मधेशी दल र माओवादीको समान बिचार ?

संघियताका पक्षधरहरुको गठबन्धन बनाउनासाथ कसैले यसलाई षडयन्त्र देखे । कसैले ‘फेरी प्रचण्डले चारो फाल्यो, अब कोकोलाई फसाउने हो भन्न थाले । एमालेका केपी ओलीले नयाँ जाल मिल्कायो भन्न थाले । कसैलाई सहज लाग्यो । कोहि रिस र डाहले आगोपनि भए होलान् । तर मलाई अचम्म लागेको चाहिँ के भने वर्गिय राजनिति गरेको पार्टी माओवादी । साम्यवादसम्म पुग्ने भन्छन् । मार्क्सवाद, लेलिनवाद, माओवाद भनेर थाक्दैनन् । तर कसरि यस्तो पार्टीको बिचार क्षेत्रिय राजनिति गर्नेसित समान हुन्छ ? माओवादी यति स्खलित र पत्रु भैसकेको हो कि अब उसको बिचार र मधेशी दलहरुको बिचार समान भैसक्यो ?

‘संघियताका पक्षधरसितको गठबन्धन’ भन्दै एक्कासि गठबन्धन बनाएपछि त्यसका बारेमा आएका प्रतिक्रियाको जवाफ दिनै पर्‍यो । धेरैले यो गठबन्धन एमाले र कांग्रेसलाई पेलेर जान बनाएको भने । अनि जवाफ के दिने ? हिजो प्रचण्डले भने ‘समान बिचार भएकाहरुबिचको गठबन्धन हो’ भनेर । समान बिचार भएकाहरुको गठबन्धन भयो भने कांग्रेस एमालेसित सहमती बनाउन सजिलो हुन्छ रे ।

माओवादीले २० वटा दलसित मिलेर गठनबन्धन गरेको छ । ति सबै दलसित माओवादीको समान बिचार रहेछ ? प्रचण्डले भन्न खोजेको संघियताको पक्षमा हो भने त नेपाली कांग्रेस र एमालेलेपनि संघियताको बिरोध गरेका छैनन् । यीसित चाहिँ कसरि बिचार समान हुन सकेन ?

मधेशी दल भनेका क्षेत्रिय पार्टी न हुन् । क्षेत्रिय मुद्दा उचाल्ने । अहिलेपनि मधेशी दलका अधिकांश नेत्रित्वकर्ताहरु दशकौं देखि देशलाई लुट्नेहरु छन् बिभिन्न पार्टीमा बसेर । अहिलेका अधिकांश दल तिनै देश चुस्नेहरुले खोलेका न हुन् । फेरी तिनको उद्देश्य जसरिपनि सत्तामा जानु छ । भारतीय स्वार्थका अगाडि लम्पसार पर्नु छ । कम्युनिस्टहरु सबै भन्दा बढि प्रतिबद्द हुन्छन् भन्छन् राष्ट्रियताका मुद्दामा । अनि राष्ट्रिय अखण्डता र राष्ट्रियताको रक्षा भनेर त्यत्रो आन्दोलन गरेको माओवादीको बिचार कसरि ति मधेशी दल र अन्य २० वटासित समान हुन गयो ?

मधेशी दल लगायत अन्य २० वटा झारे पत्करे नाम मात्रैका पार्टीसित माओवादीको बिचार मिल्न गएको हो भने अब ढिलो चाँडो पार्टी एकता पो हुन्छ कि त ? यस्ता पार्टीसित बिचार मिल्न गएपछि माओवादीले युगान्तकारी परिवर्तन गर्छ ? जुन पार्टीहरुको उद्देश्यनै देशलाई बिदेशीको चंगुलमा लगेर बिसाउने, लुट्ने, ठग्ने, भ्रस्टाचार गर्ने छन्, तिनैसित बिचार मिल्न गएपछि माओवादीको हालत के हुने होला ? कांग्रेस, एमाले, माले, नेकपा-माओवादीसित चाहिँ बिचार असमान । तर मधेशी लगायतका दलसित चाहिँ समान । तब न क्रान्तिकारी, मार्क्सवादी, माओवादी, सर्वहाराबादी, मजदूरबादी माओवादी !

तपाइँको प्रतिक्रिया