देश बनाउने हैन, राष्ट्रिय झण्डा ओढेर आर्यघाट पुग्ने रहर

धनेश घले / पेरिस, फ्रान्स

देशको बिग्रँदो राजनितिक अवस्थाले च्वास्स छोएपछि लामो समयपछि आज फेरि एउटा राजनैतिक लेख लेख्न गइरहेको छु । आज देशको बिग्रँदो परिवेशले विश्वभरी ३५ लाख भन्दा बढी नेपालीहरु रोजगार, व्यापार व्यवसाय र अध्ययन गर्दै बिदेशी भूमिमा संघर्षरत छन् । त्यसमध्ये म पनि एक हुँ । सात समुद्रपारी रहेरपनि एउटा सच्चा देशभक्त नेपालीले आफ्नो देशप्रतिको कर्तब्य, दायित्व, चासो, माया, सदभाव कहिल्लै बिर्सिँदैन । टाढा टाढाबाटपनि देशको बिभित गतिबिधि नियालीरहेको हुन्छ । विश्लेषण गरिन्छ । मैले पनि मेरो अन्तर्मनभित्र खेलिरहेको नेपालको राजनीतिक बिषय, बस्तुलाई लेखको रुपमा विश्लेषण, मूल्यांकन र ब्याख्या गरी बाहिर प्रस्फुटन गर्ने कोशिस गरेको छु ।

यो लेख लेख्दा म आफु पनि अलमलमा परेको छु । कहाँबाट शुरु गरौ ? कुन बिषय बस्तुलाई आधार बनाऔं भनेर । बि.स. २०४६ मा भएको निर्दलीय पंचायती शासनको अन्त्य। संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको स्थापना । बि .स २०४८ को प्रथम बुदलीय आमनिर्बाचन र बि. स.२०५० सालको तत्कालिन एमाले महासचिब जनप्रिय नेता मदन भण्डारी तथा संगठन बिभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दुर्घटना । बि.स २०५१ को  मध्यवधि निर्बाचन र बि.स. २०५२ को माओबादी जनयुद्धको शुरुवात । बि.स २०५६ को आमनिर्बाचन र बि .स २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्ड । बि.स २०५९ को संसद भंग र शाही घोषणा । बि.स.२०६२/६३ को जनआन्दोलन । बि.स २०६५को संबिधान सभा निर्बाचन र विधिवत राजतन्त्रको अन्त्य । विश्वमा नेपाल पनि कान्छो गणतन्त्र मुलुक घोषणा । बि.स २०६९ जेष्ठ १४ को संबिधान सभा बिघटनदेखि हालसम्मको राजनीतिक घटनाक्रम नेपाली  जनताको तितो सम्झना साबित हुन पुगेको छ ।
 
आज नेपाल राजनीतिक संकट र असफल नेतृत्वका कारण विश्वको गरिब देशहरुको सुचिमा द्रोश्रो स्थानमा पुगेको छ । ३ करोड नेपाली जनता मध्ये प्रत्येकको टाउकोमा १८ हजार ८ सय ६७ ऋण बोकाईदिएको छ । बढ्दो महंगी र कालोबजारीको कारण गरिब दिन दु:खीहरुले जति परिश्रम र पसिना चुहाए पनि बिहान बेलुकाको छाक टार्नै मुस्किल छ । शासक वर्ग र पुजीपतिहरु चिल्लो कार र महलमा रमाईरहेका छन् । देशमा जसले जे गरेपनि भएको छ । मनपरि चलिराखेको छ । नीति नियम र कानुन छ कि छैन ? आफैंलाई थाह छैन । राज्यका अंग र निकायहरु दिन प्रति दिन निरिह बनिरहेका छन् । देश भित्र जातीय, क्षेत्रीय भेतभाव र राष्ट्रियतामा व्यापक धक्का लागिरहेको छ । भारतीय बिस्तारबाद, अमेरिकी सम्राज्यबाद र छिमेकी मुलुकको आन्तरिक मामिलामा कम बोल्ने चीनले समेत हाकाहाकी नेपालमाथि हस्तक्षेप गरिरेहेको छ । संबिधान बनाउँछौ भनि राज्यको ९ अर्ब ढुकुटी रित्याएर संबिधान नै नलेखी संबिधान सभा मसानघाट पुर्याएको छ  । नेपाली जनताले आखिर यो अवस्थाको सामना कहिलेसम्म भोग्ने हो ? देश अन्तरिम संबिधानमा चलिरहेको छ । कहिले गर्व गर्ने खालको संबिधान पाएर शान्ति सुशासनका साथ ढुक्क बस्न पाउने ? यो सबै देशले कुशल, इमान्दार नेतृत्व नपाएर नै हो । खलनायक, भ्रस्ट असफल नेतृत्वको परिणाम हो यो ।

नेपाली राजनीतिक संस्कार साह्रै फोहोर छ । यहाँ कुशल, इमान्दार, क्षमता भएको व्यक्ति नेतृत्वमा पुगेको छैन । पुग्न दिइँदैनपनि । जहिलेपनि उही नेतृत्व । उही भ्रस्ट विचार । खराब व्यक्तिहरु पार्टी र सरकार संचालन गर्न पुगिरहेका हुन्छन । अनि नेपाली जनताले निकासको के अपेक्षा गर्ने ? राजनीतिक संस्कार राम्रो बसाउने र राम्रो नेतृत्व पाए मात्र न नेपाल र नेपाली जनताले सहि निकास पाउने हुन् । नेपाली राजनीतिक संस्कारमा ६० बर्ष पुगेको , मानशिक, शारीरिक, बौद्धिक रुपमा स्खलित र बोदो भैसकेका कमजोर बुढाहरुले नेत्रित्व लिने नेपाली राजनितिको संस्कारनै बसिसकेको छ । ति सम्भव भएसम्म जीवनभर राजनीति गरेर सत्ता र भत्तामा रमाउन चाहन्छन । मृत्युको अन्तिम घडीसम्म पनि पद ओगटेर राष्ट्रिय सम्मानको साथ राष्ट्रिय झन्डा ओडेर आर्यघाट पुर्याउन् भन्ने चाहन्छन ।

यहाँ राष्ट्रको जनताको कसलाई के मतलब छन् र ? त्यसैले नेपाली राजनीतिक संस्कार बदल्न बढिमा दुइ कार्यकाल मात्रै नेतृत्वमा रहन पाउने ब्यवस्था हुनुपर्छ । ६० बर्ष पुगेकाहरुलाई सक्रिय राजनीतिकबाट बहिर्गमन गराउनु जरुरी छ । अहिलेको निकास भन्नु नै प्रमुख पार्टीका वरिष्ठ भनिने नेताहरुलाई सक्रिय राजनीतिबाट बहिर्गमन गराउनु हो । तिनको ठाउँमा पढे लेखेका, जाने बुझेका आत्मानिर्भर, कुशल नेत्रित्व क्षमता भएका इमान्दार व्यक्तिको नेतृत्व मागिरहेको छ नेपालले आज । त्यसको लागि काँग्रेस, एमाले, एकीकृत माओबादी, ने. क. पा. – माओबादी र मधेसी मोर्चाबाट क्रमश सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह, माधब नेपाल, झलनाथ खनाल, के.पी. ओली, बामदेव गौतम, इश्वर पोख्रेल, पुष्प कमल दाहाल, डा: बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोस्ट बहादुर बोगटी, कृष्ण बहादुर महरा, मोहन बैध्य, राम बहादुर थापा, सि.पी गजुरेल, विजयकुमार गच्छदार, उपेन्द्र यादव, महन्त ठाकुर, जे.पी गुप्ता इत्यादी असफल नेताहरुको सक्रिय राजनीतिबाट बहिर्गमन जरुरी छ ।

यी नेताहरुको नेपाली जनताले परीक्षा लिइसकेका छन् । अब पनि फेरी उनीहरुले जिबनभर राजनीति गरेर केहि हुनेवाला छैन । जिवनभर राजनीति गरेर सत्ता र भत्तामा पल्केका उनीहरुबाट आशा गर्नु नेपाली जनताको लागि धोका मात्र हुनेछ । गए गुज्रेकाहरुले राजनीतिक गरेपछि देशको हालत क होला ? सबैले थुक्ने, गन्हाउने परिचय र आदर्श बोकेर फेरी संसद, मन्त्रि, प्रधानमन्त्रि होला । तर गरिब निमुखा नेपाली जनताको पिरमर्का बुझेर अग्रगमन, शुसासन र देशको मुहार फेर्ने त परै जहोस त्यस्तो पदको कुनै औचित्य हुँदैन / छैन ।

अब नेपालमा जानेका, बुझेका इमान्दार, क्षमता भएका धेरै भन्दा धेरै युवारु स्थायी रुपमा डाक्टर र इन्जिनीयर बन्नु पर्ने, स्थायी रुपमा बिदेशमा बस्नु पर्ने, राष्ट्र संघ र विश्व बैंकमा जागिर खानु पर्ने, बैंकर र ब्यबस्थापक बन्नु पर्ने र राजनीतिक गर्नु नहुने मान्यता बाट मुक्त भएर देश निर्माणमा जुट्नु सर्बोतम हुनेछ । धेरै युवाहरु मिलेर राजनीतिमा लाग्नु जरुरि छ । प्रमुख पार्टीहरुमा भएका युवाहरुलाई प्रोत्साहन गर्ने नेतृत्वमा पुर्याउनु पर्छ । सकेसम्म प्रमुख पार्टीमा रहेका युवा नेत्रित्वहरूले सक्रिय भूमिका निभाउनु पर्छ । यदि नेतृत्वमा पुग्न दिएन भने एकजुट भएर पुरानो यथास्थितिबादी सोचविचार भएको नेताहरुलाई धक्खा दिनु पर्दछ । अहिले काँग्रेस, एमाले, एकीकृत माओबादी, ने.क.पा. माओबादी, मधसी मोर्चामा रहेका गगन थापा, नरहरी आचार्य, धनराज गुरुङ, योगेश भट्टराई, गोकर्ण बिष्ट, रबिन्द्र अधिकारी, हेमराज भण्डारी, खिमलाल देवकोटा, नन्द किशोर पुन, नेत्र बिक्रम चन्द, सुरेश आलेमगर, अमृता थापा, लेखनाथ न्यौपाने, जितेन्द्र सोनाल, प्रमोद गुप्ता जस्ता आशा लाग्दा युवाहरु राजनीतिमा सक्रिय छन् । अब तिनीहरुले देश हाँक्नु जरुरी छ । जुन कुरा छोटो समयमा नै गगन थापा र योगेश भट्टराईले केन्द्रीय नेतृत्वमा पुगेर प्रमाणितका छन् । हामीले अझ प्रोत्साहन गर्नुपर्छ तिनलाई । 

उदाहरणको लागि विश्वमा लिखित संबिधान नभएको मुलुक भनेर चिनिने संयुक्त अधिराज्य बेलायतलाई हेर्न सकिन्छ । त्यहाँ कुनै बेला लेबर पार्टीको नेता भएर ४० बर्षे युवा टोनी ब्लेयर आए । देशलाई १० बर्ष अथवा दुइ कार्यकाल प्रधानमन्त्रित्व पुरा गरेर क्षमता देखाए । कुशल नेतृत्व दिएर अवकाशमा छन् अहिले उनी । उनको पछाडी ६० नाघेका कैयौ बरिस्ठ र मन्त्रालय सम्हालेको व्यक्तिहरुले साथ दिएका थिए । अहिलेपनि कन्जरभेटिव पार्टीको नेता बनेर ४१ बर्षे डेविड क्यामरुंग प्रधानमन्त्रि छन् । उनको पछाडीपनि सबैले साथ दिइरहेका छन् । छिमेकी देश भारतलाई हेर्ने हो भने पनि डा मनमोहन सिंहले कुशल नेतृत्व दिइरहेका छन् । यसरी नेपाली राजनीतिज्ञहरुले अरु देशहरुको नेतृत्व र क्षमताबाट पाठ सिक्नुपर्छ । अब देशमा युवालाई प्रोत्साहन र नेतृत्वमा ल्याउनै पर्छ । अहिले देशको संक्रमण काल निम्त्याउनुमा खराब नेतृत्व र मुख्य पार्टीका खलनायकहरु जिम्मेवार छन् । नेपाली जनताले परिक्षण गरिसकेका ती खलनायकहरु मुलत : यी हुन् ।

१ गिरिजा प्रसाद कोइराला 
२ प्रचण्ड 
३ माधव नेपाल 
४ झलनाथ खनाल 
५ बाबुराम भट्टराई 
६ बिजय गच्छदार 
७ सुशील कोइराला 
८ शेर बहादुर देउबा 
९ राम चन्द्र पौडेल 
१० नारायण काजी श्रेष्ठ 
११ उपेन्द्र यादव 
१२ मोहन बैद्य 
१३ रामबहादुर बादल 
१४  के..पी ओली 
१५ बामदेव गौतम 
१६ जे.पी गुप्ता 
१७ महन्त ठाकुर 
१८ राजेन्द्र महतो 

(लेखकको मुल घर बारपाक, गोरखा हो)

तपाइँको प्रतिक्रिया