एक नेपाल, एक नेपाली, अखण्ड नेपाल ? असम्भव

फ्रान्सका पूर्व राष्ट्रपती ज्याकसिराकले अफ्रिकामा गएर भनेका थिए “हामीले एक देश, एक भाषा, एक संस्क्रिति अँगालेर गल्ति गर्‍यौं । फूलवारीका सयौं थरी सुन्दर फूलहरु फुल्न नदिएर एकै खाले मात्रै राख्यौं । बाँकिलाई निमिट्यान्न पार्‍यौं । अहिले फ्रान्सका धेरै स्थानिय भाषा र संस्क्रिति लोप भैसकेपछि बल्ल पछुताउँदै छौं ।”

लाग्छ, नेपालका धेरै दल, थुप्रै नेता, बौद्दिक वर्ग भनिनेहरु ज्याक सिराक झैं पछुताउन खोजिरहेका छन् । र त तिन ले भन्ने गर्छन् “एक नेपाल, एक नेपाली”। यो पटक्कै सम्भव छैन । फ्रान्समा पाँचौं गणतन्त्रका बेला यहाँ संविधानमै स्पष्ठ लेखीयो ” फ्रान्समा एक भाषा र एक संस्क्रिति अनिवार्य छ”। हाम्रो देशमा जस्तै त्यो बेला यो मुलुकमापनि थुप्रै स्थानिय भाषा थिए । ति भाषा सँगै विविध संस्क्रिति र भेषभुषापनि । तर फ्रान्सको कानुनले त्यसलाई बर्जित गरिदियो । यति सम्मकि स्कूलमा आफ्नो स्थानिय भाषा बोल्ने वालवालिकालाई सजाएँ दिइन्थ्यो । तर आज फ्रन्सेलीहरु ति सबै भाषा र संस्क्रिति लोप भैसकेपछि पछुताइरहेका छन् ।

माथि उल्लेखित नेता, बुद्दिजिवी, लेखक, केहि पत्रकार र बिगतदेखि शासनसत्तालाई यथावत बढाउन चाहने केहि सासकहरुले भनेको जस्तो नेपाल एक त हो । सबैको नेपाल । एक नेपाली होइनौं हामी । किनभने नेपाल १०२ थरी भाषा र १०४ भिन्न समुदाय, जातजाति भएको भिन्न नेपाल हो । नेपाल एउटा साझा फूलवारी हो । तर एकै फूल मात्रै भएको, एउटै वासना आउने फूलवारी होइन । यो नत गुरुङहरु, न त राइ र लिम्बु । न शेर्पा र मगर न त थारु, धिमाल, बाहुन, क्षेत्री हरु मात्रैको देश हो । यो देशमा सयौं थरी भाषा छन् । तिनका अफ्नै बिबिध संस्क्रिति छन् । तिनको संस्कार अलग छ । सोचाइ अलग छ । भावना भिन्न छ । त्यसैले एक नेपाली होइनन् ति । एक नेपाल भित्रका अनेक नेपाली हौं हामी ।

भौगोलिक रुपमा एक नेपाल र राष्ट्रिय रुपमा एक देश भित्र रहेका यी अनेक नेपालीलाई एकै सुत्रमा बाँध्ने चाबी भनेको राज्य शक्तिको समान बितरण हो । तिनका विविध संस्क्रिति, संस्कार, भाषा र पहिचानलाई संरक्षण गर्नु हो । हामी सबै नेपाली हौं भन्ने जगाउन समान ब्यवहार राज्यले गर्न सक्नुपर्छ । राज्यको पहुँच सिमित वर्ग, जात, जातिमा मात्रै सिमित रहन्छ तब सम्म अनेक नेपालीलाई एक नेपालको मालामा उनेर राख्न सकिन्न । एउटै देशका समान नागरिकलाई जबसम्म भाषा, संस्क्रिति र पहिचानमा अलग पारिन्छ, भिन्न ब्यवहार र अवसरमा भिन्नता गरिन्छ तबसम्म भौगोलिक रुपमा एक नेपाल रहेपनि आत्मिय रुपले नेपाल अलग भईनै रहने छ । त्यसैले नेपाललाई सबै किसिमले एक राख्न राज्यले गर्ने धार्मिक, भाषिक, सांस्क्रितिक र आआफ्ना सांस्क्रितिक पहिचानलाई समान ब्यवहार, समान अवसर दिन सक्नुपर्छ । त्यो भनेको राज्य शक्तिको समान अवसर हो । यदि मधेश, पहाडी र हिमाली हामी सबै  समान हौं, समान रहने हो भने राज्यले समान ब्यवहार गर्नु पर्छ । सबै ठाउँका जनतालाई समान अवसर दिनु पर्छ ।

अहिले एक नेपाल एक नेपाली भन्ने जुन नारा छ, त्यो फेरीपनि राज्य शक्तिलाई आफ्नो, आफ्नो वर्गको, सिमित जात र जातिको स्वार्थ पुरा गर्ने, नेपाललाई एकताका नाममा यथावत राखेर फेरीपनि ति विविध जनजाति, हेपिएका, पिछडिएका, दबिएका र राज्यको अवसरबाट वर्षौं वर्षदेखि अलग्याइएकाहरुलाई यथावत राख्ने प्रपञ्च हो । “एक नेपाल, एक नेपाली” सुन्दा मिठो, भात्रित्वपूर्ण, राष्ट्रिय भावना भएको देखिए, सुनिएपनि यो फेरी पनि राज्यशक्तिलाइ सिमित वर्गकै चंगुलमा राख्ने मनशायबाट आएको हो । त्यसैले एक नेपाल, एक नेपाली संभव छैन । एक नेपालमा हामी अनेक नेपाली छौं । एक नेपाल भित्रका हामी अनेक नेपालीलाई समान अवसर दिन सके मात्रै हामी एक नेपाल समान नेपाली भएर बाँच्न सक्छौं।

गुरुङको पर्वमा प्रधानमन्त्री गएर पांच मिनेट भाङ्रो लगाएर नाच्दैमा तिनको पहिचानलाई बल मिल्दैन । थरुनीको जितियामा प्रधानमन्त्री पत्नीले थरुनीका भेषमा पाँच मिनेट झाम्टा नाच्दैमा तिनको पहिचान सुरक्षित हुन्न । यदि राज्य सञ्चालकहरु सांच्चै तिनको भाषा र संस्क्रितिको संरक्षण होस् भन्ने चाहन्छन्, तिनको पहिचान नगुमोस् भन्ने चाहन्छन् भने तिनको भाषिक, सांस्क्रितिक र तिनको पहिचानकालागि संवैधानिक ब्यवस्था हुनै पर्छ । नत्र जनजातिका विविध सांस्क्रितिक पर्वमा प्रधानमन्त्रीले खुला मञ्चमा गएर कम्मर मर्काउँदैमा तिनको पहिचान स्थापित हुन्न । बरु यो त तिनलाई छक्काउने मेसो हो । यसले राज्यसत्ता लम्ब्याउन सकिएला केहि समय, टिकाइराख्न संभव छैन । अहिलेका नेपाली जनता फ्रान्सेली राज्यक्रान्तिताकाका जस्तापनि छैनन् । राज्य सञ्चालकहरु साँच्चै दुरद्रिष्टिवान छन् भने यो वास्तबिकतालाई बेलैमा सोचुन् । एक नेपाल एक नेपाली भन्दै फेरिपनि नठगुन् ।

अखण्ड नेपाल ? त्योपनि असम्भव

हामीलाई आआफ्ना पहिचान स्थापित गराउनु छ । चितवनबासी लगायत धेरै नेता र जनता नेपालको राजधानी चितवनलाई बनाउन कस्सिएका छन् । लिम्बु पूर्वमा लिम्बुवान राज्य खोजिरहेका छन् । मधेशी, थारु र नेवारका आफ्नै दाबी छन् । नयाँ नेपाल बनाउनु पर्छ भन्नेमा कम्तिमा बहुमत नेपाली सहमत छन् । तर हामी नारामा चाहिँ अखण्ड नेपाल भनिरहन्छौं । नेपाललाई नयाँ बनाउनु पर्छ भन्ने तर यथावत राखेर ? के यो संभव छ ? देशलाई पूनर्संरचना गर्नु पर्छ पनि भन्ने । यथा स्थितिको नेपाल नभएर नयाँ नेपालको नारापनि दिने । अनि अखण्ड नेपालपनि चाहिने ? जिल्ला, अञ्चल, गाउँ , खोला र नालाको सिमाङ्कन, संरचना नगरि नयाँ नेपाल संभव छ ?

पहिचान सहितको अलग राज्य बनाउने । त्यसको राजधाने अलग, सदरमुकाम अलग । तर सबै अखण्ड राख्ने । यस्तोपनि कहिं संभव हुन्छ ? अखण्ड भनेको त कुनैपनि चिज खण्डित नगर्ने भनिएको हो । अर्थात यथवत राख्ने । यथावतै राखेर कसरि नयाँ नेपाल बन्छ ? कसरि हुन्छ र परिवर्तन ?

नयाँ नेपाल, नेपालको पूनर्संरचना भन्दै उफ्रिने र कुर्लिनेमा सबैभन्दा अग्रणी दल माओवादी नै हो । तर उसैको पार्टीका नेता लेखराज भट्ट सुदुर पश्चिम गएर अखण्ड सुदुर पश्चिमको नारा लाउँदै खुब नाचे सुदुर पश्चिमेलीसित । के यस्ता पश्चगमनकारी नेताबाट संभव छ नयाँ नेपाल ? यस्ताले नयाँ नेपाल बनाउँछन् ? देशको हरेक क्षेत्रलाइ पूनर्भाषित, पूनर्संरचित गरेर नयाँ बनाउने रे । तर अखण्ड राख्ने रे । यो त जनतालाई झुक्काउने, जनताका आँखामा छारो हाल्ने प्रपञ्च बाहेक केहि होइन । त्यसैले सबै जातजाति, भाषा भाषी, पिछडिएका, हेपिएका सारा नेपालीकालागि समानतामुलक नेपाल बनाउने हो भने अखण्ड राख्न संभव छैन ।

तपाइँको प्रतिक्रिया