बाघ नबनुन् मुसा जस्ता राष्ट्रपती

राजन कार्की

हठातः संविधानसभा बिघटन गरेर बाबुराम नेतृत्वको सरकारलाई पदच्यूत गर्ने बैधानिक बाटाहरु बन्द गराएर प्रचण्ड–बाबुरामले राज्यका सबै अंगहरुमा सर्वाधिकार कायम गरेको आत्मरति गरिरहेका छन् । तिनको यो आत्मरतियुक्त रणनीतिक अभिष्टलाई प्रतिपक्षी कांग्रेस, एमालेहरुले राजनीतिक रुपमा प्रतिकार गर्ने आँट, हैसियत र ताकत देखाउन सकेनन् । जबरजस्त प्रतिकार भएन भन्दैमा आफूलाई लोकतान्त्रिक साँचोमा ढालेका कुनै पनि नेता अथवा पार्टीले नैतिक धरातल बिर्सनचाहिं नहुने हो । देशलाई असफल पार्ने हदसम्मको हठवादी बन्नु हुँदैनथ्यो । राजनीति छाडा बन्दै गएको छ । छाडातन्त्रमा बिधि फेल भएपछि बाहुबलीले शासन गर्ने हो ।

राष्ट्रपतिले सबै दलका नेताहरुलाई साक्षी राखेर प्रचण्डका सामु के गरौं ? भनेर सोध्ने, राष्ट्रिय संगठित सेना संबैधानिक आदेश कुरेर बस्ने, प्रतिपक्षी परालखुट्टे भएपछि माओवादी–मधेसवादी गठबन्धन सत्तामा बसेर शेर बन्नु स्वभाविकै हो । देश जंगल बन्दै गएको छ र तिनको हुंकार र डकारले त्रासदी र दुर्गन्ध एकसाथ फैलाइरहेकै छन् । यही सब देखेर नेकपा–माओवादीका नेता बैद्य र चन्दले असोज १६ गते मंगलवार प्रचण्ड–बाबुरामलाई लेण्डुप प्रवृत्तिको भनेर आरोप लगाए । सुधारिएनन् भने बन्दुक उठाउने चेतावनीसमेत दिए । शान्ति र संविधान, संघीयता र धर्मनिरपेक्षतालाई संस्थागत गर्ने महारथीहरु किन बिध्वंश निम्त्याइरहेका छन् ? आश्चर्य लाग्छ ।

‘झिक गाँड भन्दा थप गाँड’ भनेझैं देशमा संकट गहिरिंदै गएको छ । संकटमोचक देखिएका छैनन् । संकटमोचक बन्नका लागि तीतो टर्रो निर्णय गर्न सक्नुपर्छ । आफ्नो स्वार्थअनुकूलको मीठोमात्र खोज्नेहरुमा निर्णय क्षमता देखिएन । नाफामात्र खोज्नेलाई राजनीतिज्ञ होइन, फौबञ्जार भनिन्छ । मुखमा सहमतिको मिठास बोकेर बैठकमा असहमति गर्ने दीर्घरोग लागेको छ दलहरुलाई । यस्तो नेतृत्वले कसरी चमत्कार गर्नसक्छ ? कसरी नयाँ नेपाल निर्माण गर्छन् यिनले ? ०६३ सालदेखि ०६९ सालसम्म नेपालको भविष्यको रेखाचित्र ‘खाका’ सम्म बनाउन नसक्ने नामर्दहरुकै कारण सौभाग्य बन्नुपर्ने यिनको व्यक्तित्व दुर्भाग्यमा बदलिन पुगेको छ । हुँदा हुँदा आफ्नो अकर्मण्यता छोप्न ‘म के गरौं’ भनेर दलहरुप्रति नतमस्तक राष्ट्रपतिलाई ‘तँ कांग्रेस’ भनेर डाम्ने एमाओवादीले संकटलाई सन्यासो लाउनुपर्ने गरी घातक बिबादित वातावरणको सिर्जना गरिदिएको छ ।

साना पार्टीहरुको आफ्नै बादका कुरा भए पनि मूलरुपमा एमाओवादीको माओवाद, कांग्रेसको समाजबाद, एमालेको बहुदलीय जनवाद र मधेसी मोर्चाको मधेसवादको आवरणभित्र नेपाली राजनीति फनफनी घुमिरहेको छ । सबै बादीहरुले गरिबका कुरा, मुक्तिका कुरा, समानताका कुरा, देशभक्तिका कुरा, प्रगतिका कुरा बगारिरहेका छन् । तर यी चारैबादका सारथीहरु सिंहदरवारको सत्ता सुखभोग प्राप्त गर्न लालायित देखिन्छन् । स्वाधीनता, स्वावलम्बन, स्वराज्य, देशभक्ति भनेर महजस्तो भाषण गर्नेहरु बेला बेलामा ‘जोगी बन्न राजनीति गरेको हो र?’ भन्ने शैलीमा सत्तालिप्साको मनोबृत्ति सुनाउने गर्छन् । यिनको राजनीतिक चरित्र पनि सत्ताभोगमय मात्र देखिन्छ । त्यसैले उत्सुकताबस प्रश्न उठ्छ– देशको प्रतिनिधिपात्र, चरम गरिबी, शोषण, अन्याय, अत्याचार, बिभेदमा पिल्सिएका आम जनताको वास्तविक नेतृत्व कुन हो ? अर्जुनदृष्टि सत्तातिरमात्र लगाउनेले देश र जनतालाई देख्न र तिनको आकांक्षा र आवश्यकतालाई संवोधन गर्न कसरी सक्छ र ? जब लोकलाई देख्दैन भने यस्तो प्रवृत्तिलाई लोकतन्त्र कसरी मान्ने, कुन गुणात्मकताले लोकतान्त्रिकरण साबित गर्ने ? लोकतन्त्रमा लोक र लोकादेशले प्राथमिकता पाउनुपर्नेमा सत्ता राजनीतिको केन्द्रविन्दु बन्न पुगेको छ । यही कारण हो, शिर्ष दलहरु नेतृत्व दिन असफल सिद्ध भएका छन् ।

सत्तास्वार्थको बशमा परेको नेतृत्वकै असफलताले हो– निर्वाचित संविधानसभाले उपलव्धिबिहीन भएर बिघटन हुनुपर्‍यो । बिघटनको चार महिनापछि पनि चार दलहरु सहमति गर्ने नाटकमात्र गरिरहेका छन् र अन्तहीन नाटकको पटाक्षेप हुनसकेको छैन । राष्ट्रपतिले पटक पटक सहमति गर, निकास देउ भनेर घचघच्याइरहेका छन् । राष्ट्रपतिले पछिल्लोपटक गत असोज १५ गते सोमवार पनि सवै दललाई बोलाएर कि सहमति गर, कि मलाई कस्तो कदम चाल्ने हो निर्देश देउ भनेर आर्तनाद गरे । देशका संरक्षक यस्तो परालखुट्टे ? नेताहरु सर्प, विच्छी र भ्यागुतो बनेपछि निश्चित रुपमा सहमति बन्न सक्दैनथ्यो । भयो त्यही, मंगलवार बसेको ३२ पार्टीको बैठकमा पनि आशंका, अविश्वास, अनुशासनहीनता, अराजकता र अहंकारमात्र छताछुल्ल भएर पोखियो । चारपार्टी उत्तर–दक्षिण फर्किएका थिए । ३२ पार्टी बतासे कुरा गरेर निष्कर्षबिहीन हुनपुगे । उत्साह भनौं, जनतालाई जतिसुकै ढाँटे पनि, सहमति गर्न असफल भए पनि, दलहरु वार्ता र छलफल गर्न कञ्जुसीचाहिं गरिरहेका छैनन् । दलहरुको अन्तहीन, निर्णयहीन छलफल जारी छ ।

पछिल्लोपल्ट प्रचण्ड–बाबुरामले मुखै फोरेर मनको भडास बान्ता गरिदिए– राष्ट्रपति कांग्रेस भएकाले प्रधानमन्त्री पनि कांग्रेसलाई दिन सकिन्न । पार्टीको सदस्यता त्यागेर स्वतन्त्र र साझा भूमिका निर्वाह गरिरहेका राष्ट्रपति डा.रामवरण यादवका सामु उभिएर डा.बाबुराम र उनका मन्त्रिमण्डलका सदस्यहरुले सपथ खाएका हुन् । सत्तामा पुगेका हुन् । एकाएक अहिले रामवरण कसरी कांग्रेस भए ? बाबुरामले सिफारिस गरेका अध्यादेशमा ल्याप्चे ठोके, बाबुरामले सुनपानी छर्केर चोख्याएका हत्यारालाई माफी दिए रामवरण राम हुने, एस् मेन नबने कांग्रेस हुने ? ताक परे राष्ट्रपति नत्र कांग्रेसी, गजबको परिभाषा देखियो एमाओवादीको । कदाचित्, रामवरण यादवले कांग्रेसी देखिने कुन नैतिकहीन दायित्व विपरित अपराधकर्म गरे ? एमाओवादीले खुलस्त पार्न सकेको छैन ।

यसैवीच के स्पष्ट भयो भने राष्ट्रपति कांग्रेस भएकाले शक्ति सन्तलुनका लागि बाबुरामकै नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकारको रुपमा मान्यता दिन अथवा प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न कांग्रेस–एमाले सहमत हुनपर्छ भन्ने माग दावी एमाओवादीले गरेको छ । एमाओवादीको यो प्रस्तावलाई कांग्रेस–एमालेसहितका प्रतिपक्षीले ठाडै इन्कार गरेर भने– एकलौटी रुपमा संविधानसभा बिघटन गराएर चुनावको घोषणा गर्ने अनि चुनाव गराउन नसकेर संविधानसभाको पुनर्स्थापना गर्न अग्रसर हुने बाबुराम सरकार हट्नैपर्छ । कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गरेर संवैधानिक र राजनीतिक बाधा अड्काउ फुकाएर अघि बढ्न प्रतिपक्षीले प्रस्ताव गरिरहेका छन् । एमाओवादीले भनेको छ– त्यसो हो भने एकल जातीय संघीयतासहितका माओवादी ‘प्याकेज प्रस्ताव’मा कबुलित गर । संवैधानिक तथा राजनीतिक समस्या समाधान गर्न राष्ट्रिय सहमतिको समस्याको जडी कुरो यही हो । चुनावमा जान सबै सहमत छन् । संविधान संशोधन नगरी चुनावको ढोका खुल्दैन । ढोका नखोली गत्यारोध हट्दैन । गत्यारोध पन्छाउन राजनीतिक चक्काजाम जारी छ । अर्थात् अगाडि बढ्ने मार्गमा एमाओवादी तगारो तेर्सिएको छ । त्यही तगारोका कारण सहमति हुन नसकेर राष्ट्र शीर्ष चार पार्टीको बन्दी अवस्थामा उकुसमुकुसिएर निसास्सिइरहेको छ ।

राजनीतिक चक्काजाम खोल्ने वार्ता र छलफल धेरै लामो र पट्यारलाग्दो भइसक्यो । शीर्ष दलहरुको आ–आफ्नै जिकिर र अडान देख्दा लाग्छ– उनीहरु ‘सहजकर्ता अथवा आकाशवाणी’को प्रतीक्षामा छन् । यो प्रतिक्षा देख्दा पञ्चतन्त्रको एउटा कथाको सम्झना आउँछ । दुइटा स्यालका वीचमा सिकार गरेर ल्याएको कुखुरा कसले कति खाने भन्ने विषयमा झगडा भयो । उनीहरुको झगडा मिलाइदिन ब्वाँसो आयो । ब्वाँसोले मासु भाग लगाइदिन थाल्यो । एउटा भागमा अलि बढी भयो भनेर झिकेर आफैले खायो । फेरि अर्को भागमा बढी भयो भनेर त्यो पनि आफैले खाइदियो । एवम् रितले यो भागमा बढी र त्यो भागमा बढी भन्दै खाँदाखाँदै मासु सकियो । मासु खाइसकेपछि ब्वाँसो आफ्नो बाटो लाग्यो, दुई स्याल हेर्‍याहेर्‍यै भए । कतै बिबादलाई सल्टाउन र सहमतिको रुप दिन आत्मनिर्णय गर्न नसक्ने अक्षम र अशक्त नेताहरु सहजकर्ता अथवा निर्णायक न्यायाधीश खोज्दाखोज्दै पञ्चतन्त्रको स्यालको नियति भोग्न बाध्य हुन नपरोस् । समयले सुवर्ण मौका दिन्छ । मौका अहिलेसम्म नेताहरुकै हातमा छ, हातमा भएको गुमाएपछि पछुताएर के गर्ने ? न्याउरी मारी पछुतो नहोस् ।

निष्कर्षमा भन्नुपर्दा, सबै दल सहमतिको बिकल्प छैन भन्छन्, सहमतिमा पुग्न सक्दैनन् । सहमतिको शिखर सगरमाथाभन्दा अग्लो बनिसक्यो । नेताहरु सहमति आरोहण गर्न सक्तैनन् भने मुसाजस्ता देखिएका राष्ट्रपति अथवा कुनै अर्को शक्ति बाघ नबनोस्, समयमै चेतना भया ।

(लेखकको फेसबूकबाट लिईएको हो उनले भिन्नै शिर्षक राखेका थिए)

तपाइँको प्रतिक्रिया