गिर्दो लोकप्रियता जोगाउन दरबारकाण्ड छानबिनको आश्वासन ?

prachanda_narayanhity

 

२०५८ सालमा दरबार हत्याकाण्ड भयो । वीरेन्द्रका सबै परिवार स्वाहा भए । दुनियाँलाई थाह छ-त्यो काण्ड रच्ने ज्ञानेन्द्र शाह हुन । लौ अरु दलका त कुरा छोडौं । माओवादीले भने किटेरै भनेको हो-यो हत्याकाण्ड गराउने त्यहि कसाई, तानाशाह, तस्कर ज्ञानेन्द्र शाह हो । राजतन्त्र निर्मूल गरेर गणतन्त्र स्थापना गर्नासाथ हामी त्यो हत्याकाण्ड छानबिन गरेर कठघरामा पुर्‍याउँछौं भनेर ठोकुवै गरेका हुन । हाम्रो सरकार आयो भने ज्ञानेन्द्र र पारसलाई जेलमा कोच्छौं भन्ने सम्मको आश्वास बाँडेका हुन ।

 

अन्तत: माओवादीले चाहेकै परिवर्तन भयो । तेस्रो जनआन्दोलनले राजतन्त्र हुत्यायो । देशमा गणतन्त्र घोषणा भयो । कुनै आनाकानी नगरि ज्ञानेन्द्रले राजगद्दि छोडे । संबिधान सभाको निर्वाचन भयो । सरकारपनि माओवादीकै बन्यो । अहिले प्रधानमन्त्री माओवादीकै छन रक्षा मन्त्रि माओवादीकै। माओवादीले सरकारको नेत्रित्व गरेको पनि आठ महिना लागिसक्यो । तर खोइ त दरबार हत्याकाण्डको छानबिन ? कहाँ गए ति आश्वासन ? रोक्यो के ले त दरबार हत्याकाण्ड छानबिन गर्न ?

 

त्यतिखेर नेपाली कांग्रेसको सरकारले ज्ञानेन्द्र शाहकै चाकरि गर्‍यो  प्रमुख प्रतिपक्षी एमालेले पिपलको पात जस्तो भूमिका खेल्यो । उसले दरबार हत्याकाण्ड ज्ञानेन्द्र र तिनको परिवारको षडयन्त्र हो भन्न सकेन । ज्ञानेन्द्र चिडिए सरकार चलाउन नपाइएला भन्ने डरले उसले दोधारे नीति लियो । माओवादीले राजा वीरेन्द्रको वंश नाशसँगै नेपालबाट राजतन्त्र समाप्त भएको र अब कुनैपनि नेपालीले ज्ञानेन्द्रलाई राजा मान्न तयार नरहेको दाबी गर्‍यो । माओवादीको त्यो दाबीले त्यतिखेर निकै प्रशंसा पाएको हो । त्यहि कारणले माओवादीलाई समर्थन गरे धेरै नेपालीले । कति त माओवादी समर्थकनै बने ।

 

माओवादीका अध्यक्ष तथा हाम्रा प्रधानमन्त्री आश्वासनप्रसाद दहाल (उनले आश्वासनै आश्वासन, जसलाईपनि आश्वासन दिने हुनाले पुष्पकमल दहाललाई योनाम जुराइएको हो) ले नारायणहिटी दरबारलाई संग्रहालयका रुपमा सर्व साधारणकालागि खुला गर्ने क्रममा आज फेरि भाषण ठोके-संघिय लोकतान्त्रिक गणतन्त्रको पहिलो जन निर्वाचित प्रधानमन्त्रीका हैसियतलेपनि म के पहलकदमी ब्यक्त गर्न चाहन्छु भने नेपालमा अहिले हामी जो दण्डहिनताको कुरा गर्छौं, सबभन्दा ठुलो दण्डहिनताको शुरुवात यहि ठाउँबाट (नारायणहिटीलाई देखाउँदै) भएको थियो । त्यसको पुन छानबिन गरिने छ । र त्यहाँ भएको के थियो सच्चाईलाई जनताको अगाडि ल्याएर वस्ताबिक दोषी को हुन भन्ने थाह पाउने जनताको अधिकारलाई सुनिश्चित गरिने छ ।

 

त्यो हत्याकाण्ड हुनुमा ज्ञानेन्द्रको स्वार्थ मात्रै नभएर  नेपालमा बिबिध स्वार्थ पुरा गर्न चाहने बिदेशीकोपनि थियो भन्ने सबैले बुझेकै हो । तर नेपालमा बिदेशी चाख र स्वार्थ जे जस्तो भएपनि हाम्रा राजनितिक दलहरु अहिलेसम्म त्यसलाई चिर्न सफल देखिएकै छन । र माओवादीहरुले के पनि भन्ने गरेका छन भने, जनताले चाहेको खण्डमा, जनताको ताकतका अगाडि कुनैपनि शक्तिको केहि सिप लाग्दैन । नेपालका ९० प्रतिशत भन्दा बढि जनताले अहिले पनि दरबार हत्याकाण्डको छानबिन होस र दोषीको थियो सार्वजनिक होस भन्ने चाहन्छन । त्यसको भरपर्दो छानबिन हुने हो भने दरबार हत्याकाण्डमा जतिसुकै स्वार्थ गाँसिएपनि कुनैपनि राजनितिक शक्तिले त्यसको डटेर बिरोध गर्न सक्ने अवस्था छैन । तर किन भैरहेको छैन त दरबार हत्याकाण्डको छानबिन ?

 

त्यतिखेर माओवादी लाई लोकप्रियताको खाँचो थियो । गणतन्त्र स्थापना गर्नु थियो । आफु सत्तामा पुग्नु थियो । अनि उसले देशमा अधिकांश जनताको मनोभावना राजतन्त्र बिरोधी देख्यो र उसले दरबार हत्याकाण्डको चर्को बिरोध गर्‍यो । जनताका मनले अपराधी ठानेका ज्ञानेन्द्र परिवारलाई राजा मान्दैनौं भनेर जनताको समर्थन र भावनालाई नगद बनायो । जब उ सत्तामा पुग्यो अनि उसले ति सारा बाचाहरु भुल्यो । आफ्नै पार्टीको प्रधानमन्त्री, अर्थमन्त्री, स्थानिय बिकासमन्त्री, कानुन मन्त्री, रक्षामन्त्रीसम्म हुँदापनि उ दरबार हत्याकाण्ड छानबिन गर्नतिर लागेन । बरु त्यो काण्डका एक सबुद प्रमाण पारस शाहलाई निर्वाधरुपमा मुलुक बाहिर जान दियो । आफैंले अपराधी भन्दै कारवाही गर्ने घोषणा गरेको ज्ञानेन्द्र शाहलाई ससम्मान राख्छौं भन्न थाल्यो ।

 

अहिले एक्कासी प्रधानमन्त्रीले फेरि दरबार हत्याकाण्डको छानबिन गर्छु भन्नुको अर्थ के छ ? यतिका महिना के ले रोकेको थियो ? जगजाहेर छ-माओवादी जब जब अलोकप्रिय बन्छ तब जनताका अगाडि लोप्रियता हासिल गर्न कुनै न कुनै माध्यम अपनाउँछ । चलाखि गर्छ । कि त आफ्ना दोष खन्याउने अर्काको काँधको रित्तो धोक्रो खोज्छ । अहिले बितेका केहि महिनादेखि माओवादीको लोकप्रियतामा ह्रास आइरेको छ । जुन बिरोधीले लगाउने खोट नभएर माओवादीलेनै हाकाहाकी बताइरहेको कुरो हो । सरकारमा बसेर जनताले प्रत्यक्ष अनुभव गर्न सक्ने, राहत पाउने परिवर्तन गर्न नसकेपछि गुम्दै गरेको लोकप्रियतालाई कसरि अलिकति भएपनि बचाउने ? त्यहि साखलाई बचाउन टेको हालेका हुन प्रचण्डले । नत्र आफैं प्रधानमन्त्री, रक्षा मन्त्रालय आफ्नै मातहतमा, सेना सरकारको मातहतमा, जन निर्वाचित सरकार, राजतन्त्र बिघटित, पूर्व राजा दरबार बाहिर सामान्य नागरिकका रुपमा । के ले रोक्यो त दरबार हत्याकाण्ड छानबिन गर्न ?

(जरुरी सूचना-साथीहरु, मैले अहिलेसम्म वर्डप्रेस (यो ब्लग चल्ने मुख्य  पेज) को पुरानो भर्सन चलाईरहेको थिएँ । तर नेपालप्लसको साजसज्जामा केहि बदली गर्नुपर्दा नयाँ भर्सन चाहिने रहेछ । अनि यो नयाँ भर्सन चलाउन मलाई अप्ठेरो भैरहेको छ । त्यसैले केहि सामाग्री मेटिने, राम्ररी नमिलि पोष्ट हुने, नयाँ सामाग्रि राख्न ढिलो हुने लगायताका केहि समस्या र कठिनाई हुनसक्छन केहि दिनकालागि। केहि दिनमा नेपालप्लसमा केहि हेरफेर हुँदैछ । कम्तिमा अब तपाईले आफुले चाहेकै प्रतिक्रियालाई त्यहिँ मुन्तिर जवाफ लेख्न सक्ने हुनेछ । त्यसैले केहि दिन बानी नपरुन्जेल सम्मकालागि केहि कमजोरी देखिए क्षमा चाहन्छु-ददि सापकोटा, नेपालप्लस)

 

तपाइँको प्रतिक्रिया