महामहिम जंगिँदा हलमै हुटिङ
पेरिसमा नेपाल पत्रकार महा संघ युरोप शाखाको पहिलो अधिबेशन हुँदै थियो । यो आम पत्रकारको साझा कार्यक्रम न हो । न आयोजकको एक्लो न अधिबेशनमा आउनेको मात्रै । त्यसैले यसमा कसको कोसित कस्तो संवन्ध छ भन्ने अर्थ राख्थेन पक्कै । यस्तो कुरो आम रुपमा नेपाल र नेपालीको भलो गर्न, सहयोग गर्न भनेर बसेको दुतावासलाई झन हेक्का नहुने कुरै थिएन । हुनु पर्थ्यो । त्यहि साझा कार्यक्रम भएकाले ब्यक्तिगत संवन्धलाई थाँती राखेरपनि नेपाल पत्रकार महासंघ युरोप (एफ एनजे युरोप) शाखाले फ्रान्सका नेपाली राजदूत मोहन क्रिष्ण श्रेष्ठलाई निम्ता दियो । शुरुमा उनले आनाकानी गरे । तर पछि उनी आउने निधो गरेछन् नेपाल पत्रकार महा सँघका अध्यक्ष शिव गाउंलेसित । आए । बोल्न दिईयो । उनले पत्रकार अधिबेशनकै प्रसंगलाई प्राथमिकता दिएर त्यसैमा केन्द्रित हुनु पर्थ्यो । तर उनले ब्यक्तिगत र बेप्रसंगको तुस निकाले । “पत्रकारको खोल ओढेर मलाई राष्ट्रघाती भन्नेहरुले नै देखाउन्, सरकारले कारवाही गरोस्, म कारवाही खप्न तयार छु” ।
हलमा उनी बोल्दा बोल्दै आवाज उठ्यो “को हो त्यो खोल ओढेको ? कसलाई भन्न खोजेको?” हलमा सबैका कान ठाडा भए, आश्चर्यमा परे । कतिपयले यो कुरो बुझेनन् पनि होला । देशको प्रतिनिधित्व गरेर सार्वजनिक कार्यक्रममा बोलिरहेको बेला सायद नेपली राजदूतमाथि औंला ठडियो ।
उनले अमेरिकामा वाटरगेट काण्डको रहस्य पत्रकारले निकालेर सार्वजनिक गरिदिएको । त्यो सार्वजनिक गरिदिँदा तत्कालिन राष्ट्रपतीले राजिनामानै दिनु परेको प्रसंगपनि निकालेका थिए । मन्तब्यको अवशरलाई उनले ब्यक्तिगत रिसिबी साँध्ने, निजि टकराव र बिगतको झोंक प्रदर्शन गर्ने, राज्य शक्तिको दुरुपयोग गर्ने,अख्तियारीलाई धोती लगाउने, आफु साखुल्ले र असल बन्ने मञ्चका रुपमा प्रयोग गर्न खोजे । त्यो निशाना उनले म माथि लगाएका थिए । उनको प्रतिशोध सिधै मलाई ताकेर शुरु भयो । मैले एक टकले सुनें । तर खकिसक्नु भएको थिएन । किनकि उनका आरोप र रोदन झुठा थिए । उनले पूर्व राजा ज्ञानेन्द्र फ्रान्स भ्रमणमा आउँदा आफु ग्रिस गएको तर नेपालप्लसमा ज्ञानेन्द्रलाई भेट्न भनेर गएको भनेर आक्रोश पोखे ।
उनले बेप्रसंगका तुसहरु पोखे । मैले तुरुन्तै माईक मागें र महमहिमका झुटा आरोपको तत्कालै प्रतिबाद गरें । उनी फ्रान्समा आउना साथै संभव त यहाँका नेपालीहरु मध्ये सबैभन्दा पहिले मैसित भेटेर उनले सहयोग मागेका थिए । त्यो बेला मैले उनलाई हाकै भनेको थिएँ, “तपाईले यदि देशको लागि राम्रो काम गर्नुहुन्छ भने म दाहिने हात काटेरपनि दिनेछु, गर्नु भएन भने म आलोचना गर्ने छु ।” तर उनले पछि प्रतिशोध साँचेको, गाली र धम्कि दिन थालेको, आफ्नो स्वार्थ अनुकुल चलाउन खोजेकोले मैले त्यसको प्रतिबाद गरेको हलमै बताएँ । उनले नेपालप्लसमा आफू बिरुद्द झुठा लेख आएको बताएका थिए । तर मैले हलभित्रै उनलाई चुनौति दिएँ “मैले लेखेका भ्रस्टाचारका समाचारको आम जनताका अगाडि सप्रमाण सिद्द गरिदिन्छु । मसित तिनको प्रमाण छ । यदि महमहिमले जनताका अगाडि बसेर बहस गर्न हिम्मत गर्नुहुन्छ भने म एक एक देखाउन तयार छु । म तिन घण्टा बसेर जनताका अगाडि त्यो सार्वजनिक गर्न, सिद्द गर्न तयार छु । तपाइ तयार हुनुहुन्छ भने आम पेरिसबासी नेपालीका अगाडि लौ बसौं।”
मैले योपनि भनें “यदि तपाई हिम्मत गर्नुहुन्छ भने नेपाल महा संघका अध्यक्ष शिव गाउँलेकै अगाडि र यी तमाम पत्रकारकै अगाडि तिन घण्टा लागेपनि एक एक देखाउन, बहस गर्न र आफुले लेखेको सहि सिद्द गरेर छाड्न म तयार छु ।”
उनले त्यसकालागि आफु तयार भएको बताउन सकेनन् । मैले उनमाथि लागेका आरोप सिद्द गर्छु भनेर त्यत्रा सर्वसाधारण र युरोपका बिभिन मुलुकबाट आएका पत्रकारका सामु चुनौतिकै शैलीमा भनाई राख्दापनि उनले आँट गर्न सकेनन् । भन्नु पर्ने कुरा त निकै थिए । तर छोटकरिमा राखेर माईक बुझाइयो । उनले कार्यक्रम भाँड्न दिएको चुनौतिपनि सुनाउनु थियो । तर समय थिएन । छोटकरिमा त्यतिमै सिमित राखें । त्यसपछि उनले फेरी माईक समातेर के हो भन्न खोज्दै थिए । उनले माईक समाउन खोज्नासाथ हलभित्रबाट हुटिङ शुरु भयो । ओ ए ओ ए ओ ओ गर्दै हलमा पछिल्लो श्रेणीबाट हुटिङ हुन थालेपछि महामहिम शान्त भए । युरोप स्तरिय कार्यक्रममा हुटिङ नै खानु परेपछि बिचरा महामहिमले के गरुन् !
उनले आफु जस्तो सच्चा राष्ट्र सेवकमाथि हुने नहुने आरोप लगाउने गरेकोपनि कड्किँदै बताए । भने “मैले ३६ वर्ष राष्ट्रको सेवा गरें, राम्रो र नराम्रो काम गरेको एकाध ब्यक्तिले भनेर हुन्छ ? जनताले गर्छ मूल्यांकन । जनताले गरिरहेको छ मेरो मूल्यांकन ।” अचम्म लाग्दो कुरो के भने को रहेछ त्यो जनता ? उनले जम्मा पार्ने गरेका दुई चार जना आउरे बाउरे ? उनले सप्ताहिक रुपमा भोज खान बोलाउने गरेका चाकरिबाज ? घरका भित्ता र धाराका टुटी फेर्न बोलाउने, मजदूरी गर्न बोलाउने गरेका नेपाली मजदूर ? फागू पूर्णीमा, तीज, दशैं, प्रजातन्त्र दिवसका दिन मुख्य निम्तालुहरु हिँडिसकेपछि जाँड पार्टीका तालमा उनले ढिलो सम्म सँगै राखेर गफ सुनाउने गरेका उनका केहि भक्त ? को रहेछ जनता ? उनले स्पष्ठ पारेनन् । कि उनले सल्लाह लिने भान्छे र पिउन ? कि एस एल सी फेल भएको आरोप लाग्दै आएका उनको सालो जो दुतावासको सक्रेटरीका रुपमा कार्यरत छन् ? को हो जनता ? कि दुतावासमा पहिले भान्छे भएर आएका पेरिसका पुराना नेपाली, महामहिमका निकट सल्लाहकार ? को हो जनता ?
नत्र जनताले देख्ने, सुन्ने, भोग्ने र महसुस गर्ने, जनताले केहि लाभ लिने के चाहिँ काम गरेको देखियो त ? कुन फ्रान्सेली प्रबिधि भित्र्याउन सफल भए उनी नेपालमा ? उनको सहयोग र सक्रियतामा के बन्यो नेपालमा ? कुनै फ्रन्सेली वा फ्रान्सको नेपाली दुतावासले हेर्ने गरेको युरोपका सात मुलुकका कुनै विश्व बिध्यालयसित संबन्धन प्राप्त भो नेपालको कुनै शैक्षिक संस्थामा ?
नेपाल र नेपालीबारे यी मुलुकमा कुनै अन्तर्राष्ट्रिय स्तरको सभा सम्मेलन गर्न सक्यो नेपाली दुतावासले उनको कार्यकालमा ? नेपालसित कुनै ब्यापारिक संझौता भयो ? के चाहैँ काम भयो जनताले मूल्यांकन गर्ने ?
नेपाली संघ संस्थाले सामूहिक वा भिन्नाभिन्नै रुपमा मनाउंदै आएको तीज पर्व थपियो । त्यसमा नेपाल सरकारकै बजेट घट्यो । अमेरिका, जर्मनी जस्ता कति देशले प्रसाद र चियापानकै लागि मात्रै मनाए दशैं । यहाँ कुनकुन नेपालीलाई बोलाउने भनेर महामहिमले आफैं सूची उतारी उतारी सिमित ब्यक्तिलाई निम्ता गरेर भोज गरियो । त्यसमापनि जाने सरकारकै बजेट हो । दुतावास यदा कदा नेपाली सांस्क्रितिक ग्रिह, नेपाली एकता समाज, तमु समाज, एभरेस्ट एशोसिएशनले गर्ने कार्यक्रममा उपस्थित हुन्छ । आफुले एक्लै केहि गर्ने लेठोसम्म गर्दैन । अनि कसरि कहाँ नेपालको हित भयो ? जनताले मूल्यांकन गर्ने काम के भयो ?
सजायँ दिए जनताले दिन्छ भन्दै थिए महामहिम । सजाय जनताले होइन, कानुनले हो दिने । जनता, सरकार, सरकारी निकाय सबैको सजायँ कानुनले गर्ने हो । त्यो जनता भन्ने अमुक चिज केहि होइन, पन्छिनकालागि मात्रै हो । यस्तै जे पायो उहि बोल्ने, आफुलाइ राजा ज्ञानेन्द्र भन्दा अझ शक्तिशाली ठान्ने, सरकारले जनता र देशको, बिदेशमा बस्ने नेपालीको हितमा काम गर्न दिएको अख्तियारीलाई पारिवारिक स्वार्थ, केहि आफ्ना चाकरिबाजका हितमा सुम्पने र आफैं सर्बेसर्बा बन्ने, ठाउँ कुठाउँ बेप्रसंगका कुरा सन्काहा शैलीमा बोल्ने गर्दै हिँड्नुको परिणाम हो हलमा हुटिङ खानु । यस्तै पारा रहिरहे जहाँ जहाँ गयो त्यहाँ त्यहाँ कालो झण्डा र हुटिङ खाने दिन न आ उला भन्न सकिन्न । त्यत्रा नेपालीका बिचमा कसैले भ्रस्टाचार गरेको चुनौति दिने, कोहि चोर औंला ठड्याउने, कोहि हुटिङ गर्ने गरेको देखेपछि महामहिम भन्दैमा जे पायो त्यहि गरेर चल्दो रहेनछ भन्ने अलिकति हेक्का भयो कि महामहिमलाई ?
(छद्म नाममा बेभ साईट खोलेर पत्रकारितापनि गर्दै छन् महामहिम । त्यसका बारेमा अर्को पटक ।)





