भट्टराई समक्ष माग तेसार्दै अर्को जनयुद्दको तयारी !

हिजो बैध्य पक्षिय भनिने नेकपा-माओवादीले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई जनजिविका र राष्ट्रियता संवन्धि ७० बुँदे माग बुझाए । होइन भनेपनि यो अर्को जनयुद्दको तयारि स्वरुप आएको हो । तत्कालै शुरु नभएपनि यो माग बुझाएर नेकपा-माओवादीले कुनैपनि समयमा वा उपयुक्त समय हेरेर हतियार उठाउने छनक दिएको छ । हिजो नेकपा – माओवादीका उपाध्यक्ष सिपी गजुरेलको नेत्रित्वमा पार्टीका नेता तथा कार्यकर्ता तामझामका साथ भट्टराईलाई माग बुझाउन गए । उनीहरुले भट्टराईकै नेत्रित्वमा २०५२ सालमा जनजिविका संवन्धि ४० सूत्रिय माग बुझाएपनि अहिले आफैं प्रधानमन्त्री हुँदा बेवास्ता गरेको भनेर आन्दोलनको चेतावनी दिए । यो आन्दोलनको चेतावनी त हो नै, यहि आन्दोलन जनयुद्दमा परिणत हुने संकेत हो यो ।

२०५२ सालमा नेकपा माओवादीले जनयुद्द शुरु गर्ने बेला डा भट्टराई उक्त पार्टीको खुला संगठन संयुक्त जन मोर्चाको प्रमुख नेत्रित्वकर्ता थिए । त्यो बेला भित्र भित्रै जनयुद्दको तयारि गरिसकेपनि सरकारलाई चुकाउन, जनतालाइ देखाउन र आफुहरु शान्तिपूर्ण तरिकाले जनताका माग पुरा गराउन खोज्दा सरकारले नटेरेपछि जनयुद्दमा जानु परेको भनेर देखाउन ४० सूत्रिय माग राखेका थिए । किनकि त्यो बेला स्पष्ठ थियो, प्रधानमन्त्री शेरबहादुर देउवा ति माग पुरा गर्ने त के सुन्नसम्म तयार थिएनन् । त्यो कुरो नेकपा माओवादीले बुझेको थियो ।

त्यो अवस्थामा शेरबहादुर देउवा त के जोसुकै प्रधानमन्त्रि भएपनि संभव थिएन । अहिले ठ्याक्कै त्यहि बाटो रोजेका छन् नेकपा-माओवादीहरुले । यो बेला जनजिविकाका माग बुझाउँन तिनलाई झन सजिलो छ । २०५२ सालमा जनजिविकाका ४० सूत्रिय माग राखेर जनताको प्रिय बन्दै त्यहि पुरा नगरेकोमा जनयुद्द हाँक्न हिँडेका भट्टराईनै प्रधानमन्त्री छन् । त्यसैले हिजो बैध्य पक्षिय माओवादीले बुझाएका मागले भट्टराईलाई नैतिक अप्ठेरोमा पार्ने छ । माग तेसार्नेहरुलाई निकै सहज बनाउने छ ।

माग बुझाउन गएका नेता र कार्यकर्तालाई माग पत्र बुझेपछि भट्टराईले ति पुरा गर्न नसकिने बताएछन् । आखिर कुर्सी न हो नचेतेसम्म अन्धो बनाउँछ सत्ताले । २०५२ सालमा शेरबहादुरले जसरि बेवास्ता गरेका थिए भट्टराईलाई माग बुझाउन जाँदा अहिले ठ्याक्कै त्यसैको सिको गरेछन् भट्टराईले । र ओंठ लेप्र्याउँदै पन्छिएछन् ” जनजीविकासम्वन्धी मागहरू पूरा गर्न सरकार सक्रिय रहेको छ । केही माग क्रान्ति पुरा भएपछि मात्र पुरा हुन्छन् । अहिले नेपाली क्रान्ति पुरा गर्ने दिशामा छौं हामी । त्यसैले हाललाई प्राप्त भएका उपलब्धिहरू रक्षा गर्दै अघि बढ्नु पर्छ ।”

भट्टराईले त्यसरि बेवास्ता गरिदिँदा माग बुझाउनेलाई सजिलो हुने छ आन्दोलनमा उत्रिन । त्यो बुझाएपछि माओवादी उपाध्यक्ष गजुरेलले हाकै भने “७० बुँदेमाग पूरा गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले जनाएनन् । उनी जनताका मागमा गम्भिर छैनन् । त्यसकालागि अब हामी आन्दोलन गर्छौं”।

उनीहरुले अब यहि निहुँमा सडक बन्द, नेपाल बन्द, नारा र जुलुस जस्ता आन्दोलन गर्ने छन् । प्रशासनिक कार्यालय घेराउ गर्न सक्छन् । सरकारलाई असफल पार्ने अनेक खालका कार्यक्रम ल्याउने छन् । सरकारलाई अवरोध पुर्‍याउँदै जाँदा सरकार कडा रुपमा प्रस्तुत हुने छ । उनीहरुले त्यसलाई मुकालिबा गर्दै जाने निति लिने छन् । यहि आन्दोलनलाई तताउँदै लगेर अन्तिम पटक चेतावनी देलान् सरकारलाई “ल यो मितिसम्म हाम्रा माग पुरा गर, नत्र आन्दोलन गर्छौं” भन्दै । अन्तिम अल्टिमेटम हो यो भन्लान् । बाबुराम भट्टराईको सरकारले त्यो पुरा गर्न सक्दैन । अनि जनताका माग पुरा गर्न हतियार उठाउन बाध्य पारेको भन्दै चौकिसौकि आक्रमण गर्दै अर्को जनयुद्द शुरु गर्ने छन् । अहिलेको उनीहरुको तयारी, नेकपा माओवादी फुट्नुको कारण, बैध्य पक्षिय माओवादीको उद्देश्यपनि यसैको संकेत हो ‘ढिलो चाँडो अब जनयुद्दको तयारी गर्ने ।” त्यहि तयारीको पहिलो खुट्किलो हो यो ७० बुँदे माग बाबुरामलाई तेसार्नु ।

(दुबै तस्विर हरी घिमिरेको फेसबुकबाट तानिएको हो)

तपाइँको प्रतिक्रिया