बेपत्ता परिवारका टाउका टाउकामा विद्वान प्रधानमन्त्रीका लाठा
हिजो सँगै बसेर दुखियाका दिन ल्याउने, यो मुलुकलाई स्वर्गसरी बनाउने, रुन्चे अनुहारमा हाँसो छर्ने, हेपिएकालाई सम्मान गर्ने, तँ ठूलो म सानो, उ महान म झारपात, उ महान म निच, उ अग्लो र म होचो । यि सबै हटाएर, तोडेर हामी मानव सबै एक बनाउने भन्दै ज्यान दिएका एक थरी आज सडक सडकमा रुँदै हिँडेका छन् । अर्का थरी आज बुलेट प्रुफ गाडीमा सवार छन् । एक थरीका स्वास्नी, छोरा छोरी सम्म हुनेखाने भए । अर्का थरीले मर्नेको खबरसम्म नपाएर किरिया गर्न पाएका छैनन् । एक थरीको लागि यो मुलुक स्वर्ग छ । आलिशान महलमा बस्दापनि पुगेको छैन ।
अर्का थरी ‘आफनन्त त मरे गए गए, लौ न सास नभएपनि मरेर जानेको निर्क्यौल गरिदेउ क्रिया त गर्न देउ’ भन्दै हिजो सुन्दर सपना बाँड्नेसित याचना गरिरहेका छन् । त्यहि माग राखेर सडकका धुलो र धुवाँमा बलिन्द्र धारा आँशु बगाउँदै कामरेडकाको आलिशान महल अगाडि धोको फेरेर रुन पुगेका छन् । तर तिनलाई न्याय त के मिल्थ्यो, बरु आफ्नै कामरेडले टाउका टाउकामा ताकि ताकि लाठि बर्साएर घाइते बनाउँदै पठाए । ‘ईस ! हेर्छु तिम्रो आँशु, बरु मेरो महल अगाडि म झण्डा हल्लाउँदै आउँदा रोकावट गर्ने ? तिम्रा आँशु हेरिन्न बरु अझै हेरिन्छ रगत भनेर टाउका फुटाइरहेका छन् प्रधानमन्त्री बाबुराम भट्टराई ।
कहिले काहिँ माग राख्नेहरुलेपनि अर्घेलो गर्छन् । ति हुँदै नभएका, सक्दै नसकिने माग राखेर अनेक भाँति गर्छन् । तर अहिले बेपत्ता परिवारले राखेको माग के असंभव हो ? विश्वमा कसले न्याय गर्यो र कसले अन्याय गर्यो भनेर सबैतिर चनाखा औंला तेसार्ने संयुक्त राष्ट्र संघ । उसैले हाकै भन्यो ‘यो राजु बस्नेत अत्याचारी हो । निष्ठुरी हो । यसले जघन्य अपराध गरेको छ । यसलाई सकेसम्म बर्खास्त गर । यसले आफुले गरेको कसुर अनुसार सजायँ पाउनुपर्छ, कम्तिमा पदबाट हटाउ ।” तर बाबुरामको खुनी सरकारले त्यो सबैलाई धोतीले बेरेर पदोन्नती गरिदियो । अनि कसले सहन सक्छ ?
यहि टेकोमा उभिएर बेपत्ता परिवार रोए । ए बाबा यो त संयुक्त राष्ट्र संघ भन्ने सात समुद्र पारेको संस्थालेपनि देखेको । कसरि दुखि, गरिब, श्रमिक, सुकुम्बासीको हाम्रो सरकारले, हामिलेनै कुर्सीमा पुर्याएको सरकारले देख्दैन ? लौन यो त अति भो । हामी दुखियाका चिरिएका छातीमा झन हाम्रै कामरेडले पत्ती धस्कानु भो । झन रुवाउनु भो । यो भएन । बिचार गरिदेउ । यति भनेर बिन्ति गर्न नपाउने ? हिजो सँगै बसेर जनताका अत्याचारीलाई कुनैपनि तरिकाले, जुन सुकै मूल्य चुकाएर न्यायको कठघरामा ल्याउँछु भन्दै कसम खाएका, आफैंले नेता बनाएकासित यत्तिपनि भन्न नपाउने ? त्योपनि उनैको आलिशान महलको ढोकामा पुगेर ।
जनताका छोरा छोरीलाई ढुंगा फोरेभन्दापनि निर्दयी तरिकाले ब्यवहार गर्नेलाई पदोन्नती गर्दा हाम्रा आँखा आँशुले भिजे । हाम्रा ह्रिदय छिया परे । हाम्रा मनहरुमा डढेलो सल्कियो । हामीले टेकेको धरती भासियो । यसले हाम्रो सिंगो पार्टीकै तस्विरमा डढेलो झोस्यो । ठूलो केहि गर्नु पर्दैन । हामीलाई यातना दिने राजु बस्नेतलाई ल्याएर हाम्लाई झैं कारबाही गर । सुलीमा राखेर साईकलका टायरले नांगो पार्दै पिट । बिद्दुत लगाएर यातना देउ । हिजोको बदला लेउ । यस्तो केहि भनेका छैनौं । कम्तिमा नागरिक बेपत्ता बनाएर संयुक्त राष्ट्र संघले समेत बिन्ति बिसाएको कुरो त मानिदेउ, पदोन्नति नगर । यत्ति गरिदिएपनि आफन्त गुमाएर शोकमा डुबेका हामी दुखियाले अझ धेरै डाँको छोडेर त रुनु पर्दैन । राजु बस्नेतको पदोन्नतीमा हाम्रो पार्टीको झण्डा फहराएको त देख्नु पर्दैन । बेपत्ता भएका हाम्रा मुटुका टुक्राहरुको रगत हाम्रै प्रधानमन्त्रीले कचौरामा राखेर पिएको हामीले अनुभुति त गर्न नपरोस् !! बास ति दुखियाले मागेको यत्ति हो । के यत्तिपनि अंअग्नु तिनको अन्याय हो ? यो मुलुकलाई स्वर्गै बनाउँछु भनिभनि जसको निर्देशनमा ज्यान फाल्यो आज उहि सरकारमा हुँदा त्यति याचना गर्नुपनि बिद्वान प्रधानमन्त्रीको कुर्सीमा धावा बोल्नु हो ? आफ्नै हित्त चित्त मिलेका कामरेडसित दिल दुखेका बेला केहि थोपा अंशु सँगै बसेर खसालम्ला त नी भनेर बाबुरामका ढोकामा पुग्नुपनि बाबुरामको कुर्सी हस्तक्षेप गर्नु हो ? हाम्ले सरकारमा पठाएम तिमीलाई, हामी आज एक घुट्को संगै बसेर रुन्छम्, हाम्र आफन्तको संझना गराउँछौं, लौ न हामी त रोएको सुनिदिने पनि कोहि भएन । यतिसम्म भन्न नपाउने ?
तिम्रो कुर्सी तान्दैनौं । तिम्रो तलब माग्दैनौं । तिमी श्रीमतीलाई तान्न आएको होइन । तिम्रो घरमा बम हान्दैनौं जसरि हिजो तिमीले हान्न लगायौ । तिम्रो गाडी खोस्दैनौं । तिमी छोरीसित हाम्रो बैरभाव छैन । तिम्रो शक्तिको मियो उखलेर हामी हाम्रामा गाड्न आका पनि होइनौं । बरु तिमीले हाम्रा मुटुमा फलामका किला गाड्यौ । त्यो पिडा सहन सकिएन । तिमी हाम्रा आँगनमा त किन आउँथ्यौ र ? तिमी जनताको पिर मर्का बुझ्न दश कोस पारी पुग्छौ । किनभने नयाँ नयाँ गाउँ पुग्नु तिर्थाटनपनि गर्नु हो । नाटक मञ्चन गर्नु हो । तर तिम्रै ढोका सामुन्ने हामी दुखियाका कुरा सुन्न तिमी कहिल्यै आउँदैनौ । त्यसैले हामी तिम्रै ढोकामा सुनाउन आउँछौं । अरु केहि माग्दैनौं । अत्याचारीलाई पुरस्कार सम्म नदेउ । यत्ति भन्न र हामी तिमीसित एकछिन हाम्रा आफन्त संझेर रुन आउँछौं कामरेड। यत्तिभन्नपनि नपाउने ?
ए बाबै आफन्तको ज्यान जाँदा तिनले रुने अधिकारपनि यो धरतीमा नपाउने ? जसको निर्देशन भुइँमा झर्न नपाउँदै सैनिक बसमा सकेट बमको तार लगेर जोडिदियो । जसको बोली सुन्नासाथ मुठ्ठी उचालेर सहर्ष स्विकार गर्यो । जसले भन्नेबित्तिकै डाँडाकाँडा दगुर्दै, बाढी र भेलमा ज्यानको सुर्ता नगरि हेलिंदै जोखिम उठायो । त्यसपछि एकथरी आलिशान महलको माकिल बन्यो, हजारौं सुरक्षाकर्मीको धनी बन्यो । तर त्यहि धनी बनाइदिनेहरुले तिमिसित रुन्छु लौन भनेर बिन्ति गर्दापनि नपाउने ? हैन यो कुन जंगली मुलुक हो ? यो कुन कहाँको कन्डोर भनिने मांशाहारी जिव मात्रै बस्नेहरुको राज हो ? बाबुरामको राज्य के मान्छे शिकार गर्ने गोहीहरुको उपनिबेश हो ?
मरेर गएका, बेपत्ता बनाइएकाहरुको ज्यान त दिन सकेनन् सकेनन् रुने रुनपनि पाउँदैनौ भन्दै टाउकामा लाठी बर्षाउने अधिकार कुन कसले दियो ? एकथरी महलमा बस्दै राज्यका सबै अंगमा दश नंग्रा धसेर चिथोर्ने अर्का थरी नागरिकले रुनपनि नपाउने बाबुरामले कसरि कहिले निर्माण गरेको मुलुक हो यो ? बाबुरामको जुठोपुरो चाटेका, नपाए चाट्न पाउँछु भनेर अघि पछि हिंडेका, पिएचडी देख्नासाथ सर्बस्व जान्दछ भन्ने भ्रम पालेका, बाबुरामका हुक्के, बैठके, पिलन्धरी, चाकरीबाज, चम्चे, रुन्चे, पिराहा, दलाली गर्नेहरुलाई त यो कुरो हजम नहोला । तर बिधीको शासन, सत्य कुरो, तर्क र न्यायसंगत हुनुपर्छ भन्नेहरुको लागि यो बिधि पच्दैन ।
हुन त बाबुराम र तिनका हुक्केहरुमा एउटा भ्रम छ । पिलन्धरीहरु कराएर के हुन्छ ? हामीलाई भारतीयहरुको आशिर्वाद छ । हामी भारतीय दाजुहरुको फोक्साले सास फेर्छौं । हाम्रो मुटुको ढुकढुकीनै बडेमानको छ । हाम्रो शक्ति, हाम्रो शान, हाम्रो विश्वास, हाम्रो भर अभर सबै पारीपट्टीका अर्का डा डा मनमोहन सिंका बाहुलीबाट प्राप्त छ । हामीले ताप्ने ताप र सास फेर्ने हावा दुबै उतैबाट प्राप्त भएपछि नाथे नेपाली बबुराको के लाग्छ ? जनता झुक्याउन आखिर शिरमा नेपाली टोपी पहिरेकै छ । हामी किन झुक्ने ? किन रुन्चेका आँशु हेर्ने ? आखिर चाहिएको सरकार, शक्ती र सर्व शक्तिमान कुर्सी हो । बाँकि सबै भ्रम हो । त्यसैले विद्वान प्रधानमन्त्री ताकि ताकि रुनेहरुला टाउका फोर्दै छन् ।
तर ईतिहाँस भन्छ, यसरि अर्काको फोक्सोबाट सास फेर्नेहरुको दिन उति लामो हुन्न । भारतीयको पाउमा टोकरी थापेर ल्याएको धमासले सधैं धान्दैन । अर्काको भरमा भुक्नेका भुकाई तिनको सच्चा कमारो बन्न नसकेका दिन वा अझ बढि सेवा गर्ने कमारो पाएका दिनबाट टुट्छ । र आखिर एक दिन कुवाको भ्यागुतो कुवामै भने झैं आउने जनताका माझमै हो । तर यत्ति बिबेक बिबेकीलाई न थाह हुन्छ । शक्ति, चाकरी, चाप्लुसी र पदले अन्धो भएकालाई कसरि हेक्का होस् ?
(प्रहरीले चारैतिरबाट कुट्दै गरेका नेता धिरज खनाल । खेम थपलियाको फेसबुकबाट लिएको)




