाकुजस्ता बेल्जियमका राजदूत !

(दाहिनेबाट तेस्रोमा राजदूत पोखरेल, चौथो अस्ति पत्रकार धम्क्याउने सुरेन्द्र भुसाल र त्यसपछि प्रचण्ड । अक्टोबर १४ मा भएको प्रचण्ड पक्षिय नेपाली जनप्रगतिशिल मञ्च, बेल्जियमको अधिबेशनमा)

राजदूत भनेको सबैको साझा । त्यो पदमा बस्नेले सबै नागरिकलाई समान ब्यवहार गर्न सक्नुपर्छ । राजदूतावास सबै नेपालीको साझा घर हो । आम नागरिकको करबाट उठेको पैसोले त्यो चल्छ । नागरिकले आफ्नो देश र जनताकालागि खटाउने हुन् साझा काम गर्न । तर त्यस्तो ब्यक्ति कुनै पार्टीको कार्यकर्ता जस्तो बन्यो भने ? कुनै नेपालीलाई पाखा लाउने, कसैले ससम्मान निम्तो दिँदापनि बेवास्ता गर्ने । कसैको चाहिँ मुठ्ठी उचाल्दै, लडाकूले झैं सलाम ठोक्दै हिँड्न थाल्यो भने ? न त देशको ईज्जत जोगिन्छ । न आम नेपालीको माया रहन्छ । न जोगिन्छ विश्वास । न हुन्छ भर । अहिले बेल्जियममा त्यहि भयो भन्दै त्यहाँका नेपालीको गुनासो चुलिँदो छ । त्यहाँका नेपालीहरुले राममणि पोखरेललाई देशको राजदूतको रुपमा, एउटा साझा अभिभावकका रुपमा भन्दा ‘माओवादी लडाकू जस्ता’ भनेर टिप्पणी गरिरहेका छन् । त्यसो हुनुको कारण के हो ?

किनभने एकातिर उनले राजनितिक प्रतिसोधको भावनाले काम गरेको अनुभव गरेको बताउँछन्  बेल्जियमबासी नेपाली । अर्कोतिर उनले बढिनै राजनितिक चाख राखेको अनुभुति गर्दै छन् । केहि नेपालीले भने उनले फ्रान्सका राजदूत मोहन क्रिष्ण श्रेष्ठले झैं आफुनिकटकालाई मात्रै महत्वपूर्ण कार्यक्रममा निम्ता गर्ने गरेको आरोप लगाएका छन् । उनको खासगरि राजनितिक ब्यवहार र सक्रियताले अहिले बेल्जियमका नेपालीहरु भित्र भित्रै आक्रोशित बनेका छन् । तर राजदूत पोख्रेलभने यसको ठाडै प्रतिवाद गर्छन् ।

बेल्जियमका नेपाली राजदूत राममणी पोख्रेललाई एकिक्रित नेकपा माओवादीले नियुक्त गरेका हुन् । त्यसमापनि उनलाई नियुक्त गर्नुमा प्रचण्डकै भूमिका थियो भनिन्छ । त्यसैले उनी माओवादीप्रति अलि नरम हुनु अन्यथा होइन । यस अघिका राजदूत प्रमेश हमाल जो नेकपा एमालेका केन्द्रिय सदस्य थिए उनलेपनि बेल्जियममा राजदूत हुँदा एमालेलाई हरियो बत्ती बालिदिने गर्थेनै ।

यस्तो किन भो ?

 

घटना सानातिना पहिलेपनि भएका हुन् । तर यो पटक ‘ड्यास र क्यास माओवादी’ फुटेपछि भने बेल्जियममा अलि चर्कै पर्‍यो । किनभने बिदेशमा तिनका जनवर्गिय संगठनपनि बिभाजित भए । बेल्जियमको ड्यास माओवादी निकट जनप्रगतिशिल मञ्चले अक्टोबर ७ मा अधिबेशन राखेको थियो । साझा घर, नेपाली दुतावास। नेपालीको एक मात्रै साझा प्रतिनिधिपात्र परे राजदूत । निम्ता गरे । मञ्चका अध्यक्ष प्रेम पाठक आफुले राजदूत पोख्रेललाई पटकपटक फोनबाट निम्ता गरेको संझिन्छन् ‘कार्यक्रममा आइदिनुपर्‍यो’ भन्दै । उनलाई हार्दिकतापूर्वक लिखित निम्तो दिएकोपनि भुलेका छैनन् । तर अहँ उनले वास्ता गरेनन् । बरु फोन गरेर पटक पटक संझाउन थालेपछि राजदूत पोखरेलले मोबाईल नम्बरनै बदलेर सम्पर्कबाहिर रहन खोजेको, बेवास्ता गर्न खोजेकोमा उनलाई असहज लागिरहेको छ ।

देशको प्रतिनिधी । उनले युरोपका धेरै मुलुकमा संवन्ध गाँस्नुपर्ने होला । अघिल्ला राजदूतहरुले देशको कति धेरै विकास गरे नेपालमा । प्रविधि भित्र्याए युरोपबाट । अस्पत्ताल बनाए, विश्वविध्यालय खडा गरे । पोखरेलले झन बढि गर्न खोजेका होलान् । त्यसैले उनी अझ ब्यस्त हुन सक्छन् । तर के दुतावासको अन्य कर्मचारी पठाउन सक्थेनन् ? ‘समय छैन है कामरेड हो’ भन्दै टुसुक्क पुगेर १०, २० मिनेटपछि लुसुक्क हिँड्न सकिँदैनथ्यो ? आखिर त्यस दिन सार्वजनिक बिदा थियो । सरकारी कामपनि हुँदैनथ्यो । तर दुतावासका कर्मचारी कोहि पुग्नु त पर, आधिकारिक जानकारिसमेत दिईएन आउने नआउने । त्यहि दाबी गर्छन् जनप्रगतिशिल मञ्चका अध्यक्ष प्रेम पाठक ।

पाठकले भने “कूटनितिक नियोग भएकाले हाम्रो कार्यक्रमबारे निम्ता दिईयो । कार्य ब्यस्तता हुन सक्छ राजदूतको । तर जिम्मेवार नेत्रित्वले सम्बोधन गर्नुपर्थ्यो । हामीले पूर्व समय अनुसारनै जानकारि दिँदा नआउनु, भोलि पल्टनै मोबाईल नम्बर बदल्नु, भोली सम्म खबर गर्छु भनेर खबरै नगर्नु । औपचारिक रुपमा पछिपनि कार्यक्रम आयोजकलाइ जानकारिनै नदिनु राजदूत नेपाली समूदायमा पूर्वाग्रहि भएर नै हो । यदि यस्तै ब्यवहार उनले जारि राखेमा नेपाली समाजमा उनीप्रति हार्दिकता रहन्न ।”

कार्यक्रममा पुगेका केहि पत्रकार र केहि नेपालीले नेपालप्लसलाई जानकारि गराए, – राजदूत पोखरेल अक्टोबर १४ का दिन आइतवार ‘क्यास माओवादी’ अर्थात् प्रचण्ड पक्षिय जनप्रगतिशिल मञ्चको अधिबेशनमा नाटकिय भूमिकामा देखिए । त्यस दिन दूतावासको गाडी दौडियो । उनी कार्यक्रम शुरु हुनु अघिनै पुगे । कार्यक्रममा उनी माओवादी लडाकू जसरि प्रस्तुत भए । उनी मञ्चको उद्घाटन सत्रमा मुड्कि कसेर उचाल्दै पुगेकोपनि नेपालीहरुले देखे । प्रचण्डको सामुन्ने लालसलाम ठोक्दै पुगेका थिए । कार्यक्रममा ढुक्कसित बसे, कुरा सुने, न्रित्य हेरे ।

त्यस दिनको उनको भूमिका देखेर क्यास माओवादीका अध्यक्ष प्रचण्ड त मख्ख परे । उनका कार्यकर्ताले ताउ लगाए । समर्थकहरुले आफ्नो ठाने । तर  त्यसले नेपालीहरुका बिचमा थप प्रतिस्ठा पक्कै दिएन ।  किनभने त्यस दिनको उनको भूमिका राजदूतको, नेपालीको साझा ब्यक्तिको जस्तो थिएन । त्यो देखेका बेल्जियमका नेपालीहरु छक्क परे । उनीसित एकाध पटक छोटो छलफल गरेका एक जना पत्रकारले सुनाए ‘राममणी पोखरेल राज्दूत जसरि प्रस्तुत नै हुँदैनन्, उनी माओवादीका पक्षमा यसरि खुलेर बोल्ने र बचाउ गर्छन् कि उनी लडाकू हुन् माओवादीका ।”  माओवादी कार्यकर्ताहरुपनि भन्दै थिए ‘कार्यक्रम हाम्रै पार्टीको राजदूत भएकालेपनि भब्य भयो। अफ्नो राजदूत भएपछि यस्तो फरक पर्ने रहेछ ।’

आफ्नो कार्यक्रममा दुतावासका अन्य कर्मचारीसम्म नपठाएका उनी प्रचण्ड पक्षिय मोर्चाको कार्यक्रममा पुगेपछि प्रेम पाठकले भने “हामीले हार्दिकतासाथ बोलाउँदा ढाँट्नु, बेवास्था गर्नु, जानकारिसम्म नदिनु । तर अर्को कार्यक्रममा जान सक्नु । राजदूतले एउटा नेपाली समूदायलाई बिच्छेद गरेर अर्कोको कार्यक्रममा जानु चाकरि हो ।”

मैले यसै विषयमा बुझ्न राजदूत राममणी पोख्रेलसित सम्पर्क गरेको थिएँ । उनले पाठकका भनाइहरुलाई सिधै खण्डन गरे । आफुलाई जनप्रगतिशिल मञ्च (हाल मोर्चा) का तर्फबाट कुनैपनि लिखित र मौखिक जानकारि नआएको दाबी गरे पोख्रेलले । बरु प्रेम पाठकले आफ्नो निवासको कामदारलाई केहि पटक फोन गरेर निम्तो छोडेको भने स्विकारे। ‘राजदूत जस्तो मान्छे कामदारलाई फोन गरेर निम्तो छोडेकै भरमा जान्छ कार्यक्रममा ? त्यो बाहेक मलाइ कसैलेपनि औपचारिक रुपमा निम्ता दिएन । अनि कसरि जाने म?’

आफुले हिजोदेखिनै राजनिति गरेपनि राजनितिक नियुक्ति लिएर राजदूतका रुपमा आएपछि पार्टी सदस्य त्यागेर सबै नेपालीको साझा अभिभावकका रुपमा आएको उनले बातए । ‘म राजनितिक नियुक्तिमा आएकोले मैले लगाएको भन्दा भिन्न चस्मा लगाउनेहरुले लगाएको आरोप हो त्यो’ पोखरेलले भने ‘पूर्वग्रह राखेर बोल्दा जेपनि भन्छन् । रिस उठेपछि जे आरोप लगाइदिएपनि भयो । मलैइ हुने नहुने काम र आग्रहमा फोन गरेर दुख दिन थालेपछि नयाँ नम्बर लिएको हुँ, कसैसित पन्छिन र लुक्न होइन ।’

आफुलाई निम्ता गरेका कसैलाईपनि आफुले बेवास्ता नगरेको, सकेसम्म हार्दिकताकासाथ पुग्ने गरेको र नसकेका बेला समयमै उचित जवाफ दिएको उनले प्रस्ट्याउन खोजे । आफु देशको प्रतिनिधित्व गरेर बसेकाले पूर्व प्रधानमन्त्रीको हैसियतले प्रचण्डलाई स्वागत गरेको उनले बताए । ‘मैले पार्टीको सदस्यता राजदूत नियुक्ति भएपछि थाँती राखेर आएँ । म देशकै प्रतिनिधि हुँ । पूर्व प्रधानमन्त्रीका हैसियतले मैले प्रचण्डलाई स्वागत गरें । सुरक्षा दिएँ । शेरबहादुर देउवा, झलनाथ खनाल जो आएपनि म स्वागत गर्छु र सुरक्षा दिन्छु । यो मेरो कर्तब्य हो।’

अक्टोबर १२ देखि १४ सम्म एकिक्रित नेकपा माओवादीको बेल्जियमस्थित पार्टीलेनै जिम्मा लिएकाले आफुले केहि नगरेको । तर १५ र १६ का दिन दुतावासले जिम्मा लिएकाले प्रचण्डलाई स्वागत र सुरक्षा दिएको बताउँदै भने ‘प्रचण्डसित हिँड्यो, स्वागत गर्‍यो भन्छन् । मेरो काम हो, दुतावासले गर्नुपर्थ्यो त्यो । हामीलाई परराष्ट्र बाटै निर्देशन दिइएको हुन्छ । उहाँको सुरक्षा गर्ने काम मेरो भएपछि प्रचण्ड जता जानुहुन्छ म जान्न ?”

तर जनप्रगतिशिल मोर्चाका अध्यक्ष प्रेम पाठक भने राजदूतले ढाँटेको दाबी गर्छन् । दुतावासको रिसेप्सनमा बेल्जिक महिलाले काम गर्ने र उनलाई टिपाएर छोड्डा जवाफ पाउनुहुन्छ भन्ने प्रतिक्रिया दिएको । आफुलेपनि पटक पटक फोन गरेर निम्ता छोडेको र ईमेल मार्फत लिखित निम्ता दिएको दाबी गर्दै उनले भने ‘दुतावासको रिसेप्सनमा काम गर्नेले राजदूतलाई खबर नदिने भन्नेपनि कहिँ हुन्छ ?’ उनले भने ‘कार्यक्रमका प्रमुख अतिथि सिपी गजुरेललाई पेरिससम्म लिन आउँछु भन्दै राजदूत पोख्रेलले हत्ती हालेका थिए त । अनि कार्यक्रममा बोलाएनन्, थाह पाइन भन्नु फट्याइँ होइन ?’

राजदूत पोखरेलले भने सिपी गजुरेल आएर एक रात आफैंसित बसेको र राजदूतलाई आधिकारिक रुपमा निम्ता आयोजकका तर्फबाट नदिएको भन्नेमा सिपी गजुरेल सहमत भएर हिँडेको दाबी गरे ‘उहाँले राम्रोसित बुझेर जानु भो कि मलाई निम्तानै नगरेपछि कसरि सहभागि हुने कार्यक्रममा भनेर ।’

 

अरुपनि छन् गुनासा

गुनासा अन्य क्षेत्रबाटपनि सुनिएका छन्, राजदूतले एक पक्षलाई काखि च्यापे भन्दै । नेपाली जन सम्पर्क समिति, बेल्जियम नेपाली कांग्रेसको भात्री संगठन हो । नेपाली कांग्रेसको महा समितिका प्रतिनिधी हुन्, इन्द्र क्षेत्री । उनलेपनि केहि दिन अघि आफ्नो फेसबुकमा बेल्जियमको नेपाली दुतावासले नेपालीहरुबिच भेदभाव गर्न थालेको उल्लेख गरेका थिए । उनले तितो पोखेका छन् “कतिपय महत्वपूर्ण कार्यक्रमहरूमा मन परेका ब्यक्ति र सँस्थाहरूलाइ मात्र बोलाउने र अरूलाइ सुइँको सम्म नदिने काम बारम्बार भैरहेको छ । विगतमा यस्तो भेदभाव नभोगेका हामीलाइ अहिले असहज महसूस भएको छ ।”

 

तर्सिएर नआएका ?

 

प्रेम पाठक जनजाति संयुक्त संर्ष समिति, बेल्जियमको कार्यक्रमबाटै तर्सिएर राजदूत आफ्नो कार्यक्रममा नआएको विश्वास गर्छन् । प्रसंग गत जेठमा भएको कार्यक्रमको हो । नेपाली आदिवासी जनजाति संयुक्त संघर्ष समिति वेल्जियमले वेल्जियम दुतावास मार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई राज्य पुनर्संरचना तथा राज्यको शक्ति बाँडफाँड विषय समितिले तयार पारेको प्रतिवेदनको आधारमा राज्यको पुनरर्संरचना हुनुपर्दछ भनि दवाव दिने उद्धेश्यले वेल्जियमका लागि नेपाली राजदुत राममणी पोखरेललाई ज्ञापन पत्र हस्तान्तरण गरेको थियो । त्यसपछि राजदुतले वोल्ने क्रममा “तपाइंहरुले चाहेजस्तो एकल जातीय पहिचान सहितको संघीयता सम्भव छैन । तपाईहरु मिश्रीत पहिचानमा सहमतिमा आउनु पर्दछ” भनेका थिए ।

पछि यस विषयलाइ जनजातिहरुले चर्काए । नेपाल सरकारलाई बिरोधसम्म पठाए । कतिपयले राजदूतलाई फिर्ता बोलाउनुपर्ने माग समेत राखे । राजदूत पोखरेल यहि बेलादेखि आफुहरुप्रति पक्षपती रहेको पाठकले दाबी गरे । “जनजातिको मुद्दामा उहाँले जुन गैह्र जिम्मेवार तर्क गर्नु भो, त्यसको हामीले बिरोध गरेको देखेपछि हामीप्रति उहाँ अनुदार रहेको हाम्रो मूल्यांकन हो ।

मेरो घरमा निम्ता नगर्दा रिसाउने ?

प्रचण्ड बेल्जियम आएका बेला राजदूत पोख्रेलले प्रचण्ड र उनको टोलीलाई रात्रि भोज दिएका थिए । यो उनको नितान्त निजि मामिला थियो । तर उनको निजि मामिलालाई नबुझेर र ज्ञाननै नभएर नेपाल पत्रकार महा संघ युरोपको नाममा एउटा  प्रेस बिज्ञप्ती निकालियो । बिज्ञप्ती निकाल्दा नेपाल पत्रकार महासंघको समितीमा छलफल भएको थिएन । अध्यक्ष महेश थापाले आफुखुशि निकालेका थिए । त्यसमा रात्रि भोजमा नेपाल पत्रकार महा संघलाई निम्ता नगरेको भन्दै दुतावासप्रति खेद ब्यक्त गरिएको थियो । समाचारसित कुनै सरोकार नभएको, राजदूतको निवासमा आफ्ना निजि पाहुनालाई दिएको भोजमा महा संघलाई निम्ता नगरेको भन्दै बिज्ञप्ती निकालेर खेद जनाएपछि राजदूत राममणी पोख्रेलले बिरोध जनाए ।

उनले हाकै भने ‘मेरो निवासमा मैले मेरा पाहुनालाई भोज दिन, खुवाउन, बोलाउन नपाउने ? मैले मेरा पाहुनालाई स्वागत् सत्कार गर्दा अरुलाई निम्ता दिईन भनेर बिरोध , गाली गर्ने ? मेरो इच्क्षा हो नि कसलाई बोलाउने र कसलाइ नबोलाउने ।’ उनले उदाहरण दिए ‘ ददिजी तपाइ बस्नुहुन्छ । म पेरिस आएँ । तपाईको र मेरो चिनजान भो, मलाई तपाइको घरमा निम्ता दिनु भएन भनेर मैले तपाइलाई गाली गर्ने ? रिसाउने ? त्यो त तपाइको इच्क्षा हो नी । मेरो निवासमा मैले मे इच्क्षा अनुसार गर्न नपाउने ?’

तपाइँको प्रतिक्रिया