संघियता र जातिय पहिचानबारे केहि भ्रम र यथार्थ

शेखर ढुंगेल / राम लिम्बू, अमेरिका

नेपालमा के हुन्छ जातिय राज्यको बहस ? त्यो भन्दा बढि हुन्छ बिदेशमा सायद । नेपालमा संघियताबारे जति चासो र छल्फल गरिन्छ त्यो भन्दा धेरै गुणा सायद बिदेशी भूमिका नेपालीहरुले गर्छन् । अमेरिका त झन यसैपनि संघिय राज्य भएको विशाल मुलुक । यहाँ यसैपनि नेपालीको संख्या उच्च छ । त्यसैले यहाँका नेपालीमा हाम्रो राजनितिक संरचनाका बारेमा नेपालमा भन्दा पनि छिटो बहस र छलफल हुने गर्छ । जातिय पहिचान, संघिय राज्य आदिका बारेमा अहिले अमेरिकामा गरमागरम बहस भैरहेका छन् । तिनै बहस मध्ये मैले शेखर ढुंगेल र राम लिम्बूले अगाडि सारेका संघियता र जातिय पहिचान सहितको राज्यका बारेमा चाखलाग्दो लागेर यहाँ राखेको छु । क्रिपया रचनात्मक प्रतिक्रिया मात्रै दिनुहोला । 

शेखर ढुंगेल  

सर्बप्रथम त संघियता नै समयको माग थियो वा जनतालाइ भ्रमित पार्ने आन्दोलन अझै स्पस्ट हुन् सकेको छैन । त्यसमा पनि पहिचान अर्थात जातीय पहिचान सहितको संघियता अझ गम्भीर कुरो भै सकेको छ । STATUE OF LIBERTI को आँगनमा बसेर यो बिषयमा के सोच्ने के बोल्ने  ? 

एक छिनको लागि जातीय राज्य सहितको संघियता प्रति सकारात्मक भएर सोच्ने हो भने मैले मेरो जातको राज्य पाउने कि नपाउने ? पाउने भए के नेपालमा १२४ राज्य बन्न सक्छ ? राज्य (संबिधान) को दृष्टिमा सबै जात बराबर हकदार हुन् कि होइनन ? हो भने मेरो जातको राज्य किन नदिने ? कसरि नदिने ? एउटा जिम्मेवार नागरिकको ठाउँमा बसेर सिंगो नेपाल र नेपाली भोलिको पुस्तालाइ बुझाउन सकिन्छ सकिदैन ? 

जातीय विवादको सन्दर्भमा यो शेखर ढुंगेलको सोच कमजोर हुन्, वा संकीर्ण वा पक्षीय भएर बोलेको भन्नसक्नु हुन्छ । तर जातीय युद्धको जाँतोमा पिसिएर ३० बर्षसम्म जेल भोगेका नेल्सन मण्डेलाको यी दुइ भनाइलाइ मनन गर्नु जरुरि छ 

• “गोरे हरु हाम्रो देशमा आउँदा उनिहरुको हातमा बाइबल थियो, हाम्रो हाता मा देश । जब उनिहरु गए हाम्रो हातमा बाइबल पर्यो उनिहरुको हातमा हाम्रो देश ”  

∙ “म जातिबाद लाइ घृणा गर्दछु । यो मानवता बिरुद्धको अपराध हो” 

नेल्सन मण्डेलाले भोगेका र परिणाम देखेर खारिएको अभिव्यक्ति हो यो । हामिले मनन गर्ने कि नगर्ने ? 

गाउँ क्षेत्र र देश बिकासको अवधारणाको लागि मात्र संघियता हो भने अहिले को ५ बिकाश क्षेत्रलाइ नै संघिय राज्य घोषणा गर्नुमा सबै को कल्याण देखिन्छ । होइन अन्य उदेश्यले जबर्जस्ति जातीय नारा वा आन्दोलन हो भने अन्यथा हुन् जानेछ । 

जिम्मेवार नागरिक हरु ! एक छिन सोचौं । मनन गरौं । अहिलेसम्म केहि बिग्रेको छैन । “बादे बादे तत्व बोध जायते “भने झैँ यो छलफल ले सकारात्मक निचोड निस्कने छ । किन कि यस्तो छलफल रोल्पा मा होइन statue of liberti मा हुँदैछ । र छलफलमा जानुभन्दा पहिले र बिषय प्रवेश गर्नु पहिले केहि सत्य तथ्यलाइपनि मनन गर्नुपर्छ !

• त्यो हो “जात के हो ? धर्म (आस्था) के हो ?

∙ मानव पहिले जन्म्यो कि धर्म ?

• मानव पहिले कि जात पहिले ? मानवता भन्दा अगाडी र माथि न कुनै जात थियो न कुनै धर्म ! यसै सुत्रलाइ छातीमा राखी बाँकि कुरो गरौं ! 

नेपालमा भ्रम छरे पनि यो बहु धार्मिक बहु जातीय रहेको आप्रबासीहरुको देशमा कसरि एकले अर्काको “मानबिय मूल्य र मान्यतालाइ सम्मान गर्दै हाते मालो गरेर बसेका छन् ? हेरौं, बुझौं । अनि मात्र के के अमिलो झुसिलो बायु निकाल्नु पर्ने हो निकालौ ! 

अन्तमा के स्मरण गर्नु जरुरि छ भने हामीले २१ औं शताब्दीको चाहना अनुरुपको सामाजिक, राजनैतिक, मानव अधिकारलाइ समेट्ने परिबर्तन गर्न वा परिमार्जन गर्न खोजेका हौ भने सर्बप्रथम निषेधको मानसिकता त्याग्नुपर्छ । सबैको समान अस्तित्व अधिकार र आस्थाको सम्मान गर्नैपर्छ ।

छलफलमा जातीय प्रतिनिधित्व मात्र रहेछ । अन्यलाइ पनि सुनाउने र सुन्ने मानसिकता राखेको भए अझ राम्रो हुन्थ्यो । 

मेरो प्रतिक्रिया शंखर ढुंगेलजीलाई.. 

राम लिम्बू 

आशा गर्दछु तपाइलाई रिस उठेन भन्ने । किनकि म पूर्ण रुपमा बिस्वस्त छु तपाई जातीय प्रेमी हुनुहुन्छ । तपाई लाई जाति विशेष त्यति वास्ता छैन । नत्र तपाई लाई पनि जातिवादी न भन्न सकिन्न । तपाईको खुल्दुली तपाईकै शैलीमा तर ब्रिस्तित रुपमा । 

तपाइको सम्पूर्ण सोच, गहिरो अनुसन्धान र जातीय स्नेहता, प्रेम र सद्भावको कदर गर्न चाहन्छु र तपाईको हरेक तर्कमा सहमतिपनि जनाउन चाहन्छु ! हो यो छलफल नेपालको रोल्पा मा भएको होइन । statue of liberty भएको देशमा हुँदैछ । तपाईको सम्पूर्ण कुराहरुलाई बुझेर मनन गर्दा साँच्चिनै नयाँ सुखद समृदि नेपालको परिकल्पना गर्न सकिन्छ । तर परिकल्पना केलाई भन्ने ?

वर्षौं अघि प्रिथ्वी नारायण शाहलाई सुम्पिँदा (हामीसँग छलकपट गरेको प्रमाण छ) देखि गरिएको हाम्रा पुर्खाहरुको परिकल्पना भन्ने ? वा हिजो हामी नेपाल छँदाको परिकल्पना ? र अहिले अमेरिका आएर गरिएको त्यहि परिकल्पनालाई भन्ने ? 

म दोहोर्‍याउन चाहन्छु तपाईको बुँदाहरु :

मण्डेला : “गोरेहरु हाम्रो देशमा आउँदा उनिहरुको हातमा बाइबल थियो, हाम्रो हातामा देश । जब उनिहरु गए हाम्रो हातमा बाइबल पर्यो उनिहरुको हातमा हाम्रो देश ।” कृपया सबैले यो कुरालाई गहिरो मनन गरेर नेपालको इतिहास र सन्दर्भसँग जोडेर हेर्नुहोला (को कसरि कहाँबाट आएको र कसको हातमा के थियो र अहिलेसम्मको अवस्था के छ ? 

अर्को भनाइ थियो “म जातिबादलाइ घृणा गर्दछु । यो मानवता बिरुद्धको अपराध हो ।” हो यो कुरा सहि हो । म राम लिम्बु यस कुरामा सहमति जनाउन चाहन्छु । तर नेपालको सन्दर्भमा यसको अर्थ बेग्लै छ । हामीले बुझ्न आवश्यक छ । को कहाँ बाट आयो र यसको शुरुवात कसरि भयो ? र किन ? यी कुराहरु बुझ्न पनि त्यति नै महत्वपूर्ण छ जसरि अहिले तपाई जातीय राज्य भनि बिरोध गर्दै  भ्रमपूर्ण ब्याख्या गरिरहनु भएको छ । 

तपाईले एउटा जान्नै पर्ने र चिन्तन मनन गर्नै कुरा : यो जातिबाद कसरि आयो ?कसले ल्याको हो ? सिंगो नेपाल राष्ट्रलाई चार जात छत्तिस वर्णको फुलबारी भनेर बर्गिकरण कुन समुदायले गरेको हो ? बुद्ध जन्मेको देश कसरी हिन्दु राष्ट्र बन्यो ? तपाईलाई जानकारी गराउन चाहन्छु । अहिलेसम्म पनि नेपालमा जातीय विभेद कायम नै छ । ठुलो जात (बाहुन) सानो जात (दलित) भनेर । र यस्ता जातिय विभेद गर्ने ठूला जातका बाहुन छेत्री नै बढि देखिने गरेको छ । यी रहे जातियताका कुरा । 

अब अधिकारको कुरा के गर्नु ? २०% भन्दा कम बाहुन छेत्री रहेको नेपालमा ७०% सरकारी जागिर (कर्मचारी) बाहुन छेत्रीहरु मात्र कसरी भए ? हो, तपाई पनि मेरो जातीय संघियताप्रतिको दृस्टीकोणलाई कम्जोर, संक्रिर्ण र पक्षपाती भन्न सक्नु हुन्छ । तपाईको कुरामा सहमति जनाउन चाहन्छु । हो मानिस भन्दा पहिले धर्म वा जात आएको होइन । यी जात धर्मका कुरा मनवता पछी आउने हुन् । यही कुराहरुलाई वर्षौं आगाडी बाहुन बाजेहरुले बुझी दिएर समान रुपमा सबैलाई समेटेको भए यो दिन पक्कै पनि आउने थिएन होला । भन्दै लाँदा र गफ गर्दै जाँदा निकै लामो होला भन्दै शेखेरजी लाई एक दुइ वटा प्रश्न गर्न चाहन्छु । 

१. जुन बेला सिंगो नेपालको निर्माण हुँदै थियो, म तपाईको मुखबाट सुन्न चाहन्छु ति बर्गिकरण कुन आधारमा गरिएको थियो ? 

२. त्यस बेला कुन आधारमा जातिहरुको (ठुलो / सानु जात) भनेर बर्गीकरण गरियो जुन कुरालाई तपाई अहिले जातिवादी को संज्ञा दिनु हुदैछ ? 

३. दाजेर हेर्दा बाहुन छेत्रीमा भएको सम्पूर्ण कुराहरु (जात, धर्म, लिपि, भेषभुषा, परम्परा) हामीमा पनि आफ्नै छ । तर हाम्रो कुराहरु किन राष्ट्रियकरण भएन ? तपाईलाई के लाग्छ

त्यति बेला समानता थियो र ? 

दाँजेर हेरौं ! प्रमुख आधारहरु को हकमा :

जात  :           बाहुन                 लिम्बु 

धर्म :             हिन्दु / दशैं          लिम्बु / उधौली उभौली 

भेषभुषा :          दौरा                 लिम्बु पोसाक 

अक्षर :          संस्कृत               लिम्बु लिपि 

पहिचान :      ………….           आदिबासी  

आदिबासि के आधारमा भने तपाईहरुले नै लिखित पाठ्य पुस्तकहरुबाट बाहुन छेत्रीलाई नेपाली स्नातक शैक्षिक स्तरसम्म आधिबासी भनेर लेखेको छैन । अब भन्नुस नेपालको राष्ट्र धर्म के? भेषभुषा के ? लिपि के ? यहाँ के समानता पाउनु भो आफै विचार गर्नु होस् । सम्पूर्ण कुराहरु बाहुन छेत्रीको समेटिएको छ, दशैं चाड । दौरा राष्ट्रिय पोशाक । भाषा नेपाली । अक्षर संस्कृत ! तपाई यो एकात्मक राष्ट्रियकरणलाई के भन्नुहुन्छ ? 

४. आदिबासिको अर्थ के हो ? यसको कुनै पनि देशमा कस्तो भूमिका रहनेछ ? प्रस्ट पारिदिनुहोला । जातीय पहिचान अनि मूल्य मान्यता बोकेको संघियतालाई जातिबादी नभनिदिन अनुरोध गर्दछु ! हामीले कहिल्यैपनि लिम्बुवान भुमिमा बाहुन छेत्री बस्न पाउँदैन भनेका छैनौं । हामी पहिचानको निमित्त लडीरहेका छौं । यसको गलत अर्थ लाएर जनतालाई भ्रममा नपारिदिनु होला ! 

कृपया सधैं सधैं पछि परेका गरिब मुलुकहरु सँग दाँजेर जातिय पहिचान र संघियताको उल्टो अर्थ लगाई भ्रममा नपारिदिनु होला । यहाँ अमेरिका जस्तो राष्ट्र पनि छ जहाँ जातिय पहिचानको सम्मान गरेर प्रान्त छुटयाएको छ । सक्नुहुन्छ भने तपाईको नाम (शंकर) थर (विश्वकर्मा) दलितसँग परिबर्तन गरि निस्वार्थ जातिप्रेमी र आत्मियताको उदाहरण दिनुहोस् । 

धन्यवाद, संघीय अभिबादन

राम लिम्बु, न्युयोर्क

तपाइँको प्रतिक्रिया