मध्यरातको इच्छा

anuradha-france-sucharu-paris.jpgआलेख: अनुराधा पौडेल  ममा यस्तो जोश पलायो हिजो। फ्रान्स र ब्राजिलको फूटबल सडकको ठूलो पर्दामा हेर्ने। घरको टिभीमा बच्चा र बूढा रमाइरहेका थिए। त्यसैले म भने फ्रान्सेलीहरुको जितको उन्माद या हारको आंशु हेरौं , अनि तिनिहरुसंगै बसेर फूटवलको स्वादपनि लिउं भन्ने दाउमा लागे। दिउसो नेपालीहरुको सानो भेला थियो। त्यतै गए। भेलामा बस्दा बस्दै बेलुकाको सात बज्यो। घर फर्किन झन्डै ४५ मिनेट लाग्थ्यो। समयको जोडघटाउ गर्दा करिब करिब आधा घन्टामात्र घरमा बस्न पाउंथे। त्यसैले घरतिर नगै बरु आइफल टावरतिर ठूलो पर्दाको टेलिभिजन छ कि भन्दै उतै लागे। त्यहा रहेनछ। अनि पेरिसको महानगर कार्यालयमा छ कि भनेर प्रहरीलाई सोधें , त्यहापनि रहेनछ। बरु उसले मलाई पोख्त द ओर्लियँ भन्ने ठाउको रंगशालामै ठूलो पर्दा राखेको छ भन्यो। उसले योपनि भन्यो कि त्यो रंगशाला अहिले हाउस फूल भैसक्यो। उसले मलाइ सल्लाह दियो टावर आइफल वरिपरिकै ठूलो पर्दाको टिभी भएको रेष्टुरेन्टमा छिर्न।   बाबै संजालिजे पुग्दा त पोर्चुगालीहरुको जुलुश कमिलाको गोलो फूटे जस्तो हजारौंको संख्यामा निस्किरहेको थियो। बाह्रै तिरको बाटोबाट। खेल सकिएको एक घन्टा नबित्दै तिनिहरु कसरी जम्मा भएका ? फोन सम्पर्कबाट ? कोही गाडीमा। कोही मोटरसाइकलमा। कोही साइकलमा। बाफ रे बाफ ! रुदै रुदै इग्याल्यान्ड फर्केने तयारीमा उतातिर। यतातिर यत्रो उन्माद ! झन पोर्चुगालमा त खुसी जति सबै सडकमा छताछुल्ल भएको टेलिभिजनहरुले देखाइरहेका छन् । मैले यि हरफहरु लेखिरँहदा लन्डनमा रहेका नेपाली बिश्व साइकल यात्री पुष्कर शाह संग फोनमा भेट भयो। हिजो डेभिड बेकह्यामहरुले हारेपछि लन्डनमा अहिले रुवाबासी चलिरहेछ भन्ने जानकारी उनले दिए। म उनीहरुको तमाशा हेरेर रेष्टुरेन्टभित्र छिरें। हुलमहुल र ठेलाठेल थियो। ढोकामा म च्यापिएको देखेर होला बेयराले सुश्री तपाइ भित्र छिर्नुहोस भन्यो। मलाई फोटो खिच्ने ठाउ उपलब्ध गराइदिएर उ धमाधम अर्डर लिदै थियो। रमाइलो कुरा त के थियो भने रेष्टुरेन्टमा खानकालागि अर्डर दिनेहरु र खेल हेर्नेहरु ब्राजिलियनहरुपनि थिए र फ्रान्सेलीहरुपनि थिए। ब्राजिलले मैदान तताउंदा तिनका समर्थक टेबुल नै फुटाउंला जस्तो गर्थे भने फ्रान्सलेहरुले तताउदा त झन् रेष्टुरेन्टको छत नै फुटाउंला जस्तो गर्थे।  यस्तैमा मैले एक फ्रान्सेली जसका गालामा फ्रान्सको झन्डा पोतिएकोलाई सोधे के साच्चै फ्रान्सले नै जित्छ त ? उसले प्रश्नसूचक दृष्टिले मलाइ हेर्यो र जवाफ दियो योपनि कुनै प्रश्न हो र सुश्री ? हामीसंग सन् ९८ मै ब्राजिललाई हराएको इतिहास के तपाइलाई थाह छैन ? यति भनेर उसले आफ्नो गर्विलो छाती टेलिभिजनको पर्दातिर घुमायो र भन्न थाल्यो – ‘आले जिजु ‘  जिनेदान जिदान अगाडी बढ !  ‘आले ले ब्लु !नीलो पोषाक अगाडी बढ !  

म आइफल टावर पुग्दा यहाको समय अनुसार बेलुकाको आठ बजिसकेको थियो। तर घाम भने माथि नै थियो र मौसम अति राम्रो थियो। भर्खरै मात्र इंगल्यान्डलाई पेनाल्टि सुटमा हराएर खुशीले मैमत्त भएका तीन पोर्चुगिजहरु आइफल टावर अगाडी खै साना बेलायतिहरु ? अहिले कता गए ? भन्दै उफ्रिरहेका थिए। आले पोर्चुगीजअर्थात अगाडी बढ पोर्चुगिज ! भनिरहेका उनीहरुले तिनै बेलायतिहरु खोजिरहेका थिए, जो एकैछिन अगाडी रेष्टुरेन्टमा संगै बसेर फूटबल हेरेका थिए। तिनीहरुलाई त्यतै छोडेर मैले मेट्रो लिएं र सार्ल द गोल एत्तवाल भन्ने ठाउमा झरें। यो ठाउ १२ वटा बाटोको चोक हो । चोकको बिचमा आर्क द थ्रिओम्पभन्ने ठाउ छ जसको टुप्पोबाट पेरिसको संजालिजे स्थित सब से सुन्दर, बिशाल,   फराकिलो र तेर्सिएको बाटोलाई मन्त्र मुग्ध भएर हेर्न सकिन्छ। म यतै लागें र सँजालिजेको एक रेष्टुरेन्टभित्र छिर्ने बिचार गरें।

 

मेरो मनमा त ब्राजिल ले नै जित्छ होला भन्ने थियो। तर फ्रान्सका चेरी अँरीले एक गोल लाइदिएपछि भने लौ आखिर फ्रान्सले नै जित्ने भो भन्ने लाग्यो। एकैछिन अगाडी हाम्रो रोनाल्डो जिन्दावाद ! भनिरहेका ब्राजिलियन यूवतीहरु चेरी अँरी को गोलपछि हिस्सै परे। तरपनि तिनीहरुमा अन्तिम समयसम्मपनि ब्राजिलले जित्छ भन्ने अटुट आत्मबिश्वास थियो। फ्रान्सलीहरुको बर्चश्व भएको रेष्टुरेन्टमै ब्राजिलको झन्डा फहराएर समय अझै बाकी छ, ‘ आले रोनोल्डोभनिरहन्थे। तर डिफेन्ड र अट्याक्क दुवैमा निपुण देखिएको फ्रान्सेली टीमले जित्ने पक्का भएपछि खेल सकिन तीन मिनेट बाकी हुदा ति यूवतीहरु रेष्टुरेन्टबाट टाप कसे। बिच बिचमा फ्रान्सेलीहरुको खिसिट्युरी सुनिरहेका र देखिरहेका ति ब्राजिलियन चेलीहरु त्यसपछि कतै देखापरेनन।

 म रेष्टुरेन्टबाट निस्केर सडकमा आउंदा मानिसको अर्को समुन्द्र उर्लियो। प्रत्येक मिनेटमा रेष्टुरेन्ट र मेट्रो तथा बस र ट्याक्सीहरु र गल्लीहरुबाट हजारौं मानिस सडकमा आउंथे। त्यो अर्को कमिलाको गोलो फुटेजस्तो थियो। मानिसहरु पडका पड्काउन र श्याम्पियन फोर्न , नाच्न र गाउन व्यस्त। म त त्यसै त्यसै तिनीहरुको भिडमा समाहित भए। पछाडीबाट आएको मानिसको हुलले मपनि अगाडीतिर धकेलिन्थे। यसरी जादै गर्दा आर्क द थ्रिओम्पको फेदमा (जसलाई पेरिस गेटपनि भनिन्छ) टाउको ठड्याउ दा देखे त्यहा त पोर्चुगालीहरु आफ्ना झन्डामा र फ्रान्सेलीहरु उनीहरुकै झन्डामुनि आफ्नो देश जिन्दावादको नारा लाइरहेका थिए। तर फ्रान्स र पोर्चुगालीहरु कतै कतै एउटै गीत र तालमा नाचिरहेका थिए। बुधवार यि दुवै टीम भिड्दैछन्।

आज यहाको टेलिभिजन वनले बताएअनुसार गए राती त्यहा डेढ लाख भन्दा बढी मानिस थिए। मैले घडी हेरें। मध्यरातको बाह्र बजिसकेको थियो। म एक्लै थिए , साथमा मेरो परिवार थिएन। रात्रीकालिन मेट्रोले बिदालिने बेला भैसकेको थियो तरपनि मलाई घर फर्कने इच्छा थिएन। बरु खुसीको उन्मादलाई नजिकैबाट ग्रहण गरिरहने उत्कट अभिलाषा ममा थियो । चार घन्टाको पर्खाइपछि मैले त्यो खुसी भेटेकी थिए। आखिर म फर्कनै पर्ने थियो त्यसैले मैले गरुङ्गा पाइलाहरुलाई मेट्रोको गोरेटोमा जबरजस्ती धसाएं। तर अचम्म ! के मेट्रो ,के सडक , के पार्क , के गल्ली जताततै बिजयको उन्माद मैले फेरि फेरि भेटे । बिजोल्लासमा मानिसहरुले मेट्रोका स्वचालित भर्यागंहरु ठटाउदा प्रत्येक मेट्रो बिसौनीहरुमा बाजा बजेजस्तो सुनिएको थियो। रातभरी गाडीहरुले हर्न लगाउदा शहर पुरै बिबाहमा भुलेजस्तो भएको थियो। 

आखिर यो खेल फ्रान्सेलीहरुले सप्ताहन्तमा जितेका थिए। त्यसैले किन सुत्न पाइन्थ्यो र ? रातभरीको हल्ला खल्ला , पडकाको आवाज र आले ले ब्लूको आवाजले गएको रात छर्लगैं भएर बित्यो। आज आइतवार त्यसैले मध्यान्न कटीसक्दापनि सडकमा हल्ला खल्ला शुरु भैसकेको छैन। सिगै फ्रान्स यतिबेला सुतिरहेको छ। यो खुशी यहा बुधवारको दिनसम्म कायम हुनेछ। फ्रान्सका मिडीयामापनि जिदान र चेरी अँरीहरु नै छाउनेछन्। त्यसपछि के हुन्छ भविष्यले बताउनेछ। समय मिल्यो भने त्यो दिन के भयो म पाठकहरुलाई पस्कने नै छु।  प्रकाशित मिती : २०६३ असार १७ या २००६ जुलाइ २

तपाइँको प्रतिक्रिया