राजनितिक दलका पकडमा विश्वभरिका एन आर एन

थानेश्वर सापकोटा / बेलायत

सन् २००३ मा उपेन्द्र महतोको नेतृत्वमा गठन भएको एनआरएनले विदेशमा रहेका नेपालीहरुलाई संगठित गर्ने अभियान सुरु गर्दा युरोप, अमेरिका र जापानमा नेपालका राजनैतिक दलहरुको उपस्थिति शून्यको हाराहारीमा थियो । कताकती काँग्रेस र एमालेमा लागेका एक दुई व्यक्ति बाहेक संस्थागत रुपमा कुनै पनि गतिविधि थिएनन् । बरु भेटघाट र चाडबाड मनाउने माध्यमका रुपमा सामाजिक संस्था खुलेका थिए, राजनीतिको ‘र’ समेत थिएन । विदेशमा बस्ने नेपालीहरुको एउटा ठूलो समूह एनआरएनको अभियानमा गोल भएर लाग्ने अवस्था थियो त्यो ।

तर, एनआरएन नेतृत्वले पहिलो कार्यकाल सक्न नपाउँदै बेल्जियम, जर्मनी र अमेरिकामा नेपाली काङ्ग्रेस अन्तर्गतको जनसम्पर्क समिति एनआरएनकै हाराहारीमा देखियो । त्यसपछि एमाले र माओवादी पनि काङ्ग्रेस जसरी नै सक्रिय भए । अहिले एनआरएन गठन भएका प्रायः देशमा यी संगठनहरु पनि उत्तिकै मजबुत रुपमा छन् ।

सन् २००६ मा जर्मनीको बोनमा भएको एनआरएनको दोश्रो क्षेत्रीय सम्मेलनमा उपेन्द्र महतोले भावी पुस्ताको एनआरएन अध्यक्ष भनेर धाप मारेका शरण केसी एनआरएनको अभियानमा त्यति लामो समय लाग्न सकेनन् जति महतोले सोचेका थिए । केसी एनआरएन जर्मनीका निर्विकल्प अध्यक्षका उम्मेद्वारको रुपमा दरिएका भए पनि उनी त्यसमा रमाउन सकेनन् । एनआरएन जर्मनीको उपाध्यक्ष पदलाई बीचमै छोडेर उनी जनसम्पर्क समितिमा लागे । अहिले उनी जनसम्पर्क समिति जर्मनीका अध्यक्ष छन् । तर, पनि जर्मनी एनआरएनमा उनको उत्तिकै प्रभाव छ । त्यहाँको एनआरएनभित्र आफ्नो पार्टी अनुकूल निर्णर्य गराउने हैसियत राख्छन् केसी ।

हल्याण्डका नारायण आचार्य जनसम्पर्क समितिको कार्यकाल सकेर एनआरएन अध्यक्षका लागि उत्रिएका थिए । उनले दुवै ठाउँमा आफ्नो मजबुत पकड बनाएका छन् । बेल्जियमकी एनआरएन अध्यक्ष जानकी गुरुङ नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि हुन्, उनको पनि फर्किने थलो जनसम्पर्क समिति नै हो । बेलायतको अवस्था पनि त्यहाँ भन्दा एक इन्च फरक छैन, यहाँको समिति पनि दलीय सहमतिमै निर्माण भएको हो । युरोपका अन्य देशहरु स्पेन, पोर्तुगल, इटालीको एनआरएन पनि राजनीतिक पकड भन्दा बाहिर छैन ।
गत वर्ष युरोपका देशहरुको अधिवेशन हुँदा कुनै पनि देशहरुमा एनआरएनको अधिवेश जस्तो देखिएन, पद र सबै जिम्मेवारी दलगत आधारमा बाँडिए । एक हिसाबले एनआरएनका अधिवेशनहरु स्ववियु अधिवेशनको रुपमा देखिए । सन् २००९ मा काठमाडौँमा भएको विश्व सम्मेलनमा अध्यक्ष पदका उम्मेद्वार देवमान हिराचनलाई नेकपा एमालेले खुला रुपमा ‘सपोर्ट’ गर्�यो । एनआरएन सुपि्रमो महतोले पनि पार्टी लाइनअनुरुप नै हिराचनलाई भित्री समर्थन दिए र अधिकांश प्रतिनिधिहरुको समर्थन नहुँदा-नहुँदै पनि हिराचन अध्यक्षमा निर्वाचित गराइएपछि यो संस्थामा खुल्लम खुल्ला राजनीति भित्रियो । त्यसपछि एनआरएनका समन्वय परिषद्हरु आफ्नो निर्णर्यभन्दा दलगत निर्णयका आधारमा बढी चल्ने गरेका छन् ।

२०११ को विश्व सम्मेलनमा पनि प्रतिनिधिहरु खुल्लमखुल्ला पार्टी लाइनअनुसार लबिङमा लागेका थिए । गैर राजनीतिक अवधारणाअनुरुप स्थापना भएको यो संस्थाको चित्र अहिले विदेशमा दलगत राजनीतिलाई मलजल गर्ने संस्थाको रुपमा विकसित हुँदै गइरहेको छ । छोटो समयमै यसरी राजनीति हावी हुनु भनेको एनआरएनका योजनाहरु प्रत्यक्ष रुपमा प्रभावित हुनु हो, जसको दीर्घकालिन उपाय पत्ता लगाउनु अहिलेको मुख्य चुनौती छ । गहिरिएर सोच्ने हो भने एनआरएनले वहन गर्नुपर्ने जिम्मेवारी गहन छन् ।

सन् २०१२ को एउटा तथ्याङ्कले विदेशमा रहेका एनआरएनहरुको संख्या २९ लाख भएको देखाएको छ । ती २९ लाख एनआरएनको व्यवस्थापन गर्नुपर्ने, तिनको अवस्थाको बारेमा निरन्तर अपडेट भइरहनु पर्ने र तिनलाई एक गोल बनाएर सँगै हिँडाउनु पर्ने कम्ती जोखिम कुरा होइन । यसमा एनआरएनले स्वभाविक रुपमा चासो देखाउनु पर्छ र देखाएको पनि होला तर एनआरएनभित्र केही वर्षअघि देखिएको राजनीतिक चहलपहलले एनआरएनको मुख्य अवधारणाभन्दा पनि यो संस्था दलीय राजनीतिलाई मलजल गर्न मिल्ने मैदानको रुपमा चहकिलो बन्दै आइरहेको छ । नेपालमा लगानी लैजाने एउटा छुट्टै विषय हो, त्यसका लागि रकम सङ्कलन भइरहेका समाचारहरु आइरहेका छन् तर यो बीचमा यिनै एनआरएनहरुबाट उत्तिकै रकम नेपालका राजनीतिक दल र तिनका नेताहरुले पनि उठाइसकेका छन् ।

जुन देशको समग्र हितका कुनै कोणबाट पनि जाँदैन । अबको आवश्यकता के त ? एनआरएनहरुलाई राजनीतिक दलहरु भन्दा देशप्रति उत्तरदायी बनाउन के गर्ने ? एनआरएनले नै एनआरएनका समस्यालाई बुझ्न सकेको छ कि छैन ? र, एनआरएनहरुलाई दलीय राजनीतिबाट अलग्याउन कस्ता कार्यक्रमहरुको खाँचो छ ? अहिलेका जरुरी र पहल गर्नै पर्ने बुँदाहरु हुन्, यी । यदि एनआरएन नेतृत्वले यस्ता विषयमा अलिकति मात्रै ध्यान दिएर केही अभियान चाल्ने हो भने २९ लाख एनआरएन समूह एक गोल भएर हिँड्न सक्ने अवस्था अझै पनि सकिएको छैन ।

(बेलायतबाट प्रकाशित हुने युरोपको नेपाली पत्र साप्ताहिकबाट लिईएको हो यो लेख समय सामयिक र गम्भिर लागेकाले । तर यसको शिर्षक नेपाली पत्रमा भने ‘दलिय राजनितिमा एन आर एन’ भन्ने थियो ।)

तपाइँको प्रतिक्रिया