बेल्जियममा माओवादी कामरेड बहुलाएपछि

कतिसम्म सहने धम्कि ? कहिलेसम्म सहने गुण्डागर्दी ? प्रचण्डले कहिलेसम्म दिने हुन् आफ्नाकार्यकर्तालाई मनपरि गर्न ? नेपालमा त खपे खपे, सहे सहे अब युरोपमैपनि एकिक्रित नेकपामाओवादीका कार्यकर्ताले दिन दहाडै युरोपमा पत्रकारलाई धम्कि दिन थाले । थर्काउन थाले । पत्रीका च्यातचुत पारेर कार्यक्रमस्थलबाट गल्हत्याउने धम्कि दिन थाले । एकिक्रित नेकपा माओवादीको भात्रि संगठन नेपाली जनप्रगतिशिल मञ्च, बेल्जियमका अध्यक्ष (त्यो बेला) सुरेन्द्र भुसालले बेल्जियमका पत्रकारलाई धम्क्याउँदै पत्रीका च्यातचुत पारिदिए । त्यसरि धम्क्याउँदा उनका कार्यकर्ता मुकदर्शक बने । अन्य पत्रकारपनि चुँसम्म बोल्न सकेनन् । पछि यो घटनालाइ गुपचुप राख्ने प्रयास गरे माओवादी कार्यकर्ताले । उनी माओवदीको अर्को भात्री संगठन संयुक्त नेपाली मोर्चा युरोपको अध्यक्षमा चुनिएका छन् । अब युरोपभरिकै लागि अध्यक्ष चुनिएपछि उनको चुरीफुरी युरोप भरिकै पत्रकारलाई धम्क्याउने हदसम्मको हुन सक्छ ।

 

घटना के हो ? कसरि भो ?

गएको आइतबार अक्टोबर १४ का दिन एकिक्रित नेकपा माओवादीको भात्रि संगठन नेपाली जनप्रगतिशिल मञ्च, बेल्जियमको अधिबेशन थियो । प्रचण्ड लगायत एक हूल कामरेड त्यसकालागि नेपालबाट आएका थिए । दिउँसो उद्घाटन समारोह भयो । बन्द सत्र हुनु अघि बिचको समयमा माओवादी कार्यकर्ता, पत्रकार र केहि पत्रकार नामधारी पनि बाहिर थिए । त्यहिबेला दि एभरेस्ट टाईम्सका प्रधान सम्पादक तेज बहादुर नेपाली र कार्यकारी सम्पादक डिल्लीराम अम्माई पत्रीकाको मुठो बोकेर कार्यक्रम स्थल आइपुगे । त्यहाँ उनीहरुले पत्रीकाको ग्राहक बनाउन खोजे, पत्रीका देखाए । कसैलाई बेचेपनि । अन्य माओवादी कार्यकर्ता सँग जनप्रगतिशिल मञ्चका अध्यक्ष सुरेन्द्र भुसालपनि त्यहि थिए । उनले चासो राखे ‘के हो यो ? कुन पत्रीका हो ?’ सम्पादकद्वयले एक प्रति उनलाई दिएपनि । उनीसँगै अन्य माओवादी स्थानिय नेतालाईपनि केहि प्रति दिए ।

पत्रीकाको मुख्य समाचारको शिर्षक ‘कामरेड प्रचण्डको रहस्मय युरोप यात्रा’ देख्नासाथ भुसाल जंगिए ‘यो पत्रीका लैजानुस्, ह्याँ नबेच्नुस्’। त्यति भनेर उनलाई दिएको पत्रीकापनि फिर्ता दिए । सम्पादकद्वयले पत्रीका त्यहिँ यताउति बेच्ने, चिनाउने, ग्राहक बन्न आग्रह गर्ने र देखाउने गरिरहे । त्यो बिचमा भुसाल यस्सो यताउति बन्द सेसनकालागि अन्य कार्यकर्तासित गफसफ गर्न लागेका थिए । केहिबेरमा उनले फेरी पत्रीका त्यहिँ बितरण गरिरहेको देखे । त्यसपछि उनी तात्तिए ‘यो पत्रीका फेरी यहाँ किन ? किन ल्याएको यहाँ ? लैजानुस् भनेपछि लैजानुस् ।  यो पत्रिका हाम्रो कार्यक्रम वरिपरिपनि नबेच्नुस्, नदेखानुस् ।’ उक्त लेख पत्रकार महेन्द्र पौडेलले लेखेका थिए ।

बेच्नपनि नपाईने भनेपछि सम्पादक द्वयले पत्रीका जनप्रगतिशिल मञ्चकै कार्यकर्ता श्याम श्रेष्ठलाई पसलमा राखिदिन र अन्य नेपालीलाई बाँडिदिन भनेर दिएका थिए । बरु सित्तैमा बाँडिदिन आग्रह गर्दै हिँड्न लागेका थिए । उक्त पत्रीका जनप्रगतिशिल मञ्चकै कार्यकर्ता घनश्याम शर्माले हातमा लिएर पढिरहेका थिए । सुरेन्द्र भुसालले त्यो देख्नासाथ बहुलाएझैं गरेर हकारे ‘यो पत्रीका लुकाउनुस्, नदेखाउनुस् भनेपछि सुन्नु भएन ? हामीले लैजानुस् भनेपछि लैजानुस् नत्र ह्याँ नराम्रो हुन्छ । यो पत्रीका ह्याँ कामरेडहरुले देख्नु भो भने ममाथि कारबाहि हुन्छ ।’ उनले आफ्नै कार्यकर्ता शर्माको हातबाट पत्रीका खोसेर च्यातचुत पारे । सम्पादकद्वयलाई कार्यक्रमस्थलबाट निकाला गर्ने चेतावनीसमेत दिन भ्याए । त्यसबिचमा पत्रकारहरुलाई दूर्ब्यवहारसमेत गर्न भ्याए ।

त्यहाँ पत्रकार भनिएका शालिकराम गौतम देखि थुप्रै माओवादी कार्यकर्ता र अन्य पत्रकारपनि थिए । बरु जनप्रगतिशिल मञ्चकै कार्यकर्ता श्याम श्रेष्ठले ‘किन लुकाउने ? किन यो पत्रीका बाँडेर , पढेर के हुन्छ र ? ‘भन्दै प्रतिबाद गरेका थिए । अरु सबै चुपचाप बसे, प्रतिबाद गरेनन् ।

घटनापछि यसलाइ सकभर गोप्य तरिकाले दि एभरेस्ट टाइम्सका सम्पादकसित कुराकानी गरेर मिलाउने कोसिस गरिएको थियो । त्यसको लागि जित बहादुर लामालाई प्रधान सम्पादक तेज नेपालीसित कुराकानी गरेर मिलाउन भनियो । उनले यो काम आफुसित असंबन्धित रहेकाले सुरेन्द्र भुसाललेनै गर्नुपर्ने भन्दै पन्छिएपछि जनप्रगतिशिल मञ्चका नवनियुक्त अध्यक्ष चित्र
सुबेदीलाई भनियो । त्यो काम नहुँदै सम्पादकका तर्फबाट बिरोध गर्दै प्रेस बिज्ञप्ती जारि भैसकेको थियो । बिज्ञप्ती अन्तिममा हेर्नुस् ।

उनीहरुले पत्रीका बितरण गर्दा पहिलो चरणको उद्घाटनको कार्यक्रम सकिएको थियो । बन्द शेसन शुरु भएको थिएन । त्यसैले त्यो बेला कार्यक्रमलाई कुनै दखल पुगेको थिएन पत्रीका बितरणले । तैपनि सुरेन्द्र भुसालको गुण्डागर्दी र दादागिरीका अगाडी त्यो सुझबुझ भएन । त्यसो त उनले यस्तो ताण्डव न्रित्य यस अघिपनि देखाएका हुन् । उनले केहि समय अघि राजदूतावासमा त्यसैगरि दूतावासका कर्मचारीहरुलाई अपमान गरेका थिए । त्यसको समाचार यहाँ गएर हेर्नुस् ।

पत्रकारहरुको दायित्व

यो घटना सामान्य भनाभन होइन । पत्रीका च्यात्ने काम बेल्जियमको कानुन अनुसार अपराध मानिन्छ । नेपालमैपनि त्यसो गरिएको भए देशभरका पत्रकार एकजुट हुन्थे । बिरोध हुन्थ्यो । माफी मगाउँथे कम्तिमापनि । कि त त्यस्ता गुण्डागर्दी गर्नेका समाचार बहिस्कार गरिन्थ्यो । गुण्डागर्दी शैलीमा उत्रिएका सुरेन्द्र भुसालमाथि यदि सांगठनिक कारबाही भएन भने त्यसको जिम्मेवारी अध्यक्ष प्रचण्डले लिनुपर्छ । अर्थात् आफ्नो स्वार्थ प्रतिकूल लाग्नासाथ बिदेशमापनि माओवादी पार्टीले गुण्डागर्दी शैलीमा पत्रकार र सिंगो पत्रकारिता जगतलाई तह लगाउन खोजेको भनेर बुझिने छ । किनभने अध्यक्ष प्रचण्ड त्यहि हलमा कतै थिए ।

यसकालागि पत्रीका सम्पादक समक्ष जस्तोसुकै प्रस्ताब र याचना किन नगरियोस् अब पत्रकारहरुले कडा निर्णय लिनै पर्छ । सांगठनिक रुपमा यो घटनामा माफि नमागे पत्रकारहरुले त्यसको डटेर मुकाबिला गर्नुपर्छ । कुनै नेता आउँदा हत्त न पत्त फोटो खिच्न दगुर्ने, समाचार भन्दा फोटो ट्याग गरेर ब्यक्तिगत प्रचार रुचाउने र पत्रकारिता जगतको पहरेदार बन्छु भन्नेहरु धेरै छन् बेल्जियममा । तर बोल्ने बेला ति कतै अलप हुन्छन् । लेख्ने बेला कि त रुन्चे स्यालले झै लेख्छन् ‘धुर्सुलका फाइदा र बेफाइदा’ लेखेझैं । कि त तिनले समाचार नै लेख्दैनन् बरु तिनका अगाडि रुन्चे शैलीमा फोन गरिगरि याचना गर्छन् साखुल्ले बन्न । महासंघका अध्यक्ष र उपाध्यक्ष लगायत केहि सक्रिय पत्रकार छन् बेल्जियममा । यसमा भूमिका सक्रिय पत्रकारहरुकै हो ।। अब उनीहरुले कस्तो निति, अडान र पत्रकरिता जगतको रक्षा गर्न सक्छन् परिक्षा यहि हो । एउटा राजनितिक दलको अध्यक्षले पत्रीका च्त्यातेर चुनौति दिने र पत्रकार महा संघ चाहिँ भंगेराको परेला जत्रो अक्षरमा बिज्ञप्ती जारि गरेर हाइसञ्चो मान्ने हो भने भोलीदेखि अरु पत्रकारपनि सुरेन्द्र जस्ताको गुण्डागर्दीमा टाउको थापेर बस्न तयार हुनुपर्छ । फेसबूकमा पद देखाउन, फोटो ट्याग गर्न, नेतासित अन्तर्वार्ता गरेको ताइ न तुईको समाचार देखाएर सँगै उभिएको फोटो देखाउन मात्रै हो पद कि पत्रकारिता जगतको पहरेदर बन्न हो ? परिक्षा यसैले गर्ने छ ।

आज जनआस्था साप्ताहिकमा प्रकाशित समाचार

विदेशमा कमरेड बौलाएपछि

(आजको जन आस्था साप्ताहिकमा मुख्य समाचारमा प्रकाशित समाचार)

ब्रसेल्स । संसद् पुनःस्थापनाको चारो हुत्याएर एक हुल कार्यकर्तासित युरोप हान्निएका एमाओवादी अध्यक्ष प्रचण्डकै सामुन्ने कार्यकर्ताले बेल्जियममा पत्रकारलाई धम्क्याउने र हलबाट बाहिर निकाल्ने काम गरेका छन् । एमाओवादी भ्रातृसंगठनको अधिवेशनको मुख्य अतिथिका रूपमा कार्यक्रम अस्ति आइतबार ब्रसेल्समा भएको थियो । प्रचण्ड हलभित्र थिए । उद्घाटन सकेर बन्द सेशन हुनुअघि जनप्रगतिशील मञ्च, बेल्जियमका अध्यक्ष सुरेन्द्र भुसालसहित माओवादीका केही कार्यकर्ता बाहिर निस्किए । त्यहीबेला दि एभरेष्ट टाइम्स पत्रिकाका प्रधान सम्पादक तेजबहादुर नेपाली र कार्यकारी सम्पादक डिल्लीराम अमगाईं पत्रिकाको मुठो बोकेर बिक्रीका लागि हल बाहिर गएका थिए ।

किन आए प्रचण्ड युरोप ? शीर्षकको लेख मुख पृष्ठमा देख्नासाथ भुसाल बम्किए । शुरुमा उनले पत्रिका लुकाउन आग्रह गरे । सम्पादकहरूले पत्रिका किन लुकाउने ? यो बिक्री र प्रचार–प्रसारका लागि ल्याएको हो । पत्रिकाको शीर्षकले नै सबै कुरा खुलाउ“दैन ? भनेर पत्रिका लुकाउन अस्वीकार गरेपछि उनी आक्रोशित बने । भुसालले ‘मैले भनेपछि लुकाउनुस्, यो पत्रिका यहा“ नदेखाउनुस्, यस्तो लेख देखेपछि ममाथि कारबाही हुन्छ’ भन्दै फेरि कड्किए । पत्रिका वितरणमा रोक लगाए । जनप्रगतिशील मञ्चकै कार्यकर्ता घनश्याम शर्माको हातबाट पत्रिका खोसेर च्यातचुत पारे । प्रत्यक्षदर्शीका अनुसार अधिकांश माओवादी कार्यकर्ताले घेरिएका उनले यदि भनेको नटेरेमा नराम्रो हुने चेतावनीसमेत दिएका थिए । भुसालले सम्पादकद्वयलाई तत्कालै कार्यक्रमस्थलबाट पत्रिका नदेखाई, वितरण नगरी निस्कन पनि उर्दी गरे ।

हिजो दि एभरेष्ट टाइम्स पत्रिकाका प्रधान सम्पादक तेजबहादुरले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘बेल्जियमवासी नेपालीहरूको स्थापित संस्थाको अध्यक्षजस्तो गरिमामय पदमा रहेका भुसालको व्यवहारले नेपाली जनप्रगतिशील मञ्चभित्र नवसामन्ती, नवप्रतिक्रियावादी साथै अराजक फासीवादको घुसपैठ भएको महसुस गरेका छौ“ । उहा“को उक्त हस्तक्षेपले प्रजातान्त्रिक तथा लोकतान्त्रिक पत्रकारिताको समेत अपमानबोध हुनेगरी खिल्ली उडाएको छ ।’ घटनापछि मञ्चका कार्यकर्ताहरूले यसलाई बाहिर जान नदिई ढाकछोप गर्ने प्रयास गरेका थिए ।

साप्ताहिक दि एभरेष्ट टाईम्सको प्रेस विज्ञप्ति

(दि एभरेस्ट टाइम्स साप्ताहिकमा प्रकाशित समाचार । यो समाचार पनि नपढिकनै, आफ्ना नेताको बारेमा यत्ति शिर्षकपनि पचाउन नसकेर भुसालले दूर्ब्यवहार गरेका थिए)

हिजो १४ अक्टोवर आईतवारका दिन नेपाली जनप्रगतिशील मञ्च, बेल्जियमको दशौं महाधिवेशन स्थलमा मञ्चका तत्कालिन अध्यक्ष सुरेन्द्र भुषालले साप्ताहिक दि एरेष्ट टाईम्सका प्रधान सम्पादक तेजबहादुर नेपाली र कार्यकारी सम्पादक डिल्लीराम अम्माईप्रति देखाएको रवैया प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

उद्घाटन सत्रपछि र वन्दसत्र शुरु हुनुभन्दा अघि अधिवेशन स्थलमा हामीहरु पत्रिका वितरण गर्दै गर्दा उहाँले पत्रिकाको मुख्य समाचारको शीर्षक हेरेकै भरमा पत्रिका विरणमा रोक लगाउनुको साथै पत्रिका लिएर वसिरहनु भएका घनश्याम शर्माको हातबाट पत्रिका खोसेर हामी सम्पादकद्धयकै अगाडि टुक्रा टुक्रा पारी च्यातेर समग्र पत्रकारिता र स्वतन्त्र पत्रकारिताप्रति नाङ्गो हस्तक्षेपको प्रदर्शन गर्नुभएको छ ।

बेल्जियमबासी नेपालीहरुमाझ स्थापित संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा रहेका भुषालको उक्त दिनको व्यवहारले नेपाली जनप्रगतिशील मञ्चभित्र अराजक फाँसीवादी प्रवृत्तिको घुषपैठ भएको महसुस हामीले गरेका छौं । उहाँको उक्त हस्तक्षेपले प्रजातान्त्रिक तथा लोकतान्त्रिक पत्रकारिताको समेत अपमान वोध हुने गरी खिल्ली उडाएको छ । हामीले उक्त घटनाको तत्कालै विरोध गर्न खोजे पनि पार्टीको अध्यक्षजस्तो गरिमामय व्यक्तित्वका अगाडि नराम्रो सन्देश जाने हुँदा र नियतवस नै कार्यक्रम विथोल्ने प्रयास भएको हो भन्ने आम मानिसमा पर्ने सक्ने भएकाले उक्त समयमा विरोध जनाएनौं ।

अन्तमा उक्त दि एभरेष्ट टाईम्स पत्रिका च्यातेको र सम्पादकद्धय माथि गरिएको दुव्यवहारप्रति घोर खेद प्रकट गर्दै उक्त घटनाको विरोधमा यूरोपस्थित पत्रकारहरुका साथै नेपाल पत्रकार महासंघ यूरोप शाखालाई ऐक्यवद्धताको लागि यसै विज्ञप्ती मार्फत् हार्दिक आव्हान गर्दछौं ।

मिति : १५ अक्टोवर २०१२ ।

तेजबहादुर नेपाली / प्रधान सम्पादक

डिल्लीराम अम्माई / कार्यकारी सम्पादक

(सुरेन्द्र भुसालको फाईल फोटो शेर बहादुर छन्त्यालको हो)
योपनि पढ्नुस्

दुतावासमा दादागिरी (भिडियो सहित)

तपाइँको प्रतिक्रिया