चाबी गुमेपछि होस् खुल्दै डा सापको

प्रधानमन्त्री हुँदा के के न सगरमाथाको टुप्पोदेखि फेदसम्मै समथर बनाउँछु एक्लै झैं गर्थे डा साप । हुनत उनका आउरे बाउरेले जुरुक्क उचाल्दा उनी दशौं हात उफ्रिएका होलान् । तिनले जति उचाले त्यति उफ्रिए उनी । त्यो बेला डा सापलाइ आफ्नो पार्टी चाहिएन । कामरेडको बाल मतलब गरे । कार्यकर्ताको हेक्का रहेन । चुरीफुरी सडकदेखि सिंह दरबार हुँदै मुस्ताङ म्याक्सको आवरणमा छचल्कियो । उनलाई काम गर्न देउ भनेर सडकमा लहरै पोखिएका युवाहरुको भावना नबुझेर अन्धो समर्थन ठाने । यतै बाबुराम उतै बाबुराम । जतापनि बाबुराम । अब यो बाबुरामले जे गर्छ ढुंगामा छाप लागे झैं हो भनेर बाबुरामले राष्ट्रियहितको समेत ख्याल गरेनन् । लोकप्रियताको साख जति धसिएर पाताल पुगेपछि बल्ल उनलाई हेक्का भएछ, लौ आफु बसेकै कुर्सीको चाबीसमेत अन्यत्रै पो रहेछ !

तर त्यो चाबी अन्यत्र गयो कसरि ? उनले पार्टी, कार्यकर्ता र देशको तत्कालिन हितको ख्याल गरेनन् । उनलाई बढि ख्याल बिदेशीको भयो । जसरि अघिल्लाले भारतका अगाडि शरण पर्थे त्यसै गरे । एमाले र कांग्रेसका नेता आफ्नो देशको भन्दा जसरि भारतको हितकालागि केहि न केहि प्रस्ताब लिएर जान्थे उसै गरे । बिप्पा संझौता गर्दा उनलाई त्यसैगरि गोप्य रुपमा फत्ते गर्नु पर्‍यो । यसैबाट उनले भारतीयहरुलाइ हौस्याएका हुन् । जब बाबुरामले आफ्नै पार्टी र प्रतिपक्षी कसैसित सल्लाह र सहमती नगरि यो बुझाउन गए भारत तब भारतीय राजदूत राकेश सुद उनको डेराको पलङसम्मै चप्पल पड्काउँदै जान थालेका हुन् । आखिर भारतीय राजदूतले यति मनपरी गर्न पाउने अवस्था कसले दियो ?

इन्धनको हाहाकार भयो । भारतबाट किनेको इन्धन उतै फिर्ता जाने र फेरी कालोमा नेपाल फर्किने । क्रिषकहरुले मल नपाएर यति ठूलो समस्या सायद पहिलो पल्ट डा सापकै पालामा भोगे । तर डा सापको ध्यान भारतीय सरकारसित मिलेर यत्ति समाधान गर्नतिर मोडिएन । हुँदा हुँदा त नेपालले गर्व गर्ने, शिर उठाउने, देश बिदेशबाट आउने र जाने मुख्य बिमानस्थलकै सुरक्षाको जिम्मा डा सापले आफ्ना भारतीय गुरुलाई झण्डै बुझाएका थिए । टाढा र सचेत नेपालीले कानुनको साथ लिएर नअल्झाएको भए डा सापको चाह अनुसार अहिले भारतीय सुरक्षाकर्मी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा नेपालीलाई नै थर्काउँदै बुट बजार्थे । अनि यस्तो मनपरी गर्न दिएपछि कसरि चाबी आफ्नो हातमा हुन सकोस त ?

यता परराष्ट्रका कर्मचारीलाई आफु खुशि बिदेशीहरु भेटेको भनेर हुर्मत लिन खोज्ने । उता सरकार प्रमुख भएर आफुले चाहिँ बिस्तारासम्मै राजदूतलाई बोलाउने । यो हदको मनपरि हुन के कुनैपनि राजाले दिएका थिए ? यस अघिका प्रधानमन्त्रीसित यस्तो मनपरि चलेको थियो भारतीय राजदूतको ? पार्टीले नजान निर्देशन दिँदा दिँदै अटेर गरिगरि बिदेशी प्रधानमन्त्री भेटेर साउती मार्न र आशिस थाप्नकालागि बिदेश भ्रमणमा मरिहत्ते गरेपछि आफ्नो देशको चाबी बिदेशीले हत्याउँदैनन् ? यता आफ्नो पार्टी फुटेको मतलव छैन । उता बिदेशीका अगाडि हिँहिँ गर्दै दाँत देखाएर आशिस थाप्न ज्यान सुम्पेपछि कसरि रहन्छ आफ्नो देशको चाबी आफ्नो पोल्टामा । चाबी पुर्‍याउन सात समुद्र पारी आफैं पुगेपछि बिदेशीले किन नलिने त्यसको रिमोट ?

राजनिति देशमा पेशा जस्तो भएको छ । दिईएका जिम्मेवारी र गरिएका बाचा केहि पुरा गर्नु नपर्ने । तर बिदेश भ्रमण, भत्ता र तलब चाहिँ खुरु खुरु पाइने । सरकार सुबिधा घटाउनु नपर्ने । नेता भएर पुरा गर्नुपर्ने कुनै जिम्मेवारी पुरा नगर्दापनि लाज सरमनै नमानी अझै आजिवन पाइने गरि सुरक्षा, आवास र यातायात अनि भत्ता थप्ने जनतामारा काम गरेपछि कसरि आफ्नो नियन्त्रणमा हुन्छ सरकारको चाबी ? बाहिर दाँत देखाए झैं मुस्ताङ म्याक्स चढ्ने तर करोडौं करोड मासिक घाटा लाग्ने गरि नेताको सुबिधा बढाउने निर्णय गरेपछि कहिँ रहन्छ चाबी आफुसित ?

तपाइँको प्रतिक्रिया