कहिले सुन्ने सरकारले पसिनामा पैसा साट्नेका पीडा ?
देशमा गरीब निमुखाका सरकार बनेको छ भन्छन माओबादका नारारुपी डम्फु बजाउनेहरु । तर वास्तविता अर्कै छ । नेपाली युवा देशका भबिष्य हुन । स्वदेशमा रोजगारीको वाताबरण श्रृजना गर्न तिनै जनताले चुनेर पठाएका नेता छन् । देशकै सबैभन्दा ठुलो दलको प्रतिनिधि प्रधानमन्त्रिको कुर्सीमा छन् । तरपनि जनताका जीवन यापन लगायत रोजगारीका अवसर श्रृजना गर्न भन्दा सत्तामा टिकिरहने दाउपेचमा लागेका छन् ति । त्यसले गर्दा जनमानसमा नैराश्यता छाएको छ । त्यसैले ति आफ्नो जीविकोपार्जनका लागि भारत लगायत मध्यपुर्ब एशिया अनि युरोप र अमेरिका छिरिरहेका छन् । तर अचम्म लाग्दो कुरो, नेपालीको सही अथवा निश्चित तथ्यांक नेपाली अध्यागमन बिभागसंग पनि नरहेको दिनानुदिन सार्बजनिक भैरहेको छ ।
गरिबी, अशिक्षा र बेरोजगारीका कारण बिदेशिनु परेका नेपालीहरु विभिन्न देशमा अदक्ष जनशक्तिको रुपमा काम गर्न बाध्य भएका छन् । हामी भारतमा “बहादुर” अनि अन्य मुलुकमा “गोर्खा”का नामले आफ्नो पहिचान बनाउन बाध्य भएका छौ । आफ्नो पाखुराको भरमा जीवन यापन गर्ने हामी कर्मशील र मेहनती समस्त प्रवाशीहरुको दोष के त ? के हामीहरु रहरले पलाएन भएका हौं त ? उच्च शिक्षा हाँसिल गर्ने बहानामा वा जीविकोपार्जन गर्ने निहुँमा मध्य पूर्वको तातो बालुवामा पसिना बगाउन बिबश छन् । या युरोप अमेरिकाको हिउँमा मेहेनत गर्न बाध्य बनाईएका छन् । यदि देशमै उचित रोजगारीको वातावरण श्रृजना गर्न देशका ठेकेदारहरु सक्षम भैदिएको भए पक्कै यो श्रम शक्ति पलाएन हुँदैनथ्यो होला ।
यो विकासशील दुनियाँमा बिकसित देशहरुले तिब्रतर रुपमा फड्को मार्ने क्रममा उनीहरुको जीवन यापन सहज भैरहेको छ । उनीहरुले विकासको फड्को मारिरहेकैले जीविकोपार्जनको समस्याले पलाएन भएकाहरुको न्यून रुपमै भए पनि रोजगारीको सम्भावना रहेको छ । तर यो हाम्रो लागि खुशीको कुरा भने पक्कै होइन । रुकुमका बिर्ख बहादुर, इलामका संजिव, काठमाडौँका राजेश हुन् या चितवनका दिपक देशकै दुरावस्थाका कारण बिदेशिनु परेको तितो यथार्थ ओकल्छन नेपाली जमघटहरुमा । आखिर के यो उनीहरुको रहर हो त ? ४५ डिग्रीको गर्मीमा खुल्ला आकाशमुनि हात फैलाएर र तातो बालुवामा पैताला तताएर पसिनाले निथ्रुक्क भिज्दै काम गरेपनि उचित पारिश्रमिक नपाएको पिडा छ मध्य पूर्व एशियामा । तरपनि नेपालबाट ति ठाउँमा पसिना बगाउन बिदेशिनेको लर्को घटेको छैन । युरोप र अमेरिकामा चिसोमा कठ्याङ्रिएर काम गर्छन् । अनुमतिबिनै काम गर्न बिवस भएका नेपालीहरुको श्रम शोषण भैरहेको समाचार पनि दिनदिनै आइरहेको छ छापामा । तर पनि अध्यागमन विभागको प्रवेशद्वार भने खाली भएको छैन ।
सहज छैन बिदेशी भूमिमा पसिनाले पैसा साट्न । रगत बगाएर धन आर्जन गर्न । तर बाध्य छन् ति नेपालीहरु । किनभने देशमा रोजगारीको अवसर छैन । स्नातकोत्तर गरेका नेपालीहरु धेरै छन् रत्नपार्कमा सर्टिफिकेट ओछ्याएर बस्दै घाम तापेर बदाम खानेहरु । पलाएन हुन खोज्नेहरुलाई पनि मन भने पटक्कै छैन होला आफ्नो युवा उर्जा देशमा खर्चन भन्दा बिदेशमा पोख्नका लागि । तर उ बाध्य छ यसकारण कि उसको अलिकति भएको पाखो बारीमा झन्डा गाडिएको छ कथित जनमुखी पार्टीको । साँझ बिहान भात खान त परै जाओस कोदो फलाएर ढिडो खाने आफ्नो पाखोबारीमा कोदालो चलाउन सक्दैन उ । र सरकार मौन बसिदिन्छ । तब एउटा किसान बाध्य हुनु पर्छ । आफ्नो कलिलो १६ बर्षे छोरोलाई भारतीय भूमिमा भारी बोकाउन विवश हुनुपर्छ । त्यहाँ पनि सरकार ति किसानलाई र तिनको छोरालाई रोजगारीको ग्यारेन्टी गर्न असक्षम छ ।
बाल्यकालपनि राम्रो संग फक्रिन नपाएको पिडा लिएर प्रबाशमा जीविकोपार्जन गर्न आउने यस्ता धेरै प्रतिनिधि छोराहरु छन् जसले अदम्य पसिना बगाउँछन् बिदेशी भूमिमा । तर पनि उसको कुनै गुनासो छैन सरकार सँग । उ चुपचाप मेहेनत गरिरहेछ । तरपनि सरकार उसको समस्या देख्दैन । सरकार सोच्छ “प्रबासी हुनु नेपालीको रहर हो ।” सरकार त हरेक दिन गोष्ठी र प्रवचन अनि आमसभामा भाषण गर्दै हिँड्छ । सरकार गर्ब गर्छ युवा जनशक्ति विदेश पलाएन गराउन सकेकोमा । उसमा पछुतो कदापी छैन रोजगारीको अवसर श्रृजनागर्न नसकेकोमा । किनभने कथित जनमुखी पार्टीलाई थाहा छ युवा जनशक्तिनै परिवर्तनका श्रोत हुन् । यदि यिनीहरुलाई देशमा राख्ने हो भने बेरोजगारीले आक्रान्त भएर हामी बिरुद्ध लाग्ने छन् । अनि हामी सत्ताको बागडोरबाट पछी हट्न विवस हुने छौ । त्यसैले सरकार युवा जनशक्ति पलाएन गराउन उद्धत छ । तरपनि प्रबासी चुप छन् । मौन बनिदिएका छन् सरकारप्रति ।
यिनै प्रबासी नेपालीहरुको रेमिटेन्सले देशको अर्थतन्त्रको २८ % हिस्सा ओगटेको थाहा हुँदा हुँदै पनि किन यिनै प्रबासीहरुप्रति सरकार उदासिन ? चाहे लिबियामा होस् या सिरिया अनि इजरायल हुदै अन्य मध्य पुर्बका देशहरुमा घरायसी काम गर्न पठाइएका नेपाली चेलीहरु दिनदिनै घर मालिकबाट बलात्कृत हुनु परिरहेको छ । काम गर्ने समय तोकिएको छैन । बिदा पाउन सक्दैनन् । करारमा उल्लेख भएको तलब पारिश्रमिक प्राप्त गर्दैनन् । तर पनि नेपालीहरुलाई मरेतुल्य जीवन प्रबासमा बिताउन बाध्य परेर सुशासन अनि जनहितको डम्फु बजाइरहेको छ सरकार । अर्को तिर हेर्ने हो भने अदक्ष जनशक्तिका कारण आफ्नो ज्यान जोखिममा राखेर नेपाल सरकारकै रेमिटेन्स जुटाउन अहोरात्र खटिएर काम गर्ने क्रममा आफ्नो इहलिलानै समाप्त भएका कैयौं उदाहरण छन् हामी माझ ।
गरिबीले ब्याप्त भएर बिदेशिएको अवस्थामै प्राण त्याग्न बाध्य पर्दापनि सरकार मौन छ । उसैको दैनिक ज्यालादारीले भाषण छाँड्दै हिँड्ने सरकार उसैको पार्थिब शरीरलाई आफन्तजनसम्म पुर्याउन कुनै पहल गर्दैन । प्रवासीको पिडा बेला बेलामा प्रबासी नेपालीहरुलाई आफ्नो पकडमा राखिराख्न प्रबास आइरहने सरकारका प्रतिनिधि अनि राजदुताबास मार्फत पनि सरकारमा पुगेकै हुनुपर्छ । तर पनि सरकार लाचार अनि मौन भई प्रबासीको पिडामा मुक दर्शक बन्नु भनेको उदाशिनाताको पराकाष्ठा भन्दा अरु केहि हुन सक्दैन ।